Skip to content


पृष्ठभूमिः

वाम्बुले राई जातिको मूलथलो ओखलढुङ्गा जिल्लाको दक्षिणी उँबु, वाक्सा, केत्तुके, मोली, मानेभञ्ज्याङ, माधवपुर, टोक्सेल र थाक्ले गाविस हुन् । यसैगरी दूधकोसी पारि खोटाङको बाहुनीडाँडा, डिकुवा र च्यास्मिटार गाविसमा वाम्बुलेहरू परापूर्वदेखि बस्दैआएका छन् । उदयपुरको लेखानी, सोरुङछबिसे, लिम्पटार, हर्देनी, बसेरी, कटारी, रिस्कु, गाईघाट र सिन्धुलीको रत्नावती, अरूणठाकुर, ककुरठाकुल, लदाभिर, दूधौली गाविसमा वाम्बुले राईहरूको छरिएर रहेका बस्ती छन् । बसाइँसराइँको क्रममा सिरहा, सप्तरी, सर्लाही, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, इलाम, पाँचथर, झापा, चितवन, काठमाडौँ, ललितपुरलगायत जिल्लामा बसाइँसराइँको क्रममा वाम्बुले राईहरू बसोबास गर्दै आएका छन् । देशभरिमा करिब ५० हजार जनसङ्ख्या रहेको वाम्बुले राई समाज, नेपाल (वाम्रास) को अनुमान छ । किराँत समुदायमा रहेको सामाजिक परम्परा ‘साञ्चेप’ र वाम्बुले समुदायमा रहेको ‘सघौ’ बीच तुलनात्मक रूपमा प्रस्तुत गर्ने जमर्को यहाँ गरिएको छ ।

विषय प्रवेश ः

सामाजिक मान्यता सत्य भोगाइबाट प्रमाणित हुन्छ र त्यो कालान्तरमा ‘ध्रुवसत्य’ व्यवहारमा लागू हुन्छ । मान्छेले मान्छेलाई गर्ने व्यवहारप्रति भनाइ छ- जिउँदाका जन्ती, मर्दाको मलामी । दिसा पुछेर फालेको ढुङ्गा पनि कुनै दिन काम लाग्छ भने हामी त मान्छे पो । मान्छेलाई परेको बेला चाहिने मान्छे र मान्छेको समुदाय नै हो । एकले अर्कोलाई आपतविपत पर्दा सघाउने चलन जुनसुकै समाजमा छ ।

किराँती समुदायमा चलेको ‘साञ्चेप’ प्रथा विशेष गरी माझकिराँत र पल्लोकिराँतमा प्रचलित र यसलाई साँचेप, साङ्चेप, साम्चेक पनि भन्ने गर्दछन् । यो साँच्नु अर्थात् खर्च नगरी वा नमासी पछिका निम्ति जोगाएर राख्नु, सञ्चित गर्नु, बचाउनु हो । एकत्रित गरेर राख्नु, जम्मा गर्नु । कुनै निश्चित कामका लागि तोकिएको वस्तुलाई किफायत गरेर केही उबार्नु । (नेपाली बृहत् शब्दकोश, नेराप्रप्र, पुनमुर्द्रण, २०५२)

यो साञ्चेपलाई वाम्बुले राईहरू ‘सघौनी’ भन्दछन् । सघाउ -सहायता), सघाउने काम, सहयोग, मद्दत, गुहार । सघाउनी- सघाएको काम । सघावट-सघाउ हो । (ऐ.) सोलुखुम्बुको नेचा बतासेतिर बाहिङ राई समुदायमा ‘संझेब’ भन्दछन् । जसलाई बिहे-कार्यमा आर्थिक सहयोग दिने काम हुने गर्दछ ।

साञ्चेप ः

साञ्चेप वास्तवमा आर्थिक सङ्कलन हो । दाजुभाइ, छरछिमेकमा आर्थिक रूपमा एकले अर्कोलाई सघाउने काम हो । सङ्गठित समाजमा यो प्रचलन व्याप्त छ । नयाँ बस्ती नभई परापूर्वकालदेखि बस्दैआएको समाजमा यो चलन छ । आफन्त र सीमित सेवा क्षेत्रका इष्टमित्रलाई बोलाएर एक-अर्कामा आर्थिक सहयोग गर्ने-गराउने गरिन्छ ।

आफूले जुनजुन घरमा आर्थिक लगानी गरिएको हुन्छ, त्यहीत्यही घरमा निम्तो गरिन्छ । बिहे, पितृकार्य या कुनै भोजभतेर गर्नु परेको अवसरमा आफन्त सबैलाई बोलाउने चलन पुरानो हो तर साञ्चेपका निम्ति भनेर घरको मूलीले पूर्वजानकारीसहित निम्तो बाँडेको हुनुपर्छ । जसले निम्तो बाँडेको छ, उसले ‘मलाई पैसाको आवश्यक पर्यो, त्यसैले दाजुभाइ, इष्टमित्रहरू हो, सघाउनु पर्यो’ भनेर अनुरोध बिसाएको हुन्छ । त्यसैअनुसार जसको गच्छे जस्तो छ त्यसैगरी आर्थिक रकम लिएर निम्तो मनाउन पुग्दछ । अर्थात् पहिले साञ्चेप गर्न लागेका घरमूलीले दुई सय रुपियाँ एउटा घरमा सहयोग गरेको भएमा उसको साञ्चेप बुझाउन तीन – चार सय रुपियाँ लिएर बुझाउने गर्दछन् । जमानाअनुसार न्यूनतम एक सय रुपियाँभन्दा बढी दिने चलन बढेको छ ।

यो एउटा घरले मनोमानी जति चाहृयो त्यति दिने निःशुल्क चन्दा रकम चाहिँ होइन । यसको सीमित घर-परिवार, समुदायमा लिखित रूपमा हिसाब राखेर गरिने आर्थिक सहयोग हो । आर्थिक स्थितिअनुसार आलोपालो, पालोपिलो गरेर साञ्चेप गरिन्छ । यो वर्ष मेरो घरमा हुन सक्छ, अर्को वर्ष तपाईंकोमा तर साञ्चेप भनेर एकै घरले हरेक वर्ष साञ्चेप उठाउन पाउँदैन । सबैको पालो आइपुग्नु पर्छ । धेरै दाजुभाइ भएका घर छ, दाजुले विवाह गरेको छ, घरको सबै व्यवहार जिम्मा लिएर चलाएको छ भने सगोलमा छँदा उठाइने साञ्चेप दाजुले जिम्मा लिएर त्यो उठेको रकम आफैं चलाउँन सक्छ । बहीखाता उसैको साथमा रहन्छ । दाजु छुट्टएिर गएपछि पहिलेको साञ्चेप पछि आफैंले तिर्नुपर्ने हुन्छ । जब दाजु छुट्टएिर अर्को घर बनाएर बस्छ, त्यसपछि भाइको पालोले साञ्चेप उठाउन सक्छ तर दाजुभाइ, इष्टमित्रलाई पहिले गरेको साञ्चेपको जिम्मेवारीबारे पूर्वजानकारी दिन अनिवार्य हुन्छ । यसरी साञ्चेप एउटा घरका निम्ति कम्तीमा सात-आठ वर्षमा एकचोटि पालो आइपुग्छ । होइन, कसैलाई आपत नै परेमा थोरबहुत आर्थिक सहयोग गर्न पनि सक्छन् ।

साञ्चेप उठाउने भनेको घरैपिच्छे घुमेर पैसा उठाउने होइन । जसले साञ्चेप उठाउने हो, त्यो घरले भोजको आयोजना गर्नुपर्ने हुन्छ । घरमूलीको विवाह, कार्य होस् या नहोस् साञ्चेपका निम्ति बोलाएपछि सामान्य खान्तेपिन्ते गराएरमात्र निम्तालुलाई घरफिराउने चलन छ । यो चलन राईराईबीचमा मात्र नभई अन्य क्षेत्री, बाहुनलगायतका जातिबीच पनि गर्न सकिने हुन्छ । इलामको पूर्वीभेग पञ्चकन्या-६ केराबारी, आरुबोटे, फिक्कल क्षेत्रका राई समुदायमा साञ्चेप परम्परालाई अन्य जातिसितसमेत जारी राखेका छन् । साञ्चेप उठाउँदा निम्तो गरिएका क्षेत्री, बाहुन जातिलाई चिया, रोटी, तरकारी आदि खुवाउने चलन छ । यस्तै राईहरूलाई जाँड, रक्सी, चिया, रोटी, तरकारी आदि खुवाएर पठाउने गरिन्छ । पहिले तोङ्बा र एक दुना मासु खान दिने चलन थियो । अहिले मासुको चलन हटेको छ । आर्थिक व्ययभार बढी पर्ने भएकाले समाज (बैठक) बसेर यो निर्णय गरेको हो ।

यसरी साञ्चेप गर्ने घरका परिवारमात्र जिम्मेवार नभई । साञ्चेपका लागि समाज (बैठक) बसेर खानेकुरा पकाउने तुल्याउने भान्छे, बाँड्ने, पाहुनाको स्वागत गर्ने, बसाउने ठाउँ, दाउरा, चुला मिलाउने जस्ता कामका बाँडफाँड पहिल्यै मिलाइएको हुन्छ । निम्तो मनाउनका लागि एक घरबाट एक जनामात्र उपस्थित हुने चलन छ । अति नजिकका भएमा परिवारै पनि आउने गर्दछन् । जो आउँछ, खानेकुरा खान्छ, पैसा ठेकाउछ (लेखाउँछ) र जान्छ । अनावश्यक टीकाटिप्पणी गरेर समय बर्बाद गर्न पाउँदैन ।

साञ्चेप केवल आर्थिक सहयोग हो । मलाई ऋण लागेको छ, मलाई सहयोग गर है भनेर गरिने विशेष अनुरोधको भतेर मात्र हो । इलाम पञ्चकन्या-६ का शिक्षक जङ्गबहादुर राईका अनुसार यस क्षेत्रमा करिब चार सय घर परिवार छन् । यतिबीच हुने साञ्चेपमा एक घरले एक पटक साञ्चेप गर्दा न्यूनतम ६० हजारदेखि अधिकतम चार – पाँच लाख रुपियाँसम्म पनि उठ्ने गरेको छ । एउटा गाउँभित्र ओल्लोपल्लो वडामा जुन जुन जाति छन्, सबैले आपसी सहयोग गर्दै आएका छन्, एकै जातिमा सीमित गरिएको छैन ।

आर्थिक हिसाबकिताबको मूलखाता जुन घरमा कार्य भयो त्यसै घरमा रहन्छ । त्यहाँ आउने आगन्तुक इष्टमित्रले आफूले गरेको लगानीको हिसाब आफैं राख्छन् । हरेक घरमा साञ्चेपको खाता रहन्छ । पछि कसले कति सहयोग गरेको थियो र अब उसले साञ्चेप गर्दा कति बुझाउनु पर्ने हो भन्नेबारे खाता हेरेरै गर्नुपर्ने हुन्छ ।

जतन गर्नेका लागि पुरानो खाता रहिरहेको हुन्छ । यदि आफूले गरेको लगानी जसको घरमा गरेको हो त्यो फर्किन सकेन भने त्यो समाज बसेर निगरानी गर्न सक्छ । तर हिसाब लगानी लिखितरूपमा राखिएको भएपछि नियम, कानुन जस्तै लिखितम भने गरिएको हुन्न । मौखिक र सामाजिक मान्यताअनुसार चलेको परम्परा हो । कुनै पनि काम गर्छु भनेर योजनावद्ध ढङ्गले अघि बढ्नका निम्ति यो साञ्चेप ज्यादै उदाहरणीय प्रचलन हो । फाइदा बराबरी नै हो । साहूको ऋण काढेर ब्याज तिर्दै तिर्दै जाने साउँचाहिँ कहिल्यै नघट्ने जस्तो प्रथाबाट मुक्ति पाउने उपाय हो यो । जसले बढी साञ्चेप लिएको हुन्छ, उसैलाई बढी घाटा लागेको हुन्छ ।

साञ्चेप कुनै बिहे बटुलो, छेवार, पास्नी, मरौपरौका लागि चाहिँ हुँदै होइन । बिहे र मरौका निम्ति भने सीमित समाजका दाजुभाइमात्र सहभागी हुने गर्दछन् । मरौका निम्ति निश्चित रकम समाजभित्र तोकिएको हुन्छ । स्वेच्छाले आर्थिक सहयोग गर्ने चलन पनि छ । त्यसैगरी जसबाट सहयोग पाएको हो त्यसै घरलाई पछि मर्दापर्दा खेरी आर्थिक सहयोग गर्न पनि सक्छ । मरौ समाज छुट्टै रहेको छ ।

विवाह, साञ्चेप, छेवार, गुन्यूचोलीमा आपसी आर्थिक सहयोग गर्न मिल्छ । फिर्ता पनि हुन्छ । मेरो छोरोको बिहेमा एक सय रुपियाँ सहयोग गर्नु भएको छ भने तपाईको छोरो या छोरीको बिहेमा एक सय फिर्ता गरेर थप लगानी गर्न सक्छु । शुभ कार्यको शुभ कार्यमै र अशुभ कार्यको अशुभ कार्यमै आपसी सहयोग गर्ने चलन छ । आर्थिक प्रक्रिया एकै प्रकारका भए पनि छेवार, बिहे, गुन्यूचोलीमा खानाको परिकारमा फरक पर्ने हुन्छ ।

पङ्क्तिकारलाई साञ्चेप निम्तो ः

२०६४ फागुन ७ गते इलाम, पञ्चकन्या-६ का (दाजु) हुकुम राईले साञ्चेप गर्न लाग्नुभयो । त्यसका लागि निम्तो बाँडिरहनु भएको थियो । पुस २५ गते बुधबार बिहान उहाँले आफ्नी कान्छी बहिनी सीतामाया र ज्वाइँ गणेश (यो पङ्क्तिकार)लाई कागजको पोको (गाउँमा भएको भए सायद सालको पातमा) थमाउनुभयो । भन्नुभयो, ‘यो मेरो साम्चेक निम्तो है ।’ पोको खोलेर हेर्दा भित्र ल्वाङ र सुपारी राखिएको थियो । त्यतिखेर हामी भक्तपुरमा बस्थ्यौँ । साम्चेक हुने ठाउँ इलाम थियो । दाजुको हातबाट प्राप्त निम्तो स्वीकार्दै श्रीमतीजीले मलाई पोको थमाइन् र मलाई भनिन्- कसैले चाहिँ सुपारी, ल्वाङको सट्टा निम्तो पत्र (कार्ड) पनि छपाएर बाँड्छन् । हामी निम्तो मनाउन फागुन ७ गते इलाम जान पनि सक्छौं र नजान पनि तर साम्चेकमा इच्छाअनुसार आर्थिक रकम दाजुलाई पठाउनु अनिवार्य छ । हामीले पठायौं पनि ।

ओल्लोकिराँतको कमजोर व्यवस्थापन ः

वाम्बुले राई समुदायमा यो चलन केही कमजोर किसिमको छ । विहे, पितृकार्य, मरौ जुनसुकै बेला थोरै आर्थिक र अन्य सहयोग गर्ने चलन छ । जुन घरमा बिहे वा अन्य कार्य हुँदैछ भन्ने निम्तो आइसक्छ, त्यस घरमा सघौका रूपमा दुई-चार मानादेखि एक पाथीसम्मको अन्न (चामल, कोदो या मकै) को जाँड पकाएर तयार गरिन्छ । एक मटिया अर्थात् एक घैटी जाँड, एक पाथी चामल (मकै च्याँख्ला, जुन्यालो या धानको चामल) र एक सयदेखि बढी इच्छानुसार आर्थिक सहयोग पुर्याउने चलन छ । यहीँ चलनलाई सघौ भनेर बुझिन्छ । त्यस सघौ रकमको हिसाबकिताब खातापाता बनाएर लिखित रूपमा राख्ने गरिन्छ तर एउटा घरबाट जाने सघौ जति गरिन्छ, त्यो भन्दा बढी घरपरिवारका सबै सदस्य उपस्थित भएर खाने, पिउने, मात्ने जस्ता लापरबाहीपूर्ण कार्य हुने गर्दछन् । बिहे कार्यका निम्ति दाजुभाइबीचमा सीमित राखिएको छ र पाहुना कुटुम्बबाट ल्याइने कोसेलीको अनुमानित मूल्य तोकेर नगद थमाउने चलन छ ।

माइलाको बिहेमा सघौ ः

राष्ट्रियगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) राष्ट्रियगान छनोटपछि खोटाङ दिप्लुङ-४ की नानुकला राईसित विवाह बन्धनमा बाँधिए । दाजुको हैसियतले मैले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने अवसर पाएँ । वाम्बुले राई समुदायभित्र द्वार्‍वाङ्चा पाछाको चलनअनुसार भाइको विवाह गरियो । भाइको बिहेमा करिब दस हजार रुपियाँ मात्र सघौ उठेको थियो तर पाहुनाको कोसेलीको हिसाब गर्दा झण्डै सत्र हजार रुपियाँ नगद थमाउनु पर्यो । माड खाने मतुवालीको घरआँगनमा दाजुभाइ, पाहुनापाछा सबैलाई यो पक्षमा खासै ख्याल भएन यदि पल्लोकिराँत इलामजस्तै गर्न पाएको भए, केही हदसम्म ओल्लोकिराँतवासी वाम्बुले राईलगायतका समुदायमा पनि सुधार आउँथ्यो कि ? भन्ने लाग्यो ।

(लेखक वाम्बुले भाषाको पत्रिका ‘लिब्जु-भुम्जु’ त्रैमासिकका सम्पादक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *