म सगरमाथाको नागरिक
मसित एउटा देश छ
देशलाई भाला रोप्ने हिंस्रक मान्छे छन्
मुटु कलेजो निकालेर खाने अघोरी छन्
सतीको श्राप परेको भन्दै
लुटेर खाने चम्बल घाँटीका डाका छन्
बुद्धको गेहरु वस्त्र लगाएर
वस्त्रबाट दाह्रा निकाल्ने ड्राकुला छन्
ती शान्तिका मसान हुन्
उन्नतिका समाधी हुन्
यिनीहरूको आत्मामा होङ्ग्रायो छ
दिमागमा गिद्ध
निधारमा खरानी धसेर
दुनियाँलाई छकाउने
ढोँगी चमत्कार छ
जब सम्म यिनीहरूको हातमा
देशको डाँढुपन्यौ हुन्छ
देशलाई रोष्ट गर्दै विविक्यू खान्छन्
यो देशको जनतासित गान्धारी आँखा छ
धृतराष्ट्र महाराजा
शकुनी सल्लाहकार
म शून्य रेखाबाट भगतसिंह उमार्छु
मानवमांसको लुछाचुँडी गर्ने भवनमा
मानव बम प्रहार गर्दछु
मलाई मेरो सगरमाथाको श्रीपेच बचाउने अधिकार छ
मलाई सगरमाथाको श्रीपेच लगाउने अधिकार छ
किनभने म सगरमाथाको नागरिक हुँ ।
नोटः भगतसिंह ८ अप्रिल १९२९ मा भरतको संसद भवनमा बम प्रहार गरेवापत १९३१ मा मृत्यु दण्ड पाएर सहिद भएका भारत स्वतन्त्रताका नेता ।
