जहिले पनि मनको वसमा छ मानिस। मनले उडाइरहन्छ, घुमाइरहन्छ। सँधै सबै समय आफूसँग भइरहने भनेको मन मात्र हो । देखिने गतिविधि शरीरको हुन्छ तर त्यसलाई संचालन गर्छ मनले । कुनै बेला मन र कुनै बेला बुद्धिको हानाथापमा शरीरले आफ्नो यात्र गरिरहेको हुन्छ। तर जीवन बुद्धिले भन्दा मनले धेरै निर्देशित हुन्छ। मानिसले जीवनमा अनुभव गर्ने अधिकांश विषयहरू मनका माध्यमले उत्पादन भएका हुन्छ । भावुकता मनसँग सम्बन्धित हुन्छ। भावुकता नहुंदो हो त मानिसले न माया गर्न जान्दथ्यो न प्रेम गर्न पाउँथ्यो, न उ गृहस्थि नै हुन सक्थ्यो । रुनु, हाँस्न, रमाउनु, नाच्नु, रिसाउनु गम्भीर हुनु सबै कुरा नमसँग सम्बन्धित छन्। र मन नै त्यो अनुभूतिको भण्डार हो जसले जीवनका हरेक क्षण प्रकम्पित गराइरहन्छ ।
मनको अभिव्यक्ति हुन्छ गीत, संगीत कला र हावभावहरूबाट ।
संसारको जुनसुकै समाजका पनि भाव अभिव्यक्तिका माध्यमहरू यिनै हुन् मानव मनको स्थितिको अध्ययनका प्रविधि पनि यिनै हुन् सबै भन्दा लोकप्रिय प्रविधि गीत हो। गुनगुनाएर मनलाई झंकृत गराइरहन्छ मानिस ।
संगीतबद्ध नगरुन्जेल गीत पनि कविता जस्तै हुन्छ भावको सघन उपस्थितिले त्यो कवितात्मक देखिन्छ । जब यो संगितबद्ध गरि गाइन्छ अनि गीत हुन्छ । विमल गिरीले कवितात्मक गीतको एउटा पोको मेरा झोलामा पर्ने गरि पठाइदिनु भएछ। निकै दिनसम्म झोलामै बोकी बोकी हिंडे समयको अभाव वा व्यस्तता ।
गीतका कैयौं प्राविधिक पक्ष हुन्छन् ती त म जान्दिन ती मैले यिनलाई पढें कवितात्मक ढाँचाले । पढ्दा लयबद्ध कविता जस्ता भए, भाव पक्षको प्रधानताले ।
अधिकांश गीतहरू मायाँ, प्रेम र भावुक अनुभूतिले भरिएका छन् । धेरै जसोमा विछोडको पीडा समेटिएको छ। यहाँ देश छोडेपछि मनमा उत्पन्न हुने आत्मिएताको गन्ध पनि छ। प्रेमिकासँगको तीतामीठा क्षणका अनुभुतिहरू पनि । मिलन र विछोडका आरोपप्रत्यारोपहरू पनि छन, एक अर्काप्रतिका तीव्र वेगमा आकर्षणहरू पनि छन् । धेरै जसो गीतहरूमा भावुकताले प्रधानता पाएको। प्रेमले दह्रो गरि समातेको मनलाई संझाउन, दार्शनिकताको उदार र निस्सार संसारतिर पनि प्रविष्ट छन् कति गीतहरू। धन, सम्पत्ति, मायाँ प्रेम, आदि कुराहरूमा रुखो अनुभुति पनि भेटिन्छ कतिमा । जे होस यी गीतहरूको पुस्तकले कवितात्मक शैलीमा पढ्दा पनि आनन्द दिन सक्छन् । अझ गाउन र संगीतबद्ध गर्न सके केही गीतहरू निकै राम्रो र लोकप्रिय हुन सक्ने देखिन्छ। पठनीय, विमलको यो गीत संग्रहलाई काव्यात्मक स्वागत गर्दछु ।
Dharabasi@yahoo.com
कृष्ण धारावासी
//गीतकार बिमल गिरीको गीतिसङ्गह ‘सम्झनाको तरेलीमा’ को समीक्षा
