नेपाली साहित्यमा निबन्ध विधाले अहिले जुन किसिमको उचाइ प्राप्त गरेको छ, त्यसको जगमा रहेका केही व्यक्तित्वहरूमा सबैभन्दा अग्रणी व्यक्तित्व हुन् लक्ष्मीप्रसाद देवकोटा । आधुनिक निबन्धका क्षेत्रमा देवकोटाले पुर्याएको योगदान अन्य निबन्धकारहरूसँग अतुलनीय नै छ । महाकवि देवकोटाको जन्म शताब्दी महोत्सव मनाउनेक्रममा प्रस्तुत कृति-‘महाकवि देवकोटाका निबन्ध’ प्रकाशित भएको हो ।
यस निबन्धसङ्ग्रहमा देवकोटाद्वारा लिखित वि.सं. १९९९ सालदेखि वि.सं.२०५८ सालसम्म विभिन्न पत्रपत्रिकामा प्रकाशित पन्ध्रवटा निबन्ध र प्रबन्धहरूको सङ्कलन गरिएको छ ।
देवकोटा शताब्दी महोत्सवमा धेरै कामहरू भए । अधिकांश पत्रपत्रिकाहरूले विशेषाङ्कहरू प्रकाशित गरे, धेरैले धेरै प्रकारका कार्यक्रमहरू गरे, सम्मान-पुरस्कारहरू बाँडिए । यसै सेरोफेरोमा देवकोटाद्वारा लिखित र फुटकररूपमा प्रकाशित वा अप्रकाशित सामग्रीहरूको खोजी र प्रकाशनको व्यवस्थासमेत गरियो । देवकोटाद्वारा लिखित भूमिकाहरू, देवकोटाका कविता, नागरिक जीवन, महाकवि देवकोटाका निबन्धलगायतका कृतिहरू उल्लेख्य छन् । प्रस्तुत कृतिमा सङ्गृहीत १५ शीर्षकका निबन्ध र प्रबन्धहरूमा विषयवस्तुका दृष्टिले विविधता पाइन्छ । सङ्ग्रहमा रहेको पहिलो निबन्ध ज्यादै आत्मपरक छ । आफू माथि हुनेगरेका टिका-टिप्पणीहरूप्रति देवकोटाले स्पष्टीकरण दिएझैँ गरी लेखिएको छ । ‘आफ्नै चर्चा आफैँले सुन्दा ।’ अर्को निबन्ध-हामीलाई कवितामा के चाहिन्छ ? मा देवकोटाले कवितामा हुनुपर्ने कवित्वको बारेमा चर्चा गरेका छन् । जे पायो त्यही लेख्दैमा कविता कहाँ हुन्छ, यी मैले लेखेको यो पनि कविता होइन भनेर आफ्नै कवितांश पनि प्रस्तुत गरेका छन् । ‘माथिका खुट्टा तान्ने प्रवृत्ति’ मा देवकोटाले अग्रजको सम्मान नगर्ने र उछिनाउछिन गर्न खोज्नेहरूलाई झाप्पड हानेका छन् । ‘उत्साही प्रकारको (नयाँ) प्रतिभाले तेस्रो वा चौथो कविता लेखेपछि कविशिरोमणि लेखनाथ पौड्यालको खुट्टा तान्न थाल्छ । नाटक क्षेत्रमा लागेको एउटा युवा लेखकले आफ्नो दोस्रो एकाङ्की नाटक निस्किनासाथ नाट्यकलाका विषयमा र महानतम् युगको साधना गर्ने व्यक्ति बालकृष्ण समका बारेमा अवज्ञाका शब्द गर्जिन थाल्छ ।’ देवकोटाले प्रस्तुत गरेको खुट्टा तान्ने प्रवृत्तिको यो नमुना वाक्यांश हो । सङ्ग्रहका दुई निबन्ध- ‘आफ्नै चर्चा आफैँले सुन्दा’ र ‘माथिका खुट्टा तान्ने प्रवृत्ति’ देवकोटाले अङ्ग्रेजीमा लेखेको हुन् भने अनुवाद पहिलोको शङ्कर लामिछाने र दोस्रोको डा.गोविन्दराज भट्टराईले गरेका हुन् ।
‘महाकवि देवकोटाका निबन्ध’ भित्र रहेका निबन्धहरूमा -हरेराम पार्टी र धुम्रपान निजात्मक शैलीका निबन्ध हुन् । उनले अन्धभक्त हुनेहरूलाई आत्मज्ञान नखुली केही नहुने बताएका छन् भने धुम्रपानमा उनले अहिलेको युगलाई धुम्रयुग भनिदिए हुन्छ भनेका छन् । देवकोटाको यात्रा निबन्ध ‘खस्र्याङ, दार्जीलिङ, कालिम्पोङ’ ले देशप्रेम झल्काउँछ । त्यस्तै, ‘अङ्ग्रेजी साहित्यमा कवि किट्स’ शीर्षकमा लामो जीवनी प्रबन्ध रहेको छ र यसलाई देवकोटाले किट्स कविको एक खस्रोमस्रो छोटो झलक मात्र हो भनेका छन् । विद्यार्थी जीवन, शिक्षा, पुस्तकालयजस्ता उच्चकोटिका प्रबन्धहरू पनि यसमा सङ्गृहीत छन् । एउटा उच्चकोटिको साहित्यकार एउटा साहित्यिक पत्रिका निस्किँदा कतिसम्म खुसी हुँदोरहेछ भन्ने देवकोटाले ‘शारदाको नववषर्ाङ्क र अङ्ग्रेजी साहित्यको प्रभाव’ शीर्षकमा प्रारम्भमै यसरी व्यक्त गरेका छन् -दुब्लाएको बिरुवा फस्टाउँदा मालीले अनुभव गर्ने हर्ष ममा आयो, शारदाको उच्चतम उडान हेरेर सेलीझैँ हृदयले गायो, ‘छ स्वागत तँलाई हँसिलो हे आत्मा ।’
प्रकाशनका दृष्टिले हेर्दा यसभित्रका निबन्धहरूमा ‘शारदाको नववषर्ाङ्क र अङ्ग्रेजी साहित्यको प्रभाव’ वि.सं. १९९९ मा ‘शारदा’ मा प्रकाशित देखिन्छ भने ‘हरेराम पार्टी’ वि.सं २००८ सालतिरै लेखिएको भए पनि वि.सं. २०५८ मा कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो । विभिन्न व्यक्तिहरूसँग रहेका फुटकर रचनाहरूलाई सङ्कलन गरेर साहित्यिक अन्वेषक शिव रेग्मीको सङ्कलन र सम्पादनमा यो कृति प्रकाशित गरिएको हो । निबन्ध, प्रबन्ध, जीवनी, यात्रा निबन्धलगायतका रचनाहरूको सङ्ग्रह भएकाले देवकोटाको विविध शैलीको रसास्वादन पाठकलाई हुने देखिन्छ ।
कृतिः महाकवि देवकोटाका निबन्ध
निबन्धकारः लक्ष्मीप्रसाद देवकोटा
सङ्कलक तथा सम्पादक ः शिव रेग्मी
प्रकाशकः महाकवि देवकोटा शताब्दी महोत्सव
प्रकाशनः २०६६
पृष्ठः ९८
मूल्यः रु. १५०।-
