Skip to content


विश्वास गर्नूस्
विश्वास गर्ने साहस गर्नूस्
भोक केवल भाववाचक संज्ञा होइन
भुँडे व्याकरणविद्हरूले भन्दैमा हुन्छ र…
व्याकरण पनि इतिहासजस्तै हो
जो बोकाउँछ मान्छेलाई जबरजस्ती
एक पत्करे डोको झूट।

हेर्नूस्
हेर्ने प्रयत्न गर्नूस्
यो मेरो पेट हो
छैन यसमा कुनै अमूर्तता
यसमा एउटा खिनौरो देशको अनुहार देख्न
चाहिँदैन पारखी आँखा।

भेट्नूस्
भेट्ने अठोट गर्नूस् मेरी आमालाई
सत्तरी हिउँद फटाएकी छन् उनले
वसन्त उनको सबभन्दा अप्रिय याम हो
चरीले ‘काफल पाक्यो’ गाउँदा
उनी ‘भात पाक्यो ?’ सुन्छिन्
र, अँगेनोमा धुम्धुम्ती बसेको बूढो रित्तोपन
फूर्तिसाथ उठ्छ एकाएक
र, एक पलमा सयबाजी चक्कु चलाउँछ
घाउ, चोट र खतको अखबार हुन् मेरी आमा
जसलाई पढ्न सक्ने गरी
साक्षर भएकै छैन राज्यसत्ता।

खेल्नूस्
खेल्ने मन गर्नूस्
पटपटी गाला फुटेका
कुपोषणग्रस्त मेरा नानीहरू र
तिनका साथीहरूसित
तपाईंको सामान्य ज्ञानको
खुराकका निम्ति भनिदिउँ
उनीहरू धेरैजसो भातपकाइ खेल्छन्
ढुंगाको थालमा
माटोको भात र पातको तिहुन खाएर
डकार्छन् उनीहरू
यो छद्म डकारमा पुरएिको हुन्छ
एउटा गीत आँधीमय
तिनका कलेटी परेका ओठमा
उपरखुट्टी लाएर
बारुद बसेको देख्नुहुनेछ तपाईंले।

देख्नूस्
देख्ने चेष्टा गर्नूस्
भोकको एउटा आकार हुन्छ
एकदम स्पष्ट
लम्बाइ, चौडाइ र उचाइसहित।

सुन्नूस्
सुन्ने हिम्मत गर्नूस्
म बताउँछु तपाईंलाई भोकको क्षेत्रफल
२ लाख ९४ हजार ३ सय ६२ वर्ग किलोमिटर
हो, ठीक सुन्नुभो
यो देशभन्दा ठूलो छ
यो देशको भोक…
दोब्बर ठूलो।

नेपाल साप्ताहिक ४०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *