Skip to content

क्वान्टम-कविता : अणुभित्र अनुभूतिहरू


…” मिराज ” को बिस्कुन सुकाएर बसेको मरुभूमिलाई
एक अन्जुली पानी अपच भैरहेको बेला –
ओयसिसको सम्भावनाले भिजेर निथ्रुक्क
समुद्रको गीत गाइदिएछु
नदेखेर समयको एक्सरे
दुर्घटनाग्रस्त अस्तित्व दुखिरहेछ कुबेला
सारेगमको सप्तक फोरेर टाढा-टाढा भागिरहेछन् पीडा-स्वरहरू
नियतिको परमाणु- भ्याकुमभित्र स्वतन्त्र विचरित
दुखको न्युक्लिएस वरिपरी आ-आफ्नै कक्षमा भौंतारिरहेका –
मरुभूमि
पानी

र मेरा स्वरहरूलाई
यो संसारको स्वागत- गेटहरूमा
एक थुँगा झरिलो गुलाव
मृग-तृष्णा नबनोस्
पात्र बन्न नपरोस्
अवतार-लीलाका आगामी दृष्यहरूमा
खेल्दै आत्म-अस्वीकृत भूमिका
सुखान्त नाटक ” द ग्यांग अफ गड्स ” को
जहाँ सृष्टि
सत्यको अग्नि -युद्धमा होमिएर
उदगम्- विन्दुमा फर्कन्छ
भगवानको हलुङ्गो लास बोकेर …

– मधु माधुर्य, दुबई |

Leave a Reply

Your email address will not be published. Required fields are marked *