Skip to content


लघुकथामा कलम चलाउनेहरूको सङ्ख्या निरन्तर बढ्दो छ । छोटो लेखनी चोटिलो प्रहार लघुकथाको मुख्य विषेशता हो । त्यसैले पनि लघुकथातर्फ धेरै कलमकर्मीहरूको सक्रियता रहँदै आएको छ । लघुकथा पाठकका लागि पनि सरल र सहज किन हुन्छ भने यसका लागि लामो समय खर्चिरहनु पर्दैन । कथा होस् या निबन्ध, कविता होस् या अन्य कुनै लेखनी, पाठक चाहन्छन् छिटो र छरितो किसिमबाट अध्ययन गर्न सकियोस् । ठूला र लामा लेखहरूको तुलनामा साना कथा तथा साना लेख तथा कविताहरूलाई रुचाउने गरिएको पाइन्छ ।

लघुकथाकार देवेन्द्र अर्याल आँसुले लेखेका लघुकथाहरूको सँगालो हो घाइते ईर्श्वर । गीत, कविता, गजल आदिमा कृति ल्याइसकेका अर्यालको यो नवीनतम कृति हो जसमा ६१ वटा लघुकथाहरू समावेश छन् ।

‘घाइते ईश्वर’मा समावेश लघुकथाहरू बिम्बात्मक र प्रतीकात्मक छन् । मार्मिक पनि छन् र रमाइला पनि छन् । यस सङ्ग्रहमा रहेका लघुकथाहरूले वर्तमानका कतिपय प्रसङ्गहरूलाई प्रस्तुत गरिएको छ, जुन पाठकका लागि आफैँमाथि घटेका घटना हुन् कि भन्ने स्थितिवोध गराउँदछ ।

घाइते ईश्वरमा रहेका कतिपय लघुकथाहरूले पाठकको मन छुन्छ । यसभित्रको मानवता होस् वा रहस्य । सम्मान, नियति होस् वा प्रजातन्त्र । त्यस्तै यस सङ्ग्रहभित्र सामाजिक विकृति-विसङ्गति माथि पनि प्रहार गरिएको छ भने अहिलेको राजनीतिक अवस्थाले आमजनतालाई पुर्‍याएको पीडालाई पनि प्रस्तुत गरिएको छ । ‘आखिर ‘क’ ‘ख’ र ‘ग’ जनताका लागि नयाँ बोतलमा पुरानै रक्सी सिवाय के रहेछ त ?’

समग्रमा पठनीय लघुकथाहरू रहेको ‘घाइते ईश्वर’मा भाषिक त्रुटिहरू प्रशस्त रहेका छन् । जस्तो ‘केही क्षणमा त्यो मूर्ति ‘कही नभएको जात्रा हाँडीगाउँमा’ भनेझैँ विरुप बन्यो ।’ यहाँ लेखकले उखानको सही प्रयोग गरेकोे पाइदैन । यीबाहेक अन्य ठाउँ पनि छन् जहाँ भाषिक सुधारको आवश्यकता खट्किन्छ तर केही त्रुटिहरूलाई हटाएर हेर्ने हो भने घाइते ईश्वरले पाठकलाई पूर्ण खुराक पस्किएको छ भन्नै पर्छ ।

पुस्तक ः घाइते ईश्वर (लघुकथासङ्ग्रह)
लेखक ः देवेन्द्र अर्याल आँसु
प्रकाशक ः राजेश ढकाल प्यासी
प्रकाशन ः २०६६
पृष्ठ ः ८०
मूल्य ः ७५।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *