बासमती र मनसुली जस्तै
प्रजातन्त्रे धान रोपियो
तर फुल्न-फल्न नपाई
सबै घाँस पातले छोपियो
बिकासे धान भनी फेरि
लोकतन्त्रे धान रोपियो
फल्नै नपाई यो पनि
चरा चुरुङ्गीले खोपियो।
यसपाली फेरि
गनतन्त्रे धान रोप्नलाई
लुते भए पनि
भुते गोरु ल्याइयो
हिलो माटो नभनी
हात गोडा ख्याइयो
रात दिन खटेर
कुलोनाला धाइयो।
केही होला कि भनी
बल पसिना फालियो
ऋण लागे पनि मल हालियो
राम्रो होस भनी ढल हालियो
एक दिन
मुठी फाली मुरी फलाउने
मिठो सपना देखेको बेला
बजिया भुते गोरु फुत्किएर
आफ्नै खेतमा ठोक्किएर
पार्नु झ्वाम्म पारेछन
गोब्र्याउँदै, मुत्र्याउँदै
छाड्नु फोहर छाडेछन
गोरुले झुर गरे पनि
रिसले चुर परे पनि
गोरु गोरु नै हो, गोरुको के दोष ?
गल्ती आफ्नै हो, रोक्नै पर्यो रोस
साङ्लोले बाध्ने कि नाम्लोले
डोरीले बाध्ने कि दाम्लोले
जङ्गल राख्ने कि गोठमा
तराई राख्ने कि कोटमा
बेलामा पुराइएन वुद्धि
आज धान खाएपछि
बल्ल फिर्दैछ यो सुद्धि।
