प्रिय तिमी रिसाइ, माया तोड्यौ त के भो ?
भुली पुरानो प्रित, बोल्नै छोड्यौ त के भो ?
जब दिलमा आगो सल्की, ज्वाला दन्किन्छ दनदन
दमकल त्यो पिरतिको, अन्तै मोड्यौ त के भो ?
अक्षूण्ण वासनाको, कहाँ थियो धार बहेको
नउम्रदै कोपिला, निष्ठुर गोड्यौ त के भो ?
हिमाल पग्लिदा एक इन्च, सागर उर्लिन्थ्यो कता
मायाको पिलो नटन्किदै, बलले फोड्यौ त के भो ?
बृहत भबसागर बीच, एक्लै तैरिन्छ ‘कमल’
भुली सब बाचा कसम, मन दुर जोड्यौ त के भो ?
जसवीर सार्की
मानव अधिकारको नारा अचेल, बराबरीको नारा अचेल
भीमजी पनि नारा बाजीमा, लिस्बोनमा नेता सारा अचेल
एनआरएनमा छन्, कोही कोही छन् नाना दलवादीमा
कोही छन् रोसियोमा भोकै, कोठेवैठकमा दिउसै तारा अचेल
खल्तीमा रातो पासपोर्ट कसैको, ओठमा देशभक्तिको गर्जमान छ
खानपिन र मोजमस्ति छ महाशयहरुको, समाजसेवाको गजब पारा अचेल
आउँदाको रिन बाबु आमाले तिरेतिरेनन्, क्यासिनोतिर नजर कसैको
कोही बल्छी थापेर किनारमा, दुःख कसैको चारा अचेल
नितम्ब र परेली हैन कमलजी, भोका पेटहरुको कथा लेख्नुस्
जसवीर तीन छक छ यो मुगलानमा, अहम् बडेकाजी सारा अचेल
अल्गार्भ नयाँ वर्ष २०१०
भीम केसी कमलको गजलको प्रतिकृया स्वरुप जसवीर सार्कीले गजल लेख्नुभएको थियो ।
आज हामीलाई जसवीरको गजलप्रति असन्तुष्ट अर्का गजलकारको गजल प्राप्त भएको छ ।
तिनै गजल लिस्बोनबाट प्राप्त हुन् ।
जसवीर बडा फूर्तिवाला
-लीला वनवासी
जसवीर बडा फूर्तिवाला, जसबीर बडा अर्तिवाला
बस्ने उ पनि यही पुर्तगालमा, भएको छ बडा धर्तिवाला
भन्न सजिलो छ बाबु, गन्न सजिलो छ बाबु
परी पुर्याउन अप्ठेरो हो, शब्द चातुर्य चर्तिवाला
लेख्छन् भने भीमजीले, लेख्न देउ न सौन्दर्यका बात
ऐलानीमा शीशमहल सार्कीजीको, धक्कु भने छ पर्तिवाला
कुरा क्रान्तिका व्यवहार भ्रान्तिका, सत्य बोल्न सिक बन्धू
चुपचाप गल्लाको पछि लाग, लीला भएको छ भर्तिवाला
लिस्बन, पोर्चुगल
