Skip to content


‘माग्ने’ शब्दको उत्पति कसरी भयो र यसलाई सर्वप्रथम् कसले प्रयोग गर्यो भन्ने भाषाशस्त्रीहरूकै टाउको दुखाइको विषय हो । तर मलाई सोध्नुहुन्छ भने –कुनै ‘म’ बाट उठेको नामधारी ब्यक्तिले कुनै बस्तु ‘गन्गन्’ गरी हैरान पारेर फुत्काउन सफल भएबाट ‘माग्ने’ शब्दको उत्पति भएको हुनसक्छ । वा कोही ‘मगन’ नामको मान्छेले कुनै साहु-महाजनलाई माया लाग्दो स्वरमा मागेकाले सो मान्छेलाई ‘मगन’ बाट एकलके लाएर ‘मगने’ भनिएको र पछि अपभ्रंश भएर ‘माग्ने’ भनियो अनि यसैवेलादेखि माग्ने चलन चलेको हो कि ? तर मेरो अनुमान नै मान्नुपर्छ भन्ने केही छैन । तपाईं पनि ‘हनुमान’को अनुमान लाउन सक्नुहुन्छ ।

जीविकोपार्जन गर्नलाई कसैसँग केही नमागी नहुने भएकाले मान्छेले माग्ने चलन चलाएको हुनसक्छ । वा अरुको साथ बिना जिन्दगीको रथ गुडाउन कठिन हुने भएकाले नै मान्छेले माग्न थालेको हुनसक्छ । जे भए पनि नेपाल र नेपालीहरूमा माग्ने चलन चलेको इतिहास लामै छ भनेर मैले भनेँ भने कसैले कुटी हाल्दैन होला । तर कुनै बाध्यताबिना सायदै कसैले माग्छ । बास्तवमा कस्तालाई माग्ने भनिन्छ र को माग्नेमा गनिन्छ भन्ने कुरा मेरो लेख पूरा पढेपछि थाहा हुन्छ । नत्र अन्त कहाँ हुन्छ ?

धेरैजसो माग्नेहरू पेट पाल्न र चुलोमा आगो बाल्न माग्ने गर्दछन् । यिनिहरू निमुखा, निम्छरा, निन्याउरा, निम्नस्तरका, निम्छा, निर्दोश, निवासमा निस्तो नास्ता निल्ने निरिह नेपाली नागरिक हुन् । यिनलाई निष्ठुरी, निर्मोहीहरूले निमोठेर, निचोरेर निमिट्यान्न पारेकाले नै यिनिहरू माग्ने बनेका हुन् । यिनलाई प्रगतिको पहाडमा पाइला पुर्याउनु छैन । वस् हातमुख जोड्नु छ । एकदिन यो संसार छोड्नु छ । तर यिनिहरू माग्ने होइनन् । राज्य, शोषक, धूर्त, दलाल आदिले बनाएका थाङ्ने हुन् ।

ढुंग्रो लुकाएर मोही माग्नेदेखि मुखै फुकाएर पोइ माग्नेसम्म । मललाई छर्न डोको माग्नेदेखि बाख्रीलाई भर्न बोको माग्नेसम्म । भारी बोक्न नाम्लो माग्नेदेखि चामल हेर्न नाङ्लो माग्नेसम्म । घर लिप्न पोत्न गोबर माग्नेदेखि दिइनेभन्दा दोब्बर माग्नेसम्मका माग्ने नेपाली समाजमा पाइन्छन् । छोराको विहे गर्न ऋण माग्नेदेखि कोदालोको बिँड माग्नेसम्मका माग्ने छ्यापछ्याप्ती भेटिन्छन् । त्यसो त अचेल ज्यान माग्नेदेखि ओछ्यान माग्नेको संख्या पनि उल्लेख्य पाइन्छ ।

हँसिया, खुर्पा, कुटो—कोदालो, हतासो माग्नेदेखि चिनी, चियापत्ति, खुर्सानी माग्नेसम्म । नुन माग्नेदेखि सावुन माग्नेसम्म । आगो माग्नेदेखि धागो माग्नेसम्म । खसी काट्दा खुट्टा मागेर पचाउनेदेखि जुत्ता मागेर लगाउनेसम्मका माग्ने नेपालभित्र निवासित छन् । ऐँचोपैँचो मागेर बर्षौं बर्ष भागेर हिँड्ने र आसामीलाई चिन्दै नचिन्नेहरूको कुरा नगरौँ ।

यो जगमा को होला र नमागी नसक्ने ? जीवनमा कोही न कोही कसैलाई न कसैलाई केही न केही नमागी हुदैन । तर पनि यो मान्छेको जातले ‘म माग्ने हुँ’ भनेर स्वीकार गर्दैन । ज्यान जाला आफूलाई माग्ने भनाउन चाहँदैन । माग्ने बनाउन चाहँदैन । सधैँ माग्नेले पनि आफूलाई माग्ने भनाउन चाहँदैन । बास्तवमा सवै मान्छे माग्ने नै हुन् यो धराका । मागेपछि निर्धक्क ‘मैले मागेकाले म माग्ने हुँ’ भन्नलाई के को लाज ? के को डर ?

हेर्नुस्, तपाईँ हामी मात्र होइन विदेशीसँग अनुदान माग्ने सरकार, आफूलाई ‘स्पेस’ माग्ने राजा, घुस माग्ने कर्मचारी, केही देखिदिनुपर्दा ‘जुस’ माग्ने पत्रकार आदि सवै माग्ने हुन् । जय होस् !

चर्चित ढुंगेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *