गोप्य प्रतिवेदन बीस पन्ना लामो थियो तर सार भने भने पेज नम्बर एकमा नै ‘अन्डरलाइन’ गरी रातो मार्करले रङ्गाइएको थियो । अन्डरलाइन गर्नु र रङ्गाउनुको अर्थ के थियो भने दाताहरूले पूरै प्रतिवेदन पढ्ने झञ्झट बेसाउनु नपरोस् । रिपोर्टको मजबुन पढेर प्रतिवेदकहरूले भन्न खोजेको कुरा पत्ता लागिहालोस् भन्ने पनि हुनुपर्छ । प्रतिवेदनमा उल्लिखित बुँदाहरू यस्ता प्रकारका थिए ।
१) नेपाल एक जमानामा शान्तिका पुजारी गौतम बुद्धको देश भनेर चिनिन्थ्यो । यहाँका जनताहरू अति सरल, बिनम्र, दयालु, मारकाट भनेपछि हृवालहृवाल्ती बान्तै गरिहाल्ने प्रकृतिका हुन्थे ।
२) नेपाललाई प्राकृतिक सुन्दरताको हिसाबले स्विट्जरलैन्डसँग दाँज्ने गरिन्थ्यो । कलकल गर्ने नदीहरू, बाह्रै महिना हिउँले मुस्कुराइरहने हिमालहरू, धानका बालाहरूले लहराइरहने फाँटहरू, प्रदूषणबिहीन चीसो हावा, यहाँका मानिसहरूको विदेशी पाहुनाहरूप्रतिको निर्दोष र कपटबिहीन स्वागत र आतिथ्य हाम्रा लागि ईष्र्याको विषय हुन्थ्यो ।
३) गाउँघरमा मारकाट, हत्या, चोरी, डकैतीजस्ता अपराधहरू नगण्य हुन्थेभन्दा पनि हुन्छ । मारकाटको नाममा वर्षमा एक पटक पर्वमा देवतालाई बलि मात्र चढाइन्थ्यो ।
४) यो देशमा विकासको भने खडेरी थियो । सडक, बिजुली, खानेपानी, स्वास्थ्यजस्ता आधारभूत कुराहरू पनि जनताको भाग्यमा थिएनन् र अहिले पनि छैनन् । सरकारले देशलाई एक्काइसौँ शताब्दीमा पुर्याउने कार्यक्रम बनाउने र नेताहरूले घोक्रो फुल्ने गरी जनतालाई एसियाली मापदण्डमा पुर्याउने भाषण गर्न लागेको दशकौँ भइसक्यो तर जति ठेलीका ठेली योजना बनाए पनि कार्यक्रमको घोषणा गरे पनि सामान्य जनताहरू अठारौँ शताब्दी भन्दामाथि उक्लेका छैनन् । किनकि योजना बन्नेबित्तिकै सिंहदरबारका दराजमा भोटेताल्चा लगाएर राखिन्छ । कथंकदाचित निक्लिहाले पनि छुट्यााइएको बजेट जनताको घरदैलोमा पुग्दा भुसुनो आकारमा पुग्छ ।
५) नेपाली जनताको अविकास, अशिक्षा, गरिबी शासन गर्ने नेता, घुम्ने मेचमा बस्ने कर्मचारी र तिनका आसेपासेका लागि वरदान साबित भएको छ । डलर भजाउने र विदेश सयर गर्ने माध्यम बनेको छ ।
६) सर्वसाधारण गरिब हुुनको कारण कर्मलाई दोष दिन्छन् । आफ्नै पुर्पुरोलाई ठान्छन् । पूर्वजन्मको कमाई मान्छन् र राम नाम जपेरै वा बाहुनलाई दान दिएकै भरमा अर्को जन्ममा हालको भन्दा चार हातमाथि पुगिन्छ भन्ने पक्का विश्वास गर्छन् ।
७) अर्को अचम्मको कुरा उनीहरूलाई बारीको मेवा, कागती, अम्बा, मुला, काउलीको महत्त्वसम्म थाहा छैन । कतिले त जन्मेदेखि गिठाभ्याकुर सिवाय अरूथोक देखेकै छैनन् । तरकारी, फलफूल भन्ने कुरा धेरै टाढाका कुरा भए । अतः यो देशलाई डलर खेतीका लागि इथियोपिया, सोमालिया, कङ्गो, घानाजस्तै उर्बर र ‘कुमारी’ देशको रूपमा लिन सकिन्छ ।
८) तर हाल केही समययतादेखि देशमा दफा नम्बर १ देखि ७ सम्म कायमै रहे पनि मारकाट, हत्या, आतङ्क, बलात्कार, डकैतीजस्ता क्रियाकलापहरू दिन दुई गुणा, रात चौगुणा वृद्धि हुँदैछन् । केही उदाहरणहरू निम्न अनुसार छन् ।
जनताका आँखामा धूलो हालेर उनै जनताका नाममा आएको रकमको ठूलो हिस्सा आफ्नै देशमा फर्काउन सकिने विकट दुर्गम ठाउँहरू जस्तै- रुकुम, जाजरकोट, डोल्पाजस्ता जिल्लाहरूमा जानेबित्तिकै छ इन्च घटाइदिने उर्दी छ ।
मान्छेमा मानवीय संवेदना हराउँदै गएजस्तो छ ।आफ्नो बारीको मुला काट्न गाह्रो होला, मान्छेको टाउको गिँड्न सजिलो भएको भान हुन्छ । हातखुट्टा भाँच्ने, आँखा निकाल्ने, खुट्टा जाँतोमा पिँध्ने, घाउमा नूनचूक हाल्नेजस्ता निन्दनीय र अमानवीय कामहरूले दिनदिनै जसो अखवारका पानाहरू छाएका हुन्छन् ।
आतङ्क फैलिएको केही दिनसम्म मानव अधिकार, द्वन्द्व समाधान, द्वन्द्वपीडित र द्वन्द्वबाट विस्थापितहरूको व्यवस्थापनसम्बन्धी संस्थाहरू नमौलाएका होइनन् तर द्वन्द्वको उद्गमस्थलहरूमा पुग्न नसकिने भएकोले ती संस्थाहरूका साइनबोर्ड पनि धमाधम झिकिँदै जान लागेका छन् ।
रिपोर्टको अन्तिम प्याराग्राफमा अझ ‘बोल्ड’ अक्षरमा लेखिएको थियो – अवस्था धेरै सोचनीय र गम्भीर छ । तुरुन्तै केही सोचिएन भने हाम्रो संस्थाको साइनबोर्ड पनि निकालेर बेडा-बिस्तरा बाँध्न सुरु गरे हुन्छ । यो रिपोर्ट लेख्दासम्म हामी सकुशल छौँ र मिलिट्री घेराभित्रको सदरमुकामको अफिसबाट रिपोर्ट तयार बनाएर पठाउँदै छौँ । जिल्लाबाट सम्प्रेषित रिपोर्ट पढ्नेहरूमा डेभिड, ग्रेग, मार्टिन र एलिना थिए । उनीहरू राजधानीको पाँचतारे होटलको भव्य आलिसान कोठाको आरामदायक सोफामा बसेर रिपोर्टमा मन्थन गरिरहेका थिए । चारै जना चिन्तित र गम्भीर मुद्रामा थिए । प्रतिवेदन पढ्दै गर्दा सबै जनाको चेहराको भाव टीभीको स्त्रिmनमा फटाफट दृश्यहरू बदलिएको जस्तो बदलिन्थ्यो र सबैको चेहरा एकसाथ श्यामश्वेत रङमा परिवर्तन भइरहेको हुन्थ्यो तर त्रास चेहरामा आउन नदिन डेभिडले सिगार फुक्दै थियो भने ग्रेगले स्कचको घुट्की लिँदै थियो । मार्टिन र एलिना भने नेपालमै उत्पादिन ‘कालोवस्तु’ को धूवाँ फोक्सोमा हुल्दै थिए । उनीहरूमा असमानता धेरै थिए तर समानता एउटा कुरामा थियो । त्यो के भने चारै जना आ-आफ्ना देशमा बिक्न नसक्ने पक्का भएपछि नेपालमा विकास गर्ने ठेक्का दिएर यो देशमा धपाइएका थिए ।
‘नेपालका धनाढ्यहरूलाई पाल्तु जनावरहरूजस्तै कुकुर, बिराला पाल्ने सोख छ । सहरमा भुस्याहा कुकुरहरू पनि त छन् । तब हामीले चिन्तै गरिहाल्ने अबस्था आइहालेको छैन ।’ डेभिड, जो अरूहरूभन्दा चतुर मानिन्थ्यो, प्रतिवेदनबाट टाउको उठायो र रहस्यको हाँसो छर्यो ।
‘कहीँ नभेट्टाएको जोक पायौ के तिमीले ? कस्तो ‘सिरियस म्याटरमा’ मन्थन भइरहेको छ, आफ्नु नोकरीको सवाल छ । हाम्रो संस्था, पाल्तु कुकुरहरू र भुस्याहा कुकुरहरूको बीचमा के तालमेल छ ? ‘अल नन्सेन्स ।’ ग्रेगले स्कचको गिलास रित्याउँदै आक्रोश पोख्यो तर नोकरी गएमा उसको देशमा भर्खरै किन्न लागेको घरको सपनामा तुषारापात हुने कुरा सम्झिएर अत्तालियो ।
‘यहाँबाट फर्केर घर बसाउने कत्रो सपना थियो । सब चकनाचुर हुने भयो ।’ एलिनाले कालो वस्तुको लामो कश तान्दै उच्छ्वास फ्याँकी ।
‘फ्रेन्डस्, घरपालुवा जनावरहरू, भुस्याहा कुकुरहरूको मेरो नयाँ प्रोजेक्टमा धेरै महत्त्व छ । पहिले नभए पनि हालको प्रतिकूल अवस्थामा धेरैधेरै महत्त्व हुन सक्छ । मेरो नयाँ प्रोजेक्टमा लक्षित समूह भनेका पाल्तु जनावरहरू र सहरमा भौँतारिरहेका भुस्याहा कुकुर हुने छन् । प्रोजेक्टको मुख्य उद्देश्य निम्नअनुसारको हुनेछ ।
-पाल्तु जनावरहरूलाई नारकीय जीवनबाट मुक्ति दिलाउने ।
-उनीहरूको जीवनस्तरलाई युरोपेली मापदण्डमा पुर्याउने ।
-तथाकथित धनाढ्यहरूका घरहरूमा साङ्गलोले बेहि्रएर कैदीको जीवन बाँच्न बाध्य पाल्तु जनावरहरूको नैसर्गिक अधिकार बुलन्दरूपमा उठाउने ।
‘तिनीहरूको स्वास्थ्य, खानपिन, सर-सफाइ, पोषणजस्ता जल्दाबल्दा विषयहरूमा चेतनामूलक ल्याउने ।’ डेभिडले आफ्नो चिन्तनलाई सरल भाषामा पस्क्यो ।
‘फेबुलस आइडिया । विचारमा दम छ । ज्यादै नौलो सोच । सर्प मर्ने तर लठ्ठी नभाँचिने तर हाम्रो ‘युनिक’ कार्यक्रम ‘प्रपोज’ गर्नु अगाडि लक्ष्यितवर्गको ‘डिटेल सर्भे’ गर्नुपर्छ होला ।’ मार्टिनले पहिलो पल्ट चाख देखायो ।
‘इन्टेलिजेन्ट सजेसन, मलाई मन पर्यो ।’ डेभिडले आँखा झिम्कायो । सात दिनमा ‘प्रपोजल’ तयार भयो । प्रपोजलमा भनिएको थियो-भुस्याहा कुकुरहरू राजधानीका गल्लीगल्लीमा भेटिन्छन् । उनीहरू लावारिस अवस्थामा छन् । अमानवीय, क्रूर, पाशविक व्यवहार छ उनीहरूप्रति । खाना दिने कुरा त परै जावस्, रछ्यानमा भातका सिता टिप्न वा रोटीको कलो टिप्न जाँदा पनि यहाँका मान्छेले लौरोले हिर्काउने, ढुङ्गाले रगताम्य पार्ने, धराप थापेर अङ्गभङ्ग बनाउने वा ‘एक्सटि्रम’ केसमा त गोली हानेर वा झुण्ड्याएर पनि मार्ने गर्छन् । उनीहरूको सङ्ख्या भने हजारौँमा होला । तुरुन्तै सङ्ख्या यकिन गर्न किन सकिँदैन भने उनीहरू आधा पेट खाना र अलिकति सुरक्षित आश्रयका लागि टोलटोलमा ल्याङ्गल्याङ्ग हिँडिरहन्छन् ।
सहरीयाहरूले शौखको लागि कुकुर पाल्ने र ‘वि अबेर अफ डग’ को बोर्ड घरको गेटमा झुण्ड्याउने चलनले फेसनको रूप लिएको छ तर कुकुरहरूको अवस्था भने त्यहाँ काम गर्ने नोकरहरूको भन्दा दयनीय छ । जाडोमा हिटरको व्यवस्था छैन, गर्मीमा फ्यानको । सावरको प्रबन्ध छैन । त्यसैले कुकुरहरू खोइरो, लुतो, उपियाँ, जुम्राहरूबाट आक्रान्त छन् । उनीहरू पोषिलो खानाको अभावमा सुकेनाशको रोगले ग्रस्त छन् । उनीहरूको मनोरञ्जन र खेल्ने चउरको व्यवस्था छैन । कुकुरहरू भाग्लान् र घरको ‘सो’ बिग्रेला भन्ने डरले उनीहरूलाई चौबीसै घण्टा साङ्गलाले बाँधेर राखिन्छ । छिटपुटरूपमा बिरालाहरू पनि पाल्ने गरिएको छ तर उनीहरूको स्थिति पनि कुकुरहरूको भन्दा कम दर्दनाक छैन । बिरालोका मालिकहरू उनीहरूको यौन चाहनाको विषयमा अञ्जान छन् । ‘हिट पिरियडको’ समयमा बिराला र कुकुरहरू एकसाथ क्वां….क्वां रोइरहेको, छट्पटाइरहेको दृश्य अति हृदयविदारक हुन्छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने ग्रामीण क्षेत्रका खासगरी पहाडी इलाकाका मानिसहरू र सहरी इलाकाका कुकुर, बिरालाहरूको स्थितिमा खास फरक छैन । उनीहरूका लागि पनि विश्वमञ्चमा वकालत गर्न सकिने प्रचुर सम्भावना र अवसर एकसाथ भएको हाम्रो ठहर छ ।
प्रारम्भिक सर्भेमा पाइएको तथ्यको आधारमा दिइएको सुझावअनुसार पाल्तु जनावरको साथसाथै भुस्याहा कुकुरको जीवनस्तरदेखि विविध अधिकार उल्लङ्घन हुन नदिन र उल्लङ्घन भएको पाइएमा विरोध, धर्ना, जुलुस गरेर सरकारसमक्ष सशक्त र जोडदार आवाज बुलन्द गर्ने, सरकारले ती आवाजहरूतर्फ उचित ध्यान नदिएमा वा जनावरहरूको स्थिति सुधार गर्नेतर्फ पहल नगरेमा अन्य दबाबमूलक कार्यक्रमहरू पनि चाल्न पछि नहट्ने वाचासहित परियोजनाको खाका कोरियो । यो गरिब देशका लागि परियोजना नितान्त नौलो थियो र परियोजनाको कार्यक्रमहरू जनावरहरूका मालिक र आमजनतासामु पुर्याउन अपरिहार्य थियो । यो अलौकिक र दिव्य कार्यक्रमको परिचयात्मक कार्यक्रम सामान्य चउर वा रङ्गशालामा हुने कुरै भएन । अतः देशको अति महँगो, सानदार र भव्य पाँचतारे हिमालयन होटललाई कार्यक्रम स्थलको रूपमा चयन गरियो र सहरका कुकुर बिरालापालक सम्भ्रान्तहरूलाई सुनको लेप लगाएको निमन्त्रणापत्र पठाइयो । निमन्त्रणापत्र पाउनेहरूमा यो देशका बहालवाला र भूतपूर्व मन्त्रीहरू, उच्च राजनेताहरू, उच्च पदस्थ कर्मचारीहरू, प्राज्ञहरू, बुद्धिजीबीहरू, प्राध्यापकहरू, कलाकार, कविहरू, व्यापारीहरू र पत्रकारहरू थिए । निमन्त्रणापत्रमा आफ्ना परिवारका अतिरिक्त घरमा पालिएका सम्पूर्ण कुकुर, बिराला तथा अन्य कुनै पाल्तु जनावरहरूसमेत ल्याई कार्यक्रममा सक्रिय सहभागिता जनाउन र पार्टीको भरपु्र स्वाद चाख्न विशेष अनुरोध गरिएको थियो । कार्यक्रम खैरेद्वारा आयोजना भएको, त्यो पनि पाँचतारे होटलमा बोलाइएकोले नेपाली पाहुनाहरू नजानु भनेको नेपाली स्वभाव र आचारण विपरीत हुन जान्थ्यो, साथै विदेशी अन्नदाताहरूको अपमान पनि । पाल्तु जनावररूले त पार्टी आयोजनाको बारेमा थाहा पाउने कुरा भएन, मालिकहरू भने निमन्त्रणापत्रलाई १६ वर्षे उमेरको पहिलो ‘लभ लेटरको’ रूपमा लिए र पत्रलाई सिरानीमा राखेर होटलको परिकारहरूको अभूतपूर्व स्वाद सम्झदै प्रत्येक दिन मुखमा एक पाउ जति र्याल जम्मा गरेर बस्न लागे ।
कार्यक्रम सफल बनाउन सहरका भुस्याहा कुकुरहरूको उपस्थिति पनि आवश्यक थियो किनकि पाल्तु जनावरहरू मात्र समावेश गरी कार्यक्रम सञ्चालन गरिएमा समावेशी कार्यक्रम नहुन सक्थ्यो । एक/दुई जना भोजमा सामेल गराउन छुटेका पत्रकारहरूले सम्भ्रान्त जनावरको कार्यक्रमको बिल्ला लगाउन सक्थे । ‘हृयाभोक त्रियट’ गर्न सक्थे । अतः सहरका भुस्याहा कुकुरहरूलाई ल्याउन नवीन शैली अबलम्बन गरियो । त्यो के हो भने सहरका प्रत्येक गल्ली, मोडहरूमा तुल, व्यानरहरू टङ्गाइयो । घरका भित्ता, पार्खालहरू रङ्गाइयो रेडियो, एफएमहरू, माइक, पत्रत्रिकामार्फत् सात दिनसम्म लगातार सूचना प्रसार गरियो । सूचनाका अन्य माध्यमहरू सिनेमा हल, पोस्टर, पम्पलेट, इन्टरनेट पनि प्रचारबाट अछुतो रहेनन् । झाँकीसहितको जुलुसहरू पनि निकालिए । जुलुसमा अर्धनग्न नेपाली हिरोइन, मोडल, नर्तकीहरूलाई अग्रपङ्क्तिमा हिँडाइयो र उनीहरूले पप्पी र बिल्लुहरूलाई अँगालोमा लिएर प्यारको प्रतीक चुम्बन लिँदै नेपाली पपगीतमा नाँच्दै अगाडि बढ्न लगाइयो । प्रचारप्रसारको एक सूत्रीय नारा थियो -‘एउटा भुस्याहा कुकुर ल्याऊ, पाँचतारे होटलको पार्टीको आनन्द लेऊ, त्यो पनि फोकटमा ।’ समग्रमा भने पूरै सहर सजाइएकी दुलहीमा रूपान्तरण गरियो ।
परिचयात्मक कार्यक्रम अर्थात् डिसेम्बर २९ तारिखको दिनमा होटल ध्वजापताकाहरूले सिङ्गारियो । निम्तालुहरू र आगन्तुकहरूको न्यानो स्वागतका लागि हिमालयको झ्याउदेखि तराईका केरा, आँप, कटहरका फलसमेतका बोटहरूले कलात्मक स्वागतद्वारको निर्माण गरियो र स्वागतद्वारदेखि कार्यक्रमस्थलसम्म रातो तुल बिछ्याइयो । स्वागतद्वारको दुबैतर्फ पूर्णकलश राखिए र द्वारमा नेपाली धोती, चोलोको पहिरनमा सजिएका पञ्चकन्याहरू पनि उभ्याउन बिर्सिएन । कार्यक्रम कभरेजका लागि राजधानीमा ठेगाना उपलब्ध भएजतिका पत्रकारहरूका अतिरिक्त राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरू पनि निम्त्याइयो । नेपाल टेलिभिजन र एफएमबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइयो ।
नेपाली परम्पराको विपरीत कार्यक्रम हल बोलाइएको समय अगावै खचाखच भरियो । कुकुरहरू जिन्दगीमा पहिलोपल्ट साङ्गलोबेगर र भयरहित वातावरणमा यस्तो रमणीय, वातानुकूलित, नाचगान, सङ्गीतले भरिपूर्ण स्थानमा आउन पाएर आल्हादित र रोमाञ्चित भए । उनीहरूले भित्रैदेखि उर्लेको रोमाञ्च र उत्तेजना, मालिकहरूले जति सम्झाइबुझाइ गर्दा पनि भुकेर र एक बित्ता जिब्रो लप्याकलप्याक पारेर, फनफनी नाच्दै देखाउन लागे । जिब्रो ननिकालुन् पनि किन ? हलमा चौरासी व्यञ्जनको सुवास जो छरिएको थियो ।
अन्ततः ठीक ११.०० बजे प्रतीक्षाको घडी समाप्त भयो अर्थात् उद्घाटन कार्यक्रमको घोषणा भयो । उद्घाटनमा पनि नयाँ शैली अपनाइयो । त्यो के भने कार्यक्रमको उद्घाटन कुनै विशिष्ट पाहुनाको बाहुलीबाट पानसमा बत्ती नबाली त्यहाँ उपस्थित सबभन्दा बूढो, रोगी, अशक्त कुकुरबाट उद्घाटन गर्ने घोषणा गरियो । सो प्रयोजनका लागि टेबुल अगाडि माइक राखियो र टेबुलमा उद्घाटन गर्न योग्य सबभन्दा ज्येष्ठ र लुतोले शरीरभरि खाटा बसेको, रोगी कुकुर राखियो । कुकुरलाई उद्घाटन गर्ने अभ्यास पहिलेदेखि नै नभएको आशङ्काले आयोजकमध्येकी एलिनाले मसिनो तर मजबुत तामाको तार पर्दा पछाडिबाट घुसाई र मुख्य अतिथि टेबुलमाथि बिराजमान कुकुरको ढाडमा बेस्सरी घोची । घोचाइको पीडा असहृय भएर कुकुर न्वारानदेखिको बल लगाएर भुक्यो-‘हृवाङ्ग’ । डेभिडले उद्घाटन शुभारम्भ भएको अवसरमा ताली पड्कायो । सबैले यसको अनुसरण गरे । हल तालीले गुञ्जायमान भयो । उद्घाटन सत्रमा डेभिडले पढेको लिखित भाषण मर्मस्पर्शी थियो । उसले भन्यो -‘जनावरहरू पनि भगवान्का अमूल्य सृष्टि हुन् । उनीहरूमा पनि आत्मा हुन्छ । त्यो आत्माले मीठो खाने, न्यानो लाउनुको अतिरिक्त न्यानो माया, मायालु स्पर्श, मानवीय व्यवहार पनि खोज्छन् । ती आधारभूत चीजहरूको अत्यन्त कमी यो देशमा पाइयो । त्यसैले हामीले जनावरहरूको समग्रपक्ष समेट्ने नौलो परियोजनाको थालनी गर्दैछौँ । यो परियोजनाले जनावरहरूको मौलिक हक र अधिकार सम्बन्धमा ‘अबेर’ गराउने छ, जनचेतना फैलाउने छ । अन्याय, अत्याचार, दमनको विरुद्धमा आवाज उठाउने छ । आवश्यकपरेमा सरकार र न्यायालयको ढोकासमेत ढक्ढक्याउने छ । त्यसबाट पनि समस्या समाधान नभए संयुक्त राष्ट्रसङ्घजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि सहयोगको हात फैलाउन पछि पर्ने छैन । त्यति गर्दा पनि सरकार र मालिकहरू उदासिन देखिए भने देशलाई दिँदैआएको सहयोग कटौति गर्ने, आर्थिक नाकाबन्दी लगाउनेजस्ता कठोर नीति अबलम्बन गर्न विश्व समुदायलाई अनुरोध गर्न सकिने छ तर मलाई विश्वास छ यहाँहरूले यो अवस्था आउन दिनुहुने छैन । ऊ एकछिन रोकियो र गला साफ गरेर पुनः सुरु भयो -‘यो पुण्य कामका लागि चाहेजति तलब दिएर विज्ञ विदेशी परामर्शदाताहरू ‘हायर’ गरिसकेका छौँ । परामर्शदाताहरूले उत्पीडित, दमित, पिछडिएका जनावरहरूको उत्थानका लागि अहोरात्र काम गर्ने छन् ।
अन्तमा मेरो अनुरोध छ – अब तपाईंहरूका पशुहरूलाई, खासगरी पाल्तु जनावरहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्यो । उनीहरूलाई दया हैन मायाको खाँचो छ । यो बदलिँदो समयको माग हो । ढिला नगरौँ, यो काम आजैदेखि सुरु गरौँ ।’भाषणको समाप्तिमा उसले लन्च लिइदिएर आयोजकहरूलाई कृतार्थ पारिदिन अनुरोध गर्न भने बिर्सेन । सारगर्भित भाषणका लागि श्रोताले ताली बजाएर, गर्धन हल्लाएर, खुट्टा बजारेर, सिटी बजाएर, रूमाल हल्लाएर स्वागत गरे । हलमा भएको हल्लाले जनावरहरू पनि उत्तेजित हुँदै मालिकहरूसँगै ताल मिलाए ।
भाषणपछि खानपिनको क्रम सुरु भयो । कुकुरहरूलाई स्टिलका प्लेटमा व्यञ्जनहरू राखिए । भुस्याहा कुकुरहरूलाई ‘स्पेसल वासा’ र पालुवा कुकुरहरू र कुकुर ओसार्नेहरूलाई भोड्काले स्वागत गरियो । मालिकहरू भने रेड लेभल र स्कचभन्दा तल झरेनन् । पार्टीको उत्कर्षमा दुईजना भद्रहरूले जिब्रो लर्बराउँदै, झुम्दै, हल्लिदै खासखुस गरेको सुनियो –
‘अब हाम्रो ‘बेब्स’लाई आशीर्वाद दिने भाषा अलि बदल्नु पर्छ कि ?’ एउटाले घुट्की लिँदै भन्यो ।
‘त्यो के ?’ अर्कोले न्यापकिनले मुख पुछ्दै मुख चोसो पार्यो ।
त्यो के भने, त्यो के भने…..। हामीहरूले दसैँमा टीका लाएर आशीर्वाद दिने बेलामा ‘पुत्र ! अर्को जन्ममा तेरीआमाको कोखमा जन्म लिनुको सट्टा कुकुरकै कोखमा जन्म लिएस् । मीठो खालास् । राम्रो लाउलास् । मौका परे जेटमा हुइँकेर कुइरेको देशमा सयर गर्लास्, भन्नु उपयुक्त होला ।’ पहिलोले व्यङ्ग्य मिश्रति तर यथार्थपरक सोच राख्यो ।
‘हो त नि, अब त यो देशमा मान्छेले भन्दा कुकुरले मोज मार्लान्जस्तो छ ।’ दोस्रोले स्वीकारोक्तिमा गर्धन हल्लायो ।
दुबैजना बाहिरिँदा नेपाली देशभक्तिको गीत ‘गाउँछ गीत नेपाली’को लयमा ‘कुकुरै भएर जन्मेस्….कुकुरै भएरै जन्मेस् ।’ घोक्रो फुट्ने गरी गाउँदै सन्तुष्टभावमा बाहिरिँदै थिए । त्यो मन पगाल्ने दृश्य नेपाल टेलिभिजनमा दर्शकको मनोरञ्जनका लागि प्रत्येक दुई मिनेटको अन्तरालमा कार्यक्रम अवधिभर दोहर्याइ-तेहर्याइ देखाइँदै थियो ।
टेलिभिजनको कारुणिक दृश्य देखेर द्रबिभूत भएका आयोजकहरू अब कुकुरहरूले अर्को आन्दोलन नगरुञ्जेलसम्म नेपालमै विकास गर्न पाइने कुरामा ढुक्क भएर निर्धक्कसाथ हृविस्कीको चुस्कीको साथमा कुखुराको सपेटा तान्दै थकान मार्नमा व्यस्त थिए ।
भैरहवा
मधुपर्क २०६७ मंसिर
