ढोल ढोक्दै ढोक्दै हजुर दशैं आयो अरे
ऋणै ऋणको भारी बोकाई दशैं गयो अरे।
देखासिखी गर भन्दै महाजनका घरमा
छ्वैला कचेला मासु बियर दशैं छायो अरे।
लैनो गाई बेचे अरे डाँडाघरे बाले
केटाकेटी भन्थे निस्तो दशैं रयो अरे ।
हालका गोरु बेचे भन्छन खेतीघरे दाइले
भाउजू चाहिंका आँखाबाट दशैं बग्यो अरे ।
घाँटी हेरी हाड हजुर ननिल्नाले आज
चनैटेको पोहोरको पाडी दशैं भयो अरे ।
गरीबीको पहाडमाथि महंगीले थिच्दा
ऐया भन्दै निमुखाले दशैं सह्यो अरे।
तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल,
हाल:बहराइन
२०६७/६/३१
