Skip to content


काठमाडौ, कार्तिक १२ –
हेर्दाहेर्दै आँखै सामुको भीरबाट भुजुङ गुरुङको घोडाले बल्ड्याङ खायो । श्रीखर्क पर्तिर अक्कर भीरको त्यही गोरेटो नाघेर तिलिचो ताल पुग्नु थियो । बल्ड्याङ खाएको घोडा निकै तल ठूलो ढुङ्गाको आडमा पुगेर अडिएपछि भुजुङ फेरि माथिबाट कुदेर तल आए र, घोडा सम्हाले ।

त्यही साइत बिग्रेको बाटो समातेर समुद्री सतहबाट ४ हजार ४ सय १९ मिटर माथिको विश्वकै उचो स्थानमा रहेको तिलिचो पुग्नु थियो । पुस्तकमा पढिएको घनघस्याको उकालोभन्दा मापाको थियो, तिलिचोको उकालो । पहिरो गइरहेको कमजोर भित्तो समात्दै माथि बढिरहँदा लेक लाग्ने अथवा हिंउँले समात्नेभन्दा बढी भुजुङकै घोडाको हविगतमा पुगिएला कि भन्ने त्रास मनभरि फैलिएको थियो ।

अनेक गुल्टिङ खाँदै र तल हुम्देदेखि नै लेकले चापिसकेका साथीभाइलाई छेउछाउमा सम्हार्दै तिलिचो पुग्न फेदीदेखि तीन घन्टाभन्दा बढी पैदल मार्नुपर्‍यो । हिउँ र पानी पर्न थालिसकेको साँझमा कहीँकतै मानव जातिको छनक नपाउँदा सबैको मनले हरेस खाइसकेको थियो । धेरै पर नीलगिरिको अनौठो चमक देखिएपछि त्यतैतिर केही ध्वजापताका पनि देखिए, देउरालीमा चढाइएका फूलपातीझैं । कुद्दै त्यही ध्वजाको मुन्तिर पुगेपछि टिनले छाएको ढुङ्गे घरभित्र भेटिए- कालु (२५) र भुजुङ गुरुङ (२७) ।

‘अलिक ढिलो पो आइपुगेछ तपाईहरू । हामी त खाइवरी सुत्न पो लागेको,’ कालु बोले ।

‘हेर्नुस् न, बाटाको अन्दाजै भएन । तल फेदीबाट छिमी दिदीले यहाँ वास पाइन्छ भनेर हामीलाई पठाको..’ हामी जवाफी बन्यौं ।

ढुङ्गाको भुइँमा आफ्नो स्लिपिङ ब्याग ओछ्याएर दुई स्पेनिस गोराहरू सुतिसकेका रहेछन् । उनीहरूका गाइड र भरिया भने कुनै नौला ग्रहका नौला यात्रुझैं यताउता टहलिरहेका थिए । अनि कालुले स्टोभ सल्काए— भर्रर्रर…। अर्को स्टोभमा यो ठिहीमा जडीझैं लाग्ने लसुनको झोल उम्लन थाल्यो ।

स्टोभको मधुरो आगोमैं भए पनि हात सेकाउन किचेन छिरेपछि कालु र भुजुङ गफिन थाले । ‘असोज अन्तिमदेखि हुटल खोलेका हौं, यो तयारीमैं लागेको छ महिनाजति भो,’ उनीहरू प्ाालो गर्दै बोल्दै थिए, ‘१५ लाख रुपैयाँ जति सुरुमै लगानी गर्नुपर्‍यो ।’ रियल भ्यु तिलिचो रेस्टुरेन्ट नाम राखेर खोलिएको दुःखसुखको होटलमा अरू दुई साथी सोनाम तप्के र टासी गुरुङको पनि साथ रहेछ ।

दुई दिन तलको बाटोमा पर्ने मनाङ अथवा अलिक नजिकको खाङ्सारबाट ल्याइएको रायोको साग, बन्दा, आलु अथवा चाउचाउ, चिकेन-सुप, कुरकुरेको रेडिमेड गोदाम भान्साभित्रको अर्को कुनामा देखिन्थ्यो । ‘सरहरू के खान्छ ?’ भन्दै भुजुङ त्यही गोदामभित्र छिरेपछि यो बिन्दुमा आएर तिबेतन रोटी खानुको स्वाद सम्झियौं ।

भुजुङ रोटी बेल्न थाले, सान मिगेल बियरको बोतलले । ‘यो बोतल ख्यालको होइन है सर,’ बोलीका रसिला भुजुङ भन्दै थिए, ‘यो उचाइमा सबैभन्दा महँगो पिउने चिजै यही हो । एक बोतल बियरको ५ सय ५० रुपैयाँ । बरु दालभात ५ सय २० मा आउँछ ।’ रमाइलै दृश्य देखियो, तिबेतन भुक्के रोटीमा बियर बोतलको बेल्ना !

कुनै सामाजिक सरसहयोग अथवा कतैबाट सहयोग नलिई यी तन्नेरीले तिलिचो हाइटमा रेस्टुराँ चलाउनु नसोचेको साहस थियो । हरेक बिहान झन्डै एक किलोमिटर परको सानो तलाउबाट ३५ लिटरे जर्किनमा पानी भरेर ल्याउनु, बेल्चाले दिनहुँ आँगनको हिउँ खुर्कनु, रात बस्न आउने पर्यटकलाई चित्तबुझ्दो गरी सिरक-डसना मिलाउनु, हिउँ जमेको आरीमा भाँडाबटुका माझ्नु …आदि । फेरि रातिराति आउने वन बिरालोले कुनै खानेकुरा चोरिदेला भन्ने त्रास पनि सधैंभरि मनैमा रहेकै हुन्थ्यो ।

‘हामीले पैसाका लागि मात्रै होइन, यो उचाइमा आइपुगेको एउटा यात्रुले तात्तातो चिया पिउन पायो भने कस्तो होला ? फेरि हामीले यो ठाउँको प्रचार गर्न र सेवा गर्न पनि हुटल खोलेका हौं,’ कालु बोले ।

यो दुःख र हैरानी बेहोर्नुका पछाडि पक्कै पनि कुनै गुह्य कारण हुनुपर्छ । सोधीखोजीमा थाहा भयो, यीमध्येका भुजुङ केही वर्षअघि मलेसिया पुगेका रहेछन्, लेबर भिसामा । दुई वर्षका लागि मलेसिया गएकोमा दुई महिना मात्रै यताबाट तोकिएको कम्पनीमा उनी बसेछन् । न यता भनेको तलब मिल्छ, न कामै चित्तबुझ्दो । यताबाट जाने बेलामा दिनको २८ रिङ्गटि दिने भनेकोमा उता १८ रिङ्गटि मात्रै पाएछन् । अनि भगौडा बनेर चार/पाँच कम्पनी र ठाउँ चहार्दाचहार्दै छ महिनाजति जेल बसेर उनी घर फिरेका रहेछन् । यता एजेन्टलाई ८० हजार रुपैयाँ बुझाउँदै साथमा आँखाभरि सपना लिएर बिदेसिएका भुजुङ त्यो ऋणको ब्याज-स्याज थाप्लोमा राख्दै र कचपल्टिएको सपना लिएर उनी मनाङ फिरेका रहेछन् ।

‘उताको जत्तिको दुःख गर्‍यो भने यतै हुन्छ भनेर हुटल थापेका हौं,’ विदेशमा पाएको दुःख र हैरानीले पाक्नु पाकेका भुजुङ भन्दै थिए । साथीभाइको दुर्दशा र सास्तीको सुस्केरा देखेर साथी कालु पनि ‘जस्तै आशा र सपनामा पनि विदेश नजाने’ अठोटमा पुगेका रहेछन् । बरु आफ्नै ठाउँमा दुःख वा सुखले लडीबडी गर्ने कुरोमा उनी दृढ सुनिन्थे ।

‘हाम्रो सरकारले यो तिलिचो आउने बाटो बनाउन सहयोग गर्नुपर्‍यो । हाम्रो तिलिचोलाई चिनाउन रुट खोल्नुपर्‍यो । तल मनाङ आउने पर्यटकमा २० प्रतिशत मात्रै यहाँसम्म आउँछ । यता होटल छैन, बाटो छैन । अनि किन आओस् त कोही ?’ मुस्किलले निमावि तहसम्म पढेका कालु गुरुङको भिजन स्पष्ट थियो । आफ्नो जिल्लाका नेताहरू देव गुरुङ अथवा पाल्तेन गुरुङ जसलाई भेटे पनि ‘तिलिचो चिनाउने हो भने बाटो र बिजुली चाहियो’ भन्ने अठोटमा पुगेका रहेछन् उनीहरू । तर यी ठूला नेताहरू तिलिचोतिर भेटिए त हो नि !

हिउँद र बर्खाका दुई सिजन गरेर मुस्किलले छ महिना होटल चलाउने धुनमा रहेछन्, कालु र भुजुङ । अरू बेला भने चौंरीपालन अथवा यार्चागुम्बा संकलनमा उनीहरू लाग्ने रहेछन् । यार्चाको कामबाट मात्रै वर्षको १ लाख रुपैयाँ जति थप आम्दानी हुने रहेछ । दुईमध्ये अविवाहित कालुकी प्रेमिका तल खाङसार गाउँमा रहछिन् भने भुजुङ विवाहित रहेछन् ।

यी तन्नेरीले सरकारले घोषणा गरेको पर्यटन वर्ष-२०११ का बारे पनि थोरबहुत सुनेका रहेछन् । ‘खोइ, खैरेहरू फ्री भिसामा नेपाल घुम्न आउँछन् रे भन्ने सुनिएको हो,’ भुजुङ भन्दै थिए, ‘तर अरू कुरा के-कसो हो, त्यत्ति पत्तो भएन ।’ तिलिचो आँगनमा भेटिएका यी तन्नेरीलाई न पर्यटन बोर्डबारे पत्तो रहेछ, न उनीहरूको छोटी-हुटलमा पर्यटन वर्षबारेका पर्चा-पम्प्लेट नै देखिन्थे । उनीहरूलाई पनि आफ्नो हुटलको क्यापासिटी बढाउने इच्छा रहेछ । अहिले ढुङ्गे भुइँमा १५/२० जनासम्म सुत्न पुग्ने क्षमता रहेछ । तर होटलसँग न कुनै ट्वाइलेट थियो, न खानेपानीको धारा । ‘नीलगिरि र तिलिचो हेर्दै पर डाँडामा गएर मलमूत्र त्याग्नुमा बेग्लै आनन्द छ नि,’ फेरि रसिक सुनिए कालु ।

स्थानीय गाविसको प्रारम्भिक अनुमतिमा रियल भ्यु तिलिचो रेस्टुराँ खोलिएको भए पनि आउने दिनमा तिर्नुपर्ने ट्याक्सबारे पनि कालु र भुजुङ अनभिज्ञ थिए । ‘अरूभन्दा पनि एक्याप (अन्नपूर्ण सर्किट) को नक्सामा हाम्रो होटल पनि देखाउने इच्छा छ, अब काठमाडौं गएर सरकारका मान्छेसँग भेट्नुपर्ला,’ उनीहरूको अर्को इच्छा थियो ।

उनीहरूको रेस्टुराँ पछाडि तिलिचो तालबारेको जानकारी बोर्ड देखिन्थ्यो जहाँ दक्षिण अमेरिकास्थित पेरु र बोलिभियाको बोर्डरमा पर्ने टिटिकाकालाई तिलिचोपछिको अग्लो स्थानको ताल भनेर चिनाइएको थियो ।

सामुद्रिक सतहबाट टिटिकाका तिलिचोभन्दा १ हजार १ सय ७ मिटर तल रहेछ । यस्तै २०६२ जेठ १८ मा तिलिचोलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्तावित गरिएकोमा अझै प्रक्रिया अनिर्णीत रहेछ । चार दशमलव आठ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको ४ किलोमिटर लम्बाइ र १ दशमलव २ किलोमिटर चौडाइको यो तालसामु दिनरात बसिरहने कालु र भुजुङलाई भने के-कस्तो अनुभव हुने रहेछ त, सोध्न मन लाग्यो ।

‘हाम्लाई त आनन्द लाग्छ । लाखौं खर्च गरेर मान्छे यहाँ आउँछ, हाम्रो त आँखामै छ तिलिचो । मलाई भने स्वर्ग लाग्छ है,’ जवाफी बने दुई तन्नेरी । उनीहरूको आग्रह पनि एकैसाथ थियो, ‘हाम्रो देशमा भनौं न, अझ हाम्रो जिल्लामै छ— विश्वमै चर्चित यो ताल । पैसा मात्रै सबै कुरा होइन, यो तिलिचो हेर्न पैसा खर्चेरै गए पनि अरू देशमा कहाँ पाइन्छ र ?’

साँझ, रात र बिहानीको गफगाफपछि थाहा लाग्यो— तिलिचो काखमा खुलेको यो हुटलमा आएर सुत्ने पहिलो नेपाली पर्यटक हामी नै रहेछौं । खुसी पनि लाग्यो । बिहानीपख नीलगिरि र तिलिचोको फोटो-सेसनपछि कालु र भुजुङको किचनमा कोलकाताको मिर्ची एफएम बजिरहेको थियो । हिउँले छोपेको बिहानीमा पर्तिरको देउरालीसम्म मिर्ची सुनिदै थियो— दुनिया जिसे कहेते है जादूका खेलौना…।

प्रकाशित मिति: २०६७ कार्तिक १४ ०८:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *