Skip to content

‘माधवी र राधा’ सङ्ग्रहमाथि नारी नयनमा परेका दृश्य. . .


यतिबेला मेरो हातमा मदन पुरस्कार प्राप्त दई उपन्यासहरू छन्- यौटा ‘मदनमणि दीक्षितको माधवी’ र अर्को ‘कृष्ण धरावासीको राधा’ । यी दुबै उपन्यासका प्रमूख पात्र नारी नै छन् । महाभारतको उद्योग पर्वमा उल्लेख गरिएकी माधवीलाई प्रमूख पात्र बनाएर मदनमणि दीक्षितले उत्तर वैदिक कालीन उपन्यास माधवी लेखेका छन् भने महाभारतको युद्धका प्रमुख नायक कृष्णकी प्रेमिका राधालाई मूल पात्र बनाएर कृष्ण धरावासीले राधा लेखेका छन् । यी दुबै कृतिहरू अत्यन्त सुन्दर साहित्य शिल्पीले लिपिबद्ध छन् । २०३९ सालमा प्रथम पटक प्रकाशित भएको माधवीले २०३९ सालमै मदन पुरस्कार पाउन सफल भएको छ भने २०६२ सालमा प्रकाशित भएर सोही साल मदन पुरस्कार प्राप्त गरेको छ राधाले ।

माधवी वैदिक वाङ्मयमा समेटिएको उत्तरवैदिक कालीन भारतीय समाजको कथामा आधारित उपन्यास हो जसमा यौटी महान नारीको त्याग वलिदान र कारूणिक प्रेमको कथाका साथै तत्कालीन समाजमा देखा पर्न थालेको दास विद्रोहको उल्लेख छ । तत्कालीन सामाजिक घटना वस्तुस्थिति आख्यान धर्म संस्कृति अर्थव्यवस्था र समग्रमा तत्कालीन सामाजिक यथार्थको उल्लेख गरिएको माधवी उपन्यास यौटा महान र अद्धितीय उपन्यासको रुपमा नेपाली साहित्यको मैदानमा खडा छ । योसँग तुलनायोग्य उपन्यास भविष्यमा कतै कसैबाट आएछ भने अर्कै कुरा हो तर अहिले सम्म नेपाली साहित्यमा देखा पर्न सकेको छैन । स्वयं मदनमणि दीक्षित दावी गर्छन् नेपालमा मात्र हैन भारतीय साहित्यमा नै पनि यति धेरै वैदिक मंत्रहरू १४४ वटा उल्लेख गरिएको कुनै अर्को उपन्यास छैन ।

यद्यपि माधवी प्रकाशित भएको करीब २३ वर्ष पछि नेपाली साहित्यको मैदानमा कृष्ण धरावासीले राधालाई उभ्याइदिए । माधवीको बराबरीमा पुग्न नसकेतापनि राधाले यस मैदानमा आफ्नो बलियो पकड जमाउन सफल भएको छ । पूर्वीय दर्शनमा प्रख्यात राधा र कृष्णको प्रेम प्रसंगलाई अत्यन्त कलात्मक रुपमा प्रस्तत गरिएको मात्र छैन राधामा यसमा तत्कालीन सामन्ती समाजका विसंगति र विकृतिहरूलाई प्रतिकात्मक तरिकाले उल्लेख गरिनुका साथै निरंकुश र सामन्ती शासन व्यवस्थाको अन्त्यको लागि उठेको बिद्रोह र युद्धको तयारीको लागि अपनाइएको छापामार शैलीलाई पनि सशक्त तरिकाले प्रस्तुत गरिएको छ ।

दुबै उपन्यासका प्रमुख पात्र नारी हुन र उनीहरूकै नामबाट उपन्यासको न्वारन गरिनु, दुबैको प्रेम कहानी कारणिक हुनु, दुबै पात्र राजकुमारीको दर्जाका माधवी असर सम्राट ययातिकी छोरी र राधा ब्रजका प्रमूख शासक वृषभानकी छोरी हुन संयोग मात्र नभै यी दुबै राजकुमारीको यौवनकाल अत्यन्त कारूणिक प्रेमको पीडाबाट गुज्रिएको पाइन्छ । यी दुबै नारी यौवन कालमा पुरूष आफ्नै प्रेमीहरूबाट आ-आफ्नो स्वार्थ पूर्तिकालागि उपयोग गरेर छोडिएका छन् । अर्थात् यी दुबैमा नारीहरू पुरूषका अहमको प्रहारले घाइते भएका छन् ।

माधवी २१ वर्षको लहलहाउँदो जवानीमा आफ्नै पिताद्धारा वस्तु सरह यौटा ब्राम्हण गालवको जिम्मा लगाइन्छे । गालवलाई गुरू दक्षिणाबाट मुक्त गर्नको लागि आफ्नो खोक्रो आदर्श परम्परा र ऐशलाई जीवन्तता दिनु ययातिले आफ्नी जवान पुत्रीको चाहना र इच्छालाई लात मार्दै पशु घोडाको बराबरीमा राखेर अन्जान युवकको साथमा अनिश्चित भविष्यतर्फ धकेलिदिन्छ । शर्त अनुसार माधवीले केशशल्का बनेर चारवटा श्यामकर्ण घोडाको लागि चारवटा अलग अलग पुरुषहरूबाट चारबटा पुत्र जन्माइदिनुपर्ने अत्यन्त कठोर र पीडादायी जीवन भोग्न बाध्य हुन्छे । त्यतिबेला उसको मनमा बिद्रोहको भावना जाग्रित भएतापनि दाशमोचन जस्तो महान उद्देश्यको निम्ति आफूलाई यौटी स्वतन्त्र नारीबाट वस्तुको रूपमा समर्पित हुन स्वीकार गर्छे यौटा सुदूर भविष्यको सुनौलो आसाको त्यान्द्रोको भरमा र आफूलाई छोरा पाउने मेशिनको रूपमा रुपान्तरित गर्दै लैजान्छे एक पछि अर्को गर्दै । यो त यौटा उत्तर वैदिक कालको पौराँणिक कथा मात्र हो । तर आजको एक्काइसौं सताब्दीमा पनि नारीहरू यो नियतिबाट उम्किन सकेका छैनन् र वंश बृद्धिको निम्ति छोरा पाइदिनै पर्ने बाध्यताका शिकार भैरहेका छन् । नत्र उनीहरूले या त विभिन्न मानशिक र शाररिक यातना सहुन पर्छ या सौता बेहोर्न पर्छ । अर्थात् पूर्वीय समाजका नारीहरू आज पनि सन्तान जन्माउने साधनका रूपमा मात्र स्थापित छन् अधिकांश पुरूषहरूको नजरमा ।

गालवसँग प्रथम भेटमै प्रभावित बन्न पगेकी माधवी गालवको उद्देश्य प्राप्तिको सहयात्रामा ऊसँगको प्रेममा चर्लम्मै डुब्न पुगेतापनि अत्यन्त संयमता पूर्वक आफूलाई परिचालित गरिरहन्छे । एकातिर आफ्नै बाबुले उसको जवानीको हत्या गर्छ भने अर्कोतिर केशशल्का बनेर चार चार पटक चार अलग अलग पुरुषबाट सन्तान जन्माएतापनि प्रत्येक पटक आफूले प्रेम गरेको गालवबाट उसको मातृत्वको हत्या हुन्छ । जन्मनासाथ शिशुलाई बाबुको जिम्मा लगाएर सुत्केरी अवस्थामै गालवले माधवीलाई फेरि अर्को पुरूषबाट अर्को पुत्र जन्माइदिनको लागि नवजात सन्तानबाट अलग गर्दै लैजान्छ । उसलाई हतार हुन्छ ऊ चाहन्छ- छिटोभन्दा छिटो माधवीले चारवटा छोरा जन्माइदिउन र चारवटा श्यामकर्ण घोडा प्राप्त गरि गुरूऋणबाट मक्त हुन सकोस् । सुत्केरी अवस्थाको त्यो कठोर यात्रा सन्तानबाट छट्टिन पर्दा र छातीबाट अबिरल बगेका दूधका धाराले लुगा भिजाई दिँदाको माधवीको व्याकूल मातृहृदयको पीडा साह्रै मार्मिक छ ।

उस्तै मार्मिक छ ‘माधवीको प्रेम कहानी’ । गालवलाई सर्वस्व ठानेर प्रेम गर्छे तर खुलेर प्रेम गर्न पाउँदिन । मन हमेशा आफ्नो प्रेमीसँग हुन्छे तर उसको शरीरको भोग अर्कैले गरिरहेको हुन्छ । ऊ आमा बन्दै जान्छे तर आफ्ना सन्तानमा उसको अधिकार हुन्न र आफूले चाहेजति मातृत्वले सिञ्चित गर्न पाउँदिनन् । न त उसको प्रेमले मूर्त रूप लिन पाउँछिन् न मातृत्वले । ऊ केवल केवल वस्तु सरह बेचिँदै साँटिँदै जान्छे उसको लागि जसलाई उसले कुनै दिन आफू केशशल्काबाट मुक्त भएपछि जीवनसाथी बनाएर उसैसँग जीवनका बाँकी दिनहरू बिताउने सपना देख्छे र सुखद कल्पना गर्छे । आफ्नो अधरो प्रेम पूरा गर्ने चाहुनाको संकेत गर्दै जुहीको माला उन्छे माधवीले र एक एक थुङ्गा राख्ने ठाउँ खाली गर्दै गालवलाई भन्छे-तिमी र म सँगै मिलेर एक दिन यो माला पूरा गरौंला ।

तर उसको सँगै मालाउन्ने रहर पूरा हँदैन । आसाहरू धेरै देखायो तर आफ्नो मिशन पूरा भएपछि छोडिदियो गालवले । पुरूष । ऊ कहिलै नारीप्रति उदार बन्न सकेन । न माधवीको समयमा भयो न राधाको समयमा भयो न आज बन्न सकेको छ । सृष्टिपछि कैयौं युग बिते तर पुरुषले नारीलाई केवल उपयोग गर्न मात्र जान्यो र जानेको छ, इज्जत दिन जानेको छैन; उसको आत्मसम्मानको कदर गर्न जानेको छैन । उसभित्रको अहमताले उसलाई नारीभन्दा एक श्रेणी माथि राखिरह्यो हमेशा । नारीको बौद्धिकता त्याग बलिदान सबैलाई उसले आफ प्रतिको कर्तव्य वा सेवाको रुपमा मात्र हेर्ने गर्यो । नारी सधैं पुरूषको इशारामा चल्दै रही र रहेकी छ ।

नारी । यदि कुनै पुरूषलाई प्रेम गर्छे भने उसले मनले प्रेम गरेकी हन्छे । हृदयको गहिराई सम्म पगेर यसले चाहेकी हन्छे र आफ्नो सर्वस्व सुम्पेर सारा जीवन उसैमाथि देखेकी हन्छे । तर पुरूषले उसको त्यो हार्दिकता र निश्वार्थ प्रेमलाई बझ्न खोज्दैन र केवल सतहमा उसको शरीरलाई प्रेम गरिरहेको हुन्छ । जब उसको सतही प्रेमले शरीरको प्यासलाई मेटाउन पाउँदैन अनि लत्याइदिन्छ उसको अहमताले त्यो हार्दिकतालाई समर्पणलाई। बिर्सिदिन्छ बडे से बडा त्यागलाई ।

यही भएको छ माधवीमा । जब माधवीले श्यामकर्णको सट्टा चारजना पुरूषबाट चार पत्र जन्माएर गालवलाई ऋणबाट मुक्त गर्छे अनि गालवसँग बिहे गरेर सुखद जीवन बिताउने कल्पनामा प्रफल्ल बन्दै गालवलाई लिएर पिताको घरतर्फ लाग्छे । सोही यात्राक्रममा साँझको समयमा यौटा रूखमुनि सुस्ताएको बेला गालवले माधवीसँग चुम्बन माग्छ । तर यौटा महान उद्देश्यको लागि अनिच्छित रूपमा यन्त्रवत् आफ्नो शरीर विभिन्न पुरूषलाई सम्पन बाध्य भएतापनि उसले आफ्नो मनको प्रेमलाई शुद्ध राखेकी थिई । उसको मानस पति त गालव नै थियो र नारी मर्यादा अनुरूप प्राणीग्रहण पछि मात्र गालवलाई शरीर सुम्पने र चुम्बन दिने कुरा गरेपछि गालवको पुरूषत्वले र उसको अहमताले घात गर्छ । त्यहींबाट ऊ माधवीदेखि मानसिक रूपले टाढा हँदै जान्छ । उसको मनको अहमले माधवीलाई अपनाउन सक्दैन र स्वयंवरदेखि भागेर जान्छ । हुनसक्छ- उसलाई यौटी चोखी कसैले नछोएकी माधवी चाहिएकी होस् अथवा उसले चाहेको बेलामा चुम्बन नपाएको ईख । यो पनि हुन सक्छ- ऊ अब स्वतन्त्र भैसकेको हुँदा चार चार सन्तानकी आमा बनेकीलाई किन ऊ पत्नी स्वीकार गरोस्, जसको लागि आफ्नो सारा जवानी र रहरलाई वास्तै नगरी तेत्रो त्याग गरी जसलाई अन्तर हृदयबाटै प्रेम गरी उसैबाट तिरस्कृत हुनपर्दाको अपमानबोधले गर्दा माधवीमा बिद्रोहको सञ्चार हुन्छ, जन बिद्रोह उसले धेरै पहिले गर्न पर्थ्यो । ऊ संसारदेखि र आफ्नै शरीरदेखि बिरक्त भएर स्वयंबर छोडी जंगलतर्फ लाग्छे र सांसारिक माया मोहबाट मक्तिको लागि उसले बैष्णवी रूप धारण गरेर कठोरभन्दा कठोर यात्रा गर्दै देश देशावर डुल्छे । उसको यो बिद्रोह सामाजिक परम्परा संस्कार र नारी शोषणको बिरूद्धमा थियो, नारी अस्तित्व र सम्मानको लागि थियो । अतः ऊ बैगुनी गालवभन्दा एक कदम अगाडि नै रहेकी भए कति राम्रो हुने थियो तर यसो हुन सकेन । माधवीलाई तिरस्कार गरेपछिको अपराध बोधले ग्रस्त गालव छटपटाउँदैँ-तड्पिँदै उसलाई खोज्दै हिँड्छ । दुबै जना हिँडिरहन्छन् लगातार वर्षौंसम्म र अन्तमा जव माधवीका रहरहरू मरिसकेका हुन्छन्, तब दुबैको मिलन हुन्छ ।

यसरी उपन्यासकारले नारीको असोचनीय कमजोरीका सोभाइमा उसको हृदयको कोमलताबाट माथि उठ्न दिएनन् र फेरि उही त्याग उही समर्पणको डोरीमा जकडेर माधवीलाई गालव समक्ष बझाइदिन्छन् मानौं जति नै ज्ञानीसाहसी र योग्य भएपनि नारी पुरूषबिना बाँच्नै सक्दिन ।

उता धरावासीकी राधाको हालत पनि माधवीकोभन्दा कम कारूणिक छैन । कंशलाई मारी मथुराको राज्यसत्ता हत्याउनको लागि थालिएको छापामार युद्धमा आफ्नी प्रेमिका राधाबाट भरपुर सहयोग लिएर युद्ध जितेपछि त्यही प्रेमिकालाई बिर्सिदिन्छन् कृष्णले । युद्ध जितेपछि एक दिन अवश्य आफूलाई लिन कृष्ण आउँनेछन् भन्ने आसामा एक्लै बृन्दाबनमा बसेकी राधा जब कृष्णले एकपछि अर्को गर्दै लगातार सोह्र हजार एकसय आठ वटी पत्नीको लर्को लगाएको थाहा पाउँछिन् अनि आफ्नो निश्वार्थ प्रेम त्याग र समर्पणको बदलामा कृष्णले आफूप्रति देखाएको तिरस्कारले गर्दा अपमानबोधको पीडा खप्न नसकी बैष्णवी रूप धारण गरेर तीर्थ यात्रामा निस्कन्छिन् ।

प्रेम जब पीडामा रूपान्तरित हुन्छ तव त्यसबाट मुक्ति पाउन त्यति सहज हँदैन । प्रेमको पीडाबाट उत्पन्न हुने बिरहले जब बैराग्य रूप धारण गर्छ तब मानिस सन्यासी बन्छ । तर पनि धोकेबाज नै किन नहोस् प्रेमीले उसको छाया बनेर पछ्याइरहँदो रहेछ । न त गालवको छायाले माधवीलाई छोड्यो न कृष्णको छायाले राधालाई । अझ धरावासीले त राधालाई बैष्णवी भैसकेपछि पनि पटक पटक कृष्णप्रति अनुरक्त देखाउँदै अन्तमा कृष्णलाई नै भेट्ने अन्तिम उद्देश्यका साथ कुरूक्षेत्रको विभत्स दृष्य देखाइदिएर त्यहीं बेहोस अवस्थामा छोडिदिएका छन् । मानौं राधाको जीवनको कुनै मूल्य नै छैन । अथवा कृष्णको प्रेममा आजीवन समर्पित भएर प्रेम र बैराग्य बिचको द्धन्दमा भौंतारिँदै हिँड्न राधाको अपराध हो र त्यही सजाएँ स्वरप राधा कुरूक्षेत्रमा लाशको थुप्रो छेऊ बेहोस अवस्थामा छोडिएकी छ ।

माथि नै भनिए झैं नारीहरू सधैं पुरूष प्रयोजन र उसको स्वार्थको निम्ति उपयोग हँदै आए । राधा पनि माधवी जस्तै उपयोग गरिएकी नारी हुन् । कृष्णले उनको प्रेमको भरपर उपयोग गरे र नयाँ नयाँ प्रेमिका श्रीमतीहरूको खोजीमा लागेका देखिन्छन् । यहाँ पनि उपन्यासकारले राधाको निश्वार्थ प्रेम त्याग र समर्पणलाईभन्दा कृष्णलाई नै महान बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।

दीक्षितले माधवीलाई त कमसे कम जीवनको उत्तरार्धमै भएपनि आफ्नो प्रेमी र पुत्रहरूसँग भेट गराईदिएर यौटा सुखद मोडमा छोडिदिएका छन् तर धरावासीले त राधालाई न कृष्णसँग भेट गराइदिए न अरू कुनै मार्ग प्रशस्त गरे । अलपत्र र बेहोस अवस्थामा छोडेर उनले राधा र माधवीलाई … ।

शिद्धार्थनगर– ७, हिमालीपथ भैरहवा ।
हालः बबरमहल, काठमाण्डु ।

5 thoughts on “‘माधवी र राधा’ सङ्ग्रहमाथि नारी नयनमा परेका दृश्य. . .”

  1. yo net ma kaha padna
    yo net ma kaha padna painchha
    samichya garnuhune mahodaye addres dinuhos na padna man lagyo pardesi……dddddaaaaaa lai

    1. धन्यवाद, अतिथि
      धन्यवाद, अतिथि ज्यूलाइ

      धन्यवाद, अतिथि ज्यूलाइ, यहाँले उक्त माधवी र राधा पुस्तक पढ्रन खोज्नु भएको भए त नेपालका सझाप्रकाशनमा किन्न पाइन्छ । तर नेटमा त उहाँहरूले राख्नु भएको छैन जस्तो लाग्छ ।
      धन्यवाद,
      समिटेडको तर्फबाट ।

  2. tapai ko samichale sarhai
    tapai ko samichale sarhai chita bhujhyo maile pani dubai novel padheko chu hunuta novelei bhayeta pani madhabvi ra radha ko harek pida ra emotion sanga ma pani bahe krishna ra galab ko selfishness lai dhikare tara man manai aaj tapai ko lekh padhada mero man ko bhawana jastai lagyo. malai lagcha tapai ma pani euta lekhika hune pratibha cha sayad hunu pani huncha hola. tapai naribadi kritharu lekhnu hos. jasko aaj ko dinma ekdam khacho cha. tapailai subhakamna cha.
    by ganga rai biratnager
    ganga.rai24@yahoo.com

  3. रामेश्वरीजीको समीक्षा पढेर
    रामेश्वरीजीको समीक्षा पढेर मलाई यी दुई उपन्यासको बारेमा एक पटक फर्केर हेर्न वाध्य तुल्यायो। फेरि तिनै पुस्तक अनि तिनका घटनाक्रमहरू मेरो मस्तिष्कमा घुमिरहे ।

    प्रथमत‌: म तपाईंसँग सहमत छु कि ‘माधवी’ सगरमाथा हो; यससँग तुलना गर्न मिल्ने पुस्तक मैले बिरलै भेटेको छु। पुस्तकको कथा, घटनाक्रम, काल्पनिकता, भाषिक उच्चता, वर्णनशैली, आदि हरेक क्षेत्रमा ‘माधवी’ श्रेष्ठ छ। विशेषत‌: ‘राधा’मा एउटै कुरा पटक पटक दोहोर्याएर जबर्जस्ती लम्ब्याइएको छ; ठाउँ ठाउँमा लाग्दछ लेखक पुस्तकको पृष्ठ बढाउन मात्रै ध्यान दिइरहेछन्।

    नारीको हातबाट नारीप्रधान उपन्यासमाथि नारीमाथिको दृष्टिकोण पढ्न पाइयो; अहोभाग्य! धेरै कुरामा म तपाईंसँग सहमत छु। तर, गालवले माधवीसँग बिहे गर्न हिच्किचाउनु पछाडिको महत्वपूर्ण पक्ष तपाईंले छुटाउनुभयो क्यारे! चार पुत्र जन्माउने क्रममा माधवी दुई पटकसम्म गालवको गुरुप्रति सुम्पिइएकी हुन्छे। त्यस अर्थमा उसले माधवीलाई गुरुमाको दृष्टिले हेर्नुपर्ने भन्ने द्विविधा उत्पन्न भएर हो उसले माधवीलाई स्वीकार्न नसकेको, जून उसले कालन्तरमा पश्चाताप पनि गर्छ । चोखी स्त्री चाहनु आदि कुराको चाहिं मलाई याद भएन; मैले ‘माधवी’ पढेको पनि १४ वर्ष भैसकेछ ।

    ‘राधा’मा कृष्णलाई निकै निठुरी भनेर देखाइएको छ। धेरै हदसम्म धारावासीले कृष्णलाई खलनायक बनाएर र राधामाथि निकै सहानुभूति देखाएर आफू कुन पक्षमा छु भनेर प्रष्टै गरेका छन् ।

    तपाईंले घटनाक्रममाथि पनि आलोचना त गर्नुभयो । तर लाग्छ, धरावासीले निकै काल्पनिकता निकालेपनि केही हदसम्म पौराणिक घटनालाई पुरै नकार्न त सक्दैनन् नि; त्यो विवशता बुझिदिनु पर्छ जस्तो लाग्छ।

    तपाईंले औंल्याउनुभएको यथार्थता चाहिं साह्रै मननयोग्य छ: अहिलेको परिवेश मूल्यांकन गर्दा, हजारौं वर्ष अगाडिदेखि अहिलेसम्म नारीमाथि हेर्ने आर्य समाजको दृष्टिकोण चाहिं निकै हदसम्म उस्तै छ।

    समीक्षाको लागि धन्यवाद।

    तल, ‘राधा’ माथिको सानो टिप्पणी छ (सम्पादित)।
    —————————
    Kudos:
    1. His approach is worth praising. He has dared to “humanize” the characters of Mahabharat, be it Krishna or Radha or Balaram or even Kansha. Good imagination. Good story. Good message – stands alongside women.

    Boos:
    1. Writing style
    There are many grammatically incorrect sentences. Also, the book lacks uniformity in narration. At one instant, he describes each and every conversation and suddenly he skips lots of events in just a matter of sentences. I doubt if the book was proofread well. I have the impression that this book was brought to publication in haste.

    2. Verbose
    This book is 261 page long. In my opinion, it could well have been shortened to about 200 pages. The writer repeats the same sentiment in different places. Mainly, it’s about the same argument on feminism that the readers are burdened with reading again and over again. Also, in many places, he uses the same/similar sentences to lambaste Krishna for his “villain” character.

    3. Fiction or Fantasy?
    I read this book as fiction. But in the end, when the author reveals that the sage is Aswasthama, I was really disappointed. The writer portrays even Krishna as a commoner.
    The war that Krishna started was Maobadi style. But in the end, he brings such a myth. This has greatly reduced the book’s value in terms of the message it wants to send.

    4. Comparing it with Madhavi????
    If Madhavi is Mt Everest, Radha is no taller than Swayambhu ko dada. I wonder how this book, in this current form (First edition 2062), could have received the prestigious Madan puraskar.

    http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=41233
    ——————-

  4. कोर्सम पढनु पर्ने ६ वटा
    कोर्सम पढनु पर्ने ६ वटा उपन्यास मध्ये माधवी पनि एक हो । लगभग ५ वटा उपन्यास पढे. यो माधवीको आयामले नै तर्सिएको थिए । पन्त ज्यूो यो समालोचनाले मन छोयो अव पढनु पर्ला । अवश्यनै पठनीय कृति रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *