Skip to content


पाँच दशकभन्दा लामो इतिहास बोकेको लघुकथा विधा पचासको दशकयता व्यापकरूपमा पल्लवित तथा पुष्पित भइरहेको छ । आजको व्यस्त समय, प्रविधिको साम्राज्य, यान्त्रिक जीवनशैली तथा प्रचुर मनोरञ्जनात्मक साधनहरूको विगविगीले गर्दा आमपाठक थोरै शब्दबाट धेरै सन्देश दिने क्षमता भएको लघुकथा विधातर्फ आकषिर्त भइरहेका छन् । साहित्यका चार विधाहरू आख्यान, काव्य, निबन्ध र नाटकमध्ये लघुकथा आख्यान साहित्यको स्वतन्त्र उपविधाको रूपमा स्थापित भइसकेको छ ।

लघुकथालाई प्रमुख विधा बनाएर साधनामा लागिपरेका राम्रा कथाकारमध्ये कृष्ण बजगाईं सशक्त एवं आशान्वित हस्ताक्षर हुन् । विगत एघार वर्षदेखि डायास्पोरा जीवन बाँचिरहेका कृष्ण बजगाईंले नेपाली समाजमा अन्तर्निहित राजनीतिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक, धार्मिक, वैयक्तिक, मनोवैज्ञानिक, यौनिकलगायत विविध क्षेत्रमा स्थापित विकृति, विसङ्गति र विद्रुपतालाई आफ्नो दोस्रो लघुकथासङ्ग्रह रोडम्यापमार्फत उजागर एवं मार्मिक प्रहार गरेका छन् । रोडम्यापका बैसट्ठी लघुकथाहरू युगचेतना र समय चेतनाका थुँगाहरू हुन् जसलाई कथाकारले टिपेर, उनेर तथा बुनेर लघुकथाको माला बनाएका छन् । उनका अधिकांश लघुकथामा तीव्र संवेदना र गहिरो अनुभूति सूक्ष्मरूपमा चित्रण गरिएको छ । लामो समयदेखि प्रवास बसाइँमा रहेर पनि उनका लघुकथाहरूले नेपाली जीवन र विषयका घतलाग्दा प्रसङ्गहरू घनीभूतरूपमा चित्रण गरेका छन् ।

रोडम्यापका प्रायः लघुकथाहरू छोटो संरचना, तीव्र बहाव, रोचक/घोचक शैली, बिम्बात्मक, सूत्रात्मक, व्यङ्ग्यचेतप्रधान एवं सन्देशमूलक अन्त्योत्कर्ष प्रधान छन्, जुन लघुकथाको विधागत विशेषता हो । पछिल्लो समयमा प्रकट भएका धार्मिक, जातीय, भाषिक तथा विविध विशृङ्खलतालाई पनि कथाकारले उजागर गरेका छन् । रोडम्यापमा प्रकाशित ६२ लघुकथाहरूमध्ये रोडम्याप, झगडाका गुँड, गोजी नभएको सुट, विज्ञापन, तेस्रो लिङ्गी, आशय, भोक, हडताल, मानवियता, भित्री जाडो, परिवर्तन, आदेश लोग्नेको, जात, अर्ति, चिन्ता, दुःख, भोग र लोकतन्त्र लघुकथाहरू विषय, प्रस्तुति, मिथक एवं सम्प्रेषणको हिसाबले अब्बल दर्जाका लघुकथाहरू हुन् ।

रोडम्यापमा सङ्गृहीत केही लघुकथाहरूमा जस्तैः नेताका कुरा, मन्त्रीको खराब सपना आदिमा शीर्षक स्वयं उत्तर बोलेका छन् । त्यस्तै केही लघुकथाहरू अन्त्योत्कर्षपछि थपिएका वाक्यले विस्फोटक हुनसकेका छैनन् । शब्दहरूमा बिम्ब खेलाउन सिपालु कथाकारले अधिकांश लघुकथाहरूमा सूत्रात्मकताको साटो कथात्मक शैली अवलम्बन गरेका भए सुनमा सुगन्ध थपिने थियो । लघुकथाले छरिएको भन्दा सघन वाक्य संरचनाको अपेक्षा गरेको हुन्छ ।

डा.लक्ष्मणप्रसाद गौतमको समीक्षात्मक भूमिका तथा डा.गोविन्दराज भट्टराई र होमनाथ सुवेदीको मन्तव्यले कृतिको ओज बढेको छ । लघुकथा विधामा कृष्ण बजगाईंको सक्रिय, सशक्त एवं प्रयोगवादी उपस्थितिलाई रोडम्याप लघुकथा सङ्ग्रहले पूर्णपुष्टि गरेको छ ।

कृति ः रोडम्याप (लघुकथासङ्ग्रह)

लेखक ः कृष्ण बजगाईं
प्रकाशकः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
प्रकाशनः माघ, २०६६
पृष्ठ संख्याः १२३ ं
मूल्य ः रु. ७५।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *