Skip to content

युवाप्रेमको चक्रवात देखाउने उपन्यास

  • by


नेपाली साहित्यमा मेरो पुस्ता खोइ भनेर उपन्यास लेखी आफ्नो पुस्ताको दरो उपस्थिति बोध गराउन खोज्ने उपन्यासकार हुन् दीपकिरण शर्मा र उनको पहिलो औपन्यासिक कृति हो ‘चक्रवात’ । एउटा भरखरैका युवाले लेखेको हुनाले यो उपन्यास प्रेम विषयमा लेखिएको छ । हुनत यस उपन्यासमा नेपालको समकालीन राजनीतिक विसङ्गति र विकृतिको चित्रण छ । द्वन्द्वकालीन नेपालको त्रासद र दुःखपूर्ण अवस्था देखाइएको छ । गैरसरकारी सङ्घसंस्था जो बाहिर नेपालको विकास गर्न खोजेजस्ता र भित्रभित्रै आफैँ मालामाल भइरहेका छन्, त्यसको नालीबेली प्रस्तुत गरिएको छ । सहरीया र ग्रामीण समस्याको तुलनात्मक वर्णन र विश्लेषण पनि गरिएको छ । यति हुँदाहुँदै पनि यो उपन्यास मूलतः युवकयुवतीबीच हुने प्रेममै आधारित छ । यो उपन्यास उपन्यासको नायक विनय वरिपरि घुमेको छ र उसकै जीवनमा आइपरेको प्रेमको धोकाको चक्रवातले उसलाई घुमाएको ऊ दिग्भ्रमित भएको, विक्षिप्त भएको कुरालाई देखाएको छ । विनय आदर्श पात्र हो तर ऊ आवेगप्रधान छ । त्यस्तै, उसकी प्रेमिका आरती पनि उस्तै छ । विनयलाई ऊ प्रेम गर्छे र आफ्नो प्रेम कति छ भनेर आफ्नै शरीर ब्लेडले चिर्छे । विनय प्रेमिकालाई रगतले चिठी लेख्छ । प्रेमिकासँग बिछोड हुँदा निराश भएका बेला पागलजस्तो भौँतारिन्छ र भिरबाट लडेर झन्नै मर्छ । प्रेमिकाको फोटो जल्न आँटो भनेर ज्यानै माया मारेर दुर्घटना भएको हवाईजहाज नेर पुगेर झोला ल्याउँछ । प्रेमिकाले अर्कैसँग बिवाह गरी भनेर बियरका बोतलले टाउको फुटाउँछ । यस्तो प्रेमी विनयलाई प्रेमी मात्र होइन, देश प्रेमी, गाउँ प्रेमी, विकास प्रेमी, न्याय प्रेमी विनयलाई प्रेमी मात्र होइन, देश प्रेमी, गाउँ प्रेमी, विकास प्रेमी, न्याय प्रेमी, कर्तव्य प्रेमी, मातापिता प्रेमी व्यक्तिका रूपमा पनि चिनाइएको छ ।

यो उपन्यास नेपाली ग्रामीण जीवनको चित्रण गर्न पनि सफल छ । यसले गाउँमा शिक्षा छैन, विकास छैन, अन्ध विश्वास छ, थिचोमिचो छ । गाउँलेहरू हेपिएका छन्, राज्यबाट प्राप्त हुने अधिकारबाट बञ्चित छन्, उनीहरूको मनोभावना बुझ्ने मान्छे गाउँ पुग्दैन र उनीहरू वर्षौदेखि कष्टपूर्ण जीवन बिताइरहेछन् भनेर स्पष्ट पारेको छ । यो सामाजिक उपन्यास हो । यसमा युगीनता छ । समसामयिकता छ र यसले वर्तमान नेपालको प्रतिविम्ब देखाएको छ । कतिपय ठाउँमा उपन्यासकार दीपकिरण समाजशास्त्री जस्ता देखिएका छन् र समाज विकासका योजना प्रस्तुत गरिरहेजस्ता लाग्दछन् । यति हुँदाहुँदै पनि उपन्यासमा अति भावुकता छ । भावुक भएर समाजको निरीक्षण गरिएको छ । भावुक पात्रहरू छन् । उनीहरूका कार्य बुद्धिमा भन्दा भावनामा आश्रति छन् । कथावस्तुमा पनि बढी नाटकीयता छ । त्यसैले यो उपन्यास जति सजीव, जति यथार्थपरक र जति समाजसापेक्ष हुनुपथ्र्यो, त्यति भएको छैन । दीपकिरणको यो पहिलो प्रयास हो । यस उपन्यासबाट उनमा आख्यान बुन्नसक्ने ठूलो सम्भावना झुल्केको छ । उपन्यासकारले आफ्नो आख्यान रचना गर्नसक्ने शक्तिलाई सन्तुलितरूपमा निरन्तर प्रयोग गरिरहे भने उनबाट नेपाली उपन्यास विधाले भविष्यमा एक गतिलो उपन्यासकार फेला पार्ने कुरामा सन्देह गर्नुपर्दैन ।

कृति ः चक्रवात (उपन्यास)
उपन्यासकार ः दीपकिरण शर्मा
प्रकाशक ः समर्पण अभियान, काठमाडौँ
संस्करण ः प्रथम, २०६७
पृष्ठ ः २१६
मूल्य ः रु. १७५।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *