Skip to content


छुट्याउनै सक्दिन- एक्लो म छु या यो सहर ! सबै कुरा भएर पनि कति उदास, कति विरानो । अनगिन्ती आकाङ्क्षाले जर्जर बनेको । हार्न नमान्नेहरू हारेरै कुँजिएका छन् यहीँ । जित्न नजान्नेहरू जितेरै निरीह छन् यहीँ । अभिशापजस्तो जितको अर्थ नै के छ र !

एउटा ठूलो रङ्गहीन रङ्गशाला । खेलहरू अनेक छन् र अनेक विशेषताका छन् खेलाडीहरू पनि ।

म स्वयं पनि त एउटा खेलाडी, यो सहरमा बीस वर्ष पहिले एउटा साधारण प्रशिक्षार्थीका रूपमा प्रवेश गरेकी । मभित्रको खेलाडी अलि फरक थियो सायद । अहिलेजस्तै त्यसबेला पनि प्रतिस्पर्धाका निम्ति मसँग कुनै खास खेल थिएन र खेल्नुको अभिरुचि पनि थिएन । एउटा सरल स्वभाव र अनुशासित अतीतको सामल बोकेर म जिन्दगीको नयाँ बसपार्कमा आइपुगेकी थिएँ । र, सोचेकी थिइन, जिन्दगी यहीँ यसरी टा्रफिक जाममा परेर थन्किरहनेछ, कैयन् वर्षहरू यसरी यसरी नै….., र, म पुरानो बसपार्कको साँगुरिँदै गएको गल्लीबाट आफ्ना हराएका समयको अदृश्य पानाहरू खोज्दै उदास भौँतारिइरहनेछु ।

पहिलोपटक बाह्र वर्षको उमेर थियो, म यो भीडमा केहीबेर हराउन आइपुगेकी थिएँ । रहरले होइन एउटा विवशताले ओरालेको थियो मलाई त्यसपल । निर्दोष एउटी पहाडी केटी, कौतुहलताहरू उम्रनै नपाई मरिसकेको अवस्थामा आँसुको उपहार बोकेर जाँदै थिएँ- महाराजगञ्जको कुनै उजाड महलतिर ।

खै कुन लगनले जुराएथ्यो मेरी दिदीलाई यो अपरिचित सहरमा नयाँ जिन्दगीका सपनाहरू देखाएर । गाउँमा एसएलसी पास गरेपछि अगाडि अर्को गन्तव्य थिएन । बीस वर्षको रहरलाग्दो उमेरमा उच्च शिक्षाका लागि यो सहरमा भित्रिएकी साबी दिदी, उनलाई देखेपछि कसैले आफ्नो जीवनमै भित्र्याउन चाहृयो । आमाबुबासम्म पुग्यो प्रस्ताव, लगन जुर्यो र पलाञ्चोक भगवतीलाई साक्षी राखेर बिदा गर्यौँ ०४१ सालको पहिलो वासन्ती महिनाको मस्त-मध्येमा, अर्थात् वैशाख १७ गते । दोस्रो बिदाइ थियो त्यो, त्यसअघि नै ठूली दिदीको बिदाइ भइसकेकाले विछोडको बानी परिसकेथ्यो सायद । दिनहरू बिजुली चम्काइको गतिमा बितिसकेछन्, यो अनुभव त्यसबेला भयो जब आठै महिनापछि मेरी दिदीको जिन्दगीमा वियोगान्तको बीभत्स आँधी आयो, उनको जीवनको महल भत्कियो । आँसुको नयाँ पोखरी बन्यो, खुसीको सुक्यो । म त्यही आँसुको पोखरीमा आँसुकै उपहार मिसाउन जाँदै थिएँ, पहिलोपटक त्यसरी तय भएको थियो, मेरो काठमाडौँको यात्रा । त्यसबेलाको विषादमय अनुभूतिले मलाई जीवनभरि नै यो सहरसँग खुसी हुनै दिएन, मानौँ म यो सहरमा एउटा दुःखान्त कथा हुँ, जो अनुवाद हुँदैछ- सुक्दैसुक्दै गएको रानीपोखरीमा । यहीँ हराउनेछु एकदिन मैले आफ्नै प्रतिबम्ब र सायद पछि खोजेर पनि भेटिने छैन, यसरी बिलाउनेछु म, यसको सुरुवात भइसकेको आभासले तर्साइरहेछ निरन्तर ।

सम्झँदैछु, चौबीस वर्ष पहिलेको त्यो कथा- भित्ताभरि पोष्टर र पम्प्लेटहरू थिए । मलाई कुनै पोष्टरले तानेको थिएन । ती सबै मलाई मेरी दिदीको वैधव्यको उपहास-चिहृनजस्तो प्रतीत हुन्थ्यो । मलाई यो सहरसँग गुनासो त थिएन तर मेरो गाउँको कोमलता यहाँको माटोमा आएर जमेको सिमेन्ट हुनपुग्यो, म यसैले आकुल थिएँ । रानीपोखरीको उत्तरतिर महाराजगञ्ज लाग्ने ट्याम्पो स्टेसन थियो, मसँगै यात्रारत हुनुहुन्थ्यो ठूलो भिनाजु । छ सिटे पुरानो ट्याम्पोको साँगुरो सिटमा च्यापिएकी थिएँ म, रानीपोखरी मेरो आँखाबाट विस्तारै टाढिँदै गयो, मलाई त्यसबेला असफल मानिसहरूले आत्महत्या गर्ने ठाउँजस्तो लाग्थ्यो रानीपोखरी । लाग्थ्यो मेरी दिदीका सपनाहरू कतै त्यहीँ डुब्दै पो हुनेछन् कि ! आखिर रेडियोमा मैले यस्तैयस्तै समाचारहरू नै धेरै सुनेकी थिएँ, तिनै स्मृतिमा उदास टोलाइरहेको रानीपोखरीमा समयका रित्तिँदै गएका यिनै अवसादहरू अनुभूत गरिरहन्छु आजभोलि पनि ।

त्यसदिनको मध्यान्हमा सेतो वस्त्रमा बेरिएकी दिदीको त्यो अवस्था मेरो स्मृतिमा आज पनि त्यत्तिकै चोटिलो भएर बसेको छ । तिनी के गर्छिन् होला हामीलाई भेटेपछि ? म आउने परिस्थितिसँग सामना गर्न डराइरहेकी थिएँ, ठूलैलाई पनि समाल्न गाह्रो त्यस्तो घटना थियो, म त बालकै न थिएँ तर दिदी शान्त भएर देखिइन् । चुपचाप हामीले आँखाका संवाद मात्रै साँट्न सक्यौँ । पुसको मध्य जाडोमा उनको कठ्याङ्िग्रएको जीवनकथा म ठीकठीक लेख्न सक्दिन यहाँ, ती शब्दहरू जो मभित्र जमेका छन् यहाँ ओर्लिन मान्दैनन् र यो गर्मीको मौसममा पनि तिनलाई पगाल्ने सामर्थ्य मसँग छैन, बरु मेरो मन अनायासै पग्लिन खोजिरहेछ । हामी त्यसैदिन फर्किनुपर्ने थियो- पहाडघर नै । विचार लिएर गएको मान्छे बास बस्नु हुँदैन भन्ने संस्कार एकातिर थियो, अर्कोतिर यहाँ बस्न मनै थिएन । छुट्ने बेलामा दिदी अकस्मात् बेस्सरी रोइन् । आजसम्म पनि उनको त्यो महारोदनको फ्ल्यासब्याकले मलाई विक्षिप्त बनाउँछ, दोस्रोपटक उनी त्यसरी रोएको मलाई याद छैन । उनले रुँदैरुँदै भनेकी थिइन्- “मलाई आफ्नोभन्दा बुबाको चिन्ता लागिरहेछ ।” त्यसपछि आजसम्म पनि उनले हाम्रो जीवनमा पैत्रिक जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । आफ्नोलागि त उनले बाँच्नै बिर्सिदिइन् ।

मे दिवस २००९ को मध्यान्ह । मैले रानीपोखरीको डिलबाट गुज्रिएको त्यो पुरानो सम्झनालाई नयाँ संस्करण गरेँ यसपालि । जानु कहीँ थिएन, विशेष केही पनि थिएन तर कहिलेकाहीँ गन्तव्यविहीन यात्राको सम्भावना हुँदोरहेछ जीवनमा । यस्तै एउटा यात्रा थियो त्यसदिन, सफा टेम्पोको यात्रा, रानीपोखरीको किनार र आकाशेपुलमाथि उभिएको मेरो सम्पूर्णता ।

आकाश सिङ्गै ओडेको धर्ती फेरि पनि नाङ्गै थियो । घामको प्रत्यक्ष आगमन नभए पनि गर्मीको रापले यात्रा र यात्राविहीनता दुवै पललाई असर गरिरहेको थियो, मन भने स्थिर थियो नै । अपेक्षित-अनपेक्षित जम्काभेटहरूमा प्राप्ति या अप्राप्ति केही थिएन । आकाशे पुलको सिँढी, सिँढीका दुवैतिर असहाय-अपाङ्ग-रोगी, वृद्ध र बालकहरूको छुट्टै प्रदेश । यस्तो दृश्य महानगरको यात्रामा सधैँसधैँको सबैभन्दा कठीन दृश्य हुनेगर्छ मेरालागि । चानचुन पैसामा तिनका भोक र पीडाहरूको प्रतिध्वनि साटेँ, तल सडकमा अधिकारका लागि एकजुट भइरहेका मजदुरहरूको सामूहिक भेला बढ्दै थियो । अव्यवस्थाको आक्रोशमा शब्दहरूको अनर्गल प्रवाहले मे दिवसको गरिमालाई हिलो छ्यापेको प्रस्ट अनुभव हुन्थ्यो । कर्मप्रियता या कर्मी प्रियता कहाँ कुनमा सार्थक छ आजको दिन ? दुवैको समन्वित-चेतनाको गरिबीले भयग्रस्त समयलाई आँखाको नानीभित्र कैद गरिरहेँ । वास्तवमा म चाहन्थेँ कर्मप्रिय हातहरूको सामूहिक हातेमालो, आपसी सद्भाव र एकताबद्ध नेपाली मन । मेरो चाहनाको हत्यारा समयलाई नचाही-नचाहीकन कैद गरेँ मैले मे दिवसको अदिवसीय दिन, र म झन्झन् एक्लो अनुभव गर्दै थिएँ । हिजोआज सहरमा परिचयको होड चलिरहेको छ, यो राम्रै पनि होला तर आफ्नो परिचयको लागि अरूको अस्तित्वको, स्वाभिमानको उपहास गर्नु कति उपयुक्त हुन्छ ? मानवताको धर्मशालामा अब विवेकको कुनै सम्भावना रहेन त ? मानिस रहिरहनका लागि समयसँगै नबदलिनु पर्ने एउटै कुरा हो मानवता ।

एउटा परिचितजस्तो अनुहारसामु मेरो दृष्टि समाहित भयो । बल्ल चिन्यौँ हामीले एकअर्कालाई । हुन पनि एकैपटक भेट भएको थियो- अन्नपूर्ण एफएम पोखराका दीपेन्द्र श्रेष्ठसँग गतवर्षको दसैँपछिको पोखरा यात्रामा रहेका बेला । उनी कसैलाई पर्खँदै यताउता गर्दै थिए आकाशेपुलको लेकसाइडमा । जमलमा बोलाउने साथीले मिटिङ प्वाइन्ट नखुलाउँदा उनको पर्खाइ केही कष्टकर भइरहेको अनुभव भयो मलाई । मोबाइलले पनि सम्पर्क हुन नसक्ने खबर दिएपछि उनी अझै निराश देखिन्थे । हाम्रो छोटो भेट उत्तरआधुनिक शैलीको भयो, उनी आफ्नै कथाको पात्र खोज्दै थिए, म आफ्नै कथाको सिलसिलामा जोडिन चाहन्थेँ । ओर्लने भर्याङ एउटै थियो, यद्यपि बाटो फरक । उनी लागे विश्वज्योतिहल हुँदै, म मोडिएँ रानीपोखरीको बारैबार रत्नपार्कतिर । दीपेन्द्रजीका बारेमा म भन्न सक्दिन तर मेरो मोडिनुको निष्कर्ष मलाई नै थाहा थिएन ।

आज सार्वजनिक छुट्टीको दिन, मलाई कलेजमा मजदुरी गर्न जानु थिएन तर औजारहरू किन्नु थियो, अझै धेरै खोस्रनु छ मस्तिष्क । अझै धेरै तिखार्नु छ हतियार । विचार शून्य नहुञ्जेल विचार गरिरहनुपर्छ । भ्रम भन्दै भ्रमको खेती गरिरहनुपर्छ । वैरागी काइँलाको हाट भर्ने मानिस पढाउनुछ भोलि, हिजो वाचन गर्दा विद्यार्थीहरूको अनुहारको भावविहीनता सम्झन्छु, सोधेका थिए- “किन पढ्नुपर्ने यस्तो कविता ?”

जवाफ भोलि दिनु छ मैले । आज सोचिरहेँछु- “साँच्चै किन पढाउनुपर्ने यस्तो कविता ?” ती जो यही भीड भएर हिँडून्, यही समयको रेखामा हिँड्दाहिँड्दै मेटियून्, वा मेटिनेछन् कुनै दिन हाट भर्दाभर्दै-

मलाई झन्डै छोएर जाने
पर पुगिसकेको कालो मोटरसित
मृत्यु, आज…. जिन्दगीको छेवैनिर भएर गयो…..

सायद यो कविता पढाउनु हुँदैन, यो पढ्ने विषय होइन । हाम्रोमा पढ्ने विषयप्रति घोकन्ते विद्याको छाप छ । यो पाठकले आफै बाँचेको समय-कवितालाई कसरी जीवनबाट अलग्याएर बुझाऊँ म, कसरी कण्ठस्थ गराउँ । हाम्रा विद्यार्थीहरू अझै पनि पढ्नुपर्ने स्रष्टा दिवङ्गत भइसकेको हुनुपर्ने ठान्छन्, जन्ममितिसँगै मृत्युमिति माग्ने बानी परिसकेको छ तिनको । यो भीड छिचोल्दै म पाठ्यसामग्री पसलको सामुन्ने पुग्छु, कमलजीको दुब्लो अनुहारमा सधैँ देखिने चमक पुस्तकसँगै उठाउने अभिलाषा, यही दिनको खडेरीमा मिसिन्छ । सडकपारि बन्द सटर छ, वारि बन्द पृष्ठहरू छन् जीवनका । आफैँबाट अनभिज्ञ म फेरि एकपटक असमञ्जसमा पाइला बढाउँछु- “अब कता जाने ?” पारि जाने बहाना मिलेन, वारिवारि नै एक फन्को मार्दै गएँ । घण्टाघर मलाई विस्मयपूर्वक हेरिरहेथ्यो, म त्रि-चन्द्र कलेजको गेटबाट पास हुँदै थिएँ । मेरो अतीत यहीँ आएर रोकिन चाहन्थ्यो ।

मेरो स्मृति र पाइलाको गतिमा तालमेल भइरहेको थिएन ।

रानीपोखरी मेरो कथाको अनवरत अमूक वाचक । किनकिन आज यस्तै लागिरहेथ्यो । २०४८ सालको भदौ २१ गते । सरस्वतीसदनको माथिल्लो तला र मेरो बी.ए. प्रथम वर्षको अङ्ग्रेजीको परीक्षा । भदौ चार गते दिवङ्गत हुनुभएका ससुरा र अन्तिम संस्कारसम्बन्धी काममा लागेको पन्ध्र दिन । अप्रतीम दुःखका अनेक पहाडहरू छिचोलेर उन्नाइसौँ दिनमा काभे्रबाट पुनः काठमाडौँ आइपुगेकी थिएँ म ।

२० गते एकदिन आराम गरेँ र २१ गते परीक्षामा सामेल भएँ । प्रश्नपत्र हातमा परेपछिको मेरो अवस्था बुद्धत्व प्राप्त भएजस्तो शान्त थियो, न साथीसँग सोधपुछ गर्ने इच्छा, न उत्तर लेख्ने हतार । मेरो पढाइको सफलतामा अनौठो आशा र खुसी व्यक्त गर्ने ससुरासँगको वियोग, मन अझै कर्मको केन्द्रबाट विचलित कतै भौँतारिरहेको हुँदो हो, म स्वयं अनभिज्ञ थिएँ, सायद छरिएकी थिएँ, आफ्नै मनको परिधिमा ।

झ्यालबाट यसो बाहिर चियाएँ, हरियो र शान्त, जलमय थियो रानीपोखरी । मेरो मन त्यही सघनतामा आकषिर्त थियो । करिब पन्ध्र-बीस मिनेट म निर्निमेष त्यो जलाशयमा मेरो अनियन्त्रित मनको केन्द्रबाट पौडिरहेँ । त्यसपछि कुन्नि के भयो, म सेतो अभ्यास पुस्तिकातिर फर्किएँ । जे लेखेँ, आफ्नै मस्तिष्कको आदेशानुसार लेखेँ । यसरी नै बिते परीक्षाका दिनहरू । अन्ततः परिणामको दिन म द्वितीय श्रेणीमा उत्तीर्ण भएको खबरले मेरो परिस्थितिसँग जानकार मित्र र आफन्तहरू दङ्दासपूर्ण हर्षमा सहभागी भएको मीठो अनुभूति अझै ताजै रहेछ मभित्र । म यसरी आफ्नो विद्यार्थी जीवनका भोगाइ र चुनौतीका पूर्वस्मृतिमा रानीपोखरीको किनारैकिनार हिँडिरहेँछु, भोलि पढाउने विषय मेरो आँखाभरि दृश्याङ्कन भइरहेछन्- हाट भर्ने मानिस, रानीपोखरी र मेरी दिदीको सडकमै पोखिएको सिउँदो । पुसको एक साँझ मृत्यु यसरी जिन्दगीलाई किचेर गएको थियो र मलाई पहिलोचोटि रानीपोखरीको छेउबाट डल्लो ट्याम्पोको यात्रा तय गर्नु परेको थियो, २४ वर्षअघि ।

म अझै यात्रामै छु, रानीपोखरीको एक फन्को पूरा भएको छ । केही पुस्तकहरू आजको अभीष्ट बनेका छन् । मण्डला बुक र एजुकेसनल मेरा आशाका दुई केन्द्र अझै खुलै छन् । म गन्तव्यविहीन यात्रामा गन्तव्यको केही सम्भावना बोक्छु । पाइलाहरू स्वचालित छन् उतैतिर । मन भने एक्लोपनको असहाय अनुभूतिले बिथोलिन खोज्छ घरिघरि । व्याख्यातीत विसङ्गतिहरूले जेलिएको यस परिभ्रमणमा अनायासै पल्टिन्छ एउटा पुस्तकको पन्ना र मेरै कथासँग अनुवाद हुन्छ यसरी-

म एक्लो र उदास उस्तै
तिमी आँधी-बतासजस्तै….।

१ मे, २००९

बालुवाटार

Leave a Reply

Your email address will not be published. Required fields are marked *