Skip to content

आरोग्यका देवता धन्वन्तरि

  • by


कात्तिक कृष्णपक्ष त्रयोदशीको दिनलाई आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्तीको रूपमा मनाउने प्रचलन छ । यस दिन आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्बन्धित अन्य सङ्घसंस्था अस्पताल, चिकित्सालयमा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आफ्नो र आफ्ना सबै रोगी र अन्य व्यक्तिको दीर्घायु सुस्वास्थ्यको कामना गरिन्छ ।

धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाइन्छ । वास्तवमा विश्वमा नै यही दिनलाई आरोग्य दिवस मान्नुपर्छ किनकि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अधिकांश देशमा यस दिनलाई धनतेरसको रूपमा मनाउने चलन पनि छ । जुन धन्वन्तरि तेरसको अपभ्रंश शब्द हो । यस दिन घर घरमा सरसफाई गरी नयाँ भाडा किन्ने प्रचलन पनि कतै कतै भेटिन्छ ।

धन्वन्तरि उत्पत्तिको बारेमा विभिन्न मत छन् । आयुर्वेदको प्रथम प्रचारक र प्रसारक धन्वन्तरि निर्विवाद रूपले यसको प्रवर्तक रूपमा प्रतिष्ठित पनि छन् । ऐतिहासिक तथ्यहरूमा दृष्टिगत गर्दा धन्वन्तरि विषयक प्राप्त जानकारीका अनुसार धन्वन्तरि नामको सर्वप्रथम उल्लेख पौराणिककालमा समुद्र मन्थनको बेला अमृत कलशधारण गरेको देवताको रूपमा प्राप्त हुन्छ । हातमा अमृत कलशधारण गरेको कारण उनलाई यी पियूषपाणि धन्वन्तरि पनि भनिन्छ । यसको अतिरिक्त प्राचीन ग्रन्थबाट प्राप्त विवरणको अनुसार काशीको राजाहरूको वंश परम्परामा राजा दीर्घतपा अथवा राजा धन्वको पुत्रका रूपमा पनि धन्वन्तरि सिद्ध हुन्छन् ।

विभिन्न पुराण अर्थात् भागवतपुराण, हरिवंशपुराण आदिमा एवं ब्रहृमाण्डपुराणमा वर्णन गरिएका कथा र प्राचीन ग्रन्थमा उल्लेख भएर अनुसार चर्चित चिकित्सा विशेषज्ञहरूमा धन्वन्तरि काशिराज, दिवोदास, अश्विनीकुमार, नकुल र सहदेव आदिको नाम आउँछ । यसमा प्रथम तीनको अत्यधिक चर्चा पाइन्छ । पुराणहरूका अनुसार काशीराज धन्व पुत्र प्राप्तिका लागि दीर्घकालीन तप गरेकाले उनलाई दीर्घ तपा भनियो । आफ्नो दीर्घकालीन तपस्याको परिणामस्वरूप दीर्घतपाले समस्त रोगहरूको नाश गर्ने देव धन्वन्तरिलाई पुत्र रूपमा प्राप्त गरेकाले उनलाई दीर्घतपाको पुत्र धन्वन्तरि भनिएको हो । उनलाई नै आयुर्वेदका प्रवर्तक, यज्ञभागको अधिकारी एवं विष्णुको अवतार पनि भनिन्छ । धन्वन्तरिलाई अनिमा महिमासहित आठवटै सिद्धि प्राप्त थियो भन्ने भनाइ छ । साथै उनको मात्रले पनि रोग नाश हुन्छ भन्ने मान्यता छ दिवोदास धन्वन्तरि भीम रथको पुत्र र महाराज दशरथका समकालीन थिए । उनको पुत्रलाई प्रतर्द्धन भनिन्छ । त्यस्तै मर्यादा पुरूषोत्तम श्री रामको राज्याभिषेकका बेला उपस्थित राजाहरूमा काशीराज प्रतर्द्धनको रूपमा पनि पाइन्छ ।

दिवोदासले नै विश्वमित्र पुत्र सुश्रुतसहित आठ शिष्यलाई उपदेशित गर्दै भनेका थिए म नै आदिदेव धन्वन्तरि हुँ र समुद्रमन्थनका बेला आविर्भूत धन्वन्तरि पनि म नै हुँ । देवासुर सङ्ग्रामको कारण भूमण्डलमा आयुर्वेदको प्रचार प्रचार गर्न नसक्नुको कारण नै मलाई फेरि अवतरित हुनुपर्‍यो ।

महषिर् सुश्रुतले आफ्नो ग्रन्थ सुश्रुतसंहितामा यस तथ्यलाई अभिव्यजित गर्दै लेखेका छन् –

अयं हि धन्वन्तरिरादिदेवों
जन्मजरामृत्युहरोमराणाम् ।
शल्याङ्गमङ्गे परेरूपेतः प्राप्तो
हिमङ्गा भूय इहोपदिपटुम ।।

अर्थात् देवहरूको जन्म, जरा र मृत्युको नाश गर्ने, देवहरूलाई अमरत्व प्रदान गर्ने म नै आदि देव धन्वन्तरि हुँ । म शल्य तन्त्रप्रधान आयुर्वेदको उपदेश दिनका लागि पुनः यस पृथ्वीमा आएको छु ।

विभिन्न ग्रन्थ, पुराण तथा संहिताबाट प्राप्त विवरण अनुसार यो सिद्ध हुन्छ कि समुद्रमन्थनका बेला भगवान् धन्वन्तरिको आविर्भाव भगवान् विष्णुको अंशका रूपमा भएको थियो तथा वहाँ आफ्नो हातमा श्वेतकलश धारण गरेर अवतरित भएका थिए । आग्नेयपुराणमा समुद्रमन्थनमा अवतरित भगवान् धन्वन्तरिलाई आयुर्वेदको प्रवर्तकका रूपमा उल्लेख गरिएको छ । मिलिन्द प्रश्न नामक एउटा पालि ग्रन्थमा दोस्रो शताब्दी इ. पूर्वमा मिलिन्दको प्रति नागसेनको उक्तिमा चिकित्साक्षेत्रका पूर्वका आचार्यबाट प्रारम्भ गरेर गणना गरिएका आचार्यहरूमा धन्वन्तरिको नाम उल्लेख छ । रोगोत्पत्ति, निदान, स्वभाव, समुत्थान तथा चिकित्सा आदिमा आचार्यको रूपमा चर्चा पाएका नागसेनले आफूभन्दा पूर्व नै आचार्य धन्वन्तरिको नाम उल्लेख गर्नाले धन्वन्तरिको सार्वभौमिकता सिद्ध हुन्छ । चिकित्साविज्ञानका जनक र आयुर्वेदका प्रवर्तकका रूपमा धन्वन्तरिले औषधिविज्ञानलाई स्पष्ट र नवीन दिशा प्रदान गरेका छन् ।

कार्तिक २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *