निबन्ध साहित्यको कान्छो विधा हो । गद्यशैलीमा आधारित यस विधाको आगमनसँगै साहित्यस्रष्टाहरू आफ्नो लेखनको उद्दे्श्य, शैली र औचित्यबारे खुलस्त हुन थालेका हुन् । यथार्थमा निबन्ध लेखन लेखकीय कसीका रूपमा परिचित छ । निबन्धकारले आफूलाई, आफ्ना दृष्टिकोणहरूलाई तथा सर्वमान्य पाठकसमक्ष विविध मूल्य र मान्यताहरूलाई अभिव्यञ्जित गराउने चाहनालाई मूर्तरूप दिने क्रममा शैलीगत, विचार, भावगत तथा विषयवस्तुगत नवीनता प्रदर्शन गरेर चमत्कारपूर्ण आकर्षण प्रदान गर्न सकेका खण्डमा उसको निबन्धलेखन सर्वपि्रय बन्नपुग्छ । अन्यथा त्यो शुष्क र फोस्रो प्रस्तुतिमा सीमित हुनपुग्छ । त्यसैले निबन्धलेखन अन्य विधागत लेखनभन्दा स्वतन्त्र छ, बन्धनमुक्त छ र सहज पनि छ । अर्कोतिर यो जटिलताले पूर्ण पनि छ । यसमा जीवन्तता भर्न चमत्कारपूर्ण कालिगढी अपरिहार्य छ ।
शैलीगत आधारमा निबन्धलाई वस्तुपरक र आत्मपरक गरी मुख्यतया दुईवटा धारमा प्रस्तुत गर्ने शैली वस्तुपरक हो भने जुनसुकै विषयवस्तुमा लेखक आत्मसात् भएर अभिव्यक्त हुनु वा प्रथम पुरुष शैलीमा निबन्ध लेखिनु आत्मपरकता हो । निबन्ध लेखनको आत्मपरक शैली भएको विधागत पहिचानसहित सोह्रौँ शताब्दीदेखि नै पाश्चात्य साहित्यजगत्मा उदाउन थालेको भए पनि नेपाली भाषामा यस शैलीलाई भित्र्याउने र विकासको चरमोत्कर्षमा पुर्याउने श्रेय भने निबन्धकार लक्ष्मीप्रसाद देवकोटाले प्राप्त गरेका छन् । उनले विक्रमको बीसौँ शताब्दीको अन्तिम दशकको प्रारम्भतिरै स्वच्छन्दतावादी कविता लेखनकै प्रवाहमा स्वतःस्फूर्त गद्यलेखन प्रारम्भ गरे र त्यसलाई आत्मपरक निबन्धको संज्ञा दिन थालियो । उनले त्यस किसिमको लेखनलाई शास्त्रसम्मत पाण्डित्यपूर्ण प्रस्तुति मानेनन् र फुर्सदको मनोरञ्जनका लागि गरिएको टेबिलगफको संज्ञा दिए । उनको लक्ष्मी निबन्धसङ्ग्रह (२००२) यसै दृष्टिकोणको साक्षी बनेर आयो । एकातिर उनले नेपाली आत्मपरक निबन्धको मौलिक स्वरूप निर्माण गरे भने अर्कोतिर पाश्चात्यजगत्का तेह्र जना विशिष्ट निबन्धकार र तिनका रचनालाई नेपाली भाषामा अनुदितरूपमा भित्र्याए ः प्रसिद्ध प्रबन्धसङ्ग्रह (१९९८) मार्फत । त्यसो हुनाले नेपाली आत्मपरक निबन्ध फाँटमा देवकोटाको आगमन सर्वाधिक प्राप्तिपूर्ण घटना बन्न पुगेको स्पष्ट छ । वैयक्तिकतालाई सर्वोपरि ठानेर भावनात्मक स्वच्छन्दता, सुस्पष्टता र प्रवाहशीलता प्रदर्शन गर्नु उनका निबन्ध लेखनका वैशिष्ट्य हुन् । उनैले सर्वप्रथम निबन्धमा निजात्मक सौन्दर्य चेतलाई प्रविष्ट गराए र कला र सौन्दर्यको नवीन मूल्य प्रतिष्ठापनसमेत गराउन सफलता प्राप्त गरे । नेपाली भाषामा देवकोटामार्फत नेपाली निबन्धले भाषा, साहित्य, संस्कृति, जातीयता, प्रकृति, धर्म र दर्शन, सभ्यता, शिक्षा, स्वाभिमान, सिर्जनात्मकताजस्ता अनेक विषय क्षेत्रलाई समेटेर कतै नियात्रात्मक, कतै हास्यव्यङ्ग्यात्मक, कतै अनुभूतिमूलक तथा कतै मूल्यमान्यतायुक्त बनेर आफ्नो संरचना एवं विधागत स्वरूप र मूल्य पहिचान गराउने उच्च सफलता प्राप्त गर्यो । देवकोटाले विशेषतः विचारभन्दा भाव र अन्तर्मुखी चिन्तनलाई प्रवाहित गराए र नेपाली निबन्धको नितान्त मौलिक र नवीन शैली निर्माण गरे । त्यसैले उनको निबन्धकार व्यक्तित्व सर्वोच्च बन्न पुगेको छ । दाडिमको रूखनेर (२०३९) तथा देवकोटा शताब्दी निबन्ध (२०६६) उनका अन्य महत्त्वपूर्ण निबन्धकृति हुन् ।
निबन्धकार देवकोटाले प्रारम्भ गरेको स्वच्छन्दतावादी धारलाई पछ्याउँदै क्रान्तिकारिता र प्रगतिवादितासमेतलाई समेटेर समाजसुधारका लागि कलम दौडाउने अर्का निबन्धकार हुन् ः हृदयचन्द्रसिंह प्रधान । उनले तत्कालीन नेपाली समाजका विरूप अवस्थाप्रति तीव्र व्यङ्ग्य गर्दै सुधारात्मक चेतलाई आत्मपरक शैलीमा अभिव्यक्ति दिएका छन् । उनका जुँगा (२००९), कुरा साँचो हो (२०११) लगायतका पाँच निबन्धसङ्ग्रह नै उपर्युक्त तथ्यका साक्षी बनेका छन् । यसपछि निजात्मक बौद्धिक चिन्तनधारालाई प्रवाहित गराउँदै अर्का निबन्धकार देखा परे शङ्कर लामिछाने । उच्च बौद्धिक पाठकको आवश्यकता महसुस गर्दै लामिछानेले अमूर्त शैलीका निबन्ध रचनाहरू नेपाली पाठकलाई प्रदान गरे । चेतनाप्रवाह शैलीलाई आत्मसात् गर्दै तात्कालिक अनुभव, अनुभूति र परिदृश्यलाई अवचेतनका माध्यमद्वारा प्रकटित गर्नु उनको खुबी हो । जतिसुकै सामान्य विषयलाई पनि जीवनको रङ प्रदान गरेर बेग्लै बान्कीका निबन्धहरू उनले रचेको पाइन्छ । सामान्य पाठकका लागि केही जटिल, क्लिष्ट र दुरुह लाग्ने उनका रचना प्रयोगवादी बन्न पुगेका छन् । लामिछानेका एब्स्ट्रयाक्ट चिन्तनप्याज (२०२४), गोधूलि संसार (२०२८) तथा शङ्कर लामिछानेका निबन्ध (२०५९) पठनीय निबन्धसङ्ग्रहहरू प्रकाशित छन् । यसैगरी बौद्धिकतालाई महत्त्व दिएर रामकृष्ण शर्माले पनि चिन्तनप्रधान निबन्धहरू लेखेका छन् । रामकृष्ण शर्माका प्यारो सपना र अन्य लेखहरू (२०१७) तथा एक बिसाउनी (२०३८) निबन्धसङ्ग्रहहरू प्रकाशनमा आएका छन् र उनका रचना समालोचकीय व्यक्तित्वको प्रभावमा केन्द्रित देखिन्छन् ।
आधुनिक नेपाली निबन्धको चौथो धार आलोचनात्मक यथार्थवादलाई अवलम्बन गरिएका निबन्धहरू लिएर देखापर्यो । यस धारमा धेरै निबन्धकारहरू सक्रिय रहेको पाइन्छ ः श्यामप्रसाद शर्मा, भैरव अर्याल, पारिजात, आनन्ददेव भट्ट, बालकृष्ण पोखरेल, तारानाथ शर्मा, मोदनाथ प्रश्रति, कृष्णचन्द्र सिंह प्रधान, जनकलाल शर्मा आदि । यो धार दोस्रो धार क्रान्तिकारी/प्रगतिवादी धारकै विकसित रूपमा अघि बढेको देखिन्छ भने यसले खासगरी प्रगतिवादी चिन्तलाई शिरोपर गरेर नेपाली समाजको उत्तरोत्तर उन्नति, प्रगति र जनसरोकारका विषयलाई केन्द्रबिन्दु बनाउने गरेको पाइन्छ । यीमध्ये धेरै स्रष्टाहरू अद्यापि क्रियाशील अवस्थामा रहेका छन् ।
वि.सं. २०४६ सालको जनआन्दोलन पश्चात् आधुनिक नेपाली निबन्धले नयाँ फड्को मार्न पुग्यो । राजनीतिकरूपमा खुल्ला परिवेश र वैचारिक स्वतन्त्रताको अनुभूति सँगाल्न पाएका स्रष्टाहरूले एक्कासि आफूलाई निर्वाध गतिमा अग्रसर तुल्याउन पाए र युगचिन्तनलाई आफ्ना निबन्ध रचनामा भित्र्याउन समर्थ बने । यस समयावधिमा एकातिर प्रौढपुस्ता निबन्ध लेखनमा तल्लीन बनिरहृयो भने अर्कोतिर युवापुस्ता आफ्नो अलग पहिचानसाथ उदायो । प्रौढ निबन्धकारको रचनामा राष्ट्रिय जागरण, मानवीय मूल्यमान्यताको स्थिरीकरणजस्ता विषय क्षेत्रले झाङ्गिने अवसर पाए भने युवा पुस्ताका रचना जिजीविषा, युगबोध, विसङ्गति, जीवनको नश्वरता, जुझारूपन, चुनौती, मानवीय आस्था र विश्वास, नयाँ उमङ्ग र उल्लासजस्ता बहुविधा विषयले भरिन थाले । प्रौढ पुस्तामा डा. माधवप्रसाद पोखरेल, राजेन्द्र सुवेदी, मञ्जुल, सुधा त्रिपाठी, रविलाल अधिकारी, रामलाल अधिकारी, सानुभाइ शर्मा, तेजेश्वरबाबु ग्वंगः, डा.गार्गी शर्मा, मोहनराज शर्मा, अभि सुवेदी, भाउपन्थी, खगेन्द्र सङ्ग्रौला, विमल निभा प्रभृति स्रष्टाहरू आफ्ना सशक्त निबन्ध रचनाका माध्यमले नेपाली निबन्ध परिवेशलाई नयाँ गोरेटोतर्फ डोर्याउन प्रवृत्त देखिन्छन् । त्यसैगरी युवापुस्ताका सक्रिय हस्ताक्षरहरू हुन् ः गोविन्द गिरी प्रेरणा, श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे, ज्ञानेन्द्र विवश, मोमिला, सङ्गीत आयाम, शारदा शर्मा, कृष्ण धरावासी, रजनी ढकाल, सुलोचना मानन्धर, नरेन्द्रराज प्रसाईं, गोविन्द वर्तमान, गीता त्रिपाठी, कुमारी लामा आदि । यस सानो लेखमा धेरै निबन्धकारहरूको नाम समेट्न सकिने स्थिति छैन । नेपाली गीतसङ्गीत र जीवन सङ्घर्षलाई महत्त्व दिएर निबन्ध लेखनमा प्रवृत्त रहने गणेश रसिक तथा हिरण्य भोजपुरे, उर्मिला भोजपुरे र विशेषतः कलाजगत्मा केन्द्रित रहने मनुजबाबु मिश्र तथा ज्ञानेन्द्र विवश उल्लेख्य निबन्धकार हुन् । पछिल्लो चरणको नेपाली आत्मपरक निबन्ध समसामयिकता र व्यक्तिसत्ताको खोजमा केन्द्रित बनेको पाइन्छ । यो चरण सामूहिक नेतृत्वमा क्रियाशील छ । वर्तमानमा तीव्रतासाथ उठ्ने गरेको उत्तरआधुनिक मुद्दालाई समेत नेपाली निबन्धले आत्मसात् गर्दै रहेको अनुभूति हुन्छ ।
नेपाली आत्मपरक निबन्ध लेखनको फराकिलो फाँटमा तीव्रता साथ कटिबद्ध रहेको युवापुस्ताको योगदानलाई विशिष्ट मान्नुपर्ने हुन्छ । यस पक्षमा क्रियाशील केही प्रतिनिधिसमक्ष निबन्ध किन लेख्ने ? तथा आफ्ना विषयगत विशेषताको चिनारी के छ ? भन्ने जिज्ञासा राख्दा सटीक र सार्थक जवाफ दिन पनि उनीहरू तत्पर देखापर्दछन् ः
१) श्रीओम श्रेष्ठ ‘रोदन’ ः
आफूले चाहेको विषयवस्तुलाई सजिलोसँग उतार्न र आफ्नोपनको आभास दिलाउन निबन्ध लेख्ने गर्छु । मान्छे मान्छेबीचको भिन्नता र मानवीयतालाई भित्री तहसम्म पुगेर आत्मसात् गर्ने र गराउने अभीष्ट मेरो रहन्छ ।
२) युवराज नयाँघरे ः
भावनालाई विशिष्ट ढङ्गले अभिव्यक्तिको माध्यम दिन निबन्ध लेख्छु म । कला, चिन्तन र समकालीन दृष्टि बोक्न निबन्ध सबभन्दा शक्तिशाली विधा हो ।
ग्रामीण चित्रण, मौलिक भाषा, ठेट झर्रोपना मलाई मनपर्छ । नेपाली संवेदना प्रस्तुत हुने प्रमुखरूप, नेपालको समग्रता आउने अनुहार नै यो विशिष्ट भाषा हो । आफ्नोपनको खोजी, मेरा निबन्धले खैखबर गरेको मूल पक्ष हो ।
३) ज्ञानेन्द्र विवशः
निबन्ध लेख्दा मनका छट्पटी शान्त हुन्छन् । अनुभूतिको अभिव्यक्तिले जीवन पाउँदाको आनन्द अत्यन्त रोमाञ्चक लाग्ने हुँदा म निबन्ध लेख्छु ।
मेरा निबन्धका विषय र विशेषता कला, प्रकृति, जीवन र संस्कृति हुन्. । यिनकै प्रभाव र प्रयोगलाई शब्दमा उनेर मैले निबन्धको स्वरूप दिने गरेको छु ।
४) विनोद मञ्जन ः
निबन्ध खुल्ला फाँट भएकाले आफूले चाहेजस्तो फूलबारी बनाउन सजिलो भएकाले हो ।
जीवनजगत्को सुन्दर पक्षका लागि विचारको विशेष भूमिका देखाउनु तथा विचार र कलाको समन्वय गरेर प्रस्तुत गर्नु निबन्धात्मक कला हो ।
वर्तमान नेपाली युवापुस्ताका प्रतिनिधि निबन्ध स्रष्टाहरूका उपर्युक्त भनाइहरूले नेपाली आत्मपरक निबन्धलेखनको खास प्रवृत्तिबारे बुझ्न हामीलाई मार्ग प्रशस्त हुनसक्छ । अहिले नेपाली आत्मपरक निबन्ध समुन्नत अवस्थामा पुगेको छ । असङ्ख्य स्रष्टाका अनगिन्ती निबन्धसङ्ग्रहहरू प्रकाशनमा आएका छन् । विश्वविद्यालयका पाठ्यक्रमका अतिरिक्त विभिन्न सामूहिक सङ्कलनहरू उपस्थित छन् । डा. ईश्वर बरालले सयपत्री (२०१७) को सङ्कलन प्रकाशन गरेपछि नेपाली आधुनिक निबन्धले सङ्गठित हुने अवसर प्राप्त गरेको हो । यसै पङ्क्तिकारको सम्पादनमा चार जना युवा निबन्धकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे तथा ज्ञानेन्द्र विवशका सोह्रवटा निबन्ध सङ्कलन गरेर संवेदनाका स्वरहरू (२०५४) प्रकाशनमा आएपछि युवापुस्ता अझ सशक्ततासाथ नेपाली आत्मपरक निबन्ध फाँटमा सक्रिय हुन थालेको हो । उपर्युक्त चारै जना निबन्धकारहरूका अनेक व्यक्तिगत सङ्ग्रह प्रकाशनमा आएका छन्, राष्ट्रियस्तरका विभिन्न पुरस्कार प्राप्त गरेका छन् र नेपाली निबन्ध फाँटका उज्ज्वल नक्षत्रका रूपमा चारै स्रष्टा स्थापित भएका छन् । अरू अतिरिक्त भैरव अर्यालको सम्पादनमा आएको साझा निबन्ध (२०२६), रामलाल अधिकारीको नेपाली निबन्ध यात्रा (सन् १९७५), प्रमोद प्रधानको नेपाली निबन्धको इतिहास (२०६६) लगायत मधुपर्क (२०५१), मिर्मिरे (२०६४) का निबन्ध विशेषाङ्कहरूले नेपाली आत्मपरक निबन्धको वास्तविक स्वरूप पहिल्याउन पर्याप्त मद्दत गर्ने कुरा निर्विवाद छ । नेपाली आत्मपरक निबन्धको पछिल्लो उपलब्धिका रूपमा केशवराज जोशीदेखि सुधादेवी आचार्यसम्मका सोह्र जना नवोदित निबन्धस्रष्टाहरूको निबन्ध सङ्कलन देवकोटा शताब्दी निबन्ध (२०६६) उपस्थित भएको पाइन्छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने नेपाली आत्मपरक निबन्धको लगभग साढे सात दशकको यात्रा मूलतः पाँचवटा चरण वा धारमा अलगअलग पहिचान र प्राप्तिसहित तय भएको छ । प्रारम्भमा निबन्धकार लक्ष्मीप्रसाद देवकोटाले यात्रानुभूति, काव्यात्मकता, पारदर्शिता, विनयशीलता, रागात्मकतायुक्त नितान्त वैयक्तिक अभिव्यक्तिमार्फत निबन्धलेखनलाई महत्त्व दिन थालेपछि हृदयचन्द्रसिंह प्रधानले वैयक्तिकता, प्रगतिशीलता र व्यङ्ग्यप्रधानतासहित त्यस क्षेत्रमा आफ्नो वर्चश्व कायम गराए । तेस्रो मोडमा अमूर्तता, जटिलता, विशृङ्खलतालाई मुख्य विशेषता बनाएर शङ्कर लामिछाने उदाए । चौथो मोडदेखि आत्मपरक निबन्धलेखनमा सामूहिक नेतृत्व देखापर्यो । श्यामप्रसाद शर्मा, तारानाथ शर्मा, कृष्णचन्द्रसिंह प्रधानलगायतका स्रष्टाहरूले सक्रियता प्रदर्शन गरे । पाँचौँ मोडमा प्रौढपुस्ताकै हाराहारीमा युवापुस्ता अपेक्षाकृत सशक्त बनेर उपस्थित भयो । नेपाली आत्मपरक निबन्धको वर्तमान अत्यन्त उर्वर, सशक्त एवं प्राप्तिपूर्ण बन्न पुगेको छ । असङ्ख्य निबन्धकारहरू निबन्ध सिर्जनामा कटिबद्ध बनेका छन् । एकातिर प्रौढ तथा युवा दुवै पुस्ताको उपस्थिति चर्चायोग्य छ भने अर्कातिर नारी र पुरुष दुवैवर्गका स्रष्टाहरू निबन्धलेखनमा सक्रिय छन्, यो अत्यन्त प्रशंसनीय पक्ष हो । अतः नेपाली आत्मपरक निबन्धको खास प्रवृत्ति र प्राप्तिलाई बुँदागतरूपमा यसरी औंल्याउन सकिन्छ ः
१) वैयक्ति अनुभूतिको प्राधान्य
२) राष्ट्र, जाति, संस्कृति र प्रकृतिप्रेमको उद्घाटन
३) विसङ्गत वर्तमानप्रति वितृष्णा
४) स्वच्छन्दतावादी/प्रगतिवादी चेतको विस्तार
५) सरल, सहज एवं प्रवाहशील काव्यात्मक भाषाशैली
६) व्यङ्ग्यविद्रोह भावको प्रधानता र सुधारवादी चेतना
७) जीवनजगत्को यात्राबाट उत्पन्न परिस्थितिप्रतिको संवेदनशीलता ।
८) कर्मशीलता एवं आशावादी दृष्टिकोणको प्रसार
९) कतै अमूर्तता र दुरुहताको प्रदर्शन
१०) मानवीय मूल्यमान्यताको वकालत तथा अस्मिताको खोजी ।
११) विश्वव्यापीकरणतर्फको अग्रसरता र विश्वबन्धुत्वप्रति आकर्षण
१२) सामाजिक मूल्यमान्यतामा देखापरेको विचलनप्रति नैराश्य
१३) राष्ट्रिय राजनीतिक परिदृश्यप्रतिको टिप्पणी र युगबोधको अभिव्यक्ति आदि ।
वसुन्धरा, काठमाडौँ
