Skip to content

जल्दो मैनबत्ती


धेरै दिनपछि, म आज यहाँ आएको परिवर्तनलाई अनुभूत गर्न खोज्दै थिए । म, मेरो बिगत र वर्तमानलाई आज एक साथ नियाल्न खोज्दै थिएँ । मेरो बिगत र मेरो जिन्दगीको परिभाषालाई परिवर्तन गरिदिए झैं लाग्छ, मेरो वर्तमानले । म आँखा चिम्लिएर ती दिनहरूलाई बिर्सन खोज्थें । तर अपशोच म आफ्नो बिगतबाट टाढा भाग्नै सक्दिनथें ।

खुल्ला आकाशमा अल्झिएका एक दुई टुक्रा बादललाई नियाल्दै म सोचिरहेछु । मेरो हातमा मैले बुन्दै गरेको निलो रंगको स्वीटर छ । मलाई निलो रंग मनपरेको छैन र पनि धागो बदल्नलाई यहाँ आएको परिवर्तन सामर्थ्यवान छैन ।

बिस्तारै साँझ ढल्न खोज्दै थियो । परबाट आएको घोडाको टापको आवाज मेरो आगनीमा आएर रोकियो । आज निक्कै दिनपछि यो क्रम दोहोरिएको थियो । मैले झ्यालबाट तल हेरें । मेरो मुहारमा निशब्दता, मौनता र शान्त मुस्कान एकै साथ छायो । आज पनि रात काट्नलाई मैनबत्ती बाल्नुपर्ने थियो । सायद त्यसैले त्यही रीत दोहोरियो, त्यही द्वन्द्व चर्कियो ऊ र मबीच, जुन मैले बिगतमा कयौं पटक भोगेको छु । अन्ततः आफ्नो हार उसैलाई समर्पण गरेको छु । शान्त, सुभ्र, स्निग्ध मैनबत्ती जलिरहेछ । तर अवाक भएर मलाई हेरिरहेछ ।

मैले मनमनै महसुस गरें -स्वीटर बुन्नलाई अब धागो बदल्न त सकिएला । तर यहाँ आएको परिवर्तन मेरो जिन्दगीको परिभाषालाई बदल्न, अहँ, सामर्थ्यवान् रहेनछ । मैनबत्ती जलिरहेथ्यो । बिस्तारै त्यसका शिखाहरू, मैनबत्तीको टुप्पोबाट तल झरिरहेथे तप्प, तप्प…….।

http://www.abhinaw.com/2010/11/blog-post_23.html

1 thought on “जल्दो मैनबत्ती”

Leave a Reply

Your email address will not be published. Required fields are marked *