Skip to content

आघौँ तैँले घर बनाइहाल्नु परोस् !

  • by
CharcheetDhungel


‘घर’ भन्नाले ओत लाग्ने वा बास बस्ने ठाऊँ भन्ने बुझिन्छ । अथवा ब्यक्ति वा समूहको स्थायी वा अस्थायी थाँतथलोमा ठड्याइएको आवास, निवास, कोठी, झुपडी, झुप्रो, कुटी, कटेरो, महल, दरवार आदिलाई घर भनिन्छ । जहाँ पनि र जैले पनि कसैसँग परिचय गर्नुपर्यो भने नामपछि प्वाक्कै सोधिन्छ– ‘तपाईँको घर कहाँ पर्यो ?’ यस-उसले घरको महत्व कति छ भन्ने स्पष्ट हुन्छ । ब्यक्तिको परिचयसँग जोडिएको घर आफैँमा उसको ठेगाना हो । ‘घर नहुनेको भर हुदैन’ भनेर उखानै चलेको पाइन्छ । रातभरि जाडोमा कठ्यांग्रिएको छेपारो ‘भोलि त घर बनाउँछु र न्यानोमा बस्छु’ भनेर कल्पिँदै निदाउँछ, विहान उसका आँगमा घाम पर्दै गएपछि रातीको जाडो र घर बनाउने कल्पना भुसुक्कै बिर्से जस्तो मान्छेले गर्दैन ।

आफ्नो घर बनाउने रहर गाउँ र शहरका सवै मान्छेलाई हुँदो रहेछ । अलिकति सम्पत्ति भएपछि र मान्छे दम्पति भएपछि तिनको प्राथमिकताको पहिलो बुँदामा घर पर्दो रहेछ । खडेरीमा पनि पानी लाग्ने र धान फल्ने खेत बेचेर मान्छेले घडेरी किन्दो रहेछ र घर बनाउँदो रहेछ । बेलायत/सिंगापुरका लाहुरे भए पनि, खाडी देशका चाउरे भए पनि र स्वदेशकै जागिरे/ब्यापारी आदि दाउरे भए पनि सवैलाई घरकै रहरले तान्दो रहेछ ।

अहिले काठको घर बनाउने घरबेटी भेट्नु भनेको जाँड/रक्सी नखाने बाहुन भेट्टाउनु जत्तिकै गाह्रो कुरा हो । प्रायः शहरको त कुरै छोडौँ गाउँमा समेत काठका घर बन्न छोडे । तस्कर र सासकले हरियो वनलाई उजाड बनाएपछि बनाउनु पनि कसरी काठको घर ∕ त्यै भएर अचेल पक्की घर बनाउनेकै बोलवाला छ । काठका घर पुराना जति छन् छन् । तिनैले नविन पिँडीलाई काठको घरको नमुना देखाउन सकेका छन् । अब बनिने घर सवै पक्कीका बनिनेछन् भन्ने तथ्यलाई नयाँ घर बनाउनेहरुले प्रमाणित गरिसके । मान्छेले ईज्जतका लागि पनि अब पक्की घर बनाउन थालेको छ । जीवनमा आफ्नै घर बनाउने रहर मान्छेले पालेको छ ।

नगरपालिकाभित्र घर बनाउँदै हुनुहुन्छ भने नक्सा पास गर्नुपर्ने हुन्छ । चिनेजानेका वा आफ्नो मानेका मान्छे ओभरसियर वा इन्जिनियर परेनन् भने तपाईँलाई नक्सा पास गराएवापत लाग्ने रकम ठूलै राशीको चाहिन्छ । यत्ती गरेर जब तपाईँ ठेकेदारको खोजीमा निस्कनुहुन्छ तब कर्नी र हथौडी हुने/बोक्नेदेखि पुल/कल्भर्ट ठोक्नेसम्मका स्वदेशी, विदेशी र रिफ्युजी ठेकेदार भेट्नु हुनेछ । आखिरीमा तपाईँले त्यो ठेकेदारले घर कस्तो बनाउँछ भन्ने हेक्का नराखीकनै एकजनालाई ठेक्का दिनुहुनेछ । उस्तै ठेकेदार परे भने तपाईँलाई निस्तै पार्नेछन् । घरमा लाग्ने सम्पूर्ण सामाग्री तिनले भनेकै ठाऊँ/ब्यत्क्तिबाट झार्नेछन् र कमिशन मार्नेछन् ।

तपाईँ आफूले छुट्टाछुट्टै खरिद गर्दा पनि रडवाला, इटावाला, रोडावाला, गीट्टिवाला, ढुंगावाला, ग्रीलवाला, सिसावाला, पल्लावाला, सिमेन्टवाला, रंगरोगनवाला, पल्म्बरवाला, इलेक्ट्रिकवाला आदि सवैले मोटो रकम कस्नेछन् । यी सवैलाई पैसा तिर्दा तिर्दा तपाईँको वैंशभरिको कमाइले नपुगेर ऋणले टुप्पी बिक्छ । धनी होस् वा गरिब घर बनाउँदा ऋण नलाग्ने सायदै कोही भेटिएला । सयकडा ९५ जनालाई घर बनाउँदा ऋणको भारीले उठ्न नसक्ने गरी थिचेको पाइन्छ ।

यसरी ऋण काडेर बनाएको घरको कसैको छत चर्किन्छ त कसैको भर्याङ चर्किन्छ । कसैको बिम चर्किन्छ त कसैको गारो चर्किन्छ । नचर्किएको घर कतै भेट्नु भयो भने तपाईँ गति पर्नु हुनेछ । आखिर घर किन चर्किन्छ ? यसको जवाफ नक्सा पास गर्ने ओभरसियर/इन्जिनियर, ठेक्का लिने ठेकेदार र बनाउने मिस्त्री कसैसँग छैन । यो थितीले घर चर्किनु, घर बांगो हुनु, छिमेकीको जमिन मिचिनु जस्ता लक्षणले नेपालका घरले ‘ल्क्’ चिन्ह नपाउँलान् भन्न सकिन्न ।

यसरी एकातिर घर चर्किने र अर्कातिर ऋण लाग्ने भएकाले नै उत्तर भारतमा कसैलाई गाली गर्नुपर्यो भने/श्राप दिनु पर्यो भने धारे हात लाएर भन्दा रहेछन्–‘आघौँ तैँले घर बनाइहाल्नु परोस् !’

चर्चित ढुंगेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *