Skip to content

परिणत (लघुकथा)


हिरामणि तिनछक्क परेका छन । उनी कुलोको मुहानमा बसेका छन । आज उनी यस ठाउँमा बसेको करिब उन्नाइस बर्ष पुगिसकेको छ । पहिलाको अवस्था सम्झदा यस्तो अवस्थामा परिणत होला भन्ने उनले कल्पना समेत गरेका थिएनन् । कताकता उनको मन डरले हो वा अतितको स्वरुप कस्तो होला भन्ने भयले उदास पनि छन ।

भारतको आछामबाट छिरेका उनी यस गाउँको वातावरण र सौन्दर्यताबाट मोहित भई स्थायी बसोबास बस्दै आएका हुन । गाँउको हरियाली, चौतर्फी जंगल, चिसो हावापानी, मधेश भए पनि गर्मीको अनुभुति नै थिएन बिसासय गाँऊ । खेतीपाती उर्लापात फल्ने गर्दथ्यो । नफलोस पनि किन ? बाह्रै महिना खेतको वीचबाट कुलोभरि पानी बग्ने गर्दथ्यो । कार्तिकमा धानका लहलह बाला झुल्दथे भने चैत्रमा गहुँ तोरी त अषाढमा मकैका एक हाते घोगा । किसानका घरका आगनमा मकैका शुली । आहा ! त्यो अवस्था । उनी झल्यास्स हुन्छन, कतै त्यो सपना त हैन ? तर उनका यिनै हातले उब्जाएका थिए एकसय मुरी धान ।

भोर्लाबास भन्ने ठाउँ चुरे पहाडको खोच । गाँउमा जाने कुलोको मुहानमा एक ठूलो ढुङ्गामाथि उभिएर के उनले गाउँतर्फ हेर्छन्, आफ्नो घर टक्क पो देख्छन् । चौतर्फी अवस्थित बाक्लै घरहरू पनि । यस ठाउँमा आउँदा घनघोर जंगल थियो । दिनमै अँध्यारो जस्तो कतै केही देखन नसकिने झाडी थियो । जंगल छिचोलेर निकै मुस्किलसँग आउन पर्दथ्यो । जंगली जनावर बाघ भालुको निकै डर हुने गर्दथ्यो । एक्लै दुक्लै त आउन पनि सकिदैनथ्यो । जंगलको वीचमा सानो खोला थियो । यही खोला थुनेर कुलो तर्फ मानी लगिएको थियो ।

हिरामणि विगतलाई सम्झदै टाउकोमाथि हात राख्दै भन्छन । गाउँमा जनसंख्या निकै बढिसकेको छ । जनचेतनाको कमी छ । अशिक्षाले गर्दा यो घनघोर जंगल मासियो । जंगल फाडेर बस्ती बसाइँदै छ । यत्र तत्र एकदुई भएका रुखहरू पनि पल्टाइएको छ । जसले गर्दा बर्षेनी बाढी आउछ । खोलो एक विशाल बगरमा परिणत भयो । मुलको पानी सुक्यो । खोलामा पानी छैन । कुलो पुरै सुकेको छ । बेलैमा कसैको शोच विचार पुगेन । हिजोको त्यो गाउँ ,आज यो उजाड उराठलाग्दो बन्दैछ । उनी धिकार मान्दै हातको कोदाली काँधमा राखेर एक्लै भुनभुनाउदै फर्कन्छन । अब खेतको सिरानमा पानीको वोरिङ धसाउनु पर्ला ।

॥ इति ॥

सुनवल ६ नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *