‘गुरुकुलमा जुत्ता’ यो कस्तो शीर्षक बनाइएको हो जसको कुनै सङ्गति या मेल नै देखिँदैन भन्ने पाठकलाई लाग्नसक्छ । ‘गुरुकुलमा जुत्ता’ भन्नु भन्दा त गुरुकुलमा विद्यार्थी, शिष्य वा चेला भनेको भए राम्रो हुन्थ्यो भन्ने किसिमका धारणा वा विचार आउनु स्वाभाविकै हो । गुरु भएपछि त्यहाँ सँगसँगै गाँसिएर आउने पहिलो शब्द भनेको त शिष्य अथवा विद्यार्थी नै हो भन्ने कुरामा मतान्तर नहोला । यति हुँदाहुँदै पनि गुरुकुल र जुत्ता शब्दमा केही सम्बन्ध भएको भेट्टाएर नै यो कुरा अघि सार्दैछु ।
प्रसङ्ग केही वर्ष अघिको हो, यो लेखक एउटा साहित्यिक कार्यक्रमको निम्तो पाएकोले त्यसमा सम्मिलित हुन काठमाडौँको गुरुकुल नाउँ भएको नाट्यशालामा पछिल्लोपल्ट पुग्यो । त्यहाँ कार्यक्रम सञ्चालन हुन लागिसकेको थियो । मञ्चमा बत्तीको उज्यालो भए पनि दर्शक दीर्घाको बत्ती भने निभाइएको थियो । यस्तो स्थितिमा त्यहाँको नियमअनुसार जुत्ता फुकालेर हातले बोकेर त्यही कक्षकै एक ठाउँमा अरूहरूले राखेकै ठाउँमा आफ्ना जुत्ता यो लेखकले राख्यो । मञ्चकै नजिक ओछ्याइएको दरीमा अरू दर्शकहरूसँगै पलेंटी मारेर बस्यो । यसरी बस्नलाउँदा यो लेखकलाई एक प्रकारको रमाइलो अनुभूति पनि भयो, ‘गुरुकुल’ नाउँ सार्थक भएजस्तो पनि लाग्यो । मञ्चमा आसीन व्यक्तित्वहरूले एक एकगरेर आफ्नो अभिव्यक्ति प्रकट गरिरहेका थिए । गुरुकुलको त्यस कक्षमा कति आमन्त्रित व्यक्तित्वहरू थिए भन्ने कुराको अनुमान यो लेखकले गर्न सकेन, किनभने त्यहाँ दर्शक दीर्घामा बत्ती निभाइएको थियो । यस्तो स्थितिमा पनि त्यहाँ बजेका तालीको गडगडाहटले धेरैजना रहेछन् भन्ने अड्कल भयो । यो लेखक ती अरू धेरै श्रोता वा दर्शकसँगै त्यति रमाउन सकेन, दृष्टिमञ्चमा भए पनि ध्यान भने आफूले फुकालेर राखेका जुत्तापट्ट िनै गइरहेको थियो । अँध्यारोमा छामछाम छुमछुम गर्दै राखेका जुत्ता अरू कसैले थाहा पाइ वा नपाई लगाएर हिँडिदिने पो हो कि ! त्यसो भएमा के गर्ने होला भन्ने किसिमको तर्कना आइरहृयो ।
कार्यक्रममा निमन्त्रित भएर गएको व्यक्तिले कार्यक्रममा ध्यानदृष्टि दिनु सट्टा आफ्ना जुत्तामा नै केन्दि्रत गर्न पुग्दा एक प्रकारको छटपटी अनुभव हुन थाल्यो ! कार्यक्रम कतिखेर सकिएला र आफ्ना जुत्ता खोज्नपट्ट िलागौँला भन्ने भावना आइ नै रहृयो । यस्तो भए पनि त्यहाँबाट जुरुक्क उठेर हिँड्ने अवस्था पनि थिएन । अर्कोकुरा अँध्यारो ठाउँमा राखेका जुत्ता भेट्टाउन पनि मुस्किलै हुन्थ्यो । जुत्ताको छटपटीले गर्दा कार्यक्रम लामो भएको लागे पनि आफ्नो निर्धारित समयमा नै कार्यक्रम सकियो, बत्ती पनि बल्यो अनि हतारिँदै गएर आफ्ना जुत्ता खोज्दा धन्न भेट्टाइयो, सन्तोष लाग्यो । पछि यसो हेर्दा त्यहाँ जुत्ता नफुकाल्न खोज्नेका लागि छुट्टै व्यवस्था गरिएको पनि देखियो तर त्यो निकै सीमित थियो । सम्पन्न कार्यक्रमका बारेमा आफ्ना सहकर्मीहरूले प्रतिक्रिया जान्न खोज्दा ठीकै लाग्यो भन्ने जवाफ दिइयो । मुखले यसो भने पनि मनमनै भने जुत्ताका कारणले कार्यक्रममा खासै ध्यान दिन नसकेकोमा नमिठो अनुभूति भयो ।
गुरु र जुत्ताकै सन्दर्भमा एउटा अर्को प्रसङ्ग पनि जोडी हालौँ भन्ने लाग्यो ।
२०६६ सालको अन्तिमतिर काठमाडौँको टुँडिखेल मैदानमा विशाल योग शिविर बाबा रामदेव र आचार्य बालकृष्णको तत्वावधानमा सम्पन्न भयो । जहाँ हजारौँ हजार मान्छेले एकैसाथ योगसाधना गरे, योग गरेर निरोग रहन चाहनेहरूले बिहान बिहानै आफ्नो वासस्थानबाट जुत्ता लगाएर टुँडिखेलसम्म आउनु स्वाभाविकै हो, साथै आफूले लगाएका जुत्तालाई कहाँ कसरी राख्नुपर्ने हो भन्ने चिन्ता लाग्नु पनि ठीकै हो । योगसाधनेच्छु व्यक्तिका यस्ता भावनालाई बुझेर नै होला, शिविर सञ्चालकद्वारा जुत्ताको व्यवस्थापन सजिलो र राम्रो गरिएको देख्दा यो लेखक पनि खुशी भयो । जसको जुत्ता हो त्यो व्यक्ति आफैंले फुकालेर झोलामा हाली आफैंसँग राख्नुपर्ने नियम बनाइएको रहेछ ।
योगगुरु रामदेवले सिकाएको योगसाधनामा तनसँगै मनलाई पनि जगाउन सक्यो । गुरुकुलमा जस्तो जुत्ताको चिन्ता दोहोरिन पाएन आफ्नो जुत्ता आफैंसँग हँुदा अरू कसैले जानी नजानी लगाएर हिँड्ला कि ? भन्ने आशङ्का उठ्न पाएन । यस्तो स्थितिमा जुन उद्देश्यका लागि त्यहाँ पुगिएको हो त्यसमा आफ्नो मनलाई प्रसन्नतापूर्वक लगाउन सहज भयो । यसलाई उपलब्धिकै रूपमा लिन सकिन्छ ।
हामीमध्ये धेरैले आफ्नो जीउमा लगाउने लुगाहरूलाई जति महत्त्व दिन्छौ त्यति महत्त्व खुट्टाका लागि आवश्यक जुत्ताका लागि दिँदैनौं । त्यसैले पनि होला कतिले भन्ने गरेका छन् नाथे जुत्ताको के भाउ ? तर यही जुत्ता हामीसँग केही घण्टा अलग्गिदा हामीलाई कति छटपटि हुन्छ भन्ने कुरा माथिका प्रसङ्गले पनि देखाउँछ ।
मन्दिरमा देउताको दर्शन गर्न भनेर गएका भक्तहरूका आँखाले देउताको मूर्तिलाई देखेपनि मनमनै चाहिँ मन्दिर बाहिर छोडेर आएका जुत्तालाई नै सम्भिmइरहेका हुन्छन् । यस्तो स्थितिमा ती भक्त मन्दिरको रमाइलो वातावरणमा धेरै बेर बस्न सक्तैन, त्यहाँको पवित्र लाग्ने वातावरण धेरेबेर टिक्न सक्तैनन् अनि जति सकेको छिटो निस्कन चाहन्छन्, जुत्ताका कारणले मन्दिरमा पनि आफ्नो मन विचलित भएको पत्तै पाउँदैनन् ।
जुत्ता लगाएर प्रवेश गर्न नपाइने मठ-मन्दिरमा जानुपर्दा यो लेखक धेरैजसो पुराना जुत्ता लगाएर नै जान मन पराउँछ । यसबाट जुत्ता हराउने चिन्ताले सताउँदैन साथै जहाँ पुगिएको हो त्यहाँ राम्रोसँग मन लगाएर घुम्न सकिन्छ, आनन्दलाभ हुन्छ । गुरुकुलमा बसेको बेलाको जस्तो जुत्ताको चिन्ताले छटपटिनु पर्ने अवस्था हुँदैन । तर सधैँ यस्तो हुँदैन । अपर्झट रूपमा जुत्ता फुकालेर प्रवेश गर्नुपर्ने ठाउँ विशेषमा पुग्दा जुत्ताको चिन्ताले चिन्तित हुनुपरिहाल्छ ।
गोडामा मोजासँगै जुत्ता लगाउने प्रचलनै छ । कुर्न कार्यालयको जुत्ता निषेध गरिएको कक्ष विशेषमा प्रवेश गर्नुपर्दा मोजामात्र लगाएका धेरैका खुट्टाबाट निस्कने दुर्गन्धबाट हामी परिचित नै छौँ । यस्तो अवस्था आइपर्दा खुट्टाबाट दुर्गन्ध निस्कने व्यक्ति निकै अप्ठ्यारोमा पर्छ, एक प्रकारले लज्जित पनि हुन्छ, यस्तोमा जुत्ता फुकाल्नै पर्ने परिपाटीलाई ठीक मान्न गाह्रो हुन्छ । तर व्यक्तिले आफ्नो कमजोरीलाई बुझ्यो भने हटाउन पनि सक्छ, जुत्ता फुकालेर पलेँटी मारेर बस्दाको आनन्द भिन्नै किसिमको हुन्छ, जसलाई शब्दहरुमा सजिलै व्यक्त गर्न सकिँदैन ।
