Skip to content


घाम अस्ताएको थियो। अर्थात्, भर्खर खरानी झरेको झरझराउँदो कोइलाजस्तो गाढा सुन्तला रंगको एउटा चाक्लो पश्चिम आकाशबाट पर्तिर कतै बिलायो। त्यसका तीखा रेसादार किरण आकाशतिर गएका थिए। ती कहाँसम्म पुगेका थिए, फैलिएको आकाशमा मेरा आँखाले राम्ररी ठम्याउन सकेनन्। जमिनमा विस्तारै अँध्यारो घोप्टिने तरखर गर्दै थियो। अँध्यारो भइसकेको थिएन।

उखरमाउलो गर्मी थिएन। घामले हल्का राप जमिनबाट आइरहेको थियो। त्यसमा केही गन्ध महसुस गर्न सकिन्थ्यो। जाडो सकिएको थिएन। तर, बाक्ला लुगा लगाउनैपर्ने भने थिएन। राति चाहिँ कम्मल नओढी सुत्न गाह्रो थियो।

रंगमञ्चमा कालो पर्दा खसेजस्तो विस्तारै अँध्यारो खस्दै गयो। लोडसेडिङ् एक साताका लागि हटेको थियो। सुनिएको थियो, पोखरीमा पानीको सतह बढेको छ। पोखरीमा पानी बढ्यो, सहरमा झिलीमिली बत्ती बले। कोठाको टीभी खोलेँ। एक्कासि उनको अनुहार देखेँ। उनी हाँसेका थिएनन्। गालाको दाहिनेतिरको खोपिल्टो उस्तै थियो। चाक्लो निधार, केही मोटो नाक। चिल्लो अनुहार। छरितो ज्यान। सिरूपाते बाक्ला घोप्टे जुँगा। उनी उस्तै थिए। थुक लगाएर ओठ भिजाइरहने बानी पनि छुटेको थिएन।

“अलि मोटाएछन्,” मनमनै सम्झेँ, “मलाई त बिर्से होलान्। आखिर यति ठूलो मान्छे भइसकेछन्। ठूला हुँदै गएपछि मलाई यो सहरमा कसले सम्झिए र ? आफूलाई पार्टीको अध्यक्ष भन्ने त्यो कालो धम्मरधुस, प्रहरीको त्यो हाकिम, भुँडीजस्तो बुद्धि नबढेको त्यो व्यापारी, अस्ति मात्रै ठूलो पुरस्कार पाएको त्यो लेखक, राज्यमन्त्रीमा सिफारसि भएको ङिच्च हाँस्ने त्यो लट्ठु नेता- आखिर कसले सम्झ्यो र मलाई ? ती सबैको अनुहार त मै पनि चिन्दिनँ।”

अगाडि तेर्सिएका क्यामरातिर हेर्दै उनको स्वर टीभीमा बजेपछि मेरो तन्द्रा भंग भयो। भन्दै थिए, “आखिर यो सब अधुरो क्रान्ति पूरा गर्नका लागि हो। हामी गर्छौं र भोलि पनि नेपाल बन्द निरन्तर हुन्छ। यो जनताको माग हो। क्रान्ति सफल पार्ने जनताको माग पूरा नगरी कसरी हुन्छ ? बन्दमा सबको मुक्ति छ।”

नेपाल बन्दले डान्सबार आज पनि बन्द थिए। झिलीमिली बत्तीमा भोलि पनि नाच्नु नपर्ने सम्झेर मन आनन्द भयो। “सुतिन्छ,” मनमनै सोचेँ, “हिँडेर त जसले बोलाए पनि गइन्नँ। दिनभर घरै बसेर फिल्म हेरिन्छ बरु। भेट्न मन भए घरै आउँछन्। हिँड्नलाई रोकटोक छैन क्यारे !”

डान्सबारको साहूजीले केहीछिन अघि फोनमा भनेको थियो, “मैले माथि कुरा गर्याछु, बन्द दिनभरलाई हो रे ! ७ बजेपछि त खोलूम् कि ? दिनभर सडक बन्द गरेर के भो ? बारमा आँखा बन्द गर्न सक्दैनन्, हेर्न आइहाल्छन् क्यारे उनीहरू पनि। नभए अलिअलि चन्दा दिएर पठाम्ला।”

“खोल्ने भए बेलैमा खबर गर्नू है,” मैले भनेको थिएँ।

फेरि एकछिनमा फोन गरेर साहूले भनेको थियो, “भैगो नचलाम्, व्यर्थैमा फुटाइदिए भने। के भर छ र ? डान्सबारमा न सरकारको भर छ, न उनीहरूको। सबैले हान्ने नै हुन्। हाने भने त हानिहाले नि !”

त्यसपछि मेरो दिन घरी छत, घरी बरन्डा गर्दै बित्यो। सडकमा हेर्यो मान्छे मान्छे। सिलिङ्मिलिङ् हिँडिरहेछन्। यो सहरमा कति मान्छे बस्दा हुन् ? हिँडेर कहाँ पुग्दा हुन् ? एकअर्काको अनुहार मिले पो ?

“नानीको अफिस पनि बिदा ?” अधबैँसे घरपट्टीले मिड्डी र भेस्टले छोप्न नभ्याएको मेरो गोरो नाइटोमा आँखा गाड्दै सोधे, “आज त घरै देखियो नानीलाई ! माथि आएर बसे हुन्छ नि !” त्यसरी हेरेकामा मैले कुनै आपत्ति जनाइनँ। हेरे यत्रैसित ! बूढी स्वास्नी हेर्दा हेर्दा आँखा थाकेका होलान् बूढाका।

उनका छोराछोरी बरन्डामा तास खेलिरहेका थिए। हल्का पार्टी पनि चलिरहेको थियो, कोक र दालमोठको।

“बन्द गरेर लफडै गरे नि !” उनीहरू भन्थे, “तर, मस्ती नै भयो, स्कुल पनि जानु परेन। घरमै मोज गर्न पाइयो। अलि भरे त सडकमा क्रिकेट खेल्न जाने हो।”

“सडकमा हिँड्नेका करङ खुस्काउने भयौ,” घरपट्टी विस्तारै फतफताएको सुनियो।

यो साँझ उनलाई टीभीमा देखेपछि उनको झल्को आयो। किन यसरी उनको झल्को आयो ? मैले यसरी कतिलाई सम्झेँ।

म भन्न सक्दिनँ।

तर, निश्चित के छ भने थोरैमध्ये यिनी पनि परे। सबैभन्दा बढी त्यो पुलिस हाकिमलाई सम्झन्छु। कहिलेकाहीँ समाएर पनि त लैजान्छ हिरासतमा। त्यही भएर त कहिलेकाहीँ दिउँसो पनि फोन गरिरहन्छ।

उनलाई टीभीमा देखेपछि मेरो आँखामा उनको पातलो ज्यान नाच्यो।

एउटा अँध्यारो रात हामी भेटिएका थियौँ। डान्स फ्लोरबाट ओभरकोट लगाएर झरेपछि त्यो हल्का उज्यालोमा छत्रे टोपी केही माथि सार्न खोजेझैं गरेर उनले भनेका थिए, “नाच राम्रो रहेछ। सहरमै सिकेको ?”

झिलमिले प्रकाश र कानै थर्किने स्वर गुन्जिएको त्यस कोठामा अंग्रेजी मिसिएको लवजमा कानैनेर मुख जोडेर म बोलेँ, “थ्याङ्क यू।”

त्यो रात मलाई उनैले मोटरसाइकलमा डेरा ल्याइदिएका थिए। सडकमा प्रहरी चेकिङ् थियो। उनी भन्थे, “अफिसबाट आएको हामी साथी साथी।” पुलिसले छाडिदिन्थ्यो, “जानूस्, यति राति कस्तो अफिस हो ? तिघ्रा देखाएर हिँड्या छ।”

त्यो साँझ उनी पनि नशामा थिए। म पनि मातमै थिएँ। नमात्तिए के गर्नु पात्तिनेहरूले हैरान पार्छन्, एक सुरूप पिउँदा पिउँदै लागिहाल्छ। कहिलेकाहीँ खाली पेट हुन्छ, अलि बढी नै लाग्छ।

व्यवहार हेर्दा लागेथ्यो, उनी कुनै ठेकेदार हुन्। बिहान अबेरसम्म बसे। मेरैमा खाना खाए र गए। जानुअघि केही रुपियाँ छाडे। मैले नाइनास्ती गरिनँ। अलि दार्शनिकजस्तो कुरा गरे। जीवन, जगत्, लोभ, मोह आदि के केबारे। सबै कुरा मैले पनि बुझिनँ। अमूर्त कुरा। हामी एउटै ओच्छ्यानमा सुत्यौँ। लम्बेतान कुराकानीमा रात खर्चिएनौँ। त्यो आवश्यकता र फुर्सद हामीले महसुस पनि गरेनौँ।

“अब म तिम्लाई भेट्न आइरहन्छु,” कोठाबाट निस्कनुअघि उनले भनेका थिए, “तिम्रो नम्बर दिन मिल्छ ?”

नुहाएको कपालबाट पानी झट्कार्दै मैले नम्बर टिपाएँ। त्यसपछि छत्रेटोपी निधारसम्मै तानेर उनी बाहिरिए। मैले उनका बारे सोधिनँ।

उनले पनि मेरो चासो नलिएकाले जवाफमा मैले भन्नु परेन, “एक घर एक सहयोग भन्दै मेरो लोग्नेलाई कसैले लग्यो। अहिलेसम्म फर्केनन्। बेपत्ता छन्। मरे/बाँचेको खुटखबर छैन। छोराको ठेगाना नबताएको आरोपमा एक रात ससुरालाई कसैले लग्यो। तीन दिनपछि ससुरा मारिएको खबर सुनेर मूर्छा परेकी सासू फेरि ब्यूँतिनन्। अहिले देवर पनि बेपत्ता छन्। घरमा कोही नभएपछि माइत जान पनि गाह्रो भयो। गाउँकै साथीसित सहर आएँ। स्कुल पढ्दा जानेको नाच यहाँ काम लाग्यो। यही नाचले आज हाम्रो भेट भयो। यसैले मेरो पेट पालिएको छ।”

मलाई कोठा लैजाने वा मेरो कोठा आउने कसैले मेरो कुरा सोधेको छैन। नसोधी उनलाई पनि म किन बताऊँ ?

एकअर्काबारे नजानीकनै हाम्रो निकटता बढ्यो। आफन्तजस्तो व्यवहार हुन थाल्यो। सँगै सुत्ने गर्दा विश्वास बढ्ने हो कि ? यतिको विश्वास अरू कसैसित बढेको थिएन। मेरो कमाइ खान नपुग्ने थिएन। उनको सरसहयोग पनि घटेन।

“सहरमा गस्ती कति सारो बढेको,” छत्रे टोपी छेवैको सोफामा फालेर एक साँझ उनी बोले, “बँचेर हिँड्नै गाह्रो। फ्याट्टै समातेर हान्लान् जसरी हेर्छन्।”

म निरुत्तर भएँ।

“सहरमा गस्ती बढेको छ, म कसरी निस्किन सकुँला र ?” त्यो साँझ उनले फोनमा पनि यसै भने। फोन गर्ने मान्छे उनको चिन्तामा थियो सायद। “नआत्तिनूस् म सुरक्षित छु, डराउनु पर्दैन,” आत्तिएको संकेत उनीमा छँदा पनि थिएन।

यिनी भूमिगत नेता हुन सक्छन् भन्ने शंका सायद मेरो आँखामा प्रस्ट देखियो।

“तिमीसित मलाई कुनै डर छैन,” मेरो पञ्जामा पञ्जा रगडेर त्यसपछि उनी बोलेका थिए, “क्रान्तिका लागि तिमी पनि आवश्यक छौ। तिमी झन् महत्त्वपूर्ण आवश्यक। महान् क्रान्तिले तिम्रो पनि माग गरेको छ।”

त्यसपछि उनले मलाई आफूपट्टि अझ तानेका थिए। म लल्याकलुलुक भएकी थिएँ, कराइमा ओइलाएको सागजस्तै जता पनि पल्टिने।

त्यसपछि उनी झन् रनक्क ताते। श्वासप्रश्वास बढ्यो। हामीले ओढेको कम्बल झन् तातिँदै गयो। बेलाबेला बटारिन्थे। मानौँ, उनीभित्रको एउटा सुल भुमरी भएर बाहिर निस्कन खोजिरहेको छ।

विस्तारै उनको श्वासप्रश्वास तेज कम भएको थियो। उनको गह्रौं जीउले थिचेको मैले प्रस्ट अनुभव गरेको थिएँ। असरल्ल ओच्छ्यानको एकापट्टि फालिएको कम्बल तानेर ओढेका थिए। र, शिथिल भएर निर्वस्त्र लोलाएका थिए। उनको दाहिने हातले मलाई अँगालो हालेको थियो।

त्यस रात कतिखेर निदाएँ, मैले पत्तो पाइनँ।

बिहानको चिसोले बिउँझिँदा उनी ओच्छ्यानमा थिएनन्। बाथरुममा पनि थिएनन्। नगरलाई उज्यालो पारेर घाम उदाउने तरखर गरिरहेको थियो। उदाउनुअघिको सगरले नगर उज्यालो भएको थियो। सडकमा गाडीको अवातजावत बढ्न थालेको थियो। रातभरको अन्धकार टकटकिएर कन्चन उज्यालो घरका भित्ताहरूमा बढ्दै थियो।

मेरो जीउ भारी भएको थियो। उठेर लामो हाइ काढेँ। जीउ तन्काएँ। कम्मर दायाँबायाँ मर्काएर केही हल्का महसुस गरेँ। ओच्छ्यान मिलाउनुअघि असरल्ल वस्त्रहरू खोजेँ। भित्ताको ऐनामा हेरेर लुगा र कपाल मिलाएँ। मेरो शरीर कतै केही भएको थिएन। सग्लै थियो।

निकैबेर उनी कोठामा देखिएनन्। वरिपरि हेरेँ। उही कोठा थियो। उही ओच्छ्यान। ओच्छ्यान छेवैमा दोब्रिएको हजारको नोटमा मेरा आँखा पछारिए। खोलेर हेरेँ, हजारका दसवटा र एक सयका पाँचवटा टक्की थिए। नोट मलाई नै हेरिरहेका थिए।

मैले एकएक गरेर दुवै हातले ती नोट छामेँ। सुम्सुम्याएँ। खस्रा लागे। फेरि सुस्तरी त्यही राखेँ। केहीबेर नोट दाहिने हातले खेलाइरहेँ। नोट खस्रै लागे। मनमा केही सोच बढेजस्तो भयो।

त्यसपछि मैले उनलाई मेरो कोठा, डान्सबार वा सडक कतै भेटिनँ।

पहिलोपल्ट आज टीभीमा देखेपछि लाग्यो, पार्टीका नेता भएछन्। ठूलो नेता। सबैले चिन्ने नेता। के उनले मलाई फेरि चिन्लान् ? मलाई सम्झेका होलान् ?

उनले आफ्ना अभिव्यक्ति दोहोर्याएर भने, “मैले अघि पनि भनेँ आखिर अधुरो क्रान्ति पूरा गर्न यो सब जनताका लागि हो। क्रान्ति सफल पार्न जनताको माग पूरा नगरी कसरी हुन्छ ? बन्दमा सबको मुक्ति छ। हामी बन्द फिर्ता लिन्नौँ।”

उनी टीभीबाट अलप भए। मैले ढोकातिर यसो हेरेँ। आधा खुलेको ढोकाबाट अन्धकार मडारिंदै भित्र पस्यो। मधुरो ट्युब लाइटले त्यसलाई लखेट्ने प्रयास गरिरहेको थियो। ओच्छ्यान जस्ताको तस्तै बूढो अजिंगरजस्तो लडिरहेको थियो।

मैले घरी टीभी, घरी ओच्छ्यान र घरी ढोकातिर हेरिरहेँ।

नेपाल साप्ताहिक ४१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *