Skip to content


परिचय

उमेर पुगेर वा उमेरै नपुगी लेडा र लेडीहरूमा बिपरित लिङ्गीहरूप्रति चुम्बकिय आकर्षण पैदा भई शरिर बसमा नरहेर एकअर्कामा समर्पित हुने रोगलाई लभ-फ्ल्यु भन्दछन् । रहर लाग्दो बेलामा जिउले माग्दो काम गर्नु स्वभाविक भए पनि बेला नपुगी यसले खेला देखाउने भएकाले यो रोग बर्ड-फ्ल्यु, स्वाइन-फ्ल्युभन्दा पनि डर लाग्दो रोग हो । यस रोगका अघि टिबी, क्यान्सर र एड्स सामान्य भइसके । किन भने यो रोगले नौ बर्षे कलिलो उमेरदेखि पचहत्तर–असी बर्षे बृद्ध-वालकहरूसम्मलाई गाँजेको पाइन्छ । मधुमेय, प्रेसर र डँडल्नु दुख्ने रोगले ढल्कँदो उमेर खेदे पनि यो रोगले उमेर, जात, धर्म केही पनि हेर्दैन । यसउसले यो रोग उपचार गरी साध्य नहुने रोग हो भन्ने ठोक्टरहरूको दावी छ । करोडपतिलाई रोडपति र साधुलाई चोर बनाउने यो रोग झाँजरकोटे झाडापखाला भन्दा छिटो फैलने एउटा संसारकै खतरनाक सरुवा रोग हो । यो रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा यति छिटो सर्छ कि कुरै नगरौं । अरु रोग लाग्दा रोगी उपचार अभाव वा असम्भव भयो भने मर्ने गर्दछ भने यो रोग लागेपछि बहुलाउने, धताउने, एकोहोरो हुने, पागल हुने, मार्ने र मर्नेसम्मको हदमा पुग्ने गर्दछ । विषेशगरी ‘टिन एज’ का लेडालेडीमा मास हिस्टेरिया जस्तै धुरन्धार जरा गाडेर बस्ने भएकाले यो रोगलाई संसारबाटै निर्मुल पार्न असम्भवप्रायः भएको हो ।

लक्षण

यो रोग लागेका मान्छेमा तल उल्लेखित लक्षणहरू देखिन्छन् । यी लक्षणहरू देखिने बितिक्कै लगनगाँठो कसीदिन बेर लाइयो भने तपाईंको नाक समाजमा खेर जान सक्छ । यो रोग लागेको शंका लागे तुरुन्त जन्त लाने वा ल्याउने काम गरिएन भने तिनका बाबुआमाको छरछिमेकमा नाम नरहने कुरालाई नकार्न सकिंदैन । लक्षणहरूलाई बुँदागत रुपमा लेखेको छु ।

१ एकाएक छोराछोरीले बुवाआमासँग ‘कम्युनिकेशन ग्याप’ गरेको देखिएमा ।

२ ‘क्युँकी सास भि कभी बहु थी’ जस्ता हिन्दी भारावाहिक टेलिभिजन सिरियल सिरियस भएर भातपानी बिर्सिने गरी हेरेको देखिएमा ।

३ एक्लै टोलाएर वा साथीसंगी बोलाएर चिउँडामा हात राखी वियोगान्त गीतहरू नन्स्टप सुनेको पाइएमा ।

४ घरैमा बसेर डिभिडिमा वा शहरका ठूला घरमा गएर फेरिएपिच्छेका बोलचित्र हेर्नमा तपाईंको कमाइको केही अंश स्वाहा पारेको देखिएमा ।

५ किताब वा कापीका भित्रि पानामा मयुरका पंख, गुलाबका सुकेका फूल र विभिन्न पोस्टकार्डहरू चेपिएको भेटिएमा ।

६ इन्टरनेटमा लगातार घण्टौं झोक्राएर घोत्लिएको, फेसबुकमा चमेरे शैलीमा झुण्डिएको र च्याटमा अनिदो बसेको देखिएमा ।

७ घरमा कसैले बोलाउँदा झर्किएर बोल्ने र तर्किएर हिंड्ने गरेको पाइएमा ।

८ मोवाइलमा नयाँनयाँ नम्बरहरूबाट कल, मिसकल वा ब्लफ कलको ओइरो लागेको र नयाँनयाँ नम्बरहरूमा कल, मिसकल वा ब्लफ कल गर्दै गरेको भेटिएमा वा कामोत्तेजक म्यासेजको पहिरो लागेको देखेमा ।

९ भुल्भुलेमा बगेको पानी जस्तै चुल्बुले बानी हुने नानीहरूमा एक्कासी गम्भिरता, शरमपना र नरमपना देखिएमा ।

१० बाँसझाँघका फेदमा, नदी वा खोलाका किनारमा, शहरका खाजे होटलदेखि लिएर तारे होटलसम्ममा र स्कुल कलेज पछाडिका चौरमा लेडालेडीलाई एकअर्कासँग गुनगुनाइरहेको र ढुनमुनाइरहेको भेटिएमा ।

११ रेडियो, टेलिभिजनका अनुरोध गर्ने खालका कार्यक्रममा बिपरित लिङ्गीलाई गीत फर्माइस् गरेको वा सम्झिएको सुने/देखेमा ।

१२ लेटरप्याड वा कापीका पानामा रातो रंग वा रगतले लभ लेटर लेखिएको भेटिएमा ।

१३ दिनदिनै नयाँनयाँ र महङ्गा महङ्गा जिन्सी सामान र हात्ती अंकित नोटहरू छोराछोरीका साथमा वा हातमा भेटिएमा ।

१४ सिरानमूनी वा कोर्सका किताबका चेपमा रसरंग जस्ता पत्रिका, आगो र कामसुत्र जस्ता किताब भेटिएमा । आदि ।

सर्ने तरिका

यो रोग निम्न लिखित तरिकाबाट सर्ने गर्दछ ।

१ साथीसंगीका माध्यमबाट– साथीसंगीका देखासिखीमा लागेर हिंडेमा यो रोग सर्ने गर्दछ । ‘त्यसको त ब्वाइफ्रेण्ड वा गलफ्रेण्ड छ मेरो चैँ किन नहुनु’ भन्ने भावले यो रोग सर्नमा अहम् भूमिका खेलेको पाइन्छ । ‘यस्तो हुन्छ उस्तो हुन्छ यो विना त जीवन पनि निस्तो हुन्छ’ भनेर साथीसंगीले हाउ लाइदिएपछि तिनका मुटुमा घाउ लाग्न सुरु हुन्छ र यो घाउ बढेर जानाले रोगीले आफूसहित आमा र बाउ बिर्सिने क्रम सुरु भइहाल्छ ।

२ रेडियो, टेलिभिजन, मोवाइल, इन्टरनेट, पत्रपत्रिका र बोलचित्रबाट– यो रोग यी माध्यमहरूबाट परालमा लागेको आगो झैँ फैलने गर्दछ । रेडियोमा लेडाको बोली सुनेर लेडी र लेडीको बोली सुनेर लेडा मख्ख पर्दै छक्क परेबाट यो रोगका जीवाणुको शरिरमा प्रवेश गरेको स्पष्ट हुन्छ । टेलिभिजनमा लेडाले लेडी र लेडीले लेडालाई देख्दा बेस्सरी कराउनु र होससम्म हराउनुबाट यो रोगले भोक तिर्खा मास्ने गरी जगडेको प्रष्ट हुन्छ । रङ नम्बर होस् वा राइट नम्बर होस्, मिस कल होस् वा सरकल होस्, सर्ट म्यासेज हुन् वा लङ म्यासेज हुन् यी सवैबाट यो रोग उल्का झरेजति छिटो सर्ने गर्दछ । इन्टरनेटमा बाङ्गा मान्छेका नाङ्गा फोटा, भिडियो र अडियो सुने पछि यो रोगका जीवाणु रोगीको रगतसँगै सञ्चार हुन्छन् र एकैचोटी तन, मन र दिमाखमा डेरा जमाउँछन् । रसरंग, प्रेमको डायरी, आगो जस्ता थुप्रै पत्रपत्रिका र उपन्यासहरूबाट यो रोग मरुभूमिमा वालुवा झैँ फैलने गर्दछ । बोलचित्रमा देखाइने म्वाई खाएका दृश्यबाट र पिँडुला, तिघ्रा र अन्य मैले यहाँ लेख्न नमिल्ने शरिरका मांसपिण्डहरू हेरेर र देखेर, हेर्ने र देख्नेलाई यो रोगले ढुंगालाई पिपलले बेरे जस्तै बेरिहाल्छ । फलस्वरुप रोगीका शरिरमा कहिल्यै नदेखिने माथि उल्लेखित लक्षण देखा पर्छन् । आदि इत्यादिबाट यो रोग सर्ने गर्दछ ।

उपचार

बेलैमा आफ्ना नानीहरूलाई माथि उल्लेखित सर्ने तरिकाहरूबाट जोगाउन सक्नु नै असलीमा लभ-फ्ल्युको निधान हो । तर यो रोग लागिसकेपछि उपचार गर्छु भनेर नसोचे हुन्छ । लाग्न नदिनु धेरै उत्तम भए पनि लागिसकेपछि रोकथाम गर्न समेत नसकिने भएकाले नै यो रोगलाई संसारकै महामारीका रुपमा हेरिन्छ । त्यसो त फेब्रुवरी १४ तारिकमा मनाइने ‘भालेटायम डे’ ले यो रोगलाई विश्वब्यापी बनाउन अहम् भूमिका खेलेकाले पनि उपचार असम्भव देखिएको हो ।

निष्कर्ष

यो रोगले सताएकालाई निको पार्नु भो भने तपाईं संसारकै नामी/लमी ठोक्टर हुनुहुनेछ । यसबिषयमा पिएचडि प्राप्त गर्ने ठोक्टरको संख्या न्युन रहेकाले ठोक्टर बन्न चाहने विद्धार्थीलाई यो बिषयलाई लिएर पढ्न अनुरोध गर्छु र यो बिषयमा पढेका ठोक्टरको रोजगारीको वारेण्टी, ग्यारेण्टी मैले नै गरेको यसै लेख मार्फत् जानकारी गराउँदै इच्छुकलाई तलको इमेल ठेगानामा सम्पर्क गर्न हार्दिक अनुरोध गर्छु । जय होस् ?

चर्चित ढुंगेल
charcheet_dhungel@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *