Skip to content
Trichandra shrestha

चङ्गाको आविष्कारक चीनलाई मानिन्छ चङ्गाको इतिहास खोज्दै जाँदा गौतम बुद्ध जन्मनुभन्दा चार/पाँच सय वर्ष पहिले नै चीनको हान वंशमा भएको पाइन्छ । स्न ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सु-वानले काठ र बाँसको चरा आकारको चङ्गा बनाएर तीन दिनसम्म आकाशमा उडाएको कुरा उल्लेख छ । उक्त पुस्तकअनुसार गोङ्ग सु-वानको वास्तविक नाम ‘लु वान’ थियो भने उनी डुण्नु आङ्गका वासिन्दा थिए । चु राज्य र सोङ राज्यबीच चलेको युद्ध -सन् ४४४) मा लुवानले जासुसी गर्नका लागि चङ्गाको निर्माण गरे । त्यही समयदेखि चङ्गाको जासुसी प्रयोग प्रारम्भ भएको मानिन्छ । यो क्रम चीनमा तांग वंश -६१८-९०७) सम्म कायम रहृयो ।

नेपाल र भारतमा चङ्गाको चलन जापानबाट आएको विश्वास गरिन्छ । जापानमा यसको प्रचलन चीनबाट आएको मानिन्छ । नेपालमा चङ्गाको प्रचलन कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक प्रमाण फेला नपरे पनि इतिहास भने छोटो छैन ।

चङ्गा उडाउनुलाई केवल मनोरञ्जन लिने तरिका मात्र हो भनेर सोच्नु गलत कुरा हो । विश्वभरिमा धार्मिक, सामाजिक तथा वैज्ञानिक कारणहरूबाट चङ्गा उडाउने चलन अद्यापि कायमै छ । चङ्गा उडाउनुलाई शुभसगुनका रूपमा पनि लिइन्छ । लोककथा र किंवदन्ती अनुसार, वषर्ायामभरि धेरै पानी परिसकेको हुन्छ, धान पाक्ने बेला भइसकेको हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिँदैन भनेर चङ्गा उडाएर पठाएको सन्देश मानिन्छ । चङ्गा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास छ ।

केही व्यक्तिहरू चङ्गालाई पृथ्वी र स्वर्गको सम्पर्कको कडीको रूपमा लिन्छन् । चीनमा चङ्गा उडाउनुको अर्थ दुष्टात्मा धपाउने प्रयासको रूपमा लिने गरिएको पाइन्छ जापानमा प्रत्येक नयाँ वर्षको शुभ दिनमा चङ्गा उडाउने चलन छ । त्यहाँका प्रत्येक बाबुहरू छोराको नाममा चङ्गा उडाउँछन् र छोराको लामो आयुका लागि प्रार्थना गर्दछन् । यसलाई जापानीहरू वंश परम्परालाई अगाडि बढाउने प्रतीकका रूपमा मान्दछन् ।

कोरियामा चङ्गाको उपयोग दुर्भाग्य तथा दुष्ट आत्मा भगाउनका लागि गरिन्छ । कोरियालीहरू ल्युनर क्यालेन्डर अनुसार नयाँ वर्षको पूणिर्माको राति दुर्भाग्य भगाउन तथा सौभाग्य ल्याउनका लागि चङ्गामा ‘अशुभहरू जाओस्’ भन्ने शब्द लेखेर आकाशमा उडाउँछन् र आकाशमा उडिरहेको चङ्गाको धागोलाई काटिदिन्छन् । उनीहरूको विश्वास छ- त्यो चङ्गासँगै उनीहरूको दुर्भाग्य पनि आकाशमा जान्छ र सौभाग्य नजिक आउँछ । श्रीलङ्का र थाइल्याण्डमा मरेपछि स्वर्ग पुगिन्छ भन्ने विश्वासअनुरूप चङ्गा उडाइन्छ ।

सन् १७५२ मा बेन्जामिन प|m्यांकलीनले सबैभन्दा पहिले बादलमा पनि बिजुली हुन्छ भन्ने कुरा पत्ता लगाएका थिए । वषर्ाको समयमा तारको धागोमाथि फलामे साँचो राखेर चङ्गा उडाउँदा चट्याङको प्रहारका कारण साँचो र तारमा बिजुली प्रवाहित भएको थियो । सन् १८९३ मा अमेरिकाका वैज्ञानिक लरेन्स हाग्रेभले बनाएको बाकस आकारको चङ्गाले १२ वर्षसम्म अमेरिकाको मौसम विभागको लागि वायुको तापमान र दबाब नाप्ने काम गर्‍यो ।

संसारमै सबैभन्दा पहिलो बनेको रेल हिँड्ने झोलुङ्गे पुल पनि चङ्गाकै सहायताबाट बनेको हो । न्युयोर्कमा चङ्गा उडाउने एक व्यक्तिले अर्को चङ्गा उडाउने व्यक्तिसित जोरी खोजेर चङ्गा उडाउँदै जाँदा उनको चङ्गा दुई सय पचास मिटर फराकिलो नाग्रा नदीपारि पुग्यो । त्यसपछि चङ्गालाई चुँडालेर धागोसँग त्यसभन्दा अलिक मोटो धागो बाँधियो र वारिपट्ट ितानियो । एवं रितले एकपछि अर्को झन् बलियो डोरी तान्दातान्दै फलामे डोरीहरू तानियो र आखिरमा अमेरिका र क्यानाडाबीच संसारको सबैभन्दा पहिलो रेल हिँड्ने झोलुङ्गे पुल बन्यो ।

विश्व कीर्तिमान राख्ने क्रममा सबैभन्दा ठूलो चङ्गा बढी समयसम्म उडाएर नेदरल्याण्डका हरमन वानडेन ब्रोएपक र जोन पाइटर क्युएलले सन् १९८४ अगस्ट ८ तारिखका दिन कीर्तिमान खडा गरे । उनीहरूले ८५२ वर्गफिट क्षेत्रफलको चङ्गा २२ मिनेटसम्म उडाएका थिए ।

सबैभन्दा गह्रौँ वस्तु उचाल्ने चङ्गा अमेरिकी नागरिक जी. विलियम दिरेलले उडाएको चङ्गालाई

मानिन्छ । उनको चङ्गाले सन् १९८४ को सेप्टेम्बर २३ मा ३३०.३१ किलोग्राम वजन उचालेको थियो सबैभन्दा धेरै चङ्गा उडाउने व्यक्ति जापानका शादाओ हरादा हुन् । उनले एकै पटक ११ हजार २८४ वटा चङ्गाहरू लस्करै एउटै डोरीमार्फत उडाएर अनौठो कीर्तिमान कायम गरेका थिए । उनले यो चङ्गा सन् १९९० अक्टुबर १८ तारिखका दिन उडाएका थिए । सबैभन्दा लामो समयसम्म चङ्गा उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम अङ्कति गर्ने वासिङ्टनस्थित एडमन्ड्स कम्युनिस्टी कलेजको एउटा टोली हो । उक्त टोलीले सन् १९९२ अगस्ट २१-२९ सम्म आठ दिनसम्म चङ्गा उडाएको थियो ।

विभिन्न देशहरूमा चङ्गाहरू विभिन्न शैली र प्रकारका भए पनि नेपाली चङ्गाहरू मौलिक भएको कुरा चङ्गा उडानमा विशेष रुचि राख्ने र नेपालका तर्फबाट अन्तर्राष्ट्रिय चङ्गा उडान प्रतियोगितामा भाग लिनु हुने निर्मलमान तुलाधरको भनाइ छ । हाम्रा चङ्गाहरूको बनोट प्रक्रिया अलि फरक छ । हामीकहाँ ‘डाइमन्ड सेप’ अर्थात् चतुर्भुज आकारका चङ्गाहरू नै बढी चलनचल्तीमा छन् । नेपाली चङ्गा उडान कला विश्वको नै उत्कृष्ट चङ्गा उडान कलाभित्र पर्दछ । चङ्गा प्रतियोगिताहरूमा विशेषगरी डेल्टा काइट उडाउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *