Skip to content


पात्रहरू :- करिव १२, १३ वर्षका बालबालिकाहरू —(१) विनोद, (२) कृष्ण, (३) लक्ष्मी, (४) रञ्जु

(स्कूलको चौरको आँप रूखको छहारीमा चार जना बालबालिकाहरू बसेका छन् । विनोद भने अँध्यारो मुख लगाएर बसेको छ भने अरूहरू हँसिलो चेहरामा छन् ।)

विनोद :- (चारैतर्फ हेर्छ, शरीर बटार्छ र एक्लै भुतभुताउँछ ।) भनेजस्तो, खोजेजस्तो र चाहेजस्तो परिस्थिति दिन यो संसारले सकेन । किन मेरो मात्रै चाहनाको खिल्ली उडाइरहेछ ? के मैले यमपुरीकै महल बनाएको हुँ र ?

कृष्ण :- (विनोदतिर हेर्दै) हैन, ए विनोद ! के एक्लै भुत्भुताएका ? सबैका सामु सबैले बुझ्ने पाराले भन न ।

लक्ष्मी :- अनुहार पनि अँध्यारो छ । के हामीले त केही विराएनौँ ?

रञ्जु :- नविराउनु नडराउनु भन्छन् । मैले त केही पनि विराएकी छैन है ।

कृष्ण :- सधैँ हँसिलो चेहरामा हुने मान्छे आज किन धुम्म फुल्नु परेको हो कुन्नि ! (विनोद नबोली घोरिरहन्छ ।)

लक्ष्मी :- जो रिसाउँछ, उसैको मुहार कालो हुन्छ । रिसको कारण बुझाए पो निदान खोज्न हुन्थ्यो ।

कृष्ण :- रिसले त सत्यनाश हुन्छ नि । मनमा कुरा कुहाउन थाले पछि आफैँलाई घाटा हुन्छ । यो त नाफाको जमाना हो ।

लक्ष्मी :- रिस, अहङ्कार र छलकपटी भएकैले रावण, दुर्योधन र कंसहरूको सत्यनाश भो । कुरा बुझ, विनोद । चाँडै रहस्यको पोको फुकाऊ र हामीलाई बाँड ।

रञ्जु :- (हाँस्दै) नभए मसँग हँसाउँने ओखती छ । एकै खुराकमा हाँस्नै पर्छ ।

कृष्ण :- विनोदलाई हँसाउने ओखती त मसँग पनि छ तर मचाहिँ प्रयोग गर्दिनँ । अर्काको रिसमा आफू अचानो बन्न पुगिएला कि भन्ने त्रास पनि छ ।

लक्ष्मी :- त्यही काउकुती लगाउने कुरा त गरेको होला नि । जति बेला पनि एकै खाले सोचले काम गर्नुहुन्न । विनोद कुनै गम्भीर समस्यासँग जुध्दै छन् क्यार ।

कृष्ण :- मिल्ने साथीहरूसँग समस्या बाँडे पो हुन्थ्यो नि । चुपचाप रहँदा त समस्याले किनारै पाउँदैन नि ।

विनोद :- खै, तिमीहरूसँग के कुरा लुकाउनु र ! घरायसी बेमेललाई चौरमा छर्दा आङ्ग कन्याएर छारो उडाउनुझैँ होला र पो त ! म तिमीहरूसँग रिसाएकै छैन ।

रञ्जु :- उसो भए हाम्रा अगाडि चाहिँ हँसिलो चेहरा बनाऊ न त ।

विनोद :- मनभरि बेचैनीका तम्तमाइला कुराहरू बोकेर हाँस्न कहाँ सकिँदो रहेछ र !

कृष्ण :- हामीसँग त हाँस्नै पर्छ । हाँस्दा पनि पचास प्रतिशत चिन्ताले बाटो तताउँछ ।

लक्ष्मी :- कुरा खोल, विनोद ! हाम्रो सामथ्र्य पुग्ने ठाउँमा सहयोग गर्छौँ । नत्र, सल्लाह त दिन सक्छौँ । अर्थोक नभए पनि पाठ त सिक्न सक्छौँ ।

विनोद :- उसो भए सुन तर कसैलाई नभन ।

रञ्जु :- भन्दैनौँ, भन्दैनौँ । साथीका घरायसी कुराहरू झ्याली पिट्दै प्रचार गर्नेजस्तो बेबकुफ नसम्झ ।

विनोद :- (केही खुशी हुँदै) मेरा पो आफ्ना भन्ने अरू को नै छन् र ? तिमीहरू नै त हौ नि । मैले मनपेट तिमीहरूलाई नै दिएको छु । विश्वासघात देखियो भने मेरो त सर्वनाश हुन्छ भनेर मात्रै डराएको हुँ ।

कृष्ण :- कुरा के हो, भन न पहिले । विश्वासका लागि छाती चिरेर देखाउन त सक्दैनौँ तर साथीको कुभलो पनि कहिल्यै चिताउँदैनौँ ।

लक्ष्मी :- धुकचुक हुँदै भन्न पर्दैन, निर्धक्क भएर मात्र भन । भन्न सक्दैनौँ भने म भन्दिन्छु ।

विनोद :- लक्ष्मीे ! के तिमी अन्तर्यामी हौ ? मेरो जीवनका हरेक कुरा थाहा छ त ?

लक्ष्मी :- (केही उत्साहित हुँदै) थाहा छ भनेर नाक धोक्रयाउँदिनँ तर आज तिम्रो अनुहारमा निराशाका बादलहरू मडारिनुको कारण भने म पक्कै जान्दछु ।

रञ्जु :- जानेदेखि भनिहाल्नु क्या । के आइतबार पर्खेर बसेकी त !

कृष्ण :- पक्कै पनि बुवाले तिम्रो चाहनाअनुसार काम गर्दिनु भएन होला । यस पालाको परीक्षामा कम अङ्क ल्याएकोमा रिसाउनुभयो होला, कि कसो ? (स्वीकारोक्तीस्वरूप विनोद मुण्टो हल्लाउँछ ।)

लक्ष्मी :- त्यत्ति मात्र कहाँ हो र ! विनोदको जिद्दीको अगाडि बुवा झुक्नुभएन । वाक्युद्ध चल्यो केही बेर, अनि हारेपछि विनोदको मन रोयो । मन रुँदा मुहारमा खुशी नाच्ने कुरै आएन ।

विनोद :- (हैरान हुँदै) मैले हारिहाल्ने कारण नै थिएन । हरेक बावुआमाले सन्तानका हरेक चाहनालाई यथोचित सम्बोधन गर्दै कार्यान्वयन गर्नुपर्छ । यस खाले गुणचाहिँ मेरा पिताश्रीमा मैले पाउँदै पाइनँ ।

कृष्ण :- विनोद ! अचाहिँदो माग पूरा गर्ने ठेक्का बुवाआमाले लिएका हुँदैनन् ।

विनोद :- खै, मैले त एउटा साइकलको माग गरेको थिएँ । मेरो कुरो भुइँमै खस्न पाएन । चर्का कुरा सुन्नुपर्यो ।

कृष्ण :- उसो भए तिमीलाई साइकल चाहिएको रहेछ । स्कूल जान मुस्किलले तीनचार मिनेट लाग्छ । अनि किन चाहियो साइकल ? यो त विलासिताको वस्तु हो तिम्रा लागि । आवश्यकता त लक्ष्मीलाई मात्रै छ । (लक्ष्मीतिर फर्केर) यिनको घर टाढा छ । पैदलयात्रामा स्कुल आउन ठ्याक्कै एक घण्टा नै लाग्छ ।

रञ्जु :- आज तिमीलाई विलासिताको वस्तु साइकल चाहियो, भोलि मोटरसाइकल चाहिएला, पर्सि मोटरकारकै माग गरौला । भन त विनोद ! चाहिँदो र आवश्यक माग मात्र राख न ।

विनोद :- तिमीहरू पनि भाषण नै गर्छौ । भाषण सुन्दासुन्दा वाक्क भइसकेँ । यो संसारमा अधिकाङ्श मानिसहरू दुःखी हुनुको खाट्टी कारण आवश्यकता पूरा नभएर हैन इच्छा पूरा नभएर हो रे । जो महत्वाकाङ्क्षी इच्छाहरू पालेर रहन्छ, ऊ निराशामै मर्छ रे । पिताश्री यसै भन्नुहुन्छ ।

लक्ष्मी :- (विनोदतिर फर्केर) कुरा त राम्ररी बुझेकै रहेछौ । आवश्यकता पूरा नहुने मानिसहरूलाई मलेरिया, कुपोषण, क्षयरोग, हैजाजस्ता रोग लाग्न सक्छन् तर महत्वाकाङ्क्षी इच्छाहरू पूरा नहुनेलाई अनिन्द्रा, उच्च रक्तचाप, हृदयरोग आदिले समात्न सक्छ । धन नहुनेहरू शारीरिक रोगका सिकार हुन्छन् भने मन नहुनेहरू मानसिक रोगका सिकार हुन्छन् । यो संसार मानसिक रोगीहरूको अखडा हुनै लाग्यो ।

कृष्ण :- संसारको के कुरा गर्नू ? संसार त विलासितामा फँसेको छ । मसँग एउटा तथ्याङ्क छ । (पाना हेर्दै) विश्वमा ११ सय अरब डलर त हातहतियारको लागि खर्च हुन्छ तर बालबालिकाको शिक्षामा मात्र ७ अरब खर्च हुन्छ । यो विलासी संसारको कुरै अर्कै छ । अमेरिकाले मात्र सौन्दर्य प्रसाधनमा बर्षेनी ८ अरब डलर खर्च गर्छ । युरोपमा मात्रै बर्षेनी आइसक्रिम र अत्तरमा २३ अरब डलर, चुरोटमा ५० अरब र अल्कोहलमा १५० अरब डलर खर्च हुन्छ जब कि पूरै विश्वमा स्वास्थ्य र पोषणका लागि १३ अरब डलर मात्र खर्च हुन्छ । अब आफैँ मूल्याङ्कन गर ।

रञ्जु :- यसको मतलव विलासितामा कैयौँ गुना खर्च हुँदो रहेछ, हैन । आवश्यकतामा एकदमै न्युन खर्च गरिँदो रहेछ ।

लक्ष्मी :- महत्वाकाङ्क्षी इच्छाहरूमा हात्तीको तर आवश्यकतामा चाहिँ कमिलाको टाउको जति खर्च हुँदो रहेछ ।

कृष्ण :- हो त नि, यस संसारले सबैलाई खुशी पारेको छ तर विलासी इच्छाहरूलाई बेखुशी नै छाडेको छ । त्यसैले त कुपोषणका रोगीहरूको तुलनामा कैयौँ गुना मनोरोगीहरू छन् ।

रञ्जु :- यस्तै विलासी इच्छाहरू पूरा नहुनाले नै मान्छेहरू आत्महत्या गर्न तम्सन्छन् । गरिब मुलुकमा भन्दा धनी मुलुकमा आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्नु यसकै प्रमाण हो ।

विनोद :- हो, म सहमत भएँ । मैले यमपुरीकै महल बनाएको रहेँछु । मानिस विलासी जीवनमा रमाउन खोज्छ तर नरमाइकनै मर्छ । विवेकशून्य इच्छा पालेर मैले आफ्नो मनलाई आफैँले चिमोट्न पुगेँछु । ल, मैले महत्वाकाङ्क्षी इच्छाहरू त्यागेँ । बुद्धिको बिर्को खोल्दिएकोमा साथीहरूलाई धन्यवाद ।

सबै :- (एक अर्कामा अङ्कमाल गर्दै एकैस्वरमा) महत्वाकाङ्क्षी इच्छालाई आर्यघाट पुर्याऔँ, महत्वपूर्ण आवश्यकतालाई अगाडि सारौँ । मनोरोग भगाऔँ, अग्रगामीपथ पक्रऔँ । (पर्दा खस्छ ।)

०६७.०७.०६ शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *