Skip to content
20101013_Dasain


यो वर्षको दसैँ पनि घरबिदा लिएर लाहुरे आएजस्तै आयो । दसैँ मनाइयो पनि बितेका वर्षहरूमा जस्ते नै कसैले ऋण दिएर, कसैले ऋण लिएर अनि कसैले बेपत्ता पारिएका आफन्त सम्झेर । पेन्सन पाकेपछि र्फकन नपर्ने गरी लाहुरे आए जस्तै आएको लोकतन्त्र कसैको लागि उपहार पाए जस्तै भयो, कसैका लागि बोगोटीको मात्र आशा गर्नेलाई गाई व्याए जस्तै भयो अनि कसैका लागि कान चिरिएको जोगी आए जस्तै मात्र भयो । …

जता जाउँ उतै भन्छन्
दसैं आयो । दसैं आयो ।
यही आनन्द वर्षाले
सबै सङ्कट बिर्सायो ।

नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड विजयादशमी आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रतपूणिर्मासम्म मनाइन्छ । अश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्म फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चारदिनको यो महापर्व सम्पूर्ण हिन्दूहरूले अत्यन्त खुशीयालीपूर्वक मनाउँछन् ।

सबै राम्रा सबै ठाँटी
सबै नाना तमासामा
सबैका माथमा जौका
पहेला अङ्कुरा लामा

कवि शिरोमणि लेखनाथ पौडेलले भनेजस्तै राम्रा-राम्रा पहिरनमा सजिएर निधारभरि दही अक्षताको राता टीका लगाएर शिरमा जमरा सिउरिँदै मान्यजनबाट टीका र आशीर्वाद थाप्न जानेहरूको यस अवसरमा विशेष चहलपहल देखिन्छ । त्यसैगरी ठाउँ-ठाउँमा लिङ्गे र रोटे पीङहरू हालेर त्यसको चहचहमा रमाउनेहरूको भीडले दसैंलाई थप आकर्षण प्रदान गरेको हुन्छ । भनिन्छ-दसैँ भनेको आपसी मित्रता, भेटघाट, सौहर्द्रता, मान्यजनप्रति सम्मान-सद्भाव र प्रेमजस्ता कुराको समष्टि स्वरूप नै हो ।

हट्यो सारा हिलो-मैलो हरायो पानीको वर्षा
भवानीको भयो पूजा, चल्यो सानन्दको वर्षा

शरदको सुनौलो घाम, हिलो मैलो र वर्षा हटेर स्वच्छ वातावरणको अवस्था अनि मनै आनन्दित पार्ने ऋतुमा मनाइने यस वर्षको विजयादशमी हाम्रो घर-आँगनमा भित्रिइसकेको छ । यो चाडलाई प्रत्येक हिन्दू नेपालीहरूले अत्यन्त आस्था र श्रध्दापूर्वक मनाउने गर्छन् ।

प्रस्तुत सन्दर्भमा दसैंलाई साहित्यिक व्यक्तित्वहरूले कस्तो अनुभूत गर्न पुगेका छन्, दशैलाई हेर्ने स्रष्टाका साहित्यिक आँखा र अभिव्यक्तिहरू कस्ता-कस्ता छन् ? यसबारे यहाँ केही सन्दर्भहरू उठाइएको छ ।

आफ्ना आफ्नै स्थितिकन बुझी चल्दिए हुन्न दुख ।
सन्तोषै हो सुखद जगमा जे जुटोस् मान्नु ढुक्क ।।

टीका थप्दै सबतिर घुमी खूव मानेर हर्ष ।
ल्याओस् यस्तै सुखकर घडी यो दसैँ वर्ष-वर्ष ।।

यो सारा जगत्मा दसैंले सुखै-सुख ल्याओस्, सन्तोष नै परम सुख हो भन्ने मूलमन्त्रलाई आत्मसात गरौँ भनेर मङ्गलकामना गर्दे कवि प्रेमदास उप्रेतीले यी भावहरू प्रकट गरेका हुन् ।

युध्द लेखकका रूपमा परिचित स्रष्टा गणेश राई विदेशको अनकन्टार भूमिमा बसेर त्यहाँका जङ्गल र भीर-पाखामा राइफल समातेका समयमा समेत आफूले गाउँघरमा दसैं मनाएको सम्झेर रोमाञ्चित हुन्छन् । एकैछिनका लागि भए पनि दसैंको वातावरण र परिवेश सम्झँदै उनी आफ्नो कृतिमा लेख्छन्-

शरद यामले दसैंको आगमनको सङ्केत दिने घाम बोकेर निमवानको चट्टाने पाखामा उम्रिएका पोथ्रापोथ्रीको झाडीमा छेलिँदै ओ.पी. बसेको मेरो मनलाई एक तमासले उडाई गाउँघर पुर्यायो । म कोदो र धानका लहलहाउँदा खेतवारीका कान्लामा दशै आएको सङ्केत अरुले झैँ पाउँथे । स्पर्शित घामको ताप र देखिने एक किसिमको रमाइलो पर्यावरणीय मोहबाट दसैं र तिहारको आभाष मिल्थ्यो । उसो त हावामा वहेर आउने कोदो र धानको आफ्नै किसिमको गन्धबाट पनि म दशैको आवागमन थाहा पाउँथे । खेतका गह्रा-गह्री, बारीका कान्ला-कुन्लीमा ठोक्किदै कलिला घाँसको तरेली तरङ्ग्याउँदै दसैंको सुगन्ध बोकी वहिरहेको हल्का हावाको शीतल झोक्कामा रोमाञ्चित म आनन्दानुभव गरिरहन्थेँ ।
(युध्द एम्बुसमा राइफलको सङ्गीतबाट (पृ.७६)

देशमा भन्दा विदेशमा हुँदा यस्ता चाडवाडले बढी महत्व पाएको देखिन्छ । अरु समयमा घर नआए पनि दसैं तिहारहरूमा यस्ता चाड मनाउन विदेशिएका छोराछोरीहरू आउने आशाले बाटो हेरेर बुढा बाबुआमाहरू प्रतीक्षा गरिरहेका हुन्छन् । सायद त्यसैले दशैमा आउन नसक्ने परदेशीहरूले यो चाड सम्झँदै थुप्रै रचनाहरू सिर्जना गरेको पाइन्छ । यही परिवेश र परिस्थितिलाई सङ्केत गर्दै कवि तोयालाल दाहाल “दसैंको प्रतीक्षा” कवितामा भन्छन्-

दुर्गाको मूर्ति, अगाडि राखी मागेर गुहार,
विदेशी दाइ, आइपुगुन् भनी गर्दछन् पुकार ।

बिचल्ली भएको व्यथा-कथा, साहूले घर-खेत लगेको र गाउँघर छाडी मुग्लान पस्नु पर्ने बाध्यताहरूलाई देखाएर अधिकांश रचनाहरू सिर्जित भएका छन् । आडम्बर, तडक-भडक र खर्चिलो गरी यस्ता चाडपर्व मनाउनु हुँदैन भन्ने सन्देश नै प्रमुख रूपमा यस प्रसङ्गमा आउने गर्दछन् । यस्ता रचनाहरूले समाजलाई सकारात्मक सन्देश प्रवाह गरिरहेका हुन्छन् । “श्याम दाइको दसैं” कथामा कन्हैया नासननी पनि यस्तै सन्देश दिन्छन्-

यो वर्षको दसैँ पनि घरबिदा लिएर लाहुरे आएजस्तै आयो । दसैँ मनाइयो पनि बितेका वर्षहरूमा जस्ते नै कसैले ऋण दिएर, कसैले ऋण लिएर अनि कसैले बेपत्ता पारिएका आफन्त सम्झेर । पेन्सन पाकेपछि र्फकन नपर्ने गरी लाहुरे आए जस्तै आएको लोकतन्त्र कसैको लागि उपहार पाए जस्तै भयो, कसैका लागि बोगोटीको मात्र आशा गर्नेलाई गाई व्याए जस्तै भयो अनि कसैका लागि कान चिरिएको जोगी आए जस्तै मात्र भयो । …
(समष्टि,६७ -पृ.५९)

हाम्रोमा एउटा आहान नै छ-“आयो दसैँढोल बजाइ, गयो दसैँै ऋण बोकाई” । हरेक दसैँैमा विपन्न परिवारका व्यक्तिहरूको आफ्नो घर-सम्पत्ति मुखिया र जिम्मावालहरू कहाँ धितोमा चढ्छन्, लिलाममा जान्छन् । अनि हिउँदमा गाउँबस्तीहरू उजाड पार्दै गुमे-गुमाइएका तिनै श्रीसम्पत्तिहरू उकास्ने मीठो अभिलाषा बोकेर मुग्लान पस्छन् । अतः दशै जस्तो ठूलो र महत्वपूर्ण चाड गरीव परिवारका लागि “दशा” हुने गरेको कटू यथार्थताप्रति थुप्रै लेखक-कविहरूले कलम चलाएका छन् । यसै क्रममा यो पीडालाई कवि भूपि शेरचन मीठो व्यङ्ग्य कस्तै यसो भन्न पुग्छन्-

हुनेलाई तीनसय पैसट्ठी दिन नै दसैं छ
नहुनेलाई वर्षभरी दशा छ

हुनेलाई चारै छाक मासु छ
नहुनेलाई आँखाभरी आँशु छ ।

महंगीको मारले हानेको थप्पड दसैँैमा सबैले सहनु परेकै छ । सम्पूर्ण सरसामानहरूको जोहो गर्नु पर्ने वाध्यता पनि आफ्नो ठाउँमा छ । एक चिजको मात्र सङ्ग्रह गरेर हुने भए पो । कति चिजविजको सङ्कलन गर्नु ? आहात बन्दै बमबहादुर थापा जितालीको कवि हृदय यसरी छचल्किन्छ ।

पैसा भए चामल छैन, चामल भए मासु
गाई-जात्रे दशै बन्यो मिली हाँसो-आँशु ।

यहाँ कवि जिताली मात्र होइन, कवि गङ्गाधर अधिकारी “चिन्तन” पनि दसैँैको आगमनलाई निषेध गर्ने तरखरमा जुटेको महसुस हुन्छ ।

..एकदिनको लागि
वर्षभरिकै चुलो निभाउन वाध्य पार्ने
गरीव नावालकहरूको निश्चल अनुहारमा
निराशाका धर्साहरू कोर्ने
तँ लाज नभएको नकचरो
अहिले पनि प्रवेशको दाउ खेलिरहेछस्
तेरो आगमन मेरो चाहाना हैन
त्यसैले-
निषेध तेरो आगमनलाई ।
(कैदी रहर र मृत सपनाहरूबाट -पृ.३६)

यसरी गरीवीका कारण दसैँ सदैव हाम्रा लागि “दशा” बनिरहेको देखिन्छ । दशैमा खर्च गरेर रमाउनु भन्दा दशैपछिका दिन सम्झिएर सतर्क रहनु अझ बुद्धिमानी ठहर्छ । कवि भागवत आचार्य “दसैँैं” शीर्षकमा मितव्ययी हुन सुझाव दिन्छन् ।

केहीलाई छाडिदिने हो भने
धेरैजसोका लागि पीडा थोपर्ने दसैँ
खर्चै नगरी मनाए के हुन्छ ?
(मनलाई सम्बोधन -पृ.४९)

सँधै दुख, अभाव र पीडामा बाँचिरहेका परिवारलाई वर्षदिनमा एकपटक आउने यो चाडमा मीठो भोजन गराउने, राम्रो नानाचाचा लगाउने पर्वका रुपमा लिनु स्वभाविक हो भन्ने भाव प्रकट गर्दै कवि रामबाबु सुवेदी यहाँ देखा परेका छन् ।

गरीवका कोमल ओठमाथि
मिष्टान्नले आदिम भेट पायो
अतीतका हातहरू समाती
दशै दिशाबाट दसैँ उदायो ।

युवा कवि श्रवण मुकारुङलाई थाहा छ हामी नेपालीहरूको वास्तविक स्थिति । त्यसैले नेपालीहरूले हिजो जसरी दसैँै मनाएका थिए आज पनि त्यसरी नै मनाउने छन्-अलिकति दुख, अलिकति सुख र धेरै अभावका बीचमा भन्दै उनी लेख्छन्-

…यस बर्षका दसैँमा पनि सधैझैँ
केही तनाव, केही द्विविधा / केही खुशी
र, धेरै अभाव, दुख, पीर वा व्यथाहरूमा नै रम्छन्
किनकि
दुखको उज्यालो गीत गाउन मानिसलाई कसैले सिकाउनु पर्दैन ।

गएका केही वर्षदेखि चल्दै आएको द्वन्द्वको अवस्थाबाट भर्खरै मात्र मुक्ति पाएका छौँ हामीहरूले । अतः यस परिस्थितिमा विगतमा भत्किएका हाम्रा मन, विचार, आस्था र भावनाहरूलाई पुनः जोडेर भातृत्व र वन्धुत्वको मल्हम एक आपसमा लेपन गर्न सकौँ । हाम्रा गाउँघरका धारा, कुवा, बाटो, पाटी-पौवाहरू यस अवसरमा निर्माण-पुननिर्माणतर्फ हामी स्वयं जागरुक बन्दै वर्षौं विछोडिएका दाजुभाइ, साथीभाइ, परिवारजनहरूसँगको पुनर्मिलनमा आलिङ्गनबध्द बन्दै आशीर्वाद दिने-लिने कार्यमा जुटौँ ।

…अलिकति दसैँैको कविता लेखौँ ।
तिहारको कविता लेखँैं ।
सत्य र मानवताको विजय कसले चाहँदैन र ।
अलिकति कालरात्रिको कविता लेखौँ ।
नवदुर्गाको कविता लेखौँ ।
माया गरेर संस्कृतिलाई
आफ्नै कोठेबारीमा हुर्काउँदैमा
हाम्रो के जाने हो र ।

यो चाड दसैँैलाई हामी सबैले संरक्षण गरौँ भन्ने कवि प्रल्हाद पोखरेलको आहृवानका साथ हामी पनि बिजयादशमीको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा यही मङ्गलमय शुभकामना व्यक्त गरौँ ।

आयु द्रोण सूते श्रेयं दशरथे, शत्रूक्षयं राघवे
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने
शौर्यम् शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तिसूते
विज्ञानं विदुरे भवन्तु भवतां कृतिश्च नारायणे ।

गोरखापत्र शनिबार
असोज २३, २०६७

1 thought on “दसैँ स्रष्टाको कलममा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *