Skip to content


नेपालमा लोकतन्त्रको प्राप्तिपश्चात पुस्तक प्रकाशनका क्षेत्रमा स्वर्णयुग नै आएको छ भन्दा यथार्थताको नजिक पुगेको मान्न सकिन्छ । दिनहुँजसो हुने विमोचन तथा समीक्षा गोष्ठीहरूले पनि यो तथ्यको पुष्टि गर्दछन् । स्कुल, कलेज तथा विश्वविद्यालयका पाठ्यक्रम र सरकारी अर्धसरकारी संस्थानहरूले लिने प्रतियोगितात्मक परीक्षालाई हेरेर निकालिएका पुस्तकहरूको त कुरै छाडौँ ती बाहेक लेखक तथा प्रकाशकका रुचि अनुसारका अन्य पुस्तकहरूको पनि प्रकाशन सङ्ख्या बढ्दो छ । नेपालमा लोकतन्त्रको उदय र संविधानसभामा जान संसदवादी दलहरूलाई सहमत गराउने विद्रोही शक्ति नेकपा(माओवादी) शान्ति प्रक्रियामा आएपछि त माओवादी दर्शनयुक्त पुस्तकहरूको प्रकाशनको बाढी नै आएको छ । सो पार्टीका प्रायः सबै केन्द्रीय सदस्यदेखि राज्य र जिल्ला समितिका सदस्य तहका नेता कार्यकर्ताहरूका जनयुद्धकालीन संस्मरण, वैचारिक बहस, सैद्धान्तिक समालोचना तथा साहित्य सौन्दर्य र संस्कृति चिन्तन विषयका पुस्तकहरू आज पनि बग्रेल्ती बजारमा आइरहेका छन् । ती र तीलगायत अन्य सबै लेखक तथा प्रकाशकहरूले कसैलाई लक्ष्यित समूह बनाएका होलान् तर यथार्थमा वाषिर्क रूपमा झण्डै दर्जनको हाराहारीमा बाहेक अन्य पुस्तकहरूले दोस्रो संस्करणको मुख देख्न पाएका छैनन् ।

एकातिर प्रकाशनको क्रम बढेको बढ्यै छ भने अर्कातिर हरेक साप्ताहिक, दैनिक, मासिक, अर्धवाषिर्क, जर्नलहरू तथा समसामयिक सङ्कलन आदि पत्रिकाहरूले पुस्तक समीक्षाका नाममा कतिले स्तम्भकै रूपमा त कतिले केही न केही ठाउँ छुट्याएका हुन्छन् । छापा माध्यममा मात्र होइन विद्युतीय माध्यमहरू रेडियो, टेलिभिजन, एफएम तथा अनलाइन संस्करणका वेभ पत्रिकाहरूमा समेत पुस्तक समीक्षाका लागि केही ठाउँ र समय दिने गरेको पाइन्छ चाहे साप्ताहिक रूपमा होस् चाहे पाक्षिक रूपमा । कतिपय पुस्तकहरूको व्यावसायिक सफलतामा त मिडिया कभरेजले ठूलो मूल्य चुकाएको हुन्छ भलै यो प्रवृत्तिलाई केही लेखकहरू मिडिया आतङ्क ठान्छन् । यस प्रसङ्गमा अहिले भने विशेष छापा माध्यममा पुस्तक समीक्षाका बारेमा सानो चर्चा गर्न खोजिएको छ ।

पुस्तक पढ्दा पाठकलाई पक्का पनि रमाइलो लाग्छ पाठकले यदि स्वेच्छाले पढेको भए । यस्ता पाठकलाई त्यो पुस्तकको समीक्षा पढेपछि मौलिक पुस्तक पढ्दाको रमाइलोमा थप विस्तार हुन्छ । यथार्थमा पुस्तकको समीक्षा विवेच्य पुस्तकको विषय विशेषज्ञका कलमबाट गरिनु राम्रो हो तर भाषा, शैली र प्रस्तुतिको जानिफकार र वणिर्त विषयलाई सूक्ष्म रूपले आँकलन गर्न सक्ने क्षमता भए नयाँ समीक्षकले समीक्षा गर्नु पनि समसामयिक नै ठहर्छ । विज्ञान, राजनीति, समाजशास्त्र, इतिहास, साहित्य, संस्कृति तथा कलाका विविध विधामाथि लेख्ािएका पुस्तक समीक्षाहरू आज बजारमा बढी आउने गरेको परिप्रेक्ष्यमा समीक्षकले ती सबै विधामाथि विशेषज्ञता हासिल गर्न कठिन भए पनि तिनमाथि आधारभूत अध्ययन भने गरेको हुनु पर्दछ । चलनचल्तीमा आए अनुसार आज हामी कहाँ छापा माध्यमका सम्पादक, फिचर सम्पादक, विचार सम्पादक आदिले समीक्षा गर्ने पुस्तक चयन गर्ने परम्परा छ र तत्पश्चात आफ्नो स्टाफ लेखक, फिचर लेखक, साहित्य सम्पादक तथा अन्य स्वतन्त्र लेखकले समीक्षा कार्य अघि बढाउँछन् । यसरी कार्य अघि बढ्ने समीक्षा लेखनमा गहिरो अध्ययन, अध्ययन धैर्यताका साथै सुगम प्रस्तुतिगत भाषा र कृतिको मनोेभाव अनि सूक्ष्म तत्वलाई केलाउन सक्ने खुवी हुनु पर्दछ । आज बग्रेल्ती निस्कने पुस्तक समीक्षाका समीक्षक चर्चित लेखक हुन्नन् र कसैको आफ्नो पुस्तकाकार कृति एउटै पनि निस्केको हुन्न तर यसो भन्दैमा उनीहरू समीक्षाका आधारहरूसित परिचित पनि हुन्नन् भनन पनि सकिन्न । पुस्तकको विषय र प्रस्तुतिलाई कस्तो ठेकीमा हालेर मथ्नु पर्दछ भन्ने कुराको जानिफकार हुनाले उनीहरू जुनसुकै पुस्तकसित सम्बद्ध पाठकहरूको अपेक्षा के छ त्यो बुझ्न सक्दछन् । गम्भीर अध्ययन पछिको सटिक र तार्किक समीक्षा गर्ने समीक्षकहरू नै समीक्षाको बजारका चर्चित नायक बन्न सक्दछन् तर तिनले त्यस्ता पुस्तकहरूको चयन गर्नु पर्दछ । जसको बारेमा आफ्नो गहिरो रुचि र फराकिलो जानकारी हुनु पर्दछ ।

समीक्षा गरिने पुस्तकका लेखकको पृष्ठभूमि र लेखनको विषयगत निरन्तरता समीक्षा कार्यको अर्को पाटो हो । पुस्तकको आमुख, प्रकाशकीय टिप्पणी, लेखकीय आदिको अध्ययनले लेखकको नियति र पुस्तकको लक्ष्यित वर्गको छनक समीक्षकलाई प्राप्त हुन्छ । प्रकाशकले कुन उद्देश्यले पुस्तक छाप्यो, लेखकले कुन उद्देश्यले पुस्तक लेख्यो र पुस्तकले के कुरा स्थापित गर्न खोजेको छ त्यसको आन्तर्य प्राप्त गर्नु समीक्षकको कर्तव्य र खुवी हो । पुस्तकको विषय सूचीले पुस्तकमा कुन हदसम्म विषयको विस्तारण भएको छ त्यसको जानकारी दिन्छ । यसरी पढ्न सुरु गरेका पुस्तकको विषय, कथ्य, प्रस्तुति, प्रयोग, भाषा, सङ्गति, असङ्गति र अन्य जुन कुराहरू समीक्षकका दिमागमा चढ्छन् तिनीहरू नै समीक्षण कार्यका सार्थक आधार बन्दछन् ।

आज कतिपय समीक्षकहरूले पुस्तकको भूमिका, आवरणको अन्तिम पृष्ठको लेखकमाथि अर्काे लेखकको लिखित मन्तव्य र पुस्तकका केही पृष्ठहरू पढेर समीक्षा लेखिरहेका छन् भन्दा कुनै आश्चर्य हुँदैन । यदाकदा व्यावसायिक प्रकाशकहरूले पुस्तकको पाण्डुलिपि नै समीक्षकलाई दिएर कभर डिजाइनको भरमा समीक्षा गरिएका लेखोटहरू पनि पत्रपत्रिकामा पढ्न पाइन्छ । वास्तविक समीक्षकहरूले यस्तो हर्कतबाट बच्नु पर्दछ ।

पुस्तक पूर्णतः तयार नभई गरिएको समीक्षाले पाठकलाई धोका बाहेक केही दिँदैन । पाठकले पुस्तक समीक्षाबाट किन पुस्तक किनेर पढ्ने भन्ने कुराको जवाफ खोजेका हुन्छन् । पुस्तकको मूल विषय के हो, कुन अर्थमा पुस्तक रोचक र उपयोगी छ, लेखक कस्तो हो र यस्ता यावत प्रश्नहरूको जवाफ पाठक समीक्षकबाट चाहन्छन् । पाठकका यी चाहनाको सम्बोधन गर्नु नै समीक्षकको धर्म हो । यसरी समीक्षा लेखनले लेखक, समीक्षक र प्रकाशकलाई मात्र न्याय नगरेर पाठकलाई समेत सुशिक्षित बनाउने हैसियत राख्दछ ।

पुस्तकको गति कुन शैलीमा अघि बढेको छ र आदि, मध्य, चरमसीमा र अन्त्य कुन पृष्ठभूमिमा आधारित छ त्यसको वर्णन समीक्षकले छुटाउनु हुन्न तर पत्रिकामा समीक्षाका लागि कति ठाउँ छुट्याइएको हुन्छ त्यो पनि उसले विचार गरेर थोरै लेखनमा धेरै कुरा भन्न सक्नु पर्छ । यसरी लेखकको पूर्व कार्यको समीक्षा, पुस्तकप्रति समीक्षकको दृष्टिकोण, लेखकको बिचार स्थापित गर्ने सन्दर्भमा पुस्तकमा प्रस्तुत विशेष उदाहरणहरू, प्रष्ट पार्ने तत्वहरू, लेखकको पुस्तकसित जोडिएका महत्त्वपूर्ण पक्ष र तत्वहरू, उसको अघिल्लो कृति र समीक्ष्य कृतिबीचको उतारचढाव तथा समानता र विरोधाभाषको आँकलन र पुस्तकको भौतिक पक्षको समेत छोटकरीमा उल्लेख गर्न सकियो भने पुस्तक समीक्षा सटिक र मार्मिक बन्दछ ।

भाषिक अशुद्धि, व्याकरण दोष, सम्पादनका कमी कमजोरी र छपाइ प्रक्रियाजस्ता सामान्य कुराहरूका अतिरिक्त अन्त्यमा महत्वपूर्ण कुरा पुस्तकको सम्भावित पाठकप्रतिको दृष्टिकोण र सम्बोधनले समीक्षा स्तरको पहिचान गर्दछ । पाठकले कस्तो प्रस्तुतिगत शैलीको अपेक्षा गरेको छ र विवेच्य पुस्तक त्यस मामलामा कुन हैसियत राख्तछ हरेक पुस्तक समीक्षकले यो तथ्यलाई गहनरूपले आत्मसात् गर्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *