एकपटक माल्दिभ्स जाने मौका पर्यो । सार्क शिखर सम्मेलनको अवसर थियो । अनि, म त्यो सम्मेलनमा भाग लिन गएको प्रतिनिधिमण्डलमा सामेल थिएँ । टापु नै टापुको देश । एउटा टापुमा विमानस्थल, अर्को टापुमा राजधानी । बस्ने होटल एउटा टापुमा, सम्मेलनस्थल अर्को टापुमा । घरकै आँगनमा समुद्र । एक ठाउँबाट अर्को ठाउँमा जाँदा मोटरबोट प्रयोग गर्नुपर्ने । जमिनैजमिनले घेरिएको मुलुकमा बस्ने नेपालीहरूका लागि एउटा अचम्मको देश ।
शिखर सम्मेलन सकिएपछि राजधानी मालेबाट हाम्रो टोली भारत हुँदै स्वदेश र्फकने सिलसिलामा त्रिवेन्द्रम् बास बस्न आइपुग्यो । टोलीका नेता तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द हुनुहुन्थ्यो । र, उहाँलाई एउटा पुरानो तर भव्य हवेलीमा बस्ने प्रबन्ध गरिएको थियो । त्यही हवेलीको एउटा जङ्गी कोठामा मलाई पुर्याइयो र त्यो रात मैले त्यहीँ गुजार्नुपर्ने भयो । त्यो साँझ केरलाका गभर्नरले नेपालका प्रधानमन्त्रीको आतिथ्यमा रात्रिभोजको आयोजना गरेका थिए । सोही भोजमा सामेल हुन लुगा फेर्नु पर्यो भनी बगलको टेबुलमा रहेको सुटकेस खोल्न खोजेँ । खुलेन । लकको नम्बर तलमाथि पर्यो कि भनी ध्यान दिएर यताउता घुमाएँ । कति गर्दा पनि खुलेन । भोजमा जान मलाई हतार भइसकेको थियो । चारतिर ठोकठाक पारेपछि सुटकेस ह्वात्त खुल्यो । सुटकेस खुलेको मात्र थियो, मेरा आँखा तिरीमिरी भए ।
सुटकेस बाहिरबाट हेर्दा मेरैजस्तो देखिन्थ्यो । भित्र हेर्छु त सबै महिलाका पहिरन । कसको हो ? सोचेर बस्ने फुर्सद पनि भएन । झट्टपट्ट नुहाएँ । अनि, पहिलेकै सुट लगाएर बाहिर निस्केँ । बाहिर साथीहरू जम्मा भइसकेका रहेछन् । सबैले लुगा फेरेको देखिन्थ्यो । प्रधानमन्त्रीकी एक सहायक थिइन् । हस्याङफस्याङ् गर्दै मेरो नजिक आइन् र भनिन्, “सर मेरो सुटकेस मिसप्लेस भयो, तपाईंकोमा त परेन !” त्यसपछि अघि मैले थिचथाच पारेर खोलेको सुटकेस उनको रहेछ र मेरोचाहिँ मिसप्लेस भएछ भन्ने कुराको टुंगो लाग्यो ।
भोलिपल्ट हामी मुम्बई आयौँ । प्रधानमन्त्रीका रात्रिभोजलगायतका अनेक कार्यक्रमहरू सकिएपछि हामी होटल फर्कियौँ । राती मैले घरमा श्रीमतीलाई फोन गरेँ । सुटकेस हराएको कथा सुनाएँ । सुटकेसभित्रका सामान हराएको व्यथा सुनाएँ । श्रीमती र छोराहरूलाई ल्याइदिएका रंगविरंगका सारीहरू अनि अनेक ब्रान्डका प्यान्ट र सर्टहरूको एउटा लामो फेहरस्ित नै सुनाएँ । जबकि, मैले गफ हाँकेका जस्ता सामानहरू न माल्दिभ्समा सहजै पाइन्थे, न त मैले किनेको नै थिएँ ।
यसरी म १० दिनजतिको विदेश भ्रमणबाट रत्तिो हात काठमाडौँ फर्कें । त्यो साँझ परविारका हामी सबै जम्मा भयौँ । श्रीमतीले हराएका सारीको संख्या सोधिन् अनि छोराहरूले प्यान्टको ब्रान्ड सोधे । ‘सब चीज हराइहाल्यो । अब उम्केको माछाको कति चर्चा गरिरहने’ भनेर हामीले आफ्नो भलाकुसारीलाई अर्कै विषयतिर मोड्यौँ ।
म घर फर्केको एक सातापछिको कुरा हो । कोठामा यसै बसिरहेको थिएँ, फोन आयो । उठाएँ । त्रिदेवी मार्गस्थित सार्क सचिवालयको रहेछ । उताबाट बोल्नेले भन्यो, “तपाईंको सुटकेस यहाँ आएको छ, लिन आउनूस् ।” अब मलाई पर्यो फसाद । लिन नजाऊँ आफ्नो सुटकेस, जाऊँ सामानको नाममा यतैबाट लगेका पुराना लुगा र चार-पाँच क्यान माछासिवाय सुटकेसमा केही थिएन । श्रीमती र छोराहरूका सामने आफ्नो हुर्मत खुल्ने भो भन्ने चिन्ताले अलिबेर गम खाएँ । त्यसपछि के गरेँ ? त्यसपछि विस्तारै उठेँ । लुगा फेरेँ । अनि, हराएको सुटकेस भेटिएकामा विस्मात् मान्दै भारी मनले त्रिदेवी मार्गतिर लागेँ ।
———————–
एिकदिन मलाई काठमाडौँबाट धरान जानु थियो । सामान्यतया म बसबाटै ओहोरदोहोर गर्थें । केही जरुरी हुँदो हो, त्यो दिन म जहाजबाट जाने भएँ । काठमाडौँ विमानस्थल पुगेपछि थाहा भयो, म जाने भनेको जहाज पोखरा जान लागेको रहेछ । उताबाट फर्केपछि त्यही जहाज विराटनगर जाने भन्ने थाहा भयो । प्लेनको मामला पर्यो । हवाईजहाजमा चढ्ने यात्रुहरूले ढिलो भयो भनेर हल्ला गर्नु पनि भएन । पाखे कहलिने डर । त्यसैले होला सबै तैँ चुप मै चुप भएर बसेका थिए । फेरि हाम्रै देश न ठहर्यो । यहाँ हामी एक-दुई घन्टा ढिलोलाई ‘नेपाली समय’ भनेर चित्त बुझाउने गर्छौं ।
प्लेन चढेपछि अक्सर मलाई मोहन पोखरेलसँग सम्बन्धित एउटा प्रसंग याद आउँछ । कुनै एकदिन मोहनहरू काठमाडौँबाट धनकुटा जान भनी हिँडेछन् । ढल्केबर नजिकै कतै पुगेपछि गाडी बिग्रिएछ । सडक छेउ लगाएर चालक र खलासी गाडी मर्मत गर्न थालेछन् । यत्तिकैमा मोहनसँगै गएको एक जनाले गुनासो गरेछ, “प्लेनबाट जाऔँ भनेको मानिनस्, अहिले दुःख पाइयो नि !” मोहनजीले विस्तारै सम्झाउँदै भनेछन्, “हेर् भाइ गाडी बिग्रियो भने यसरी सडक छेउमा रोकेर खोलखाल गर्न, बनाउन मिल्छ । यतिबेला हामी प्लेनमा भएको भए र आकाशमा जहाज बिग्रिएको भए कता साइड लगाउने ? कता बनाउने ? समस्या पथ्र्यो ।” मोहनका मित्रलाई यो कुराले कत्तिको घत पर्यो, त्यो त थाहा भएन तर हवाईजहाज साइड लगाएर मर्मत गर्न नमिल्ने प्रसंगले त्यो बेला जहाजमा उडिरहेको मेरो मनमा भने थोरै चिसो पसेको थियो ।
जेहोस्, उडेको ४० मिनटजतिमा म विराटनगर विमानस्थलमा उत्रेँ । त्यहाँबाट आफ् ना पोका-पन्तरा लिएर रिक्सामा कञ्चनबारीतिर लागेँ । कञ्चनबारी चोकमा अलिबेर उभिएपछि तलतिरबाट धरान जाने बस आयो । आफ्ना झिटीझाम्टा बोकेर म बसमा चढेँ । ऊ बेला धरान विराटनगर आतेजाते गर्ने गाडीहरूमा धेरैजसो चिनेकै मान्छे भेटिन्थे । बसभित्र पसेर यसो अगाडि पछाडि हेरेँ । पछाडीपट्ट ित जानपहिचानको कोही देखिनँ । अगाडि चालककै आसपासको सिटमा एक जना आधाउधी कपाल फुलेको, बूढोबूढो देखिने, चिनेको हो कि जस्तो मान्छे देखेँ । उसलाई देखेर यसो हाँस्न खोजेँ । ऊ पनि हाँस्न खोज्यो । उसकै बगलमा बस्नुपर्यो भनेर यसो अगाडि बढ्न खोज्छु त त्यो परििचत झैँ देखिएको मान्छे अरू कोही होइन रहेछ, चालकको अघिल्तिरको ऐनामा मैले आफ्नै अनुहार पो देखेको रहेछु ।
हिजोआज पनि जब म बसमा चढ्छु, अगाडिको ऐनामा दृष्टि पर्छ अनि आफूजस्तै मान्छे देख्छु । उसलाई देखेर फिस्स हाँस्छु । ऊ पनि हाँस्छ । जिन्दगीको यो लामो यात्रामा धेरैपटक मैले आफूजस्तो मान्छेलाई भेटिसकेँ । बस््, आफूले आफैंलाई भेट्न बाँकी छ ।
नेपाल साप्ताहिक ४१५
