हिजोको दिनलाई बिर्सेर
फेरि सपनाहरू बटुलेर
जब बल्छ एउटा
आशाको झिल्को
समात्न त्यसलाई
जब उठ्छ एउटा
स्वाबलम्बी हात
ऊ जबसम्म थाक्दैन
ऊ जबसम्म अचेत हुँदैन
तबसम्म लम्किरहन्छ
एउटा अनिश्चित सपना बोकेर
विधिको नियम या बाध्यता
ऊ हिँडिरहन्छ पूर्वतः हिँडिरहेकै छ
सपनाहरू भारी बिसाउन खोज्छ
निकम्बाहरूको भीडमा
निर्लज्जहरूको माझमा
च्यातिन्छन्, टुक्रिन्छन्
र उडाइन्छन् हावाका लहरमा
निरासाका बादलबाट घेरिन्छ फेरि
अश्रुधाराका मूल फुट्दछ फेरि
थामिदै नथामिने गरी
फुट्दछ मुटु बेस्सरी
छट्पटिन्छ, रुन्छ, कराउँछ
र मर्दछ एक पटक फेरि
क्षितिज पारिको मधुरो किरण बोकेर
जन्मन्छ अर्को एउटा सपना लिएर ।
विराटनगर-१७
