समाचार सुन्दा / हेर्दा
यसपाली फूलको ब्यापारले
धेरै आम्दानी भएको
फूल–ब्यबसायीले बताउँदै थियो ।
फूल चाहिँ
बाध्यताको धागोमा उनिएर
एक पछि अर्को
लाइनका लाइन लागेर
माला बनेर
कसैको गलामा सजिनु पर्दोरहेछ ।
चटक्क टिपेर धागोमा उन्दा
फूल, माला बन्दोरहेछ
मन्दिरमा सर्र फ्याकी दिँदा
देउतालाई चढाएको हुन्छ
महापुरुषको पाउ अगाडि छरिदिँदा
स्वागत हुन्छ ।
शहरमा फूल
पैसामा बिक्दोरहेछ
कत्ति गमलामा
कत्ति बार्दलीमा
कत्ति मूल गेटमा
पिल्पिलाउँदा आँखा लिएर
सुन्दरताको खुशीयाली छर्दै
लोभी आँखाहरुलाई
पापी मनहरुलाई
चित्त बुझाउनु पर्ने
ब्यापारको लागि ।
आकास जति सुन्दर हुन्छ
नीलो नीलो बन्छ
रात छिप्पिदै छिप्पिदै जाँदा
शीतै शीत झर्छ
अनि
फूलको शरीर
लछयाप्रै भिजाउँछ ।
फूल,
यतै फूल उतै फूल
विज्ञापनमा फूलको रङ छ
गीत र गजलमा
फूलकै बयान छ
फिल्ममा
फूलको रङ्गीन दृष्य छ
रेष्टुराँ र बारमा
फूलकै सुगन्ध र रस छ ।
कुकुरको गलामा पनि
माला बनेर
तिहार सजाउनु परेकोछ ।
मनको धागोले
फूललाई कहाँ कहाँ उनेर
गलाको माला बनाएको रहेछ !
अझै फेरि,
प्लाष्टीकका कृत्रिमताले पनि
फूलको अस्त्तित्वलाई
संकटमा पार्दैछ ।
समाचार सुन्दा / हेर्दा
यसपाली फूलको ब्यापारले
धेरै आम्दानी भएको
फूल–ब्यबसायीले बताउँदै थियो ।
