Skip to content

प्रकृतिले लुगा फुकाउँदा


सर्लङ्ग सुकेको रुख
बनस्पति र बृक्ष
न यसमा पात छ
न यसमा जात छ
यहाँ प्रकृतिले लुगा सुकाउँदा
यहाँ प्रकृतिले लुगा फुकाउँदा ।

स्तब्ध हवाङ नदी
उराठ लाग्दो सडक बाटो
खुइलिएका पाखाहरू
ताच्छिएका भिताहरू
टाउको फुट्ने ठिही
ओठ फुट्ने सिरेटो
सामुद्रिक चन्चल वायु
कपास फुलाउने वातावरण
कठै यो मेरो मन !
यहा प्रकृतिले लुगा फुकाउँदा
यहाँ प्रकृतिले लुगा सुकाउँदा ।

मान्छेहरूलाई लाज लाग्दो रहेछ
मान्छेहरूलाई सरम लाग्दो रहेछ
प्रकृतिले लुगा फुकाउँदा
र पो मुख छोप्दा रहेछन गल्बन्दीले
जाडो भयो रे …..!
तर मलाइ के जाडो के गर्मी
म पनि प्रकृति जस्तै
नाङ्गै मेरी आमाको
कोखबाट जन्मेको हुँ
आएको हुँ ओर्लिएको हुँ
लुगा त धरै पछि
भौतिक मान्छेहरूले
जबरजस्ती भिराइदिएका हुन ।

मेरो तिन्जुरे खै त लाली गुराँस?
मेरो राजापुर खै त काँसेघारी ?
मेरो घनघस्य, मेरो स्वर्गद्वारी
कति उराठ कति नाङ्गो
न छ यहाँ चिलाउने, उतिस
न त मालिङ्गो,
आमा भन्छिन, “कठै मेरो कान्छा! यो जाडोमा”
यहाँ प्रकृतिले लुगा सुकाउँदा
यहाँ प्रकृतिले लुगा फुकाउँदा ।

मलाई सउल पार्कको सिङगार पर्दैन,
बेबिलोनको बाग चाहिन्दैन
ओशन पार्क र एभरर्ग्रिन बगैचा पर्दैन
ओपेराहाउसको कृतिमता चाहिन्दैन
गमलामा मुस्कुरानुने क्याकटस पर्दैन……….!
म त उराठिलो लुगा खोलेको प्रकृतिसँग
मित लाउछु, रमाउछु
अनि
ओलाङ्चुङगोलाको भिरबाट
उस्का पुस्ट बक्ष सेता कुम्भकर्ण नियाल्छु
मकालु देख्छु,
मानौ यी प्रकृतिका लोभ्याउने दन्त हुन ।

प्रकृति पुरै लुगा खोल,
उराठ लाग्दो पाखामा
को सुसेली हाल्दोरहेछ- म हेर्छु
कस्ले सडक पेटी बस बिसौनी
राजमार्गमा रेल स्टेसन र
हिउ ढाकेका बाटाका
ढाकर र तोक्मासग
कस्ले मितेरी लाउदो रहेछ -म हेर्छु ।

प्रकृतिले लुगा खोल्ने बेला
शीत रुवा फल्ने बेला
धनी मान्छेको आत गल्ने बेला
हुने खाने तातो बोइलर….
सिरक …डस्ना ….अनी न्यानो महल…
फेरि उही बेला,
जाडोले कठाङ्गिएका मान्छेहरू,
गरिबहरू ….निमुखा …अनी असहायहरू
म उनिहरूको आत्मा छाम्न सक्छु,
साचो जीवन् चिन्न सक्छु
साचो माया दिन सक्छु
एक दर्सो धागो बिनाको लोग्ने!
एक टालो बिनाको स्वास्नी !
निवस्र स्वातन्त्र जिन्दगी …
नजिकबाट जिउन सक्छु
धन्य प्रकृति !
धनीलाई बैस छर्न होईन
हुनेलाई जवानी चर्न होईन
मृत्‍युको मुखबाट फर्केकी
पुन:जन्म पाएकी
मेरि दिदिले जीवनको अनुभुत गर्नु छ
ब्रमाण्ड निरन्तरताको लागि
चाडै लुगा लगाइ देउ है प्रकृति!
मैले पनि बैश छर्नै बाकी छ ।

-बुद्धि मोक्तान
ताप्लेजुङ
दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *