यो मृतसहरमा
प्रतिबन्धित छन् प्रेम कविता ।
मैले जूनलाई लेखे पनि
तिमीलाई लेखेको हुन्छ ।
घामलाई लेखे पनि
तिमीलाई लेखेको हुन्छ ।
तिमी मेरो कविताको प्रतीक
तिमी मेरो जीवनविम्ब
आश्चर्य !
मैले फूललाई लेखे पनि
तिमीलाई नै लेखेको हुन्छ ।
आकाशजस्तै
मेरो आँखाभरिभरि व्याप्त छौ तिमी
समुद्रजस्तै
मनभरिभरि प्रवाहशील छौ
शब्दमा अक्षरमा अनुभूत गरिरहेकी छु
तिम्रो प्रेमिल स्पर्श
शीतल बतास भएर तिमी मेरो
अङ्गअङ्गमा समाहित छौ ।
प्रभावित छु म तिम्रो भावसँग
अनुभूतिसँग
विचार र समवेदनासँग
तिम्रा आँखाका आँसु र
ओठमा मुस्कानसँग
जसले जेसुकै भनुन्
ईर्ष्यालु हल्लाहरूबीच
अहिले म
प्रत्येक श्वास प्रश्वासमा
अनुभूत गरिरहेको छु
तिम्रो मायाको अनुपम सुवास
प्रत्येक एकाग्रतामा निर्जनतामा
तिम्रा वात्सल्यका कोमल छालले
तरङ्गति पारिरहेको छ मेरो मन ।
प्रेमका अर्थ-
ढुङ्गाहरूलाई के थाहा ?
सौन्दर्यको अर्थ-
धृतराष्ट्रहरूलाई के थाहा ?
म तिम्रो-
जीवनसँग नै प्रभावित भएको बेला
भन्नेहरू ठीकै भन्छन्
मैले जूनलाई लेखे पनि
तिमीलाई लेखेको हुन्छ
फूललाई लेखे पनि
तिमीलाई लेखेको हुन्छ ।
सत्य हो
सौन्दर्य मेरो दुर्बलता हो
म जूनलाई म पराउँछु
फूललाई मन पराउँछु
प्रकृति मन पराउनु
तिम्रो शब्दकोषमा अपराध हो भने
हो, म स्वीकार्छु
म अपराधलाई मन पराउँछु ।
