Skip to content


मान्छेहरू सुतिरहेछन्
सायद सुतिरहेछन्
मज्जासँग ।

सुतिरहेछन् आँखा भएकाहरू
अरूको थाङ्नामा
तर, केही अन्धाहरू भने
जागा छन्
र, दृश्यको आनन्द उठाइरहेछन् ।

आफन्तहरूको काँध चढेर उठेकाहरू
पछ्याइरहेछन् पराईका पाइला र इसाराहरू
बाटो भुलेका तरुणहरू
दौडिरहेका छन् अन्धाधुन्ध
केही वृद्धहरू भने अझै पनि
कोरली गाई ओगटेर बसिरहेका छन् ।

मान्छेहरू निदाइरहेछन्
सायद निदाइरहेछन्
मस्तसँग ।

खेल्दैछन् केही केटाकेटीहरू
बीच बाटोमा
ढुंगामुढाको खेल
टायर र धूलोधूवाँको खेल
खेल्दैछन् फूलपातहरू चुँडाल्दै
लडाउँदैछन् छिर्के हालेर एकले अर्कोलाई
र गर्दैछन् एकापसमा हिलो छ्यापाछ्याप ।
केही नागरिकहरू
मनोरञ्जन लिँदैछन्
बजाउँदै ताली र आगोमा घिउ थप्दै ।

कोही छैनन् त्यहाँ
त्यसरी नखेल भनेर सम्झाउनेहरू
कोही छैनन् तिनका हातमा
किताब र कलम थम्याइदिनेहरू
सट्टामा बरु
ताली बजाएर हौस्याउनेहरू छन्
अरूलाई लडाएर हिंस्रक मज्जा लिनेहरू छन्
जति छन् बाटोमा हिँड्नेहरू
तर्केर छेउ लाग्नेहरू मात्र छन्
कि ताली बजाउनेहरू मात्र छन् ।

मान्छेहरू भने सुतिरहेछन्
सायद सुतिरहेछन्
चिर निन्द्रामा
अथवा सायद निदाइरहेछन्
घोडा बेचेर ।

नेपाल साप्ताहिक ४२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *