Skip to content
PunyaKarki


मेरो एकजना साथी छन् । मसँग भेट भएपछि उनी, कसैको न कसैको कुरा काट्न थालीहाल्छन् । कुरा काट्ने उन्को अनौठो बानी छ । मसँग हुँदा उनी अरुको कुरा काट्छन्, अरुसँग हुँदा उनी मेरो कुरा काट्छन् भन्ने कुरामा म विस्वस्त छु । अचेलभरि म ऊसँग वढी सतर्क रहने गर्छु । कारण अरुको निन्दाभाव सुनेर समय वर्वाद पार्नुछैन । त्यसैले उनीसँग म जोगिई जोगिई हिँड्छु ।

कसैले मसँग जाति हुन, मेरो सामु अरुको कुरा मच्ची मच्ची काटिरहेको वेला मलाई झस्का पस्छ, यसले अरुको कुरा यसरी काट्ता मेरो कन्नापछाडि मेरै कुरा कति काट्तो हो । त्यसैलै उसले मसँग अरुको कुरा काटिरहेको वेला आज भोलि यस्तो लाग्न थालेको छ–यसले त मेरै पो कुरा काटिरहेको छ । यस्तो आभास पाउन थालेपछि निन्दारसप्रति वितृष्णा र घृणा उब्जिन थालेको छ । चारजना वसेको ठाउँमा जब अरुको कुरा काट्न थालिन्छ, निन्दा बखान्न थालिन्छ म कुनै नकुनै वाहना गरेर उठेर हिँडी दिन्छु । यी कानहरूले निन्दा सुन्नु नपरोस् भनेर हिँडे पछि मेरै पो धुवाँदार कुरा काटिँदो रहेछ । कति अचम्मको मनोविज्ञानमा अडिएकोछ निन्दारस ।

रसशास्त्रीहरूले त्यत्रो नवरसको वारेमा व्याख्या विवेचना गरे । तर निन्दारस जस्तो जन जनको आत्मामा भिजेको रसको चर्चै गर्न भुले । निन्दारस जस्तो महत्वपूर्ण रसलाई दसौं रसको रुपमा अंगिकार गर्न छुटाए । बरु कुनै कुनै रसशास्त्रीले वात्सल्य र भक्ति रसलाई दसौं एघारौं रसको रुपमा अवलम्वन गर्न आवाज उठाए तर निन्दारसलाई कसैले सम्झेनन् । मलाई लाग्छ सबै रसलाई माथ गर्ने, सबै भन्दा सक्तिशाली र भयंकर रस निन्दारसै हो ।

निन्दारस अंगिकार गर्न कुनै काव्यशास्त्रको पोथा पढीरहनु पर्दैन । विभाव, अनुभाव र संचारीभावको सूत्र कण्ठ गरिरहनु पर्दैन । साक्षरदेखि निरक्षरसम्म, राजादेखि रङ्कसम्म, पठितदेखि अपठितसम्म सबैलाई उत्तिकै उस्तै रुपमा गाँजिआएको रस हो निन्दारस । यो शृङ्गार रस भन्दा सुन्दर र स्वादिलो छ । वीर रस भन्दा वहादुर र वलियो छ । करुण रस भन्दा उद्रेक करुणामयी छ, अदभुत रस भन्दा विस्मयकारी छ । रौद्र रस भन्दा पनि वढी क्रोधाग्निका फिलिङ्गा बोकेको छ यसले । हाँस्य रस भन्दा हास उठ्ने, बीभत्स रस भन्दा जुगुप्सापूर्ण, भयानक रस भन्दा डरलाग्दो र शान्त रस भन्दा परम निर्वेद आनन्दको रसभाव बोकेको रस निन्दारसै हो ।

निन्दारसको तागतलाई मैले विभिन्न समयसन्दर्भ र घटनाक्रममा सूक्ष्मरुपले अनुभूत गर्न पाएको छु । एकचोटि गाँउमा हामी एउटा मधौरु रुङ्गिरहेका थियौं । उनी तीन महिनादेखि थलिएर मृत्युशैयामा अन्तिम धुक्धुकी गनिरहेका थिए । छरछिमेकीहरू रातैपिच्छे पालैपालो रुङ्गिरहेका थिए । उनको अगाडि आइरहेको निकट मृत्युलाई पर्खिनु सिवाए कुनै विकल्प थिएन । शरीरमा हाडछाला मात्र बाँकी थियो । कुन तन्तुमा कुन अन्तर्शक्तिले एक मुठ्ठी प्राण अड्किएर रहेको हो, अनुमान गर्न गारो थियो । कृष्णपक्षको कालो रातमा डिबीको उज्यालो चम्किरहेको थियो । मधौरु रुङ्नेहरू झुण्डझण्ड भएर तास खेली रहेका थिए । तास खेल्न नजान्ने एक झुण्ड विरामीको नजिकै वसेर कसैको कुरा काट्न थाले । त्यो कुरा मधौरुको कानमा ठोकिएपछि मृत्युसैऽयाको विरामी जुरुक्क टाउको उठाएर – “ ए ! त्यो फलाने ……. फलाने त यस्तो हो…..” प्रतिक्रिया जनायो ।

दूध पियाउँदा मुन्टो थिग्राएर पियाउनुपर्ने अवस्थाको मधौरु निन्दारस जागेपछि जुरुक्क टाउको उठाउन सक्ने हुनु, टाठो वोली निकालेर निन्दा रसमा समेल हुनु मेरो निम्ति कम्ति विस्मयकारी दृश्य थिएन । निन्दारसको शक्तिलाई अांकलन गर्दा यसले मरेको मुर्दामा पनि प्राणरस सञ्चार गर्न सक्छ कि जस्तो लाग्छ ।

हाम्रा पूर्वजहरूले निर्माण गरेको एउटा उखान छ – मानो खानु आफ्नो कुरा काट्नु अरुको । यसबाट स्पस्ट हुन्छ, कुरा काट्ने संस्कृतिको सुरुवात आदिम कालदेखि नै भए जस्तो छ । हाम्रा च्याप्जुहरूलेनै आफ्नो दानापनी खाएर अरुको कुराकानी गर्न सिकाएकाले त्यो विरासत वोकिरहेका छौं ।

निन्दारस पाचनप्रणालीको पाचनरस जत्तिकै महत्वपूर्ण र कामयावी देखिन्छ हाम्रो समाजमा । अर्काको नाटीकुटी नगरी खाएकै पच्तैन । अरुको निन्दाभत्सर्ना नगरी डकारै आउदैन । अरुको चियोचर्चो नगरी निद्रै आउँदैन । मान्छे एक्ले हुँदा, एकलविचार प्रवाहमा दौडिँदा पनि अरुकै कुरावाट घोचिई रहेको हुन्छ । स्वचिन्तन भन्दा पर चिन्तनको तावामा डामिई रहेको हुन्छ । प्रत्येक पल उसको अन्तरबाट छुट्ने सोचाई र विचारका तरङ्गहरू अरु अरुसँगै केन्द्रित हुन्छन् । एक्लै हुँदापनि आफ्ने मश्त्तिष्कमा निन्दाभावको झंझावात उठिरहेको हुन्छ । आफ्नो मनको प्रत्यंचाबाट विचारवाणहरू अरुको मुटु ताक्न हर्दम अग्रसर हुन्छन् । जब दुई जना व्यक्तिको संयोग हुन्छ, मन भित्रको निन्दाभावले वाणी पाउँछ । यो भाषामा अनावृत्त हुन्छ । दुईपछि तीन, तीनपछि चार, चारपछि पाँच हुँदै जाँदा यसको वर्तुल घेरा गुणात्मक रुपमा वृद्घि हुदै जान्छ । त्यसैले घरआँगन, कोठाचोटा, अफिस, चिया दोकान वाटोघाटो, पाँनीपधेरो, मेलापात, सभागोष्ठी, कचहरी, वैठक, कार्यक्रम जहाँतहीँ म निन्दारसमा मान्छे पौडिरहेको देख्छु । यी सवै सवै ठाउँमा हामी सिर्जनात्मक सोचाइ र कामकुरा भन्दा अरुको ध्वंसकारी निन्दामा जुटिरहेका हुन्छौ । सिर्जनात्मक समालोचनात्मक निन्दा भन्दापनि परपीडनकारी निन्दामा रमाइरहेका हुन्छौं । मानौं हामी अर्काको निन्दा गर्न जन्मेका हौं, अरुलाई सराप्न धर्तीमा आएका हौं । निन्दाका दुईटा आयाम् छन्, सार्थक र निरर्थक । हामी सार्थक निन्दा भन्दा निरर्थक निन्दा बाट निर्देशित हुँदैगएका छौं ।

आजभोलि पत्रिकामा निन्दा छ, रेडियो टेलिभिजमा निन्दा छ, भाषणमा निन्दा छ, विज्ञप्तीमा छ, पाठ्यपुस्त्तकमा निन्दा छ, लेखरचना र कलामा निन्दा छ । निन्दा वेगरको चिजै पाउन मुस्किल छ । समाजका सवै वर्ग र अंगहरू निन्दारसमा डुव्दै गएकोले शनै ः शनै ः समाज निन्दाप्रेमी वन्दै गएको छ । निन्दासंस्कृति एउटा मजवुत संस्कृतिको रुपमा पालित पोषित हुँदै गएको छ । प्राकृतिक सम्पदामा यति धनी हामी, आन्तरिक सम्पदामा यति वैभवशाली हामी र पनि समृद्घिमा पुग्न किन ढिलाइ भो ? हामी किन पछि पर्यौं ? यस विषयमा घोत्लिँदा यसको मूलकारण कतै हमी निन्दारस र निन्दासंस्कृतिमा चुर्लुम डुवेकाले पछाडि परेका हौं कि मलाई शंका लाग्न थालेको छ । आफूले कदम वढाउने वेलामा अरुका खुट्टा तान्ने खेलमा लिप्त भयौं । आफूले उत्कर्षका उकाली उक्लिनु पर्ने वेलामा शिखर चढेको मान्छेलाई हेरेर फेदीमा वसेर ईर्ष्यासंस्कृतिमा हुरहुरी जल्न थाल्याौं । निन्दा गर्नै पर्ने विषयको निन्दा गरेनौं, निन्दा लख्नै पर्ने विषयको निन्दा लेखेनौं, निन्दा वोल्नै पर्ने विषयको निन्दा वोलेनौं जुन, विषय र घटनाको निन्दा आवस्यक छैन । जुन व्यक्तिको निन्दा जरुरी छैन । त्यसलाई खोजीखोजी निन्दा गर्यौं । जसले हाम्रो समय, श्रम र शक्तिलाई अनावश्यक व्यय गरिदियो ।

आज जुन कुरामा सरोकार राख्नुपर्ने हो, त्यसप्रति मान्छे उदासिन छ । समाजको जुन विषय र समस्याप्रति चासो राखेर निरुपणको लागि सक्रिय वन्नु पर्ने हो, त्यसमा तटस्थ बनेर तर्किरहेछ । मात्र दर्शक बनेर दृश्यावलोकन गरिरहछ । उसको भूमिका समाजको अग्रगतिमा सार्थक सक्रिय भन्दा निरर्थक निष्क्रिय र तमासेको रुपमा अंकित भइरहेकोछ । वेचासो र वेसरोकारको विषयमा रोजीरोजी, खोजीखोजी कुरा काटिहिँड्न आतुर छ आजको मान्छे ।

स्थानको हिसाबले हेर्दा जहाँतहाँ निन्दा छ । जो कोही निन्दामा निन्दामा डुवेका छन् । जहिले तहिले निन्दारत भावदशामा डुविरहेका छन् । यसले गर्दा अहिले जन्मेका चिचिला नानीहरू सानै देखि निन्दा सिक्न थालेका छन् । भत्र्सना जान्न थालेका छन् । नानीहरूका वालकृडालाई गौर गरी हेर्छु । उनीहरू खेल्दा गरेका कुराकानीलाई कतै छेलिएर कान दिन्छु । उनिहरू पनि अर्काकै कुरा काटिरहेका हुन्छन् । कति चाँडो निन्दाप्रवीण भएछन्, आश्चर्य लाग्छ । वच्चाको कोरा दिमागमा कति चाडो निन्दा संस्कृति कोचिसकेछ ताज्जुव लाग्छ ।

निन्दारसले कति ठूलो सिर्जनशक्ति र समयलाई दुरुपयोग गरिरहेको छ, तथ्यांकमा त्यसको आंकलन निकाल्न गारो छ । ए बाबा अरुको अशल गुण र राम्रा पक्षको सराहना गर्न सक्तैनौं भने पनि फलानो खराबै हो भनेर प्रमाणित गर्न किन न्वारानदेखिको वल झिक्छौं ? तिमी राम्रो भन्न सक्तैनौ भने कम्त्तिमा नराम्रो त नभन, चुप लागेर तटस्थभावले त बसिदेऊ ।

निन्दा गर्ने स्वभावका मेरा हितैषी देखि पनि आजभोलि मलाई औधी डर लाग्न थालेको छ । अरुलाई ठुङ्ने साँपले एकदिन मलाई पनि ठुङ्छ, अरुलाई टोक्ने कुकुरले एकदिन मलाई पनि नटोकी छाड्दैन । निन्दावृक्ष ईर्ष्याको मलजलमा हुर्किंदो रहेछ ।

आफ्नो घाउलाई ओखती गरेर निको पार्न भन्दा अरुलाई पनि घाउ आएको हेर्न, घाउ छैन भने पनि घाउ पार्न वढी आनन्द मान्छ ईर्ष्यालु मान्छे । ईर्ष्या र निन्दा एउटै सिकाका दुई पाटा हुन । यिनीहरू एकअर्काको अस्तित्वमा जीवित छन् । आफ्नो मनको उचाई भुलेर अर्काको घरको उचाईले मान्छेलाई अत्याधिक दुःखी तुल्याँउछ ।

मनको गहन तलमा अडिएको, टाँसिएको ईर्ष्यावृक्ष नउखेली निन्दाभावबाट मुक्तहुन गारो छ । ईर्ष्या स्वयंम्मा कति आत्माघाती छ भन्ने कुरा मैले कतै पढेको एउटा घटना बाट स्पस्ट हुन्छ ।

एउटा बुढो किसान कतै एकान्तमा झोक्राइरहेको थियो । बर्षातपछिको ठूलो भलवाढीले पुर्याएको क्षेतिले ऊ चिन्तित थियो । उदासउदास भएर नदी किनारमा ऊ टोलाईरहेको वेला एक छिमेकीले ठूलो ठूलो स्वरमा सुनायो –“ए सुरज! तेरा सबै सुँगुर बाढीले वगाइसक्यो । सुँगुरकै खोरमा बाढी पसिसक्यो त ।”

बुढाले सोध्यो –“हरियाका सुँगुर के भए नि ?”

छिमेकीले भन्यो –“ती पनि सबै बगे ।”

फेरि बुढाले सोध्यो–“अनि लल्लूको ?”

छिमेकीले पुन जवाफ दियो –“अँ ती पनि सवै बगे ।”

बुढो जोशिलो भएर खुशीसाथ वोल्यो –“त्यसो भा ठिक छ । सवैको लगेको हो भने हालत त्यति खराव हुँदैन, जति मैले सोचेको थिएँ ।

प्रत्येक व्यक्ति दुःखमा हुँदा हामीलाई आनन्द लाग्छ, खुसी लाग्छ । आफूलाई छोडेर अरुलाई हानी भैरहँदा कुरा ठिकठिकै लाग्छ । अरु सफल बने भने अरुलाई फाइदैफाइदा मिल्यो भने मन अमिलो बन्छ, चित्त कुँढिन्छ । ईर्ष्या, द्वेष र मात्सर्यको यस्तो विषाक्त संस्कृति रौं-रौंमा गाडिएकोले सकारभित्र पनि नकार मात्र देख्छांै, अरुको खुशीमा आफू वेखुशी हुन्छौं । अरुको आनन्दमा आफ्नो पींडा सुम्सुम्याउँछौ । आफू आफ्नो कारणले भन्दा अरुको कारणले वढी दुःखी वन्छौ ।

सुरज नामको बुढो किसान आफ्ना सँगुर वगाउँदा दुःखी हुनु भन्दा पनि हरिया र लल्लूको वगाउँदा आनन्दित हुन्छ । ईर्ष्याको मनोविज्ञान कति विचित्रको हुन्छ । यही ईर्ष्याको जगमा पलाउने गर्छ निन्दाप्रेम । निन्दाप्रेम र निन्दारसले नै उत्प्रेरित गर्छ–हर्दम अरुको कुरा काट्न । म पनि अहिले निन्दारसको प्रतापले लेखिरहेको छु । निन्दारसमा बगेर वोलीबाट अरुको कुरा नकाटे पनि अक्षरबाट अरुको कुरा काटिरहेको छु । वेदव्यासले उन्नाईसौं पुराणका रुपमा निन्दापुराण रचिदिएको भए सायद मैले अक्षर खर्च गरीराख्नु पर्दैनथ्यो होला ।

कुनै दार्शनिकले भनेको सुनेको छु, जसको जति वढी निन्दा गरिन्छ । त्यस व्यक्तिले त्यतिनै वढी शक्ति प्राप्त गर्दछ । त्यसैले अरुको हर्दम कुरा काटेर उसलाई शक्तिशली बनाउने पक्षमा म छुइन । आउनुस् अरुलाई आफ्नो ऊर्जा खर्च गरेर शक्तिशाली नवनाउने हो भने निन्दारस बाट बँच्ने गरौं । अरुको कुरा काट्न बाट जोगिएर आफ्नै कुरा काट्ने, आफ्नै दुर्गुण कुराको भत्र्सना गर्ने महान् काममा अघि वढौं ।

जय स्वनिन्दा ।

पुन्य कार्की
उदयपुर

3 thoughts on “निन्दारस”

  1. पुण्य सर लेख सारै घतलाग्दो छ
    पुण्य सर लेख सारै घतलाग्दो छ !! निन्दरसको चिरफार गर्न सफल भएको छ हजुरको लेख !! लेखले तपाइको बिषय बस्तु प्रतिको बुझाई कुन हद सम्मको परिस्कृत छ भन्ने प्रस्ट दर्साएको छ |म एउटा २३ बर्से फुच्चे ले तपाइको लेखमा समीक्षक बन्ने अभिलाषा बोकेर प्रतिक्रिया दर्साएको किमार्थ नभई एउटा पाठकको दाइत्व बहन गर्ने प्रयत्न मात्रै गरेको हुँ!!
    तपाइको लेखले निन्दरस्का अवलम्बन कर्ता हरुलाई एउटा झस्का मिलोस !! कुरा काटेर बित्ने तिनको (तिनमा म पनि हुन सक्छु ) समय एउटा उत्पादनमुलक कार्यमा खर्च होस् !!
    परिस्कृत त छ नै लेख,अझै निखारता आओस !! अन्य लेख पनि पढ्न पाइयोस !! सफलताको सुभकामना !!wish u all the best!!

  2. राम्रा कुरा सधैँ राम्रा
    राम्रा कुरा सधैँ राम्रा

    केबीएसजी अनुवादकथा पढ्न पाउँदा मन फुरूङ्ग भा छ
    यसलाई विद्यार्थीकालमा यत्ती पढियो कि भनिसाध्य छैन अहिले नेपालीमा पढ्दा भिन्दै किसिमको आनन्दानुभूति भइरहेछ
    यस्ता अनुवादले मझेरीको गरिमा उच्च राख्छ
    दिपेन्द्रजीका कुरामा सहमत नहुने कुरै आउँदैन
    मझेरीमा डेढ दर्जन जति उहाँका निबन्ध पुगिसकेका छन्
    आशा गरौँ मझेरीका भित्तामा पढ्न पाइन्छ

  3. रोचक लेख प्रस्तुत गर्नुभो
    रोचक लेख प्रस्तुत गर्नुभो पुन्य कार्कीजीले । भैरब अर्यालको झल्को आयो । भैरब अर्यालबाट प्रभावित नहुने को नै होला र!

    निन्दारस साँच्चै नै मानव प्रकृति (अँझ, हाम्रो संस्कृति)को अभिन्न अंग हो, यसमा दुई मत नहोला ।
    निन्दारस यस्तो उस्तो भन्नेमा अनेक बिचारहरू होलान्, मेरो बिचारमा त निन्दारसलाई कमभन्दा कम समय दिएर, त्यस समयमा बरू कुनै रचनात्मक काम गर्न सकियो भने बेस हुने थियो ।
    अरू मान्छेको आचरणलाई व्यंग्य लेखनको सुलीमा चढाएर लेखक आफैंले निन्दारसपान गरेका छन्, भनेर प्रतिकृया दिउँला भन्ने सोचेको थिएँ, लेखको अन्त्यतिर लेखक आफैंले यो कुरा स्वीकार गरेका छन् । परिणामस्वरुप, मबाट निस्कन लागेको निन्दारसको फिलिङ्गो निभेर जान पायो ।
    विषयप्रवेश, मूल सन्देशको चिरफार र उपसंहार सन्तुलित र सहज लाग्छन् । केही वर्णविन्यासका त्रुटीहरू रहेछन्, म आफैंले सम्पादनमा कमजोरी गरेछु, त्यसको लागि स्वनिन्दाको भारी छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *