Skip to content


हातमा छडी । शिरमा थुप्रै तारा खुकुरी चिन्ह अङ्कित फुलझडी । कम्मरमा चाक्लो पेटी । आङमा बाक्लो चिप्लेटी । काँधभरी फुली पाउमा बर्मे बुट । फिटफाट पोशाक । रसिलो, भरिलो, चिल्लो मुहार । टल्ल आँखा । डम्म शरीर ।

सरलाई देखेपछि टक्क अडिदै बालिकाले मन मनै प्रश्न पघारिन् ।

“फेरि कुन चाँहि घामट आयो यो ? के हेर्छन् यी पालेहरू ?” उनी क्वारक्वार्ती हेर्‍या हेर्‍यै भइन । साच्चै यतिबेर उनी मधुपानले मस्त थिइन र मधुर सङ्गीतमा शरीरको मधुशाला खुलै राखेर छम छम मधुरिमाको वर्षा गर्दै थिइन् ।

उनी दच्किएको ब्याघ्र शावक झैँ अलमल्ल परिन निकै बेर ।

टेबुलमाथि टकटक छडी बजार्दै सरले छाउरो सोफाभित्र मोटो काया हुल्नुभयो र अडरमा खुल्नु भो

“बन्द गर यो नाच । छोप त्यो । लगाउ लुगा । बाइफाले नकपुली हो ।”

“को हुनुहुन्छ सर ! किन पाउकष्ट गर्नु भो ?” बालिकाको मुलायम प्रश्न ।

“पाउमा कष्ट छैन बालिके । मनमा चाहिँ कष्ट प्रवेश । तिमीहरूलाई ठेगान लगाउने योजना छ विशेष ।” सरको स्वीकारोक्ति ।

“कस्तो कष्ट हो ? कस्तो योजना हो सर ?” जिज्ञासु बालाको सालाखाला निवेदन ।

“मधुशालाका बार बालाहरूको चालामाला निरीक्षण गर्न आएको म । पोशाकले चिन्नु पर्दैन ? उल्टो किन आएको भन्ने । मलाई नगन्ने ?” सरको उत्तर ।

“निरीक्षण गर्न आउनु भएको ? केको निरीक्षण ? परीक्षण समेत गर्‍या होइन भित्र बाहिर तपाईंहरूले ? त्यसपछि त हामी यो लाइनमा लागेको ।”

बालिकाको अलि तीतो, टर्रो तर यथार्थ अभिव्यक्ति । सरको ठाडो नियमापत्ति ।

“के को परीक्षण ? कहाँ कैले भयो त्यस्तो परीक्षण ?” सरको जिज्ञासा ।

जागीर दिलाउँछु भनेर कता कता बोलाउनु भो । ककनी, नगरकोट, पोखरा घुमाउनु भो ।

कपडासँगै हुर्मत पनि खोलाउनु भो होइन सर ? बालिकाको सम्झना निवेदन ।

“बकबास बन्द गर ! म गिरफ्तार गर्छु तिमीहरूलाई ।”सरको गर्जन ।

“विदेशीहरूलाई केही नगर्ने । हामीलाई मात्र किन औधि खेदो ?” बालिकाको जिज्ञासा । विदेशी भन्या विदेशी हुन । पाहुना । उनीहरूका कुटनीतिक आयोग नियोग के के छन के के । उनीहरूको दाँजोमा तिमीहरू चामल विनाका भुस हौ । धान विनाका पराल हौ । हेर देशै विदेश हुन लाग्या बेला यस्तो कुरा नगर । विदेशी चना, विदेशी आम्लेट । विदेशी साहु, विदेशी दाता उनीहरूसँग पनि दाँजो हुन्छ कहिँ ?” सरको स्पष्टोक्ति ।

“ठीक छ गिरफ्तार गर्नुस् तर दाना पानी नहर्नुस ।” बालिकाको निवेदन ।

“गर्छु । अव होटेल, रेष्टुँरा, बार सबै बन्द । तिमीहरू सबैको ठानामा बास । सरकारी दाना चरेर फिटौँला तास । ” सरको गर्जन ।

“उहाँसम्म लगिरहनु पर्दैन सर । यहीँ मिल्छ । रङ्गीचङ्गी सानो कोठा । चिटिक्क चकला । धक मान्नु पर्दैन । सरलाई अफ्ठ्यारो लागे पर्दा लगाए पनि हुन्छ ढोकै बन्द गर्ने पनि व्यवस्था छ ।”

बालिकाको वखानले सरको चिण्डे शिर सुमसुम्यायो । मथिङ्गल नयाँ खाले शैलीको नाट्यलीला तर्फ सलबलायो । सोचाइ सप्रिएर एकैछिन मौनतामा निदायो ।

“सर ! हाम्रा पुरा कथाहरू थुप्रै छन् । हजूर विश्वामित्र भएर एकछिन ध्यानमग्न बन्ने । म मेनका बनेर कम्मर मर्काइदिन्छु । पाउ थर्काइदिन्छु । हिजो आज कुहिराको आविष्कार गरिरहनु पर्दैन । डीम लाइट नै पर्याप्त छ । कि फेवातालतिर गएर सत्यवती बनौँला है सर ।”

नानीको बाणी तीतो हो कि मीठो, खुटि्टन गारो भो । सरलाई औडाहा छुटेझैँ सास फेर्न अफ्ठ्यारो भो । एकछिन आलस तालस परेपछि सरभित्रको सत्यनिष्ट अर्जुन उर्वसीको अगाडि परेझैँ ब्रहृमचर्यको बाढीमा बाँकटे हान्दै एक्कासी बाँध फुटेर गड्गडायो ।

“धेरै गफ नछाँट् बाइफाले । अनुचित बात नमार नखरमाउली । म यहाँ शान्तिसुरक्षा गर्न आएको कर्तव्यनिष्ठ राष्ट्रसेवक । सुरक्षाको हाकिम ।”

“के को शान्ति सुरक्षा ? कहाँ छ शान्तिसुरक्षा ? बालिकाको ठाडो प्रश्न ।

“कहाँ छैन” भन् न लठेब्री ।

“गस्तीका सेना पुलिसले तस्करको धुलाइ भेटेकै छन् । भन्सार हाकिमदेखि जिल्लाका वडाहाकिमसम्मले यथोचित लवटा चाखेकै छन् । नाकाबन्दी र घेराउका रत्यौलीहरू न्ााच गानपूर्वक चलेकै छन् । मन्त्रीका गाडीमाथि तोडफोड र ध्वंसहरू सविस्तार फैलिएकै छन् । क्यालिफोर्नियाको डढ्यौलोलाई माथ गर्ने गरी सुरक्षाको सङ्ग्रालो चलेको छ नेपालमा । यस्तो अचम्म देखेर विदेशी त छक्क छन । कुरा बुझ्दिनौ बालिके तिमी ।”

“त्यसो भए हामीले पनि बेला बेला मनशान्ति गराएकै हो । कमाइको भागशान्ति पनि बुझाएकै हो । अनि फेरि के पुगेन अब ? सरका हरुवा, चरुवा, घुमुवा, नन्दी, भृङ्गी सबैले दिनदिनै हामीलाई भजाएकै पनि हो । भन्सारका भागवण्डा र एयरपोर्टको सुनले शुद्ध नपुगेर हाम्रो नुनमाथि धावा बोल्ने ? तपाईंलाई स्वदेशमा चलाउने कटबाँसका लाठीदेखि बन्दुकसम्म र विदेशमा पठाउने ज्याकेट मोजादेखि गन्जी कछ्छासम्मको बजेटको नपुगेर अर्काको दानापानी सुद्ध खानुपर्ने ? खाको खायै गरी रहनु पर्ने ? तपाईं बृन्दलाई धिक्कार छ ।”

बालिका तल्लो तहसम्म उत्रिएर साँच्चिकै मुखाले बनिन् र ठाडै भनिन्- “अत्याचार अत्याचार ।”

कुन्नि के कस्तो प्रभाव परेर हो- एकै वाक्यमा सर पनि पानी पानी बनेर गल्नु भो । अनि मधुर वाणीमा भन्नु भो-“न रिसाउन बालिके ! तिमी रिसाउँदा हामीसँग देश रिसाउँछ । विदेश रिसाउँछ । सत्ता रिसाउँछ । पर्यटन व्यवसाय रिसाउँछ । यसो उपहार पाउने गरेको हाकीम गृहिणी रिसाउँछन् । हामीले पनि जागीर जोगाउनु पर्‍यो । जागीरको अर्थवेत्ता खोज्दा आफ्नै आत्मा रिसाउँछ । हाम्रो सुरक्षा कित्ता हेर्ने अहिले नयाँ मुल्ला आएको छ । विशेष शान्ति सुरक्षा योजना ल्याएको छ । प्याज धेरै खान्छ । त्यसैले दरभाउ बढाउनु पर्‍यो ।”

कुरा सुन्दै नानीको मुखारविन्द अमिलो । मन धमिलो । चाही नचाही भन्नै पर्ने कुरा नभनी न हुनेतर्फ मुखरित हुँदो भयो- “के त हाम्रो व्यवसाय बन्दै गर्ने । हामी भोककोकै भर्ने ?” ” त्यसो होइन लाटी कुरा बुझ्नु छैन । दर भाउ बढाउ, त्यो विदशी बोतल यता थमाउ । छानी छानी दाउ लडाउ ।”

सङ्केतको भाषामा खुसुक्क कानेखुशी गर्दै हावामा छडी नचाएर सर त सरासरि बाहिरिनु भो । गुड्दै गरेको उहाँकै गाडीले विशेष सुरक्षा योजनाको विस्तृत व्याख्या विवरण उकेल्दै थियो -टाँयँ टायँ फिस्स !!!

असार ५, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *