‘सिम्प्ली पास्ड’ को ट्यागमा लघुताभास गर्दै ‘एस.पी.’ हुनुभएको होइन उहाँ ।न त शङ्करप्रसादको पुरातन आग्रहले खुम्चिएर आधुनिक संस्करणमा भयङ्कर कवि ठहरिन नै उहाँले आफूलाई ‘एस्पी’ को स्वरूपमा उभ्याउनुभएको हो । त्यसैले उहाँलाई बुझ्दै जाँदा र खोतल्दै गर्दा ‘सक्सेस एण्ड पपुलारिटी’ को स्वरूपमा उहाँ ‘एस्पी’ भएझैँ देखिनुहुन्छ । अथवा यसो भनौ सफलताको प्रतीकमा उहाँले शङ्करप्रसादलाई एस.पी. बनाए झैँ लाग्छ ।
आखिर भनिन्छः ‘नाम मे क्या रखा है !’ हो, हुनत नामको के मतलब ? यसरी सोचाँै एकछिन र एउटा मध्यमवर्गीय पहाडे युवकको सङ्घर्षलाई नियाल्यौ । एस.एल.सी. लाई ‘आइरन गेट’ मानिने अवस्थाका दिनमा ‘राम्रो पढ्ने’ एउटा युवक जे र जसका लागि जसरी राजधानी हानिन्छ, त्यसैगरी शङ्करप्रसादको यात्रा सुरू भएको हो । पढाइसँगै सरकारी जागिर खाने तृष्णाबीच ती युवाले लोकसेवा आयोगमा र्फम भर्नुपर्दा ‘सक्कलबमोजिमको नक्कल प्रमाणित’ गरिदिने मान्छे नपाएको प्रशस्त दुःख भोगेकै हुन् । कम्तिमा चिनेजानेको शाखा अधिकृतले नक्कल प्रमाणित गरिदिनुपर्ने बाध्यता गुजारेका ती दिन सम्झँदै शङ्कर ‘सर’ भन्नुहुन्छः ‘त्यतिखेर म सेक्सन अफिसर हुने र भएका कल्पनामा निक्कै समय बिताउथेँ ।’
शङ्कर ‘सर अहिले सरकारी सेवाको विशिष्टतम् पद मन्त्रालयको ‘सचिव’ हुनुहुन्छ । प्रशासनिक क्षेत्रमा उहाँ उर्जा सचिव शङ्करप्रसाद कोइरालाको चिनारीमा स्थापित हुनुहुन्छ । शङ्कर सरको यही चिनारीसँगै कवि, कथाकार र गीतकारको त्रिवेणीमय ‘एस्पी कोइरालाको परिचय पाटो पनि मिश्रति छ । ‘सचिव’ कि कवि चिनारी प्यारो ? प्रश्नले भुइँ र्झन नपाउँदै उहाँ भन्नुहुन्छ ः ‘सचिव शङ्करप्रसादको पदको म्याद दुई वर्ष बाँकी छ तर एस्पी कोइराला सधँै चिरस्थायी र जीवन्त रहनेछ ।’
साहित्यिक परिचयको गर्वमा तेजिलो अनुहार हुन्छ उहाँको । कवि मात्र नभएर साहित्य लेखनको सुरूताका कथाकार हुँदै पछिल्लो कालखण्डमा ‘तगडा गीतकार’ मानिनुहुने एस्पी कोइराला गीतले निक्कै प्रख्याति र कविताले आवश्यकीय ख्याति दिने बताउनुहुन्छ । ‘एकताका गीतहरू सुनिन्थ्ये तर अचेल गीतहरूलाई हेरिन थालेकोले गीति लेखन महङ्गो भएको छ ।’ गीतकार कोइराला थप्नुहुन्छ । समय, प्रविधि र बदलिँदो माहोलले गीतमा लेखनसँगै आर्थिक लगानीको अंश जोडिएकोमा उहाँ निक्कैबेर ‘गम’ खानुहुन्छ र भन्नुहुन्छ ः’ तर म सुनिने गीतहरूको जमानादेखि नै गीत लेख्दै आएको मान्छे …, त्यसैले विकाउ होइन टिकाउ नै गीत लेख्न चाहन्छु ।’
उहाँ आधुनिक गीति लेखनसँगै राष्ट्रि्य गीतहरूको सिर्जनामासमेत जुट्नुभएको छ । ‘पे्रम, विरह, सौन्दर्य सम्मोहन शृङ्खलाहरूका मात्र गीत हुँदैनन् । ढुङ्गो माटो, आफ्नै आकाश र आफ्नै भूगोलको राष्ट्रिय चेतमा समेत गीतहरू खुल्छन् ।’ गीतकार एस्पी कोइराला दावी गर्नुहुन्छ ।
कवि कोइरालालाई राम्ररी थाहा छ, कविता ‘क्लासमा जान्छ भने गीत ‘मासमा’ जान्छ । त्यसैले कविताले दिलाएको लोकपि्रयताको दशौँ गुणा बढी लोकपि्रयता गीतले दिलाउँछ । तैपनि उहाँलाई किन किन आफू कवितामा बढी खुल्न सकेको अनभूति हुन्छ । यही विरोधाभास परिवेशबीच उहाँ थुप्नुहुन्छ ः ‘जे भए पनि गीत, कविता जस्तै कथासमेत एस्पी कोइरालाका सन्तति हुन् ।’
एउटा संयोग, यी तीन विधाजस्तै उहाँका तीन सन्तति छन् । दुई छोरी र एक छोरा जसलाई उहाँ जति माया गर्नुहुन्छ, उनीहरू भने ‘कवि-पिता’ का पथमा अग्रसर छैनन् । लाग्छ यस्तो छोराछोरीहरू साहित्यकार पितालाई कमै माया गर्छन् । के कुरो यस्तै हो ? कवि गीतकार कोइराला भन्नुहुन्छ ः ‘छोराछोरीहरूले बाबुलाई पद, प्रतिष्ठा र चिनारीमा होइन आफ्नो अभिभावकरूपि ‘पिता’ कै रूपमा हेर्छन् भन्ने लाग्छ ।’
‘त्यसो भए अर्धाङ्गनिीलाई चाहिँ तपाईंको कुन चिनारी प्यारो छ त ?’ प्रश्नमा उहाँ भन्नुहुन्छ ः ‘मेरी गुणाको लागि त दुवै म नै भएँ नि । कवि कोइराला निश्छल हाँस्नुहुन्छ र सचिव शङ्कर ‘सर त्यसपछि टाइको नटलाई अलि खुला पार्नुहुन्छ । कुराकानी चलिरहँदा हामी शङ्कर सरकै वातानुकूलित कार्यकक्षमा छौँ । मुलुकभर चर्को लोडसेडिङ व्याप्त छ । मुलुकको ऊर्जा नीति बनाउने जिम्मेवारी काँधमा बोक्नुभएका सचिवज्यूलाई पक्कै वर्तमानको अँध्यारो साम्राज्य मन नपरेकै हुनुपर्छ । ‘अनुमान गर्न कठिन पर्दैन ।
‘हो, पक्कै पनि जिम्मेवारी र पदीय मर्यादाका दृष्टिले मैले मुलुकको लोडसेडिङको जिम्मेवारी लिनैपर्छ ।’ विना हिच्किचाहट आत्मस्वीकृति दर्शाउनुहुन्छ उहाँ र तर्क राख्नुहुन्छ ः ‘लोडसेडिङ विगतकै निरन्तरको पाटो हो । हिजोदेखि रोपिएको समस्या हामीबीच फुलेको छ यतिखेर । तर आगतमा त्यस्तो नहोस् भनी हामीले यतिखेर थुप्रै ऊर्जाशील काम गरेका छौँ । सन् २०१५ सम्म आफ्नै बिजुलीमा मुलुक निर्भर हुन हामीले थुप्रै जलविद्युत् आयोजनाका जग खनेका छौँ । अहिले जग देखिएको छैन तर जब त्यहाँ विशाल महल खडा हुनेछ, तब जगको महत्त्व खोजी हुनेछ ।’
ऊर्जा सचिवले यो तर्क र पुष्ट्याईं अघि सार्नु स्वभाविक थियो । यद्यपि शङ्कर सरभित्र अन्तर्निहित कवि भने लामो समयदेखि प्रताडित भइरहेको पीडा उहाँले रोक्न सक्नुभएन । अनि उहाँले यसरी खोल्नुभयो ः’अप्रत्यासित अँध्याराहरूका कारण मेरा थुप्रै गीत एवं कविताहरूले लिपिबद्ध हुन नपाएका अनेकन् भोगाइ छन् । पक्कै पढाइ, लेखाइमा लोडसेडिङले मलाई जस्तै सबैलाई नमिठो झापड दिएकैछ ।’
जलस्रोतको धनी मुलुकले बेहोरेको ‘टुकी-संस्कृति’ हटाउन प्रतिबद्ध दृष्टिकोणका साथ असीमित इच्छाशक्तिको खाँचो देख्नुहुन्छ उहाँ । यस सम्बन्धमा कोइरालाको शङ्कर डक्टि्रन’ छ ः ‘पाँच वर्षपछि बत्ती बाल्ने हो भने दश वर्षअघि ै सोच्नपर्छ ।’ उहाँको यही मान्यताले हो वा सर्वपि्रय स्वभावका कारणले हो शङ्कर सर पहिलेको जलस्रोत र अहिलेको ऊर्जा मन्त्रालय अर्थात एउटै कार्यकक्षमा लामो समयदेखि कार्यरत हुनहुन्छ । मुलुकको प्रशासन क्षेत्र विज्ञका दृष्टिकोणलाई आधार मान्ने हो भने मन्त्रालयका सचिवहरू एउटा मन्त्रालयमा ६ महिनादेखि बढीमा एक वर्षजति ‘टिक्छन्’ । खासगरी राजनीतिक उतारचढाव र सरकार निर्माणको संयन्त्रले सचिवहरू तानातन या फालाफालमा पर्ने गर्छन् । शङ्कर सर यो प्रवृत्तिबारे अनभिज्ञ हुनुहुन्न र भन्नुहुन्छः ‘राजनीतिको मूल प्रणालीबाट प्रशासनिक सहायक प्रणाली अछुतो त हुन सक्दैन तर अचेल राजनीतिक हस्तक्षेपले सीमा चाहिँ नाघेको छ ।’
‘तपाईं त सधैँ यहीँ । खुब चलखेल गर्नुहुन्छ कि क्या हो ? नभए कोइराला थरको प्रभाव र प्राप्ति हो कि ?’ आमनागरिककै सोच अनुरूप जिज्ञासु बन्छु म ।’ उहाँ भन्नुहुन्छ ः ‘मैले सेवानिर्वाह क्रममा कहिल्यै पनि वैचारिक आग्रह र आस्था दर्शाइन । त्यसैकारण मेरो कार्यशैली कहिल्यै विवादास्पद बनेन र विवादास्पद पनि छैन । बाँकी रहृयो कोइराला थरले दिलाएको प्राप्तिको प्रसङ्गमा भने एकपटक म महावाणिज्यदूत नियुक्त हुने पक्कापक्कीजस्तै भएकोबेला त्यतिबेला मुलुकको प्रधानमन्त्रीको थर कोइराला भएका कारण नियुक्तिबाट बञ्चित भएको पीडा समेत मसँग छ । जे ले पीडा दिलायो, त्यसले निश्चय केही न केही खुशी पनि मिल्यो होला ।’
कतै अग्रगमनका खुसी, कतै अवरोधका पीडा, कुनैबेला बेरोजगारीको दुखेसो, कहिलेकाहीँ पद र नामले दिलाएको सन्तुष्टिबीच शङ्कर सर अमीट स्मृतिबाट दुईटा घटनाक्रम यसरी सुनाउनुहुन्छः ‘डिग्री पढ्दाताका बेरोजगारीले थिलथिलो हुँदा मसँगै हाइस्कुल पढेका एक ब्रिटिस लाहुरे साथीको चकचकी देख्दा म नराम्री रन्थनिएको थिएँ भने एकपटक धरानबाट चतरा जाँदा आफू चढेको बसको कण्डक्टर अर्को आफ्नै स्कुलको साथीलाई देख्दा मैले आफ्नो अवस्था, पद र वर्तमानसँग चित्त बुझाएको थिएँ । मलाई लाग्छ, जीवनमा दुःख नभोगिकन सुखको मापन गर्न सकिँदैन ।’
जेहोस् दुःखहरू उहाँका विगत भइसकेका छन् । आगतमा सुखैसुख मात्र छन् । नामचलेको साहित्यकार, लोकपि्रय गीतकार र युवावयमै ‘सचिवज्यूको’ शान । अनेकन कुरा गर्न सकिन्छ । तर जति नै करा गरे पनि अचेल सचिवज्यूहरूको वर्तमानमा आमनागरिकहरू सम्मानसँगै उनीहरूको सातपुस्ते कमाइ धमाइका प्रसङ्ग उठाएर धारेहात लगाउँछन् । ‘ल …शङ्कर सर । भन्नुस् त तपाईंले पुस्तौ पस्तालाई पुग्नेगरी कमाउनुभयो होला हैन त ?’ प्रतिनिधि पात्रहरूको प्रश्न ठडिन्छ यसरी । उहाँ मन्द मुस्कानमा प्रतिवाद गर्न सोफाबाट थोरै अगाडि सर्दै भन्नुहुन्छ ः’हो, अचेल निजामति सेवाका उच्चपदस्थ र आमसरकारी कर्मचारीहरूको सार्वजनिक छवि अकुत कमाइको आरोपले धूमिल बन्दै गएको छ । एकताका मान्छेहरू ‘ठूला कर्मचारहिरूको पदीय अवस्थामा शान र मान देख्दथे तर अहिले इमान्दार, नैतिकवान र स्वच्छ कर्मचारी नै नभए झैँ चर्चा चलाइन्छ । यी आरोप र चर्चा मात्र निजामति कर्मचारीका वास्तविकता होइनन् । अझै पनि मुलुकका इमान्दार ‘राष्ट्रसेवकहरू’ छन् । तिनैमध्येको एक म पनि हुँ । कमाइका अर्थले पुस्तौपुस्ता धान्ने गरी कमाउनुपर्छ भन्ने म ठान्छिन । फेरि मभित्रको कवि हृदयले मलाई सधैँ स्वच्छ, स्निग्ध र सेतो कमाइमा मात्र दाग नहुने तथ्यलाई घचघचाइरहन्छ । म मेरा सन्ततिलाई कमाउनका लागि नभएर दीर्घजीवी परिचय दिलाउन क्रियाशील छु ।’
उहाँका दुईवटा स्वरुप एकैसाथ प्रस्तुत हुन्छन् । संजोगले जलस्रोतबाट फाटिएको ऊर्जा र सिचाइजस्तै शङ्कर सरमा यतिखेर सक्रियताको ऊर्जा अतुलनीय छ भने मौका पर्नासाथ उहाँ ‘एस्पी’ को कर्मलाई सिंचन गर्न छाड्दै छाड्नुहुन्न । दुई हात, दुई आँखा, दुई कान र यस्तै उस्तै उहाँको साङ्गोपाङ्गो अहिले जीवनको दुई पाङ्ग्रो भएर गुडिरहेकै छ । फरक यत्ति मात्र देखिन्छ ः शङ्कर सर सिंहदरबारमा भेटिनुहन्छ भने एस्पी कोइरालासँग जहीँकहीँ पनि जम्काभेट हुनसक्छ ।
शनिबार, गोरखापत्र
श्रावण २९, २०६७
