तराई, पहाड र हिमाल
फेरि,
हिमाल, पहाड र तराई
बीचमा म केही पनि देख्दिन
जे देखिन्न त्यहीँ भाग्य छ
ल्हासा ताकेर दौडेको खच्चर
काँसी आइपुग्छ र ?
२ मा २ जोड
अनि लाटोलाई सोधिहेर
१, २, ३, ४
बीचमा म केही पनि देख्दिन
जे देखिन्न त्यहीँ भाग्य छ
कालो अंगार छ
सेतो हिउँ छ
हरियो घाँस छ
फेरि,
…………. अंगार छ
………….. हिउँ छ
………….. घाँस छ
पावल अक्टोपसको
भविष्यवाणी चाहिँदैन
विचरा भकुण्डो !
लात्तै लात खाए पछि
जीत त स्पेन कै हुने पर्यो नि
लात र भकुण्डो बीच
म केही पनि देख्दिन
जे देखिन्न त्यहीँ भाग्य छ
सुनको अण्डा दिने कुखुरी
मारेर चिरफार गरियो
भित्र त खाली थियो !
जहाँ खाली थियो
त्यहीँ भाग्य थियो
मेरा औलाहरु – कीबोर्ड– सी.पी.यू.– मोनिटर
खै के के छुन्छ / समात्छ
कहिले कहीँ त
मोनिटरले पो लाजमा पार्छ
लौ,
कीबार्ड त छोयो औंलाले !
औंला चाहीँ केले कुत्कुतायो ?
घटना + घटना + घटना = परिणाम – भाग्य
दुःख + आँसु + हार = सपना (भए हुन्थ्यो ! )
तर मन मान्दैन मान्छेको !
जे भोग्यो त्यही सत्य झैं बोल्छ भने
अर्कै भोग
अनि अर्कै बोल्छ
अनि अर्कै सत्य हुन्छ
अहा ! खाली राजगद्दी
रमिता भयो नारायणहिटी !
यो भाग्य होइन
परिणाम हो
परिणाम घटना बन्न सक्छ
घटना परिणाम !
