यसपालीको तीजमा
कविहरूले
लेखकहरूले
शब्दको सिस्नु पानी लगाएर
नाक कान घाटीमा मात्र हैन
गिदीहरूमा घोचे
कलाकारहरूले
आन्द्रै उल्टिनी गरी
प्रहसनहरू कोचे
तर पनि
नेताको घैटोमा घाम लागेन
कम्प्युटरमा जस्तो
भ्रष्टाचारमा भाईरस, जाम लागेन।
पत्रकारहरूले
संबिधानको बारे
शान्तिको बारे
कयौ प्रश्नहरू सोधे
जनताहरूले
सयौं जवाफहरू खोजे
तर पनि
नेता कुम्भकर्ण बनी घुरिरहे
कुर्सी कुर्सी भनी जुरिरहे ।
गायककारहरूले
संबिधान लेखिएन भनी
गीतहरूमा पोखे
संगीतकारहरूले
नेता गतिलो देखिएन भनी
मादलहरूमा ठोके
रैछन कि गोबर-गणेश
जे भने पनि बुद्धि नफिर्ने
जस्तो भने पनि सुद्धी नछिर्ने।
यसपालीको तीजमा त
सबै दिदी बहिनिहरू पनि
हे भोले! यी नेताहरूको
अब त सुद्धी फिराइदेऊ
भन्दै पशुपतिनाथलाई ढोके
संबिधान देऊ भनी गीतहरूमा पोखे।
