एकदिनको कुरो हो । मलाई एकाबिहानै नारायणगोपाल चोकसम्म जानुपर्ने काम पर्यो । यसैले म नयाँ बानेश्वरको बस बिसौनीमा गएँ र नेपाल यातायातको डल्ले बस चढेँ । देख्नमा डल्लो भए पनि प्रशस्त मानिस कोच्न र यात्रुहरू ओर्लन वा उक्लन नपाउँदै दु्रतगतिमा घुइँकिन अभ्यस्त त्यस बसलाई देख्दा त्यतिबेला मलाई च्यान्टेघोडाको सम्झना आएको हो । संयोगकै कुरा हो, त्यस दिन त्यो डल्ले बस केही होलो थियो । मेरो पहिलो पाइलो जसै ढोकाको खुड्किलोमा पर्यो, बस चलिहाल्यो । म भने होर्ल्याङ्पाटा खेल्दै पछाडिको एउटा खाली सिटमा थेचारिन पुगेँ ।
म बसेको सिटैनेर मोफसलको जिल्लाकी जस्ती देखिने त्यस्तै पन्ध्र-सोह्र वर्षकी एउटी नानी बसेकी थिइन् । बस गुडेको केही क्षणपछि नै उनको मुखबाट एउटा मायालु आवाज निस्कियो
‘हजुरबा !कान्ति अस्पताल कति टाढा पर्छ ?’ मैले सोचेको थिएँ उनले अरू कसैसँग सोधेकी होलिन् । कतैबाट पनि उनको जिज्ञासा मेटिएन । उनले मेरो कुइनोमा कोट्याउँदै फेरि भनिन्, ‘मैले हजुरसँगै सोधेकी हुँ हजुरबा, कहाँ छ कान्ति अस्पताल ?’ उनीतिर पुलुक्क हेर्दै मैले प्रतिप्रश्न गरेँ -‘कान्तिपुर अस्पताल कि कान्ति बाल अस्पताल ?’ लामो सास फेर्दै उनले तुरुन्तै भनिन्- ‘कान्ति बाल अस्पताल ।’ उनको साथमा रहेको एउटा अस्वस्थ जस्तो देखिने केटोले पनि उनको गन्तव्य कान्ति बाल अस्पताल नै हो भन्ने प्रमाणित गरिरहेको थियो । ‘को हो त्यो ?’ केटोलाई इङ्गति गर्दै मैले ती नानीसँग सोधेँ । ‘यो एउटा निःसहाय भाइ हो, अहिले अलि बिरामी छ हजुरबा ।’ कारुणिक स्वरमा उनले मेरो जिज्ञासा मेटाइन् । मैले उनको नाम पनि जान्ने इच्छा गरेँ । उनले आफ्नो नाम ‘सीता’ बताइन् । त्यो कुरा बुझेपछि मैले बिस्तारै भनेँ- ‘सीता नानी !अस्पताल त अलि टाढै छ, आएपछि म भनुँला ।’
यसपछि सीता त चुप लागिन्, तर मेरो मन भने हुँडलिन थाल्यो । उनले मलाई हजुरबा किन भनिन् ? न म उनको बाको बा हुँ, न आमाको बा हुँ ? खिसी गरेर भनेकी हुन् भनुँ भने पनि उनी निश्छलजस्ती देखिन्थिन् । त्यसमा पनि उनले मलाई त्यसरी खिस्याउनुपर्ने आवश्यकता नै के थियो र ? दाह्री कपाल सेतै देखेर पनि पक्कै होइन किनभने बिहान उठ्नेबित्तिकै मेरा दौंतरीहरू कोही धर्मोपार्जन गर्न भनी मठमन्दिर, मस्जिद र चर्च धाउँछन् भने कोही स्वास्थ्योपार्जनका निम्ति प्रभात भ्रमणतिर लम्किन्छन् । कोही आफ्नै कोठामा योगासन कस्छन् तर मेरो दैनिकी भने त्यसरी चल्दैन । म त ओछ्यान छोड्नेबित्तिकै सर्वप्रथम दाह्रीजुँघा सफाचट् पार्छु र कपालमा कालो लगाएर टिलिक्क टल्काउँछु । कपालको टुप्पो कालो तर फेदचाहिँ सेतै देखिएला भनेर म औधि सतर्क पनि हुने गरेको छु । अनि दाह्री कपालका आधारमा कसले भन्ने मलाई बूढो ?
के ती सीताले मलाई उमरेकै आधारमा हजुरबा भनेकी होलिन् त ? त्यसमा पनि म कसरी विश्वास गरुँ ? त्यो कच्चा उमेरकी सीताले कसरी अनुमान गरिन् होला मेरो उमेर ? मेरो गाला, निधार चाउरिएर कच्याककुचुक भएजस्तो पनि लाग्दैन मलाई !हुन त आफ्नै अनुहारलाई हेरेर आफैँलाई बूढो भन्ने कोही होला र ? तैपनि म साँच्चिकै बूढो देखिने भए मेरा समकालीनहरूले ‘काफ्लेजी, तपाइँ त साँच्चिकै सदाबहार देखिनुहुन्छ !के हो यसको रहस्य ?’ भनेर किन भन्थे ? होइन, तिनीहरूले मलाई फुक्र्याएको पनि त हुनसक्छ !वास्तवमा फुक्र्याएकै भरमा मैले चियानास्ता गराएर तिनीहरूलाई पुरस्कृत गर्ने गरेको हुँ त ?
हुन त ती सीताले नै मलाई पहिलोपटक ‘हजुरबा’ भनेकी त होइनन् नि । यसअघि पनि कसैले मलाई ‘हजुरबा’ भनेर सम्बोधन गरिसकेको थियो । त्यो शब्द त मैले अहिलेसम्म पनि झलझली सम्झिरहेको छु । आफूलाई गढेको वचन कहिले पो बिर्सन सकिन्छ र ? त्यसबखत मेरो साथमा मेरी श्रीमती पनि थिइन् । हामी अलि लामो यात्रा गरेर काठमाडौँ फर्किंदै थियौँ । हामी चढेको बस नौबिसेमा केहीबेर रोकियो । गधापच्चीसी पनि ननाघेकाजस्ता लाग्ने दुईजना ठिटाहरू पनि त्यही बसमा चढे र हाम्रै अगाडिका खाली सिटमा थचक्क बसे । जसै बस गुड्न सुरु गर्यो, बसको घ्यारघ्यारलाई समेत छिचोल्ने गरी चर्को स्वरमा ती ठिटाहरूको गफ चल्न थाल्यो । उत्तर र दक्षिण धु्रवलाई जोड्नेजस्ता तिनीहरूका पुङ न पुच्छरका गफ सुनेर यात्रुहरू दिक्क हुन थाले । ती गफास्टक केटाहरूलाई इङ्गति गर्दै नजिकैको एक अधबैँसेले प्वाक्क भनिहाल्यो- ‘भाइहरूका कुरा त अहिलेका मै हुँ भन्ने नेताहरूका भाषणजस्ता छन् नि !’ बस नै थर्काउने किसिमका गफ सुनेर मलाई पनि झर्को लागिरहेको थियो । कुनै न कुनै बहाना बनाएर तिनीहरूको गफको शृङ्खलालाई भङ्ग गर्ने मेरो पनि मनसाय बन्यो । यसैले मैले पनि अलिकति थपिहाँले-‘भाषण मात्र होइन, उहाँहरूका कुराकानी त मलाई धर्मका ठेकेदारहरूको प्रवचन जस्तो पनि लाग्यो ।’ हाम्रो प्रतिक्रियाले आसपासबाट हाँसोको पर्रा छुट्यो र उनीहरूको कुराकानी बीचैमा टुङ्गियो ।
ठीक हामी बसेकै सिट अगाडि थिए ती ठिटाहरू । एकैछिनको मौनतापछि एक जना फरक्क पछाडि फक्र्यो र मलाई सङ्केत गर्दै आफ्नो आक्रोश यसरी पोख्यो-‘हजुरबा !त्यसो भए राजनीतिका ठेकेदारहरूका भाषण र धर्मका ठेकेदारहरूका प्रवचन उस्तैउस्तै हुन् त हजुरबा ?!जीवनमा मलाई कसैले पहिलोपटक ‘हजुरबा’ शब्दले सम्बोधन गरिरहेको थियो । त्यो शब्दले मेरो दिलमा च्वास्स पोलेको कुरा श्रीमतीले पनि थाहा पाइन् र सेता दाँत देखाउँदै मतिर फर्केर खिसिक्क हाँसिन् । उनको हँसाइको भाषा मैले राम्ररी बुझेँ । उनको निःशब्द हँसाइले भनिरहेको थियो- ‘उमेरदार छु भनेर निकै नै फूर्ति गथ्र्यौ नि बूढा !अब त चिन्यौ आफूलाई ?’ तत्काल मैले उनको हँसाइको व्याख्या गर्नु थिएन । एउटा अल्लारे ठिटोले गम्भीर प्रश्न तेर्साएको थियो मतिर । त्यसलाई मैले पनि गम्भीरतापूर्वक लिनु थियो, लिएँ र आफूलाई लागेको कुरा यसरी सुनाएँ- ‘भाषण र प्रवचन उस्तैउस्तै हुन् बाबु । भाषणले स्रोतालाई तत्काल उत्तेजित त बनाउँछ तर एकैछिनपछि त्यो हावामा मिसिन्छ र त्यसै हराउँछ । प्रवचनले दुवै हात्ती आयो हात्ती आयो फुस्सा भनेझैँ यसै बिलाउँछन् ।’ हाम्रो बहस टुङ्गएिकै थिएन, बस रोकियो, हामी ओर्ल्यौं र गन्तव्यतर्फ लम्कियौँ ।
म चढेको बस भर्खर नक्सालबाट भाटभटेनीतर्फ गुड्दै थियो । म शारीरिक रूपमा चुपचाप बसिरहेझैँ देखिए पनि मनमा अनेकौँ तरङ्गहरू लहरिरहेका थिए । नेपाली समाजमा चलेको एउटा कहावत सम्झना आयो । एकपटक अबोध छोराले आमालाई ‘आमा !आमा !!तिमीलाई सबैले काली भन्छन् नि’ भन्दा आमाले ‘जस्तो देख्छन्, उस्तै भन्छन्’ भनेकी थिई रे । कमसेकम उसले यथार्थता त स्वीकार गरी । त्यति पनि मैले किन गर्न नसक्ने ? सात दशक पुग्न लागेको वृद्धलाई सीताले ‘हजुरबा’ भनिन् त के बिराइन् ? उमेरका हिसाबले नै भन्ने हो भने बूढा हजुरबा भनेको भए पनि त मैले सहनै पथ्र्यो । त्यसमा पनि उमेरका आधारमा बा-आमा, दाजु-भाइ, दिदी-बहिनी आदि नाता लगाएर बोल्ने हाम्रो समाजमा विद्यमान चलनलाई मैले आत्मसात् गर्नु पर्दैन ?
पचास वर्ष नपुग्दै दिवङ्गत भएका महाकवि देवकोटा नेपाली साहित्य जगत्का अमर व्यक्ति बने । बाउन्न वर्ष मात्र बाँचेका आदिकवि भानुभक्त नेपाली जनमानसमा नअस्ताउने गरी गए । तीस वर्षकै अल्पायुमा बितेका मोतीराम नेपाली साहित्यमा दीर्घजीवी बन्न सके । यो उमेरसम्म जीवित रहेर पनि न मैले कुनै क्षेत्रमा सेवा पुर्याएँ, न मेरो कमाइको एउटा सानो अंश पनि कुनै सेवामा लाग्न सक्यो । शैक्षिक, सामाजिक र साहित्यिक सेवाविना सात दशकको यो लामो जीवन पूर्णतः निष्फल रहृयो । सर्वदा मेरो ध्यान केवल जीवनलाई प्रकृतिविरुद्ध लडाउने, गाला मुसार्ने र कपाल तलास्ने काममा नै केन्दि्रत भयो । मनमा यस्तैयस्ता तरङ्ग मडारिँदामडारिँदै बस घ्याच्च रोकियो र कन्डक्टर करायो- ‘कान्ति अस्पताल’ । मैले ‘सीता नानी ओर्लने ठाउँ आयो’ भनेँ । उनी सिटबाट जुरुक्क उठिन् र खिसिक्क हाँस्दै मीठो स्वरमा भनिन् ‘जाउँ है हजुरबा ।’ उनी साथमा रहेको केटोलाई डोर्याउँदै हतार-हतारमा बसबाट ओर्लिन् र अस्पतालतिर लागिन् । बस गुड्न थाल्यो । मैले ती सीतालाई दृष्टिले भ्याउन्जेलसम्म हेरिरहेँ ।
सीता आफैँ पनि निस्सहाय हुन सक्छिन् । ती दुवै निस्सहाय दिदीभाइ पनि हुनसक्छन् । तिनीहरू पहिरो र बाढीपीडित हुनसक्छन् । द्रव्यपिचास र रक्तपिपासुहरूबाट लखेटिएका पनि हुनसक्छन् । किन ती बालिका केटोको उपचारका निम्ति समर्पित थिइन् ? उनका बाबुआमा भएको भए अस्पतालमा ती बालिका नै आउनुपथ्र्यो ? ती यावत् कुराबारे मैले किन चासो देखाइन ? कतै तिनीहरू टाँसो लाग्लान् कि भन्ने मेरो कपटपूर्ण विचारले पनि मलाई तिनीहरूको सोधपुछ गर्न वञ्चित गरेको पनि हुनसक्छ । जे होस् जीवनको आखिरी अवस्थामा कसैको सेवा गर्ने एउटा सुनौलो अवसर आएको थियो, त्यसलाई पनि मैले सदुपयोग गर्न सकिनँ । यसैले सीताको ‘हजुरबा’ शब्दले आज फेरि अर्कै ढङ्गले मलाई खिस्याइरहेको थियो । वास्तवमा विचारले, निष्ठाले, सेवाभावले, दायित्व निर्वाह गर्ने दृढताले त सीता पो ‘हजुरबा’ थिइन् । म त केवल करोडौँ करोड बयोवृद्ध व्यक्तिसरहको एउटा पात्र मात्र थिएँ । जे होस्, आज मैले एउटी टिनएजर समूहकी सीताबाट हजुरबाको भूमिका निर्वाह गर्ने तौरतरिका सिकेँ र उनैबाट जीवनलाई फर्केर हेर्ने प्रेरणा मिल्यो ।
