Skip to content


केटाकेटीहरू बुई बोकी खेल्दैछन् ।

कक्षा कोठामा विद्यार्थीहरूसँग ज्ञानको बुई बोकी खेलिरहेका मेरा आँखा बारम्बार त्यतातिर ठोक्किइरहेका छन् । मेरो मस्तिष्क कक्षा कोठाका गतिविधिमा केन्दि्रत छ, तैपनि कुनै शून्य समय निकालेर त्यतातिर झटारिँदै पनि छु र दाँज्दै छु मनमनै- तिनको बोकी खेल र मेरो बोकी खेलमा भिन्नतै के छ र ? उस्तैउस्तै ? आखिर म पनि त बोकी खेल्दै छु, मेरा अघिल्तिर बसिरहेका दर्जनौँ मस्तिष्कलाई ।

अरूलाई बोक्न आफू तीभन्दा बलियो हुनुपर्दछ । आफूभन्दा बलियोलाई बोक्नुपर्दा बोक्नेको ‘गानो’ जानसक्छ, ढाड खुस्किनसक्छ अथवा खुट्टा भाँचिन सक्छ । अनि यसरी आफूभन्दा बलियोलाई बोक्न रहर गर्ने पनि पछारिन्छ, बोकिने पनि पछारिन्छ । ‘बोकी खेल’ खेले पनि नखेले पनि आममान्छेले यो खेलको यस्तो आधारभूत ज्ञानको जानकारी राखेकै छन् । त्यसैअनुरूप ती केटाकेटीहरू बोकी खेल्दैछन् । बलियाहरू निर्धालाई बोकेर कुदिरहेछन् कमजोरहरू बोकिएरै कुदिरहेछन् । आखिर बोक्दा र बोकिँदा दुवै पक्षले दू्री परिवर्तन गरिरहन्छन् । मज्जा छैन त ? बोक्नेलाई आफू बोक्न सक्षम भएकोमा गर्वबोध पनि छ, बोकिनेलाई आफू बोकिन पाएकोमा मज्जा पनि छ ।

यही मज्जाको चाकाचुलीमा बितिजान्छ समय । समय बित्दै जान्छ, बोक्नेको सास फुल्दै आउँछ, काँध गल्दै जान्छ, बिसाऊँछ, आफूले बोक्न थालेको गौरवपूर्ण अतीत मेटिइजान्छ र कमजोरको गोतामा गइन्छ् बोकौँ अब बोक्न नसक्ने भइसकिएको छ । धर्मसङ्कट………….। बोकिनेलाई शारीरिक सङ्कट त केही छैन तर आफू आएको बाटोको स्पर्शसम्म पनि नभएका कारण नयाँ बिन्दुको कुनै भेउ हुँदैन । बोकिएर आएको नयाँ बिन्दुका बारेमा बेखबर हुन्छ, ऊ धर्मराउँछ । परिणाममा बोक्ने पनि शिथिल भइसकेको हुन्छ, बोकिने पनि भुत्तिइसकेको हुन्छ ।

बुई बोकी खेल हेर्दै गर्दा यो यथार्थले मस्तिष्कमा ‘सट’ हान्छ । म तर्सन्छु । यो तर्साइले मेरो गुरुत्व मबाट हाम फाल्छ । कक्षा कोठामा मदेखि अस्पर्शित भएर पनि मेरो मस्तिष्कको बुई चढिरहेका विद्यार्थीका कृतज्ञ आँखा टुलुटुलु हेरिरहेछन् मलाई । ती किशोरवयका स्वभाविक जिजीविषाहरूले भरिएर पनि खाली नै छन् । तिनै आँखाको बाटो गरेर मेरो अहम्ले तिनका मस्तिष्कलाई कहिले कुत्कुत्याएको छ, कहिले चिमोटेको र कहिले निमोठेको छ त कहिले झन्काएको पनि छ तर जे गरे पनि तिनले त्यसलाई सहजै स्वीकारेका छन्, तिनलाई त्यो स्वीकार गर्न बाध्य तुल्याइएको पनि छ । त्यसैले त तयार छन् ती ज्ञानको चाकाचुली खेल्न । ती मेरो मस्तिष्कको बुई चढेर जीवनको बेडा पार गर्न आतुर छन् । र, तिनका मस्तिष्कमा विश्वासको यस्तो गाढा छाप लगाइएको छ कि यो बोक्नेको सामर्थ्यप्रति तिनलाई पूर्ण विश्वास छ आजका मितिसम्म ।

सभ्यताको विकाससँग मान्छेले आफ्ना कर्ममा विविधता ल्यायो । जसका मस्तिष्कले जेजस्ता काल्पनिकीहरूको सिर्जना गरी तिनलाई आफ्ना शक्तिले बाहिर प्रकाशित गरे, तिनै तिनका क्षमता भए । कालान्तरमा पुस्ता दरपुस्ताले तिनैका कृतिलाई स्याहारसुसार गर्दा, सिँगारपटार गर्दागर्दै नयाँ सामर्थ्यको विकास गरे । एवम् रितमा मान्छेले आफ्ना सीप र सामर्थ्यहरूलाई फरक फरक उपयोग गर्दै आफू, आफ्नो जीवन र आफ्नो सेरोफेरोलाई विकासशील बनाउँदै सिङ्गो सृष्टिलाई सिँगार्‍यो । यसलाई सिँगार्नेक्रममा कति स्वरूप बन्यो, कति बिग्रिएर गयो तिनलाई अलग्गै हेर्नुपर्ला तर तिनले सभ्यताको इतिहासमा भने महत्त्वपूर्ण योगदान पुर्‍याएका पनि छन् । किनभने भूल नयाँ गतिको जग पनि हो । भूल नयाँ सिर्जनाको प्रारम्भविन्दु पनि हो । यसैगरी इतिहासमा अगाडिअगाडि हिँड्न सुरु गरेको मान्छेले आफ्नो सामर्थ्य र शक्तिले आजको यो पुस्तालाई यति वरसम्म ल्याइदिएको हो ।

यही जातको एउटा मान्छे म । मेरा शक्ति र सामर्थ्य के छन्, तिनको भेउ मैले कहिले पनि पाउन सकेको छैन । अरूले कहिलेकाहीँ भनिदिएका छन््, तीप्रति विश्वास छ र छैन पनि । के मानिसले आफ्नो सामर्थ्यलाई वास्तविकरूपमा पत्ता लगाउन नसक्ने नै हो त ? दोधारमा छु । यही दोधारमा मेरा सामर्थ्यहरूका सीमालाई अहिलेसम्म किरिङमिरिङ रेखाहरूमा सीमाबद्ध गर्न पनि नसक्ने म यति धेरै मस्तिष्कलाई बुई बोक्दैछु । सम्झँदा नै चिटचिट पसिना छुट्छ । मेरो पिलन्धरे ज्ञानका सीमारेखाहरू निकै लिखुरे छन् जसभित्र म ज्ञानवाहक बनेर उभिएको र अडिएको छु । मेरो समाज, यसका मान्यता र राज्यका ज्ञान केन्द्रहरूले भिराइदिएका यी विभिन्न बिल्लाहरूमा भर पर्दै उभिन चाहिँ उभिएको छु । यद्यपि खल्बलिन्छ मन कहिलेकाहीँ । भर्खरै बाहिर चौरमा देखेको छु- आफूभन्दा मोटो केटालाई बुई बोक्न खोज्ने एउटा केटो लडेको छ । मलाई एउटा सारथि बनाएर जीवनको युद्ध लड्नका निम्ति सघाउ मागेका तिनका आँखामा उमेरजन्य चमक धेरै हदसम्म गुमेको छ । उमेरजन्य मनोविज्ञान हो अथवा युगीन परिस्थितिबाट चिमोटिएर हो सन्तुष्टिभन्दा असन्तुष्टि बढी छ, उत्साहभन्दा निराशा बढी छ, अनि आक्रोश र छट्पटी छ तिनमा । तिनको ऊर्जाशील वय र उमङ्गशील यौवनले आँखा अघिल्तिर अन्धकार मात्रै देखेको छ, बोझिलो वर्तमानिक जीवनलाई काखी च्यापेर अनिदैमा ती लुखुरलुखर ओरालो झरेका हुन्छन् । ज्ञान लिन घरदेखिन् ओरालिएका ती मैले बुई बोकेर जीवनमा उकालिन्छन् नै भनेर म आफैँ पनि विश्वस्त छैन, सायद तिनका आँखाको विश्वास पनि कृत्रिम नै पो छ कि ! यसको औषधि उपचार पनि छैन मसँग किनभने तिनले बुझेजस्तै, तिनले देखेजस्तै र तिनले भोगेजस्तै समय, समाज र जीवनलाई मैले पनि भोगेको छु । यो समय यस्तो समय हो जहाँ मान्छेलाई समाजले बिगार्छ । समयको यही बिन्दुमा उभिएर म कसरी भन्न सक्छु कि अगाडिको बिन्दुमा तिमी ढुक्कसँग जीवनको लठ्ठी गाडेर बास बस्न सक्छौ र तिमीले बाँचेको जीवनका तमाम पापहरू कट्टी गर्न भोलिपल्टै त्यो हरियो भएर पलाउनेछ, अनि कोर्ने छौं नयाँ जीवन नयाँ धरातल । म कसरी भन्न सक्छु जबकि त्यो बिन्दुमा टेक्नुको अनुभव, अनुभूति मेरो मनमस्तिष्कमा किञ्चित छैन र पनि यो बिन्दुमा म निरन्तर उभिइरहेको छु भनेँ ।

यो अन्तर्द्वन्द्व, यो सुल्झाउन नसकेको कुरा त्यतिखेर मेरो बुई बोक्न सक्ने सामर्थ्यमाथि धावा बोल्दछ- जब वर्षैंपिच्छे नयाँ मस्तिष्क मेरो बुई चढ्नका निम्ति उमङ्गिलो मुस्कान पोतरेर लाम लाग्छन् । तिनका उत्साह, जिज्ञासा र उज्यालाका पत्र यति पातला हुन्छन् कि कोट्याई हेर्दा ती पत्र उहिल्यै तिनका जीवनमा पलाउनु पर्ने थियो भन्ने लाग्दछ । त्यो लाग्दछ मात्रै होइन पक्कै हो पनि किनभने हामीकहाँ तिनका प्रारम्भिक ज्ञानशालामै प्रायः कथित बुई बोक्नेहरूले यति बिरसिलो र बञ्जर ठाउँमा तिनलाई ल्याएर छाडिदिएका हुन्छन् कि माथिल्लो तहसम्म आइपुग्नेलाई आफ्नो आगमनप्रति कुनै गौरवबोध हुँदैन । उसभित्र रहेका सम्भावनाका सम्पूर्ण पाइलाहरू कुज्याइसकेर यहाँसम्म ल्याइदिनेहरूले उसका मस्तिष्कमा अक्षरहरू मात्रै टाँगिदिएका हुन्छन्, जसको फलस्वरूप उसका हृदयपटमा, यात्रापथमा अथवा ज्ञानमूलक भनिएका क्रियाकलापहरूमा अक्षर मात्रै छरिइरहेका हुन्छन् । ती अक्षर जसमा जीवनको सुर, ताल, सरसता एवम् हरियालीको सामान्य छटा पनि बाँकी नरहेर शुष्कता, यान्त्रिकता एवम् अहम्को कालिमा मात्रै पोतरिएको हुन्छ । तैपनि ती हरेस नखाई नयाँ बोक्नेले अलिक सुन्दर संस्ाारतिर डोहोर्‍याइदिन्छ कि भन्ने आशामा आतुरता देखाइरहेका हुन्छन् । नयाँ बोकिदिनेहरूमध्ये एउटा छु म, जो उही निरन्तरतामा घमण्ड गरिरहेँछु ।

मेरो विश्वास धरमराएको छ, यद्यपि बुज्रुकहरूले मलाई बुई बोक्न सक्ने प्रमाणित गरी कागज थमाइदिएका छन् । एकपटक मान्छेको सामर्थ्यलाई प्रमाणित गरिसकेपछि उसको सामर्थ्यलाई रुजु गरिरहनु पर्दैन यहाँ । युग बदलिए पनि, समय बदलिए पनि पुरानै बाँचेको म मेरो ढाड कतिको सवल छ या मक्किएको छ, त्यसको पत्तो कसरी पाउँ ? मेरो योग्यताको समयसीमा कतिञ्जेल हो र त्यसको ‘डेट एक्स्पायर्ड’ कहिले हुने हो ? कहाँ सोध्न जाउँ ? हेर्छु, सहकर्मीहरूलाई । भित्र के छ कुन्नि पढ्न सक्दिनँ तर बाहिरबाट हेर्दा लाग्छ उनीहरूलाई आफ्नो ज्ञान, सीप र सामर्थ्यमाथि पूर्णतः विश्वास छ । गर्वले तेजिएका आँखा र विश्वासले विस्तारित छातीले उनीहरू पाखुरा फुलाएर बुई बोक्न तयार भएको देख्दा म आफू केही क्षण विश्वस्त हुन सक्छु र बुई बोक्नेको लाममा आबद्ध भएर बोकिनेहरूलाई आश्वस्त तुल्याउन पनि सक्छु ।

बाहिर चौरमा बुई बोकी खेल्नेले आफू पनि लडेर अर्कालाई पनि लडाएको देख्दा भोलि मेरो जीवनको नियति यस्तै बन्न सक्छ कि त्यही कुरामा आशङ्कित भएको छु । नौलो संसारमा पाइल्ाा टेक्न रहर गरी त्यही सपना आँखामा सजाएर बोकिन आएकालाई मैले भोलि किचडमा पछारिदिएँ भने आफू ओभानै बस्न सकुँला र ? बुई बोक्ने रहर गर्दा बोक्ने र बोकिने दुवैको नियति उस्तै हुनसक्ने सम्भावनाले म तत्काल तिर्मिराउँछु । ‘बोकेको कुकुरले मृग मार्दैन’ हामीकहाँ यो उखान निकै प्रचलित छ । उखानको विशेष अर्थ छ! समकालीन जीवनमा तर अर्थ लगाउनका लागि मात्रै छ अर्थ ! बुझ्न र जीवनमा लागू गर्नका लागि होइन ।

मेरो बोकाइ केही प्राप्तिका लागि हो अथवा समय बिताउनका लागि मात्रै हो ? मेरो बोकाइ स्थानान्तरणका लागि हो कि आमूल परिवर्तनका लागि हो ? मैले यो बुझेको छैन । सायद मबाट बोकिनेहरूले पनि यसलाई स्पष्ट पहिल्याउन सकेका छैनन् । अज्ञानतामै यो बोकाइ भइरहेछ । आरोप, आक्षेप, आशङ्का अथवा स्याबासी जे क्रिया प्रतिक्रिया जन्मिए पनि बोक्नु निरन्तरता भएको छ, बस् ।

गम्छु, नेताहरू कार्यकर्ता र जनताको बुई चढिरहेछन्, हाकिमहरू तल्लो तहका कर्मचारीहरूको बुई चढिरहेछन्, व्यापारीहरू उपभोक्ताको! सबैजना बुई चढी खेलिरहेछन् तर यी बलियाहरू कमजोरमाथि चढिरहेछन् । त्यसैले चढ्ने- चढाउने दुवै लडिरहेछन्् । तब त राजनीति बिग्रिएको छ, प्रशासनिक प्रणाली बिग्रिएको छ । लडिने-लडाउने आशङ्का जे भए पनि एउटा कुरा अहिलेसम्म ढुक्क यसमा छ कि-कम्तीमा सानाको बुई ठूलाले चढेका त छैनन् नि । यसर्थमा अलिकति बलियो खुट्टा टेक्न सके ज्ञानकोे बुई बोकाइ सुरक्षित छ जस्तो लाग्छ । सन्तोष यहीँनिर छ । यही सन्तोषले प्राण भरेर झुकिदिएको छु, ताकि सजिलै चढ्न सकुन् अरुहरू ।

रयाले, काभ्रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *