विडम्बना !
भीष्मसित गोरु बेचेको साइनो नपर्नेहरूसमेत
उसलाई पितामह भन्छन्
एउटा मूल कुरा बिर्सेर
हजुरबाबु हुन पहिले बाबु हुन सक्नुपर्छ
र, बाबु हुनका लागि
आफ्नो अहंकारबाहेक
अरू धेरै कुरालाई माया गर्न सक्नुपर्छ।
विडम्बना !
आफ्नै बाबुको अनैतिक वासनाका लागि
जवानी खेर फाल्ने भीष्मको अस्वाभाविक प्रतिज्ञालाई
मानिसहरू आदर्श मान्छन्
अहिले पनि,
मुखले शिखण्डीलाई हियाइरहन्छन्
र, आफ्नो सिंगै जीवन
प्रतिशोधको आगो तापेर बिताउँछन्।
अहिले पनि हजुरबा भीष्महरू
घोप्टेमुन्टो लगाएर
तर, आँखीभौँ सकेसम्म तन्काएर
हेरिरहन्छन् चीरहरणको रगताम्मे नग्नता
तर विडम्बना !
अहिले पनि अर्जुनहरू
उपदेश माग्न गइरहन्छन्
शरशय्यामा लम्पसार
पराजित र पूर्ण असफल भीष्मसित
जसको मनको सोझो
सदैव पराजित रह्यो नूनको सोझोसित।
त्यसैले हिजोआज मलाई
प्रतिज्ञा भन्यो कि डर लाग्छ
तटस्थता भन्यो कि घीन लाग्छ
म नपुंशक देख्छु भीष्मलाई पानीमरुवा
दाह्री मात्रका भरमा पुरुष कहलिएको हुतिहारा
जसको शब्दजालका कारण सिर्जित
सवा लाख श्लोक महाभारतका गहुँ्रगा पानाहरू
खाँदिएका छन् मेरा मन मनमा।
हजुरबाबु हुन पहिले बाबु हुन सक्नुपर्छ
र, बाबु हुनका लागि
आफ्नो अहंकारबाहेक
अरू धेरै कुरालाई माया गर्न सक्नुपर्छ
तर, यो कुरा बिर्सेर
अहिले पनि मानिसहरू
भीष्मलाई पितामह भन्छन्
र, हजुरबाबुको पाइला पच्छ्याउँदै
बाटिरहन्छन् अनिर्णयको आफैँलाई बाँध्ने लठारो।
विडम्बना !
जतिपटक महाभारत पढे पनि चेतेनन् यिनले
आफ्ना लागि शरशय्याको तयारीमा छन्
अपुता भीष्म पितामहका साक्खै नातिहरू।
केदार शर्मा
नेपाल साप्ताहिक अंक ४१४
