Skip to content

आत्मशुद्धिका लागि केही चिन्तन

  • by


आउनुस एकछिन समाजको दुस्ट्याइँ, धुर्त्याइँ, फटाइँ, लोभ-लालच, इर्ष्यां घमण्डलाई थाती राखी “मरेर बाँच्ने, कि बाँचेर मर्ने” उपायको लागि केही चिन्तन मनन गरौ । समाजमा सृष्टिको अनादि कालदेखि नै लोभ मोहका कारण कतिपय बान्छित, अबान्छित कर्म कुकर्महरू भै राखेका छन । जसलाई मानवीय र दानवीय स्वभावको रूपमा परिभाषा गरिएको छ । प्रत्यक मानिसभित्र यस्ता गुण कुनैं न कुनै कुनामा बिद्यमान हुन्छ । मानिसको आवस्यकता, इच्छा अनि आपूर्ति बिचको खेल नै जीवन हो । यो खेलमा कस्तो इच्छा र आपूर्तिको सीमा निर्धारण गर्छ व्यक्ति(मानिस)ले त्यसमा नै व्यक्तिको स्वभाव र ब्यवहारले समाजमा स्थान प्रभाव पार्ने गर्दछ । र स्वयम् व्यक्तिको परिचय समेत निर्धारण गर्दछ । समाजको खेलको एउटा सानो हिस्सालाई संबोधन गर्दै गीतामा लेखिएको छ “जब मानिसको इच्छा पूरा हुँदैन, तब ऊ आक्रोशित हुन्छ, मानिसमा क्रोध त्यस बेला आउँछ जब उसको इच्छामा रुकावट, बाधा-अडचन आउँछ। अर्थात् सम्पूर्ण समस्याको जड ‘व्यक्तिको अस्वभाविक इच्छा-आकांक्षा’ नै हो ।

एक जना विद्वानले मानिसको स्वभावलाई यसरी उल्लेख गरेका छन् – “जिउँदोको प्रसंशा गर्न भयाई न भयाई छ उसलाई । मरेकालाई समवेदना किन दिन्थ्यो ? फाइदा दिनेहरू वरिपरी झुम्मिएको बेला बेमतलबको मानिसको दुःख उसले किन सोच्छ ?” अर्थात मानिस स्वार्थी हुन्छ र उसको प्रत्यक कदम स्वार्थको लागि अगाडी बढी राखेको हुन्छ । जायज स्वार्थले व्यक्ति र समाजको भलो गरिराखेको हुन्छ भने नाजायज स्वार्थले अर्को व्यक्ति, समाज र स्वार्थलाई प्रगाडित गराई राखेको हुन्छ । गीताको १६-२९ खण्डमा उल्लेख गरिएको छ -“काम क्रोध लोभदेखि बच्नु पर्छ । नर्क र स्वर्ग अन्यत्र होइन यही जीवन र यही पृथ्वीमा नै छ । अनियन्त्रित लालच पूरा गर्न दौडने मानिसलाई बार-बार असफलता हात लाग्दछ। त्यस्तो मान्छे शंका गर्ने, भ्रममा पर्ने, असहनसील र क्रोधी हुन्छन् । जबसम्म मानिस यस्तो इच्छामा आशक्त रहन्छ उसको जीवन नर्कमय नै हुन्छ ।”

गीता कै २-६३ खण्डमा भनिएको छ -“मानिसमा क्रोधबाट सम्मोह उत्पन्न हुन्छ, सम्मोहबाट स्मृतिमा भ्रम सृजना हुन्छ । भ्रम वा शंकाले मानिसको बुद्धि नष्ट हुन्छ र अन्तमा ऊ स्वयम नष्ट हुन्छ। सम्मोह त्यस्तो क्रोधको अवस्था हो जस बेला व्यक्तिले सोच्दछ कि ‘म जे गर्दै छु, ठीक गर्दैछु।’ बाँकी सबै गलत देख्दछ र अरुको कुरा सुन्ने र बुझ्ने क्षमता समेत नष्ट भै सकेको हुन्छ। त्यस्तो व्यक्तिले के उचित के अनुचित भनी विवेक प्रयोग गर्न सक्दैन अनि विवेकहिन बनेर स्वयम नष्ट हुन्छ ।”

समाजमा खराबीको बीऊ रोप्नेहरू प्रसस्त छन् । यसको बीजारोपण गर्न सजिलो छ जसरी घर भत्काउन। असल कुराको बीऊ रोप्नु र उमार्नु एउटा घर बनाउनु जति कै गहारो छ । यस सन्दर्भमा भारतीय दर्शनशास्त्री स्वामी राम तीर्थ भन्छन् – “मानिसहरू जो अरुको खराबी सोच्छन, बोल्छन, तर एउटा ध्रुव सत्य कुरो के भने जतिसुकै गोप्य ठाउँमा त्यो बिशाक्त भावनाको बीऊ वमन गर वा रोप। जति सुकै विस्वास पात्र भनिएको मित्रलाई ‘कसैलाई नभन्नु है’ भनी कसम खुवाएर गलत कुरा, अर्कोलाई बिगार्ने कुरा नगर। एक दिन समयले निर्मम र कठोर बनेर त्यो दुष्ट बिचार र कर्मको बदलामा सजाय गरेर नै छोड्छ । गलत नियतिको भन्डाफोर भएर नै छोड्छ ।”

आजको समयमा संसारका नर-नारीलाई खड्किएको एउटा समस्या हो सच्चा मित्रता । मित्रताको बारेमा परिभाषा गर्दै पण्डित रामचन्द्र शुक्ला भन्नुहुन्छ – “मानिस-मानिसबिच हुने निस्वार्थ र सच्चा मित्रतामा उच्चकोटिको बैद्यले (आधुनिक डाक्टर) गर्ने उपचारपछिको आरामभन्दा उत्तम र महँगो सेवा भाव, त्याग हुन्छ। एउटा असलभन्दा असल, आमाकोभन्दा माया, सहन, धर्यता, कोमलता, क्षमा र त्याग हुन्छ । कहा खोज्ने त्यस्तो मित्र ? त्यो मित्र छ आफैंभित्र आफ्नै मनभित्र रहेको विस्वास, प्रेमलाई बाडन सक्नु पर्छ । लिने र प्रयोग गर्ने होइन दिने र सहयोगी हुने भावना स्वयममा हुनु पर्छ ।”

यसै सन्दर्भमा महात्मा गाँधी भन्नु हुन्छ -“जून मानिसमा नैतिकता, इमान्दारिकता, धर्यता हुँदैन र स्वार्थ मात्र लुकेको हुन्छ त्यस्तो मानिसको कोही मित्र हुदैन कोही आफ्नो हुँदैन । र त्यो मानिसले अरुलेभन्दा स्वयम आफूलाई नै धेरै नोक्सान पुर्याई राखेको हुन्छ ।”

त्यो मेरो मित्र हो त्यो ठीक छ, त्योसित कुरा मिल्दैन । त्यो ठीक छैन त्यसको संगत नगर्नू, त्योदेखि होसियार हुनू । मलाई विस्वास गर्नू, त्यसलाई विस्वास गर्न सकिन्न । त्यो काम हुँदैन त्यसको पछि नलाग्नू यस्ता सबै कुरा एउटा क्षुद्र चित्त भएको मानिसले मात्र गर्छ । उदार मन, ठुलो चित्त भएको मानिसको लागि त सारा संसारको सबै मानिस असल मित्र हुन्छ, कसैलाई खराब देख्दैन । उसले हमेसा अरुको भलो मात्र चिताएर काम गर्दछ । यो कुरो महोपदेशमा उल्लेख गरिएको छ ।

अन्तमा सत्य साई-बाबा भन्नु हुन्छ – “संसारमा बाँच यसरी कि संसारको लोभ लालच इर्ष्यालाई मनबाट निकाली फ्याँकिदेऊ। यसले तिमीलाई विवेकी बनाउँदछ । सदाचारपूर्ण विवेकको प्रयोगले नै मानिसले आत्मशान्तिको बाटो निर्माण गर्दछ ।”

अस्तु:।

Leave a Reply

Your email address will not be published. Required fields are marked *