Skip to content

नेवारीमा विद्यावारिधि गर्ने युरोपेली महिला

  • by


युरोपेली विद्वानहरूले नेपालसम्बन्धी अध्ययन, अनुसन्धान १९औँ शताब्दीदेखि नै गर्दैआएको देखिन्छ । उनीहरूको अध्ययन, अनुसन्धानको क्षेत्र नेपाल भाषा, नेपाल भाषा साहित्य (विशेष गरी नेवारी गीत), नेपालका जनजाति, रीतिथिति, कला, संस्कृति, धर्म, राजनीतिक इतिहासको अध्ययन आदिमा देखिन्छ । नेवारी भाषाप्रति युरोपेली विद्वत्वर्गको अभिरुचिको बढ्दो क्रममा नेवारी विषयमा सर्वप्रथम विद्यावारिधि गर्ने प्रथम जर्मनेली हुन्- उल्रिक् कोल्फर । यिनले सन् १९७५ तदनुसार २०३२ मा जर्मनीको कोलोन विश्वविद्यालयबाट उक्त उपाधि हासिल गरेकी हुन् । उनको विद्यावारिधिको विषय हो- नेवारीको वाक्य विन्यास । उनले यो शोधपत्र जर्मन भाषामा लेखेकी हुन् ।

उल्रिक् कोल्फरको जन्म सन् १९४६ मार्च १२ तारिखका दिन जर्मनीमा भएको हो । सन् १९६५ मा जर्मनीको सेकेण्डरी स्कुल लिभिङ सर्टिफिकेट उत्तीर्ण । तत्पश्चात् जर्मनकै एउटा विश्वविद्यालयमा उनले संस्कृत भाषासँगसँगै धर्मशास्त्र र भाषा विज्ञान अध्ययन गरिन् ।

सन् १९७१ वि.सं. २०२८ मा नेपाल र जर्मनीबीच सम्पन्न सांस्कृतिक सम्झौतानुसार नेपाल-जर्मनी हस्तलिपि संरक्षण परियोजना (Nepa-German Manuscript Project) मा काम गर्न उल्रिक् कोल्फर नेपाल आइन् । नेपालमा एक वर्षको बसाइँमा उनले नेवारी सिक्ने अवसर पाइन् । नेपालको इतिहासमा नेवारी संस्कृतिको महत्त्वपूर्ण स्थान रहनुको साथै नेपाल उपत्यकामा यस भाषा र संस्कृतिको विशिष्टता रहेबाट यस भाषामा कार्य गर्ने प्रेरणा उनमा जाग्यो । उनको आफ्नो विषय भाषा विज्ञान भएको हुँदा नेवारी व्याकरणसँग सम्बद्ध कुरा थाहा पाउने जिज्ञासाले परियोजनाको कामसँगै नेवारीको ज्ञान हासिल गर्ने अवसर जुटाइन् ।

सन् १९७४ मा जर्मनी फर्केर कोलोन विश्वविद्यालयमा रिसर्च स्कलरको रूपमा सोही विश्वविद्यालयमा प्राध्यापक हाय्न्स ज्याकोब भिफरको निर्देशनमा रहेर शोधपत्र तयार पारिन् । शोधपत्र प्रस्तुत गरेको एक वर्षपछि सन् १९७५ मा उक्त विश्वविद्यालयबाट स्वीकृत भई उनलाई विद्यावारिधिको उपाधि प्रदान गरियो । स्मरण रहोस् त्यतिबेलासम्म आफ्नै नेपालमा नेवारीको उच्च अध्ययन गर्ने सरकारी मान्यताप्राप्त भइसकेको थिएन तर युरोप महादेशका केही मुलुकहरूका विश्वविद्यालयहरूले यस भाषामा विद्यावारिधि गर्नसम्म स्वीकृति प्रदान गरिसकेका थिए । संयोगको कुरा सन् १९७५ (वि.सं. २०३२) को वर्षलाई संयुक्त राष्ट्रसङ्घले ‘अन्तर्राष्ट्रिय नारी वर्ष’ को रूपमा विश्वभरि विभिन्न सभा-समारोह गरी धुमधामका साथ मनाइरहेको बेलमा युरोपेली एउटी महिलाले सुदूर हिमाली प्रदेश नेपालको एउटा भाषा विषयमा विद्यावारिधिको उपाधि हासिल गरिन् । यस घटनालाई सुखद संयोग मान्नुपर्दछ ।

उल्रिक् कोल्फरको यस कार्यको उच्च कदर गरेर नेवारीको एउटा साहित्यिक संस्था च्वसापासाद्वारा २०३२ सालमा उनलाई ‘भाषाजवाः’ (भाषा-गोठालो) को उपाधिद्वारा सम्मान गरियो ।

उल्रिक् कोल्फरको नेवारी अध्ययनको रुचिको प्रेरणाबारे एउटा अन्तर्वार्तामा आफ्नो भनाइ यसरी व्यक्त गरेकी छन् । ‘म जर्मनमा अध्ययनरत छँदा मैले संस्कृत पढेँ । तदुपरान्त नेपाल-जर्मन हस्तलिपि संरक्षण परियोजनामा काम गर्न म नेपाल आएँ । त्यहीबेला नेवारी अध्ययन गर्ने अवसर प्राप्त भयो । अध्ययनकै क्रममा नेपालको इतिहासमा नेवारी र नेवार संस्कृतिको विशिष्ट स्थान रहेको पाएँ । नेपालको इतिहासमा नेवारीको परम्परामा निकै बलियो सांस्कृतिक शक्ति पनि भएको थाहा भयो । यिनै कुराहरूबाट पनि नेवारीको अध्ययन गर्ने जिज्ञासा बढ्यो । फेरि मुख्य विषय भाषा विज्ञान भएबाट नेवारी व्याकरणसँग सम्बन्धित कुराहरूको जानकारी पाउन उत्सुक भएँ ।’

अध्ययनको क्रममा भएको कमजोरी र बाधाको अनुभवमा उनले यसरी प्रतिक्रिया व्यक्त गरिन्- ‘मैले नेवारी राम्ररी बोल्न खोज्नुभन्दा पनि यस भाषाको व्याकरणको नियम, वाक्यको बनोट, आदिमा धेरै ध्यान दिएँ । नेवारी तिब्बती-बर्मेली भाषा परिवारको हुँदा यस विषयमा अध्ययन गर्न निकै गाह्रो भयो । त्यसो त मलाई यो भाषा परिवारको प्रारम्भिक ज्ञान थियो तर नेवारीको भने पटक्कै थिएन । अर्को कुरा यस भाषामा शब्दकोशको अभाव हुनु पनि हो ।’

‘तिब्बर्मेली भाषा परिवारसँग नेवारी अन्तरसम्बन्ध भएबाट यो भाषा-परिवारका भाषाहरू अध्ययन गर्न नेवारीको विशिष्ट स्थान रहेको हुँदा यसको अध्ययन गर्नु अति आवश्यक भएको मैले ठानेको छु ।’

‘मैले आफ्नो शोधपत्र-नेवारीको वाक्य बनोट कसरी हुन्छ एवं त्यसको कारक वाक्यांश, वाक्यांश विन्यास आदिको सैद्धान्तिक पक्षमा लेखेकी छु ।’

उल्रिक् कोल्फरको कार्यको सह्राहना गर्दै तत्कालीन समर इन्स्िटच्युट अफ लिङ्ग्विस्टिक, त्रिभुवन विश्वविद्यालयका प्रमुख डा. अस्टिन हेलले यसरी प्रतिक्रिया व्यक्त गरेका छन्- ‘कोल्फरको कार्य आधुनिक भाषा विज्ञानको क्षेत्रमा अति महत्त्वपूर्ण छ । उनले आफ्नो शोधपत्रमा उल्लेख गरेको कुरा नेवारीका अर्का विशिष्ट विद्वान् डेनमार्कका डा. हायन्स् जार्गेन्सन्को पुस्तकमा पनि उल्लेख गरेको पाइँदैन । नेवारी भाषा विज्ञानको क्षेत्रमा यो एउटा महत्त्वपूर्ण घटना हो । आधुनिक नेवारीमा साधारणीकरण र शब्दज्ञान एवं नामसम्बन्धी अङ्ग्रेजीमा लेखिएका लेख-

Nominailzation and Laxicailsation in modern Newari.
On Newari Noun Phrase
Boook Review-
The Newari Language-Aworking Outilne by Kama lP.Mlala 1985

यसै गरी नेवारीका अर्का अध्येता आफ्ना श्रीमान् बर्नहार्ड कोल्फरसँगको सहलेखनमा नेवारीमा संज्ञा र क्रियाको रूपतत्वबारेमा मूल अङ्ग्रेजीमा दुइटा लेख प्रकाशित गरेका छन्-

१. On Newari Noun Inflectipm-1975
२.Classica Newari Verb morpholoy-1978

यसबाहेक नेवारीका प्रसिद्ध कोषकार ईश्वरानन्द श्रेष्ठाचार्यसँगको सहकार्यमा चलनचल्तीको आधुनिक नेवारी- अङ्ग्रेजी शब्दकोशको सम्पादन- A Dictinoary of Cont´porary Newari-100Bध पनि गरेकी छन् ।

नेवारी भाषाको प्रगति र श्रीवृद्धि गर्नमा उनको अर्को सल्लाह यस प्रकार छ –

‘नेवारीका स्तरीय पुस्तकहरू अङ्ग्रेजीमा अनुवाद गरिएमा यस भाषाप्रति विदेशीहरूले रुचि राख्ने छन् । उनीहरूको मूल्याङ्कन र प्रतिक्रियाले यो भाषा व्यापक बन्न आधार सिर्जना हुनजान्छ । यस्तो गरिएमा यस नेवारीका थुप्रै सामग्रीहरू उनीहरूले पाउनुका साथै नेवारीमा पनि केही नयाँ सामग्री तयार हुनजान्छ । नेवारी अध्ययनमा रुचि राख्ने थुप्रै व्यक्ति र संस्थाहरू विदेशमा छन् । तिनीहरूको कार्यगत प्रक्रियाले पनि यो भाषाको प्रचार-प्रसार-बाहृय जगत्मा हुन जाने निकै सम्भावना मैले देखेको छु ।’

सन्दर्भ सामग्री

१. अमात्य, रेवती र अन्य – विदेशी विद्वान् र नेपाल भाषा १०९८ (२०३५), साहित्यमा मूलुखा ।
२. जोशी, डा. सुन्दरकृष्ण – नेपाल भाषा व्याकरण -नेपालीमा २०६० नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
३. लबु मासिक – वर्ष १ अङ्क २ गुँला यँला १०९५ (२०३२)
४. Toba, Sueyoshi – A Boibiilography of Nepalese Languistics Centra Dept. of Languistics TU.KTM. -Bbnd Edition-1998.q

Leave a Reply

Your email address will not be published. Required fields are marked *