संरक्षण कविता आन्दोलन नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलन हो । कविहरूले कुनै ठाउँको प्रकृति, सुख दु:ख, मूल्य मान्यता आदि विम्वहरूलाई टिपेर कविता लेखे पछि त्यो कविताको प्रथम पाठक या श्रोता हुने अधिकार पनि त्यही ठाउँको मानिसमा नै रहन्छ भन्ने सोच बाट अभिप्रेरित भै नेपाल गाउँ नै गाउँले भरिएको मुलुक भएकोले कविता विम्वका थुंगाहरू गाउँमा नै गएर टिपिनु पर्छ र कविहरूले कविताका माला उनेर तदस्थानीय मानिसहरूलाई नै पहिर्याइ कविता यात्राको माध्यमबाट वालवालिका तथा जनमानसमा कविता र यसमा अन्तर्निहित वस्तुहरू प्रतिको अनुराग बढाउदै लानु पर्छ भन्ने राष्ट्रिय भावनाका साथ नेपाली वांमयका चम्किला नक्षत्र एवं कवि सरुभक्तद्वारा संरक्षण कविता आन्दोलनको सूत्रपात भएको हो।कविता यात्राका पाइलाहरू बढ्दै जाँदा आन्दोलनका प्रणेता सरुभक्तको संयोजकत्वमा २०५५ साल आश्विन २६ गते मुस्तांगको मुक्तिनाथ स्थित रानीपौवाभन्ने ठाउँमा पाँच सूत्रीय घोषणा पत्र जारी गरी स्थापना भएको यस संरक्षण कविता आन्दोलनले मधेश र पहाडका ग्रामीण क्षेत्र तथा चेपांग बस्तिहरूमा पुगेर कविता यात्राको बाउन्न वटा शृंखलाहरू पार गरेको छ । हालै यसको ५१ औ र ५२ औ शृंखलाका कार्यक्रमहरू तनहुँ जिल्लाका भिमाद र दगाम (खैरेनीटार गाविस वडा नम्बर १) मा सम्पन्न भएका छन् ।
२०६७ साल कार्तिक १३ गते शनिवार बिहान ५१औ शृंखलाको सन्दर्भमा कवि सरुभक्तको संयोजकत्वमा आन्दोलन कविहरू इन्द्रकुमार विकल्प, सरस्वती श्रेष्ठ सरु, सरिता तिवारी, सरस्वती प्रतिक्षा, नवराज अधिकारी, सुमन श्रापित, शरण आँसु, डि आर शर्मा, राजेन्द्र पहाडी , आरके अदिप्त गिरी, फडिन्द्र अकिन्चन र सुमनराज श्रेष्ठ भिमाद पुग्दा तनहुँ उद्योग बाणिज्य संघ, भिमाद इकाईका अध्यक्ष हस्त बहादुर खड्का र शुक्ला साहित्य सदनका सभापति आनन्द कृष्ण श्रेष्ठ लगायत साहित्य अनुरागी महनुभवहरूले स्वागत गर्नु भएको थियो । राजमार्गबाट नजिकै तर नेपथ्यमा रहेको सुनाखरी झैं सुन्दर भिमाद बजारको माया र विम्वहरूलाई टिपेर कविहरूले कविता लेखे , अनि आन्दोलन कवि सरिता तिवारीको संचालन र तनहुँ उद्योग बाणिज्य संघ, भिमाद इकाईका अध्यक्ष हस्त बहादुर खड्काको अध्यक्षतामा ५१औ शृंखलाको कविता वाचन कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा आन्दोलन कविहरूका साथ भिमादका ज्येष्ठ नागरिकहरू, विद्यार्थीहरू र कवि आनन्द कृष्ण श्रेष्ठ तथा मोहमद अलिले पनि रचना वाचन गर्नु भयो। भिमादको आँगनमा सरुभक्तका मर्मस्पर्सी कविता र मुक्तकहरू पोखिए, समारोहको समापन गर्दै अध्यक्षज्यूले भिमादेहरूको तर्फ बाट कविता आन्दोलन प्रति आभार प्रकट गर्नु भयो अनि कविहरू भिमादको मायालाई खोकिलामा राखेर बेलुकी गाछेपानी स्थित कवयित्री सरस्वती प्रतिक्षाको माइतीघर आएर बसे।
भोलि पल्ट अर्थात् कार्तिक १४ गते सबेरै एक हूल कविहरू दगामतिरको उकालो चढ्न थाले। तरेली परेका धानका फाँट, दारे ढुंगाहरू, गुरास, कटुस र गुयेलिको कालो वन, जुगा, खरबारी, चिसो पानीका धारा, टुप्पाबाट पृथ्वी राजमार्गलाई हेरेका डाडाहरू, कुहिरो र बुकी फूल आदि विम्वहरूको रस माधुर्य पान गर्दै चार घन्टाको उकालो चढेर दगाम पुगेपछि कवितै कविताको गाउँका ससाना नानीहरूले स्वागत द्वारमा कविहरूलाई फूलको माला लगाएर संरक्षण कविता आन्दोलनको स्वागत गरे। त्यस पछि स्थानथोक प्राथमिक विद्यालयका प्रधानाध्यापक महेशराज पौडेल, अध्यक्ष र शिक्षक नन्द थापा तथा सृजनशील आमा समुहको स्वागत ग्रहण गर्दै कविहरूले कविता लेखे । दगाम हिमालैहिमालको पोल्टामाथियो, दिन धुम्म परेकोले हिमालहरू खुलेका थिएनन् तथापि दगाम साच्चिको ‘द गाम ‘ थियो, बिचित्र मनोहर स्वर्ग थियो, उत्तर तिर मात्र होइन, पूर्वापस्चिमका सबै क्षितिजहरू र दक्षिण तिर समेत हिमालै देखिन्थ्यो। यस्तो अपार दृश्य देखेर कविहरू मक्ख थिए। दगाम्लेहरूले अत्यन्त सत्कारका साथ कविहरूलाई भोजन गराए , चिसोमा एकल सरो लुगामा कामेका साना नानीहरूलाई देखेर कविहरूको राष्ट्रियता अलिकति ऊनमा रोयो र स्थानथोक प्रावि को प्रांगणमा सरिता तिवारीको उद्घोषण तथा विद्यालय संचालक समितिका अध्यक्ष ज्यूको अध्यक्षतामा संरक्षण कविता आन्दोलनको ५२ औ शृंखलाको कविता वाचन कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा प्रध्नाध्यापकज्यूले स्वागत मन्तब्य व्यक्त गर्नु भयो। कवि सरुभक्तले नानीहरूलाई माया गरेर लेखिएको कविता सुनाउनु भो र संरक्षण कविता आन्दोलनको उद्देस्य माथि प्रकाश पार्दै गाउँका मुक्तकहरू गाउँलेकै लागि भनेर सुनाउनु भो अनि अध्यक्षज्यूले पनि कार्यक्रमको समापन गर्दै दगाम्लाई देखेर लेखिएका कविताहरू पहिले वहाँहरूले नै सुन्न पाउनु पर्ने विचार व्यक्त गर्नु भो।
दगाम छाडेर कविहरू चार घन्टाको ओरालो झर्दै रात छिप्पिई सके पछि सरस्वतीकी बरद पुत्री कवयित्री सरस्वती प्रतिक्षाको माइतीघर आइपुगे। त्यो सबै कविहरूको माइतीघर थियो ।



