Skip to content

पश्चिमाञ्चल जिल्लाहरुको नामाकरण रहस्य

  • by


वि.सं. २०१८ वैशाख १ गते नेपालमा १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको हो । नेपाललाई समानुपातिक विकास गराउने उद्देश्यले २०२९ सालमा चार विकास क्षेत्रमा र पछि २०३७ सालमा सेती र महाकालीलाई सुदूरपश्चिमाञ्चल बनाई पाँच विकास क्षेत्रमा विभाजन गरिएको हो । यस लेख मार्फत् पश्चिमाञ्चल विकास क्षेत्रभित्र समाहित १४ जिल्लाको नामाकरण के कसरी भयो सोको जानकारी समेटिएको छ ।

गोरखाः नेपाली भाषाको ‘खर्क’ अर्थात् ‘घाँस’ शब्दबाट क्रमशः गर्ख, गर्खा हुँदै ‘गोरखा’ नाम रहन गएको हो । संस्कृतभाषाको ‘गोरक्षा’ अर्थात् ‘गाईको रक्षा गर्ने देश’ भन्ने अर्थमा ‘गोरक्षा’ को अपभ्रंश भई गोरखा भएको हो । अर्को कथनअनुसार योगी गोरखनाथको नामबाट ठाउँको नाम गारेखा भएको देखिन्छ । यसै ठाउँको नाउँबाट जिल्लाको नाम ‘गोरखा’ रहन गएको हो ।

यस जिल्लाको कुल जनसङ्ख्या तीन लाख तीन हजार ६५१ रहेको छ भने तीन हजार ६१० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

लमजुङ ः दुरा डाँडामा बस्ने कुस्माकर घिमिरे र खजे दुराले कास्कीका राज कुलमण्डन शाहका सात भाइ छोरामध्ये लामबाट अलि छुट्टएिर सुतेका कान्छा छोरा यशोब्रहृम शाहलाई आफ्नो राजा थाप्नका लागि मागेर लगेको हुँदा लामबाट झिकेर लगिएको राजाको नामबाट राज्यको नाम नै ‘लामजोङ्ग’ राखिएको हो र त्यसैको अपभ्रंश भई ‘लमजुङ’ नाम रहेको हो भने जिल्लाको नाम पनि यही राखियो । कुल एक हजार ६९२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस जिल्लाको जनसङ्ख्या एक लाख ९५ हजार ३९० रहेको छ ।

तनहूँ ः संस्कृतभाषामा ‘त्रितुङ्ग’ अर्थात् ‘तीनवटा पहाड’ भन्ने प्राचीन नाउँको अपभ्रंश भई ‘तनहूँ’ नाम रहन गएको हो भने अर्को भनाइ अनुसार भृङ्गी सेन (पाल्पाली राजा मुकुन्द सेनका छोरा) ले यस ठाउँमा श्री गणेश गरी आफ्नो राजधानी कायम गरेको हुनाले पनि तनहूँ नाम रहन गएको भनिन्छ । यसैको नामबाट जिल्लाको नाम राखियो ।

यस जिल्लाको क्षेत्रफल एक हजार ५४६ वर्ग किलोमिटरमा फैलिएर रहेको छ भने तीन लाख ३६ हजार १६६ जनसङ्ख्या रहेको छ ।

स्याङ्जा ः सिँजा थरका मगरको बासस्थान भएको मगरात प्रदेशको यो ठाउँ स्याङ्जा भनिएको हो । यसै नामबाट जिल्लाको नाम पनि राखिएको हो भन्ने भनाइ रहिआएको छ ।

करिब एक हजार १६४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको यस जिल्लाको जनसङ्ख्या चार लाख२२ हजार एक रहेको छ ।

कास्की ः कश्यप ऋषिले तपस्या गरेको भूमि हुनाले ‘काश्यपी क्षेत्र’ भनिएको र कालान्तरमा भाषाको हेरफेरले क्रमशः काशकी क्षेत्र र कास्की क्षेत्र भई यहीबाट संक्षेपमा कास्की भनिएको हो । यसै नाउँबाट जिल्लाको नाम रहन गएको जनविश्वास रहिआएको छ ।

यस जिल्लाको क्षेत्रफल दुई हजार १७ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ भने कुल जनसङ्ख्या चार लाख २२ हजार ४९९ रहेको छ ।

मनाङ ः नार खोला तरी ‘नार’ गाउँ पुगेका खोर्सानी घले र वानर घलेले त्यहाँ रहेको घरको ढोका खोल्न नसकी छानामा उक्लेर धुँवा निस्कने प्वालबाट आफूले खोला तरेको डोरीमा शङ्ख, घण्टा, ढाल, तरवार सबै बाँधेर बजाउँदै तल खसाल्दा भित्र रहेका मानिसहरूले आत्तिदैं ‘हृमनाङ’ अर्थात् ‘हामीलाई नमार, बरु सहायता देऊ’ भनेर कराएको हुँदा त्यस गाउँको नाम नै ‘हृमनाङ’ रहृयो र त्यसैको अपभ्रंश भई ‘मनाङ’ हुन गयो । भने यसकै नामबाट जिल्लाको नाम पनि राखियो ।

करिव दुई हजार २४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएर बसेको मनाङ जिल्लामा १५ हजार २६५ जना मात्र जनसङ्ख्या रहेको छ भने नेपालकै सबैभन्दा कम जनसङ्ख्या रहेको जिल्ला ‘मनाङ’ नै मानिन्छ ।

मुस्ताङ ः तिब्बती भाषाको परम्परागत नाउँ ‘ल्होमन्थाङ’ बाट अपभ्रंश भई मुस्ताङ नाउँ अस्तित्वमा आएको हो भने अर्को कथन अनुसार तिब्बतीभाषामा ‘स्मोङ’ वा ‘सोङ्ग’ को अर्थ ‘प्रार्थना’ र ‘नाङ’ को अर्थ ‘स्थल’ हुन्छ । धार्मिक मनोवृत्तिका बौद्ध धर्मावलम्बीको प्रार्थना गुञ्जिरहने उपत्यका भएकोले हिमालयको काखमा रहेको एउटा सानो राज्यको नाम नै ‘स्योङताङ’ रहन गएको र त्यसैको अपभ्रंशबाट ‘मुस्ताङ’ हुन गएको भनाइ रहेको छ भने जिल्लाको नाम पनि यसैबाट राखिएको हो ।

तीन हजार ५७३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको यस जिल्लामा १५ हजार २३५ जनसङ्ख्या रहेको छ, नेपालकै कम जनसङ्ख्या भएको यो दोस्रो जिल्लामा गनिन्छ ।

म्याग्दी ः संस्कृत भाषामा ‘मङ्गला नदी’ भनिएको र त्यसैको अपभ्रंश भई ‘म्याङ्दी’ वा म्याग्दी नाम रहन गएको हो । मगरभाषामा पानी अर्थ बुझाउने ‘दी’ प्रत्यय लागेको ‘म्याङ’ भनिने नदीको आधारमा ‘म्याङदी’ भन्ने नाउँ रहन गएको र त्यसैको अपभ्रंश भई म्याग्दी हुन गएको हो भने संसारकै छैटौं सबैभन्दा अग्लो शिखर धवलागिरि (आठ हजार १६७ मिटर) हिमालको दक्षिण पश्चिमतिरबाट हिमनदी पग्लेर निस्केको म्याग्दी नदीको नामबाट जिल्लाको नाम पनि रहन गएको भनाइ छ ।

यस जिल्लाको क्षेत्रफल दुई हजार २९७ वर्ग किलोमिटर रहेको छ भने एक लाख २० हजार ४८८ जनसङ्ख्या रहेको छ ।

पर्वत ः वि.सं. १८४४ तिर नेपालमा गाभिनु अगाडि पहिलेको चौबिसे राज्यमध्येको एक पर्वत राज्यको सिमाना उत्तरमा भोट, दक्षिणमा गुल्मी र गल्कोट, पूर्वमा मोदी खोला र पश्चिममा जुम्ला राज्यसम्म फैलिएको थियो । पर्वत राज्यका राजामा मलेबमको निकै ख्याति थियो । अनेकौं अग्ला-होचा, अजङ्ग- अजङ्गका पहाड-पर्वतले भरिपूर्ण क्षेत्र हुनाले ‘पर्वत’ नाम रहको बताइन्छ ।

यस जिल्लाको कुल क्षेत्रफल ४९४ वर्ग किलोमिटर रहेको छ भने एक लाख ६३ हजार ९०९ जनसङ्ख्या रहेको छ ।

नवलपरासी ः उत्तरपूर्व च्यापेर बसेको नवलपुर क्षेत्र र उत्तर-पश्चिमबाट दक्षिण-पश्चिम ढल्केर बसेको नौ वटा परासी क्षेत्र मिलेर बनेको स्थान भएको हुनाले ‘नवलपरासी’ नाम रहन गएको हो । वि.सं. २०१९ भन्दा अघि यस जिल्लाको नाम ‘पाल्ही माझखण्ड’ थियो ।

यस जिल्लाको जनसङ्ख्या पाँच लाख २२ हजार ५१६ रहेको छ भने क्षेत्रफल दुई हजार १६२.२ वर्ग किलोमिटरमा फैलिएको छ ।

कपिलवस्तु ः साख्यदर्शनका प्रवर्तक कपिन मुनी ऋषिको आश्रम रहेको ठाउँमा शाक्यवंशका पूर्व पुरुषले निज ऋषिको आज्ञानुसार नगर बसाएको हुनाले ‘कपिलवस्तु’ नाम रहन गयो । यसैको आधारमा जिल्लाको नाम पनि सोही रहेको मानिन्छ ।

करिव एक हजार ७३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएर बसेको यस जिल्लामा पाँच लाख ३४ हजार ९१ जनसङ्ख्या रहेको छ ।

रूपन्देही ः मायादेवीको मूर्तिलाई स्थानीयवासिन्दाले ‘रूम्बिनीदेवी’ भन्ने गरेको र त्यसैको अपभ्रंश ‘रूमिनदेवी’ बाट जिल्लाको नाम रूपन्देही रहन गएको हो भनिन्छ ।

यस जिल्लाको जनसङ्ख्या सात लाख ९८ हजार ८८१ रहेको छ भने कुल क्षेत्रफल एक हजार ४०१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

अर्घाखाँची ः ‘अर्घा’ र ‘खाँची’ भनिने दुई पुराना चौबिसे राज्यको नामबाट वि.सं. २०१९ सालमा सिर्जना गरिएको जिल्लाको नाम अर्घाखाँची रहन गएको हो ।

यस जिल्लामा रामायण र महाभारत कालसँग सम्बद्ध केही महìवपूर्ण स्थान पाणिनि ऋषिको तपोभूमि पनि रहेको जनश्रुति पाइन्छ भने प्रसिद्ध ऐतिहासिक कोटसमेत रहेका छन् । यस जिल्लाको कुल क्षेत्रफल एक हजार १९३ वर्ग किलोमिटरमा फैलिएको छ भने जनसङ्ख्या दुई लाख २० हजार ४८२ रहेको छ ।

बागलुङ ः पाल्पाली राजा मुकुन्दसेनले पर्वतका राजा प्रतापी नारायण मल्लसित आफ्नी छोरीको बिहे गर्दा कालिकादेवी दाइजो दिएर पठाएका थिए । उक्त कालिकादेवीलाई कृष्णा गण्डकी र काठे खोलाको दोभानतिर एउटा हात्तीसुँढे आकारको रमणीय वनमा राजा प्रतापी नारायण मल्लले स्थापना गरेको हुनाले सो ठाउँलाई कालिका पञ्चायत भन्ने संज्ञा दिइएको र पछि सोही नामलाई बागलुङ राखियो ।

यस जिल्लाको क्षेत्रफल एक हजार ७८४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ भने कुल जनसङ्ख्या दुई लाख ८४ हजार ९९० रहेको छ ।

नागार्जुन कलेज (बी.आई.एम.) हरिहर भवन, ललितपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *