मन रोगी भएपछि तन रोगी हुन्छ
तन रोगी भएपछि धन रोगी हुन्छ
किन मन दुख्छ मेरो आफैं जानी जानी
अनायासै झर्छ अनि आँखाबाट पानी ।
आफैंबाट घात हुन्छ विस्वासमा धोका
कुमल्याउछ अनि हजुर हुँदा खेरी पोका
विपदमा सहयोग गर्न गर्छन आना कानी
अनायासै झर्छ अनि आँखाबाट पानी ।
आफैं हुन्छन पर पर थालिएपछि रोगले
अनि जिउ गल्छ हजुर अनेक थरी शोकले
रुप गयो बैंस गयो गयो आतको पानी
अनायासै झर्छ अनि आँखाबाट पानी ।
रंग गयो मुहारको होस पनि गयो
गोढा गले अनि हजुर आँगन प्रदेश भयो
नांगै आयो यो धर्तीमा छैन केही लानी
अनायासै झर्छ अनि आँखाबाट पानी ।
छोरो लगी बुहारीले ज्वाँइले छोरी लागे
घरमा भाको अन्न पनि सबै बाँडिसके
बसेका छौ बूढा बुढी मैतालु झै मानी
अनायासै झर्छ अनि आँखाबाट पानी ।
केही गर्न सकिएन दिएन ज्ञान कोहीले
पुर्पुरोमा हात लगाई बसेको छु अहिले
अहिले जस्तो भाको भए केही गर्थे तानी
अनायासै झर्छ अनि आँखाबाट पानी ।
हुर्काई बढाई पठाएर ठुलो ज्ञानी पारे
छोडी गए सबै मलाइ अनि आँशु झरे
बाबु भन्न लाज लाग्छ रे न भन्नु रे नानी
अनायासै झर्छ अनि आँखाबाट पानी ।
तीर्थ “यात्री” पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन
२०६७/७/२७
