Skip to content


तिमीले दिएको आश्वासनको तिउन-आशाको ढिँडोसँग
विश्वासघातको अचार नमज्जाले मिसायौ है !
तिमीले देखाएका नयाँ सपनाहरू साँच्न नपाउँदै
उही पुरानो नमिठो थप्पडले फेरि बिउँझायौ है ।
अत्याचारको शिकार, अन्यायको मूक गवाही
बोली त तिमीले पहिले नै खोसिसकेका रहेछौं !
तर भुस्याहा कुकुरहरूको मिथ्या भुकाइमा
तर्सिन छाड्यो त्यो कमजोर रामबहादुर
दबाउन सक्दैन आवाजहरूलाई कसैले
बोल्ने बोलेरै छाड्छ अब अन्धकारविरुद्ध
भीरबाट खस्ने गोरुको लङ्गडो ढिपीमा
राम राम भनिन्छ अब काँध थाप्ने छैनन् कोही !
लाखौं आमाहरूको आँसुले सजाएको त्यो मन्चमा
तिम्रो देशभक्तिको कालो चिट्ठा मन्चन हुँदैछ
कुरीति र कुशासनको पटाक्षेप हुँदैछ
गाँस-बास-कपास दिन्छु, नयाँ आश दिन्छु
झुक्किने छैन घरिघरि त्यो सोझो मानबहादुर
तिम्रो यस्तो फुस्रो कुरा गराइमा ।
न्याय, समानता, हक र परिवर्तन
कुनै किराना पसलमा पाइने खाद्य वस्तु हो ?
पाइने भएको भए पनि तिमीले कहाँ दिन्थ्यौ र ?
खोक्रो आडम्बर, ढोङ्गी सहानुभूति त हो तिमीले दिने !
कुरा ठूला-ठूला तर सस्तो मानसिकता
उद्घोष नयाँपनको तर सोच बर्बर
अब छोप्न सक्दैनौ तिमीले आफ्नो नपुङ्सकता !
भाइ मारेर ज्वाइँ पोस्ने तिम्रो फोहोरी चाललाई
अब कसैले सफा भन्ने छैनन्
तिमीले फेरेको काँचुलीलाई परिवर्तनको नाम त दियौ
तर उही पुराना रुग्ण मानसिकता भने छाड्न सकेनौ
तिमीले पनि त कति गाडी घरहरू फेर्‍यौ
कङ्गालीको करङ्गमाथि घुम्ने कुर्सीको स्वाद पनि फेर्‍यौ !
गरिब श्यामबहादुरको खुन पसिनामा बाँच्ने तिमी
कति लासहरूमाथि महँगो हृविस्की पनि फोड्यौ ।
तिम्रो स्वार्थ पूरा गर्न हजारौं सपनाहरूले बलि चढाए
तिम्रो विश्वासको भुमरीमा लाखौँ इच्छाहरूले आत्महत्या गरे
तिमीले पनि तिनीहरूको मृत्युलाई बलिदानको नाम दिएर महान् बनायौं
श्रद्धाञ्जलिस्वरुप तिनीहरूको लासमाथि सहिदको ‘लेबल’ पनि टाँस्यौं
महानताको गाथा गायौं अनि डकार्यौ उनीहरूको रगत सर्बत
तिनीहरू सहिद भएर अमर, तिमी सहिद बनाएर अमर !
तर अब जुर्मुराउँदैछन्
तिनै राम, श्याम र मानबहादुरहरू
बुहारीको पुछिएको सिन्दूर, मुछिएको मर्म
छोरीको लुटिएको अस्मिता, फुटेको कर्म
खोसिएको आफ्नो घरबार, मान्छे हुनुको धर्म
सबैको हिसाब माग्न उठ्दैछन्, जुर्मुराएरै आउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *