Skip to content


पस्दा सङ्गनि फर्कंदा सन्तति !

हो, यो साँचो तस्बिर । क्यान्टोन्मेनबाट फर्किरहेका लडाकु युवतीका काखकाखमा छन् कलिला शिशु । उदास, अन्योल र नाप्न नसकिने भविष्यको शृङ्खला देखिरहेँछु म । बल्दो रगत गालामा उमालेर शिविर भित्रिएथे ती ।

अहिले हेरिरहेँछु-काखकाखमा वर्णसङ्कर सन्तान च्यापेर खुरुखुरु बाहिरिइरहेछन् ती । युद्धलाई बाँध्न खोजियो मत्थरको लहरमा । थुम्थुम्याउन खोजियो युद्धलाई । जीवनको कोमलतम महत्त्वनिर राख्न खोजियो युद्धलाई ।

अनि त्यसले यी सबै अर्थलाई बाँध्यो चपक्क !

पुराना दृश्यका भँगाला हेर्दैछु म । अकल्पनीय, दुर्दान्त अनि आपट्टे तस्बिर यतिखेर आउँछन् मनग्गे । सङ्गनिको भीडभाडले रैँदालो मच्चाएर उथलपुथल पारिएका ती दिनलाई हेर्छु । मानिसका मूल्यले अपसादपूर्ण घाउमा पुरिएर बाँच्नु परेथ्यो क्षण-प्रतिक्षण ।

झिल्ल छन् शिविर पसेका लडाकुका हातका सङ्गनि । परिवर्तनको एउटा कथा उद्घोष भएर ती पसेका हुन् शिविर । रूपान्तरणको एउटा रङमा घोलिएर ती पसेका हुन्, शिविर ।

क्यान्टोन्मेन र युवती लडाकु ! नदीमाझको डुङ्गाजस्तो !

शिविर भित्रिरहेका कलिला किशोरीका समयरेखा पढेँ निरन्तर । थिएन त्यहाँ सभ्यताको गुण, दर्जा वा योग्यता ।

धेरै धेरै कुराको चुरो । अनन्तभावको पहाड । अथाह द्वन्द्वको बोलकबोल । टलक्क टल्किने सङ्गनि बोकेर क्यान्टोन्मेन पसेका लडाकु युवतीको लस्करले चर्चेको सन्दर्भ पढ्छु ।

अक्षर खोसिएर कता पुगे कता ! शब्द अब कसरी आउने ? वाक्य कसरी अब भित्रिने ?

ज्ञान पुड्कियो ।

चिन्तन, चाउरियो र असमयमै रोगी भयो । विचारको विमर्श-स्वभाव थला पर्‍यो ।

सङ्गनि हातमा परेपछि लडाकुले कसरी बु्झ्ने भूगोल ? गणित गुन्ने कहिले ? अर्थशास्त्र वा सामाजिक पढ्ने कसरी ? पाककलाको शिक्षा कसरी जान्ने ? विज्ञानको रहस्य खोतल्ने कसरी ? कहिले सिक्ने वनस्पतिज्ञानको मूल्य ? इतिहासको समग्रता कसरी घोक्ने ?

सिक्ने समयमा सङ्गनि भो साथी !

शिविर छिरिरहेका लडाकुका स्वप्नहरू यात्रारत थिए उन्मादी रापमा । उल्कापात मच्चाउने सपनाभन्दा अरू कुरा ओर्लिएनन् आँखामा । जित्ने र जितिछाड्ने यी दुई रहरका उज्याला घाम थिए तिनको आकाशमा ।

छरिएको थिएन अरू कुनै तिरिमिरी प्रकाश ।

युद्धले थेग्ने मनको कविता तिनले बुझ्न पाएनन्, हमलाले पार्ने धर्तीको कथा तिनले जान्न सकेनन् । युद्धले गर्ने असर हृदयको चित्रमा सजाउन पाएनन् तिनले ।

केवल गीत गाए युद्धको !

आकाश उही थियो । त्यसकै मुनि रहेको शिविरमा लडाकुको आँखामा सजियो इन्द्रेणी । धर्ती उही थियो । त्यसकै असरल्ल मौसममा फौजी युवतीका मुस्काए ओठका जम्मै पत्र ।

समयले कसैलाई प्रेममा नापजोख गर्दैन । अथवा भोक र तिर्खा परतिर रहेको संवेदनाको इशारालाई निषेध गर्ने संयन्त्र आजसम्म देखेको छैन मैले ।

कसरी निर्विवाद हुन्छ तरुनी लडाकू मन ?

म फेरि पनि फर्किन्छु पुराना दिनमा । पङ्क्तिबद्ध फौजी, युवतीका हातहातमा छ सङ्गनि । त्यसले ताकेको गढी वा किल्ला कति थियो ? शत्रु मोर्चा ढाल्ने अदम्य युवापनसँगै थियो उद्वेलित र जोसिलो मन ।

मलाई तिनका आँखाबाट मानिसको चोटिलो दुःख नझुल्काएको विपनाले झस्कायो घरिघरि ।

एउटै रङको लुगा । सम्भवतः तह छ त्यहाँ । एउटै उर्दी छ । सम्भवतः सम्बोधन छ त्यहाँ । ती सबैमा एउटै मत नबाझिकन प्रवाहित छ- लड फेरि लड ।

शिविर पसेका छन् दमदार लडाकु ।

ती युवतीको जत्था हेर्छु । अक्षरबाट धेरै पर रहेका छन् आँखाहरू । परिवारबाट धेरै टाढा रहेका छन् हृदय । संवेदनाबाट निकै दूर रहेका छन् मन । यी सबैलाई स्वीकारेको क्षणमा सङ्गनि थियो हातमा । वरपर निर्क्योल नभएको भविष्यले हाब्रो च्यातिरहेको छ, छ ।

नाँचिरहेको समय । गाइरहेको वातावरण । रमिरहेको मौसम । हरक्षण नयाँ ज्ञान ओर्लिरहेको समाजबाट एकाएक ओझेल परेका थिए यी तरुण धुकधुकीहरू । अनि तिनका हातमा सजिएथ्यो सङ्गनि ।

सामेल हुनै पर्‍यो अनेक प्रशिक्षणमा । सुन्नै पर्‍यो घोषणापत्र । थाहा पाउनै पर्‍यो रणनीति ।

जीवनको खास यात्रा त गुजुमुज्ज !

मैले चुलाचुलीबाट निस्केका उराठ लडाकु नि देखेँ । मैले शक्तिखोरबाट बाहिरिएका उदास जोधाहा नि देखेँ । मैले दहवनबाट फिरेका उद्विघ्न प्रहारक नि देखेँ ।

हतियारले अग्लिएका युवतीका अनुहार पसेथे झ्याल्टुङ डाँडा । युद्धले परिपाक तरुण मन पसेथेँ दशरथपुर । विद्रोहको ढुकढुकीले बाँचेर प्रवेश गरेथे दूधौली। देशलाई साक्षी राखेर गएथे तालबन्द ।

क्रमबद्ध पङ्क्तिमा पस्ने युवा हृदय यतिखेर शिविरबाट बिदाई भएको छ फेरि । कुनै समय शरीर नापिएन । कुनै बेला ज्यान जोखिएन । कुनै बखत तौल हेरिएन ।

हातहातमा सङ्गनि दिएर भनियो- ‘तिम्रो वर्तमान हामीलाई देऊ, हामी तिमीलाई दिनेछौँ भविष्य !’

सायद यही अकल्पनीय उल्लासमा एउटा सिङ्गो पुस्ता सुसज्जित भयो शस्त्रले । यही अनमोल सपनाको मोहमा एउटा विशाल जमात समात्न पुग्यो सङ्गनि ।

यही अपार लक्ष्यको चाहनाले तानियो एउटा भव्य ज्यान-शृङ्खला ।

प्राप्तिहरूको मोल यतिखेर गनिरहेको छैन म !

सयौँ युवतीहरू पसेथे सङ्गनि लिएर । र्फकंदा तिनका हातमा थिए अवोध शिशु । यी दुईबीचको विराट सम्बन्धले छोइएको समय पढ्न खोजिरहेको छु म ।

युद्ध हुन्छ राजनीतिको !

त्यसले सिद्धान्त घोकाउँछ । रणनीति रटाउँछ । जिम्मेवारी बताउँछ । कर्तव्य सुनाउँछ अनवरत । उपलब्धिहरूको जोडघटाउ गर्छ ।

निष्ठुरताको अर्को नाम हो राजनीति !

भूल गर्नेहरूको लस्करले सधैँ अर्चना पाएको देखिरहेँछु । पखेटा उम्रेका कमिला बनाइयो शिविरको आदेश ।

मलाई कुनै अमृत चाख्नु छैन राजनीतिको ।

मेरा अघि मान्छेको अर्थले लखेटेको समाज छ, हृदय छ र अनुहारको आकुलता छ । त्यही अनुहारमा उभिएको मान्छेको चित्र पढेर मेरो मन भएको आँधीसमान, हुरीसमान ।

खबरको खेती गर्नेहरूको हूलमा छु ।

तिनले भने- ”तपाइँले भेट्नै नपाउने मानिसहरू भेट्ने भए जाउँ शिविरतिर !”

अनि म पुगेँ चुलाचुली, शक्तिखोर, दूधौलीर झ्याल्टुङडाँडा । त्यस्तै, दहवन, तालबन्द र दशरथपुर । यी ठूला शिविर । यी भव्य क्यान्टोन्मेन । हानमारलाई, सभ्यता र जीवनको इन्द्रेणीमा सजाउने एउटा चेष्टा ।

युद्धको रङ आँखामा टाँसेका लडाकु युवती छन् । हातहातमा भयानक शस्त्र छन् तिनका । काँध गलोस् तर परिवर्तन नरोकियोस्- तिनले बोलेका छन् । कम्मर थाकोस् तर युद्ध नथाकोस्- लडाकुको मन उर्लिएको छ ।

त्यही योजनालाई परेड बनाएर हिँडे ती ।

आज धेरैपछि सङ्गनि बोकेर शिविर छिर्नेहरू देखेँ । आजै तिनले सन्तानका मुख मुसारेर शिविर बाहिरिएका पनि देखेँ ।

चुलाचुलीको एउटा पिँढी- ‘रगत सेलायो अब !’

एउटी लडाकुले काखकी नानीलाई छाती चुसाएर भनी ।

मैले युद्धमा प्रेम गरिरहेकी विद्रोही युवती र भविष्यको क्षितिज ताकिरहेकी सानी नानीको आँखाहरू पढेँ । मान्छे शब्दले । चिथोर्‍र्याे मलाई ।

त्यो चिथोर्ने अङ्ग अरू थोक थिएन-राजनीतिको क्रूर पञ्जा थियो त्यहाँ । ठट्टाले चलेको छ सभ्यता । यो पर्गेल्न नसकेको खिसिट्युरीभित्र लोप भएको छ हाँसो । यो भेद खुल्न नसकेको चरित्रभित्र लुप्त भएको छ उल्लास । शिविरको तर्कमा जीवन एउटा भविष्यहीन मूल्य । शिविरका तरुण रगतमा एउटा अन्योल हो, टेकिएको पाइला ।

व्यवस्थाको हरेक नयाँ नाम खोजिएको छ निरन्तर ।

त्यही नौलो खोजाइमा सगबगाएको हो हतियारको होहल्ला । त्यस हुँकार एउटा खास मोडमा रोकिएपछि भित्रिएको हो- सङ्गनिको लस्कर । मैले अधैर्य आँखाले ती शस्त्रलाई हेरेँ- शिविरले हतियार खोस्यो अनि शिशु थमाएर पठायो बाहिर !

शक्तिखोरको एउटा आँगन- ‘जोस त थला परिगो नि !’

एउटी जोधाहाले काखको बच्चाको कपाल कोर्दै भनी ।

जताततै लट्टे कपालले विरूप भएको छ समाज । जसलाई धोएर सुग्घर बनाउँछु भन्ने हातले जिम्मेवारी पायो बेग्लै । जसलाई कोरीबाटी चिटिक्क बनाउछुँ भन्ने जाँगरले काम पायो भिन्नै । खटनपटनको त्यो अनहार नचिनेकोमा खिन्न मान्नु पर्ने भएको छ मैले ।

हतियार र अनुशासन, परस्पर नमिली नहुने सिद्धान्त । यदि यो व्यवहार नहुने र उडन्ते ठानिने हो भने निश्चय छ-हाम्रो जीवनलाई मृत्युको प्रमाणपत्र दिए हुन्छ ।

पक्का हो यो शिविर हुनुको अर्थ ।

घाउ, आँसु र हिक्काको ठूलो उपहार बोकेका शिविरनिर बसेको छु । बिसाएको ज्यानमा भित्रिसकेको छैन सामान्य चाल । इमानलाई सलाम दिन सिकाउने सभ्यता निर्माण गर्दैछ क्यान्टोन्मेन । अर्थात् शिविरको शासन !

दूधौलीको एउटा झ्याल- ‘सपना अब अर्को छ !’

एउटी युद्धकन्याले काखे नानीलाई गाजल लगाएर भनी ।

हो, थुप्रै सपना थिए तिनका । सधैँ मूल्यहीन भएर श्वास फेर्नुका । सधैँ उपेक्षाका दर्फराइमा रुनु न हाँस्नुका । ती सबैलाई कतै मिल्क्याएर सम्पन्न संसार नबनाई भएकै छैन । यो अकाट्य सपनाको कल्पनामा दौडियो जीवन ।

स्तब्ध हुन खोज्यो समय ।

म दिनहुँ अक्षरमा देख्थेँ मृत्युको पहाड । पहाडका तरेलीभरि अनेक मृत्युले अट्टहास गरेको गरेकै देखेपछि परेली खुल्दैनथे आँसुका भेलले । कुनै प्रमाण थिएन जितेको । तैपनि हारभन्दा धेरै टाढा छौँ हामी भन्ने झिनो तर्कले उभ्याउँथ्यो ।

हाँडीमा कप्टेरा चलाउने अरू नै हुन्थे । हामी उच्छिट्टएिका मकै पाउने आशमा गर्थ्यौँ तँछाड मछाड । निन्दा वा हूल हुज्जत जे सुकै होस्-गर्वले हामी लागिपरेकै थियाँैँ ।

लडाकुका शब्दले ओकल्ने अर्थमा निमग्न छु म ।

वसन्त कोपिलिन्थ्यो शिविरमा । बर्खाको भेल वा लामखुट्टेको बिखालु डसाइ झन् बेस्सरी । सर्प वा बिच्छीको बिगबिगी । सङ्क्रान्ति वा मसान्तको समयचक्र । शिविरमा जीवनको मान र अपमानले मन्त्रणा पाउँथ्यो मनग्गे ।

युद्धको साटफेर यतिखेर लक्षित थियो पेटपालोमा ।

झ्याल्टुङ डाँडाको एउटा दैलो – ‘नजितिने युद्ध त अब पो छ !’

एउटी क्रूद्ध लडाकुले आफ्नो छुनुमुनु छोरोलाई ताते हिँडाउँदै भनी ।

परामर्श लिइरहेकी लडाकुका उदासउदास आँखा पढेँ मैले । थङ्थिलो भएको जीवनमा आशाले कलिला बिरुवा उमि्रने-नउमि्रने हल्ला सलबलाएको सुनेँ । घोर अँध्यारो सामु छँदै थियो । उघि्रएको बिहान त परै थियो । उज्यालो पूर्ण देखिने कुनै दर्बिलो प्रमाण नि थिएन । डढेलोले खरानी पारेपछि वनमा पिपिरा आउँछन् नयाँ नयाँ ।

यो टड्कारो तर्कले युद्धलाई डोर्‍याएको हुन्छ । खरानी हुँदा कति धेरै पोलिन्छन् वा माट्टन्छिन् ! यो मिहीन ज्ञान पुगिहाल्दो रहेनछ युद्धका मस्तिष्कमा । नयाँले पुरानो प्रतिस्थापित त गर्ला तर पुरानोले दिने इतिहासको मानक सन्देश देला कसले ? पिपिराले छायाँ दिन लामो पर्खाइमा बस्नुपर्छ । पर्खिरहन सक्छौँ हामी ?

दहवनको एउटा दोबाटो – ‘रगतको मूल्य बुझेँ बल्ल !’

एउटी किशोरी लडाकुले भात मिचेर उसको शिशुलाई खुवाउँदै भनी ।

राजनीतिको भयङ्कर चपेटामा ऊ परी । सबथोक गुमेथ्यो रगतको भेलमा । शब्दहीन समय र शब्दशून्य पद्धत्तिमा उसले गर्न सकिन जीवनको असली निधो । एउटा पटाक्षेपमा बल्ल अर्थ जानी बगाइएको रगतको । जताततै बलिदानी भएका रगतको मूल्य यो बेला थाहा पाइँ योद्धाले । भात निल्न गाह्रो भइरहेको पिलन्धरे शिशु र भात मिचिरहेकी किशोरीलाई सँगसँगै निहाल्छु म ।

एक अँगालो क्रूरताले पछ्याउन छोड्दैन मलाई ।

कसिङ्गर थुपारिएको मात्र छ । आगो लगाइसकिएको छैन । आगो दन्कुट दन्किएपछि राप र तापले पार्ने प्रभाव अर्को बहस हुनसक्छ । त्यो बहस शिविर वरपर नाराभन्दा जीवनवादी गीतमा कति ओर्लिएको छ ? आँफैसँग मेरो प्रश्न !

तालबन्दको एउटा पँधेरो- ‘हिँडेका बाटाहरू फर्केर हेर्दैछु म !’

एउटी बलियो ज्यानकी लडाकुले आफ्नी नानीको मुख धोइदिँदै भनी ।

जति सु्न्दर छ यो संसार – त्यस परतिर धुलो, फोहोर, कसिङ्गर थुपार्न उद्यत हातको सङ्ख्या छ झन् बेस्मारी । सानी नानीको धोइएको सुकिलो अनुहारमा भोलिका दिनमा फोहोर दलिदिन खोज्ने कोर्काली दुनियाँ नभेटिएला भन्ने छैन । अघोर ढिट र निर्दयताको लस्कर हुने छैन भन्ने तर्क पनि भेट्दिनँ म । मुख धोइदिने लडाकु आमा र शिविरमै जन्मिएकी त्यो अवोधका आँखाको भावमा जीवन एक पटक धोको नपुगेको स्थितिमा भेट्छु म ।

कन्सुत्लो भएर कपट पसेको थियो सत्तामा । त्यो नबुझ्नु कति दुःखद । ताकछोपुवाले सोझाको मन भुटेर सातु बनाइहाल्छन् नि ! सजायको एउटा छोटो रूप पँधेरामा देखिरहेको छु म । दशरथपुरको एउटा चौतारी- ‘भोलि हिँड्ने बाटो कुन हो ?’

एउटी सुन्दर अनुहारकी लडाकुले आफ्नो काखे बच्चाका आँखा हेर्दै भनी ।

उसका आवाज जति मनोमयले सुनेँ, बच्चाका मायालु परेली झन् मोहितसाथ हेरेँ मैले । जीवनको न्यानो र प्यारो ताप यतिखेर त्यो शिविरबाट फर्काइएकी लडाकुको चरित्रमा व्यक्त भएथ्यो चपक्क ।

युद्ध हो अन्तिम बाटो !

यही सर्वस्व थियो उसको । उसले जानी, युद्धबाट हरेक कुरा पराजय हुनसक्छ । युद्धले हासिल नहुने पक्ष केही छैन । मर्यादित छ युद्ध । बलशाली छ नि युद्धको शब्दकोश । शरीरको सञ्चित शक्तिसँग ऊ युद्धको जोडघटाउ गर्न चुकी छ ।

ज्ञान, धेरै ढिलो भो ! युद्धको बाटो अन्तिम कहाँ हुनु ?

बिदा भएको छैन शस्त्रको व्याकरण । बिसाइएको मात्र हो नि क्रोधको बोली । मैले समाचारदाताहरूसँग गएर चिनेको तातो हृदय । तिनका प्रतिक्रिया धेरैसामु पुग्नसकेको जस्तो लाग्दैन ।

छोइनु र डामिनु अलग पक्ष हो ।

शिविरका मनमा आगो छ हुर्हुराउँदो । शिविरबाट बाहिरिएकाहरू डामिएका छन् । ती सन्तप्त छन्, आहत छन् र विध्वंस्त छन् । भनिएको थियो र सपनाको अर्को चरणमा तिमीहरू दगुर्न पाउँछौ ! यही आशा सुनेका छन् तिनले ।

शिविर पस्दा हातमा शस्त्र । र्फकंदा तिनका काखमा सन्तान ।

यी दुई दृश्यबाट परस्पर घोचिएको छु म । सानो छ घोचाइको नीलकाँडा । भोलि त्यसले वृक्षको रूप लिइहाले ? पक्का छ, नीलकाँडाले थाँक्रो हाल्दा नि घोच्छ । बारको नीलकाँडा नि आत्थुआत्थु हुन्छ ।

युद्धको उपहार हो त -लालाबालाको लर्कन ?

चुलाचुली अर्थात् इलाम । दूधौली अर्थात् सिन्धुली । शक्तिखोर अर्थात् चितवन ।

कुनै समय पङ्क्तिबद्ध लडाकु पसेथे यी शिविरमा अक्षर चिन्न । वाक्यमार्फत जीवनको नयाँ खेत खन्न । पसिना र पानीको भेद छुट्याएर वास्तविकताको मूल्य बुझ्न । आदेश र उपदेशबीचको मूल चरित्र जान्न ।

झ्याल्टुङ डाँडा अर्थात् नवलपरासी । दशरथपुर अर्थात् सुर्खेत । दहवन अर्थात् रोल्पा । तालबन्द अर्थात् कैलाली ।

लडाकुका सपना क्रान्तिबाट जीवनका पाइलामा साक्षी बनून् । यी शिविरको यही हुनुपर्छ सिद्धान्त । यी घेराबारको लक्ष्य यही हुनुपर्छ ।

हो, असिना त्यहाँ पनि थिए । हो, चट्याङ त्यहाँ पनि थिए । हो, गर्जना त्यहाँ पनि थिए । सम्भवतः परिणाम ती सन्तति बोकेर बाहिरिए ।

सन्तान-जीवनलाई केस्राकेस्रामा पढ्न सकिने उच्चतम ग्रन्थ ! शिविरमा जन्मिएका नानीहरू सङ्गनिसँगै खेले-हुर्के । तिनले आमा र बुबाकै सिरानी, कोठा, भान्छा वा प्रेमपत्रसामु हतियार देखे अटुट । जताततै हिँड्दा, टेक्दा, छाम्दा, छुँदा सङ्गीन देखे तिनले । गन्ध, स्वाद वा दृश्यमा तिनले शास्त्रका भँडार देखे ।

लडाकु आमाले शिविरमा छोडेका सङ्गीन लिन नानीहरु नजाऊन् भोलि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *